कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा लकडाउनको प्रभाव र राज्यको दुरगामी योजना

रमेश रञ्‍जन

काठमाडौँ — मिथिला सामाजिक र साँस्कृतिक रुपमा उत्सवी समाज हो । अत्याधिक जनघनत्व भएको भूगोलमा बसोवास गर्न रुचाउने यो समुदायका बीच आपसी सम्बन्धका र सामूहितकताका अनेकौं रुप छन् ।

गाउँमा लकडाउनको प्रभाव र राज्यको दुरगामी योजना

कोरोना भाईरस विश्वव्यापी महामारीको रुपमा प्रकट भएपछि (सोसल डिस्टान्स) सामाजिक दूरीको कुरा अचानक बारम्बार हाम्रा कानले सुन्नु परेको छ । र, व्यवहारमै भौतिक दूरी बढाउने दबाव पनि अपरझट्ट हामीमाझ आइलागेको छ ।

सामाजिक दूरी बढाउने सरकारी घोषणासँगै यस सन्दर्भमा अनेकौं प्रकारको संशय र बहस हुन थालेको थियो । फरकफरक अर्थ र विश्लेषण, फरकफरक कोणबाट हुन थालेको थियो । आमरुपमा भन्ने हो भने सकारात्मक प्रतिक्रिया एकदम थोरै पाइन्छ ।

समाजको विकासक्रमलाई हेर्ने हो भने चाडपर्व, उत्सव सबैजसो समुदायको विशिष्टता हो । इतिहास, भूगोल, परम्परा, उत्पादन सम्बन्ध र आर्थिक स्थितिले साँस्कृतिक वा धार्मिक उत्सवहरुमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । मिथिलाको कुरा गर्दा समथर मैदानी भाग र पर्याप्त जलसिंचन भएको यस क्षेत्रमा राज्यको प्रारम्भ कालदेखि नै यो भूभाग समृद्ध थियो । समृद्धिले सामाजिक सोच र चिन्तनमा भिन्न आयाम ल्याउँछ ।

कृषिमा आधारित जीवन प्रणाली सुरु भएपछि सुरु भएका कतिपय उत्सव र संस्कार आजसम्म आइपुग्दा तत्तत् समाजमा जीवनपद्धतिको अंश बनिसकेका छन् । चाडपर्व, उत्सव, भोजभतेर भएन भने सामाजिक जीवनमा निराशा छाएको जस्तो बन्न जान्छ । जीवनशैलीलाई प्रभावित गर्नसक्ने कुनै किसिमको बाध्यात्मक अवस्थामा परिनसकेको समुदायको लागि यो एउटा जटिल परिस्थिति हो । जसभित्र छटपटि छ । विद्रोहको मनसाय नभए पनि व्यवहारबाट अनुशासनको परिधि भत्काउन लागेको देखिन्छ ।

लकडाउन अघिको गाउँको अवस्था र वातावरण भिन्न थियो । मन्दिरमा भजन, मस्जिदमा अजान । मस्जिदको निर्धारित समय भए पनि मन्दिरमा त जतिबेला पनि घण्टी बजाउने वा माइक लगाएर प्रवचन फलाकिन्थ्यो । धेरै गाउँहरुमा ध्वनी प्रदूषणको समस्या, छात्रछात्राको अध्ययनमा समस्या थियो नै । चर्को ध्वनीको कारणले आपराधिक गतिविधि हुनसक्ने सम्भावना बारे गाउँलेहरुमा खासै चिन्ता देखिन पाइएन ।

