चेखव, गान्धी र कोरोना महामारी

दिवाकर बागचन्द

न्युयोर्क — कोरोना भाइरस अमेरिकामा द्रुत गतिमा फैलिइरहेको थियो ।  हेर्दाहेर्दै न्यूयोर्क कोरोनाको इपिसेन्टर बनिसकेको थियो । हजारौ मानिसझैं म पनि कोठाभित्रै बस्न बाध्य थिएँ । सुरुका दिनमा बिश्वभरीका समाचार हेर्दै बिते । केही दिन संगीत सुन्दै बिते । बाँकी दिन पढ्दै बिते ।

चेखव, गान्धी र कोरोना महामारी

दिनहरु पट्यारलाग्दा बनिरहेका थिए । एन्टन चेखबको एउटा क्थाले मन छोयो । यस कथाले मृत्युको अगाडि जीवनको अर्थ सम्झाइदियो ।

शरदको गहिरो रात हुन्छ । एकजना ब्याङ्करले एक जवान वकिलसँग बाजी लगाउँछ । ब्याङ्करले भन्छन्- आजीवन काराबासभन्दा मृत्युदण्ड उचित हुन्छ । वकिल भने यसमा असहमत हुन्छन् । वकिल भन्छन्- मृत्युदण्ड र आजीवन काराबास दुवै अशोभनीय र अनैतिक हुन् । तर, आफूले यी दुईमा एक चुन्नु परे आजीवन काराबास चयन गर्ने बताउँछन् ।

यही कुरालाई लिएर दुईजनाले शर्त लगाउँछन् । शर्तअनुसार वकिलले १५ वर्ष एउटा कोठामा बिताउनु पर्ने हुन्छ । १५ वर्ष बिताएमा ब्याङ्करले २० लाख रुबल दिनु पर्ने हुन्छ । शर्तअनुसा वकिल एकान्त कोठामा बस्न थाल्छन् । वकिलले अधिक समय किताब अध्ययन गरेर बिताउँछन् । किताबमा संसारको वैभव, विद्वता र ज्ञान भेटेको वकिल बताउँछन् । तर, आफूलाई अब किताब पनि तुच्छ लाग्न थालेको उनी बताउँछन् । 'किनकि मृत्युको अगाडि यी सबै कुरा धारासायी हुन्छन् । म शर्त पूरा हुनु पाँच मिनेट अगाडि कैदबाट स्वन्त्र हुँदैछु भन्ने कुरा एउटा कागजमा लेख्छन् ।'

कैद पूरा गरेपछि २० लाख रुबल दिनु नपरोस् भन्ने सोच ब्याङ्करमा आउँछ र वकिललाई मार्न उनी कोठामा प्रवेश गर्छन् । वकिलले लेखेको सानो पत्र ब्याङ्करको हातमा पर्छ । वकिलको पत्र पढेपछि ब्याङ्करका आँखामा आसुँ आउँछ । जसलाई मार्न भनी हिँडेको उ त सबै त्यागेर हिँड्न तयार देखेर ब्याङ्करलाई ग्लानी र पश्चातापले पोल्छ । ब्याङ्करले वकिलले लेखेको पत्र आफ्नो सेफमा लगेर राख्छन् । अनि अन्त्य हुन्छ चेखबको 'बाजी' भन्ने कथा ।

यो कथाले मलाई सोच्न बाध्य बनायो । कथा पढिसकेपछि कोरोनाका कारण घरभित्र बस्दाको छटपटी र कोरोनाले मानव जातिलाई दिएको चुनौती महशुस भएर आयो । कोरोनाले राजादेखि रंक सबैलाई अन्त्य गर्ने तागत राख्थ्यो । यही भएर होला 'टक्सिक एलेक्टृसिटी'का लेखक स्टिवन म्यागेले भनेका छन् 'कोरोनाले राष्ट्रपति चुनावका सबै प्रतिष्पर्धीलाई चुनाव अगावै मार्ने शक्ति राख्दछ ।' कोरोनाले विश्वका मै हुँ भन्ने शक्तिलाई पनि निरिह देखाएको थियो ।

मनमा एक प्रकारको वैराग्य छाउन थालेको थियो । के कोरोनासँग विश्व हार्ने त होईन ? हार्नु कुनै विकल्प होईन भन्ने मलाई थाहा थियो । विश्वले यसप्रकारको महमारी पहिले पनि देखेको हो । सन् १९१८ मा स्पेनिस फ्लुले ५ करोड मानिसको ज्यान लिएको मानिन्छ । महात्मा गान्धीलाई पनि स्पेनिस फ्लु भएको थियो । त्यस समयमा गान्धीले केही नियमको पालना गरेर सो फ्लुलाई परास्त गरेका थिए ।

गान्धीले एकान्त बास र झोलिलो खानेकुरामात्र खाने (लिक्वुड डायट) अपनाएका थिए । उनको यस नियमलाई आश्रममा बस्ने सबैले पालन गरे । सायद यसैले होला आश्रममा बस्ने सबैको ज्यान जोगिएको थियो । गान्धीले पछस गएर 'मेरो सपनाको भारत'मा महमारी बारेमा भनेका छन्, 'जानेर वा नजानेर प्रकृतिकको कानून तोडेकै कारण रोग लाग्छ, महामरी आइपर्छ ।' गान्धीको यो कथनमा सबै सहमत नहुन सक्छन तर यसमा सत्यता छ । यसबाट आजसम्म गान्धीको सान्दर्भिकता झल्किन्छ ।

कोरोनाकाल मेरा लागि सिकाइको समय रह्यो । गान्धी, चेखब र अरु धेरैलाई पढियो । कोरोना महामारीले मृत्यु र जीवको अर्थ सिकाएको छ । मृत्यु सास्वत सत्य हो । मृत्युका अगाडि सबै कुरा अर्थहीन हुन्छन् । तर, जीवनको अर्थ भनेकै मृत्युलाई 'पोस्टपोन' गर्नु हो । बन्द कोठाभित्र बसेर कोरोनाकालमा मैले सिकेको यही हो ।

प्रकाशित : वैशाख २५, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?