मानिसहरु मोजमस्तीमा यति अभ्यस्त भए, दिनपिच्छे भोजभतेर वा नाचगानका लागि खासै विशेष कारण पनि नचाहिने रहेछ । जन्म, मृत्यु संस्कार, व्रतबन्ध, विवाह आदिमा त उहिल्यैदेखि ठूलो कर्मकाण्डीय क्रिया र भोजभतेर हुँदै आएको हो । अहिले त पास्नी, गुन्युचोलो, जन्मदिन, गृहप्रवेश र अन्य सामान्य दैनिकी जसमा खासै उत्सव गर्नुपर्ने कारण नै नभए पनि देखासिकीले भोज अपरिहार्यजस्तो हुने गरेको छ । परिवारमात्रैबाट सम्पन्न हुने किसिमका कार्यहरुमा पनि पूरै गाउँलाई सहभागी गराउने वा आफ्नो जात–समुदाय, कुटुम्बलाई निमत्याउने चलन बढ्दो छ । यो परम्पराको नौलो र विस्तारित रुप हो । विस्तारै यस्ता अनुत्पादक र खर्चिलो सामाजिक क्रियाबाट टाढिनुभन्दा झन् अपनत्व ग्रहण गर्नेहरु बढ्दो छ । त्यसको एउटै कारण कथित समाजिक प्रतिष्ठा र देखासिकी हो ।

लकडाउनका अनेकौं पीडा र दुरगामी असर छन् । तर, एउटा राम्रो कुरा भनौं साँझ पर्ने बित्तिकै गाउँका किर्तनमण्डलीहरुको गायन स्वर अहिलेलाई त बन्द छ । तर, सँधै यस्तै नरहला । प्रत्येक समूहहरुको आफ्नै साउण्ड सिस्टम छन्, जसको प्रयोग निर्वाधरुपमा ती समूह गर्छन् । पारम्परिक लोकलयका साथै भक्तिपरक नयाँ रचनाहरु पनि सुनाई रहन्छन् । तर, यसको पनि विडम्बना के हो भने एकभन्दा बढी समूहहरु भएको कारण अन्तर प्रतिस्पर्धा पनि छ । त्यसैले एकै समयमा एकभन्दा धेरै समूहले आ–आफ्नो माइकको भोल्युम बढाएर अझ शक्तिशाली बनाएर स्रोतासमक्ष पुर्‍याउने कोशिस गर्छन् । त्यसो गर्दा माइकको आवाज जुधेर वा अत्याधिक ठूलो आवाज भएर ध्वनी प्रदुषण मात्रै बढेको पाइन्छ । सुन्न विवस गाउँलेहरुको लागि यो निक्कै ठूलो सास्ती हो ।

गाउँको थोरै मात्रै नियमित गतिविधिबारे मैले यहाँ उल्लेख गरें । यी सामान्यजस्तो लाग्ने अभ्यासले अनेकौं प्रश्न जन्माउँछन् । आमव्यक्तिको मनोविज्ञान आजको सामाजिक आवश्यकताप्रति चासो नभएको देखिन्छ । धार्मिक अनुष्ठान, परम्पराको नाउँमा जडसंस्कृतिको पुनरावृत्तिप्रति आकर्षण छ । भीड र देखावटी संस्कृति प्यारो हुँदै छ । त्यसमार्फत् राजनीतिक र सामाजिक शक्ति आर्जन गर्ने मानिसहरु पनि त्यसै भित्र हुन्छन् । जसले त्यस भीडलाई आफ्नो निश्चित राजनीतिक स्वार्थमा रुपान्तरित गरिरहेका छन् ।

कुनै पनि समुदाय, राष्ट्रको साँस्कृतिक, चेतना वा समृद्धिको आधार भनेको त्यस ठाउँको राजनीति व्यवस्था नै हो । हरेक राजनीतिक आन्दोलनपछि स्थापित नेपालको शासकीय व्यवस्थाले समाजलाई कति लामो समयसम्म जागरणको अभियानमा हिडाउन सक्यो त ? यो अहम प्रश्न हो अहिलेको समयमा । वर्गभेद र वर्ग संघर्षजस्ता राजनीतिक शब्दावली ग्रामीण जनताको चेतनामा विस्तारै प्रवेश गरिरहेका थिए । अभिजात्य र गैरअभिजात्यमा सामाजिक विभाजन उग्ररुप देखिन थालेको थियो । तर चुनावी प्रतिस्पर्धा बाहेकको अन्य बेलामा यस्ता बैचारिक अभियानहरु प्रभावहीन देखिन्छन् । वर्तमान अवस्थामा कम्युनिष्ट शासन भएकै बेलामा अझ सामाजिक रुपान्तरणका मार्क्सवादी स्कुल लथालिंग छ । समाजवाद र प्रजातन्त्रको चेतना विस्तारमा विराम लागेको अवस्था छ । किनकि हरेक राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक चेतना वा विचारलाई चुनावका लागि मात्रै प्रयोग गरे । समाजिक रुपमान्तरणको अभियानमा आफूलाई दूरगामी रुपमा समाजसम्म जोड्न नै सकेनन् ।

एकखाले सांस्कृतिक पुर्नउत्थानका संवाहकहरु पुनः धर्म, जाति र अन्यमाध्यमले संयन्त्र निर्माणको प्रकृयामा छन् । जहाँ नजानिँदो किसिमले परम्पराको गुलियो चुसाएर मानिसहरुलाई प्रभावमा ल्याउँदै छन् । एकखाले संस्थाले पारेको प्रभावहरुले मान्छे आफ्नो वर्तमान र भविष्यप्रति सही मार्ग अबलम्बन गर्ने अवस्थामा छैनन् । समाजिक र पारिवारिक दायित्व भनेको धार्मिक आयोजन र कर्मकाण्डीय समापनसम्म सिमित भएको छ ।

कृषिमा निर्भर ग्रामीण समुदायको आर्थिक सामर्थ्यमा वृद्धि भएको छ । खास गरी वैदेशिक रोजगारले गाउँको अर्थतन्त्रलाई बलियो बनाएको छ । स्वभाविक रुपमा क्रयशक्ति बढेकै हो । सहरको खानपिन गाउँमा पनि भेटिन थालेको छ । जंक फूडदेखि कोल्ड ड्रिंक र मदिराको पसल थपिँदै गएको छ । त्यतिमात्रैले कामचलाउन सक्नेको लागि सामान्य अवस्थामा खुल्ला सिमानाका कारण अन्य पदार्थ पनि सजिलै प्राप्त भइरहेको छ । खुल्ला सिमानामा आउने ती पदार्थहरु सरकारको रेकर्डमा छैनन् । वा कतिपय कानुनी रुपमा वर्जित पदार्थ पनि सजिलै वारपार भइरहेका छन् ।

यहाँका युवा पुस्तालाई यस्ता पदार्थप्रति रुचि गहिरो छ । जसलाई निरुत्साहित गर्न न कुनै सामाजिक, न साँस्कृतिक, न राजनीतिक गतिविधिमा सक्रियता छ । सरकारको त कुरै नगरौं ।

अहिले लकडाउनको कारणले कति मजदुरहरु सहरबाट गाउँ आएका हुनाले गाउँमा युवाहरु पनि देखिन्छन् । तर, कुनै बेला वृद्धवृद्धाहरु मात्रै देखिन्थे । अर्थात् गाउँको रक्षकको भूमिकामा महिला र वृद्धवृद्धाहरु नै छन् जसले भविष्यलाई जेनतेन हुर्काई रहेका छन् । अहिले युवाहरु गाउँमा हुनुको कारण पनि बाध्यता नै हो । संभवतः यस्तै अवस्थामा रोमका विद्वान् येस्कियस सेसिलियस साइप्रिनायसले तेश्रो शाताब्दीमा ‘अद देमित्रायन’मा लेखेका छन् ‘तपाईंलाई थाह हुनुपर्ने हो, युग अब वृद्ध भइसक्यो, अब यसमा त्यति शक्ति रहेन । उभिन सक्ने शक्ति पनि क्षय भईसकेको छ । संसार स्वयंले आफ्नो पतनप्रकृया आफैंलाई साक्षी राखी आफ्नो समाप्तिको घोषणा गर्दै छ ।’

यो दार्शनिक चेतले वा यी भविष्यद्रष्टाको निष्कर्षले वर्तमान सामाजिक र साँस्कृतिक विघटनतिर संकेत गरेको छ । समाज विकासको क्रममा हामी हजारौं वर्ष पछाडि छौं भनिन्छ तर हामी नकारात्मक चेतना ग्रहण गर्ने सन्दर्भमा पनि पछाडी नै छौं । यी विद्वानको भनाईबाट यही प्रमाणित हुन्छ । भन्नुको अर्थ युरोपमा जुन सामाजिक र साँस्कृतिक विघटन र अराजकताको प्रकृया तेश्रो शताब्दीमा थियो, हाम्रो ग्रामीण समाज आजको दिनमा उस्तै अवस्थाबाट गुज्रिरहेको छ ।

कोरोना भाइरसको आगमनलाई कतिपयले प्रकृतिमा अत्याधिक मानव हस्तक्षेपसँग पनि जोडिरहेका छन् । प्राकृतिक असन्तुलनकै कारण यस्ता विपदहरु देखापर्दैछन् भन्ने धारणा व्याप्त छ । अर्थात् मनुष्यको शत्रु अरु कोही होईन अन्ततः मनुष्य नै हो । मनुष्य जतिको स्वार्थी र व्यक्तिवादी अन्य जीव र प्राणी हुने कुरै भएन । स्वयं मनुष्यभित्र पनि स्वार्थका यी द्वन्द्वमा जो बढी सामर्थ्यवान र शक्तिशाली छन् ती मनुष्यजातिका लागि ठूलो खतराको रुपमा देखा पर्दै छन् ।

रोमनका लेखकले त्यतिबेलै पर्यावरण नष्ट हुने अवस्थामाथि पनि चिन्ता जाहेर गरेका छन् । ‘पृथ्वीको कक्षामा शरदकालीन वर्षामा कमी आएको छ । धानलाई परिपक्व गर्ने ग्रीष्मकालीन ताप मन्द भईसकेको छ । पहाडमा ढुंगा घट्दै गएको छ, खानीबाट रत्न निस्किसकेको छ ।’ मानवद्वारा प्राकृतिक दोहनको डरलाग्दो चित्र तेश्रो शताब्दीमा कोरिएको थियो । यसले के संकेत गरेको छ भने युरोपले जुन अवस्था त्यहीताका भोगेको थियो आज हाम्रो सामाजिक क्रिया र दृष्टिकोण निर्माण सोही अनुरुप हुँदैछ ।

सामाजिक, नैतिक संक्रमणका बारेमा उनले वर्णन गरेका छन्, ‘खेतमा किसानको कमी भइसकेको छ । सेनामा सैनिक छैन । बजारबाट ईमान्दारी गइसकेको छ । कचहरीमा न्याय छैन । मित्रतामा प्रेम देखिदैन । कलामा कौशल छैन । चरित्रमा दृढता छैन ।’ तात्कालीन युनानी रोमन सांस्कृतिक परिस्थितिको चित्रण हो यो । यसमा हाम्रो वर्तमानको प्रतिध्वनि छैन ?

अहिले नेपालको मिथिलाको गाउँ यस्तै अवस्थाबाट गुज्रिदै छ । विद्वान लेखकका अभिव्यक्ति राष्ट्रकै मामिलामा पनि मेल खान्छ । एउटा ईकाईको रुपमा गाउँलाई आधार बनाएर हेर्न सकिन्छ वा राष्ट्रलाई नै धेरैजसो ठाउँमा राखेर हेर्न सकिन्छ । कृषिमा कार्य गर्ने किसानको अभाव हुँदै जाने सन्दर्भ अहिले सबभन्दा ठूलो समस्याको रुपमा देखा पर्दैछ । श्रम गर्नसक्ने युवा गाउँबाट पलायन भइसकेका छन् । गाउँमात्रै हैन सहरमा पनि छैनन् । विदेशी भूमिमा आफ्नो श्रम सिंचन गरीरहेका छन् । आफ्नो भूमि बाँझो भएको छ । कृषि र पशुपालनमा आधारित ग्रामीण अर्थतन्त्रले आफ्नो स्वरुप गुमाइसकेको छ ।

विदेशबाट आउने रेमिट्यान्सका आश्रयमा बाँच्नेहरुको संख्या बढ्दो छ । वृद्धवृद्धा, महिला र बालबालिका विगतभन्दा यिनका जीवन सुविधाजनक भएको टाढाबाट हेर्दा देखिन्छ । पहिला खड र बाँसको घरको ठाउँमा अहिले पक्की घर बनिसकेको छ । जिउमा वस्त्र छ । भोको पेट बस्नु परेको छैन । थोरै धान वा चामलको लागि कुनै मालिक कहाँ धाइरहनु पर्ने अवस्था पनि छैन । तर पनि आश्रयबिहिन छन् । खाडी, मलेशियाबाट आउने पैसाले वृद्धवृद्धा, महिला र बालबालिका तीनवटैको भौतिक आवश्यकता पूरा गरिरहेको छ तर अभिभावकीय आवश्यकता कहाँबाट पूरा हुने ? शिक्षा, चेतना र दिगो इलमको ब्यवस्था कसले गरिदिने । वैदेशिक रोजगारी क्षणिक कमाई मात्रै भयो । जसले हार्डवेयरको लागि थोरै योगदान गर्छ । तर, मान्छेको सफ्टवेयर र पारिवारिक विखण्डनमा यसले ठूलो समस्या सिर्जना गरेको छ ।

बुढाबुढीहरुको आँखामा आँसुको ठाउँ रेगिस्तानको बालुवाले लिइसकेको छ । उजाड मौसममा आँखा रसाउन पनि छोडिसक्यो । विरामी पर्दा त के मर्दा पनि छोराछोरीको हातबाट दागबत्ती पाउने आशा मारिसकेका छन् । गाउँको छिमेक र नावालिग नातिनातिना माथि मात्रै थोरै आशा छ । बाबुआमा, काकाकाकी, मामामइजु वा अन्य नातागोताको कुरा छोडौं । श्रीमानश्रीमतीहरु एकआपसको शारीरिक र मानसिक आवश्यकतालाई विवस भएर भत्काउन बाध्य छन् । यस्तो विवसतामा परेका अभिभावकले आफ्ना सन्तानलाई स्याहार गर्न पाएका छैनन् । बच्चा अभिभावकीय जिम्मेवारी र स्नेहबाट बञ्चित छन् । किशोर नहुँदै ती बच्चा अनियन्त्रित भइरहेका छन् । उसको मानसिक र शारीरिक परिवर्तनका बेला उचित परामर्श र मार्गदर्शन गर्न सक्ने अभिभावक छैन । कुण्ठा र मानसिक उद्वेलनको अवस्थामा सहजै नसाको दुर्व्यसनमा पुग्नबाट रोक्ने कोही छैन ।

दुर्भाग्य नै भन्नु पर्छ, लकडाउनजस्तो विसम परिस्थितिले सिमाना र सिमाना नजिकका गाउँहरुमा हुने कतिपय आपराधिक क्रियाकलाप रोकिएको जस्तो भएको छ । भौतिक दुरी वा भनौं सामाजिक दूरी कतिपय तस्कर र आपराधिक व्यवहारमा मानिसलाई असैहृय भएको छ । कर्मकाण्डीय आयोजनमाथि विराम लागेको छ । कीर्तनको गर्जन बन्द छ । भीडले आफ्नो प्रभाव खुम्चिएको अनुभव गर्न थालेका छन् । सिमानाकाहरूमा हाम्रा अवोध वालकहरूको आवागमनमा अवरोध छ । तर यो त एउटा बाध्यात्मक परिस्थिति हो । यो दर्भाग्यपूर्ण परिस्थितिले नियन्त्रित कतिपय आपराधिक गतिविधि फेरि लकडाउन खुलेपछि सुरु हुनसक्छन् ।

मेरो घर जनकपुर बजारबाट करिब आठ किलोमिटर दक्षिण पूर्व अवस्थित पर्वाह हो । भारत नेपाल सिमानामै । मेरै गाउँ भएर रेलको लिक तेर्सिएको छ । माथि उल्लेखित कतिपय घटनाको अमुक साक्षी भएर मेरो गाउँ निरिह छ । यस्ता भित्री गाउँहरुमा स्थानीय सरकार, राज्य वा समाजलाई अग्रगामी बाटोमा लाने अभियानहरु कहिले आइपुग्लान् ? लकलाउनले गाउँभित्र सिमित भएको म आफ्नै गाउँको भविष्य सम्झिएर पिरोलिएको छु ।

प्रकाशित : वैशाख २०, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?