१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महाराजको सिंहासन

छोटे राजा आफ्नो सिंहासन आफूसँगै बोकेर हिँड्न थाले । जहाँ पुगे पनि पहिले सिंहासनले त्यो ठाउँको शोभा बढाउँथ्यो, त्यसपछि उनी सिंहासनको शोभा बढाउँथे । विदेश जाँदा पनि सिंहासन उनीसँगै हुन्थ्यो, अस्पताल जाँदा पनि ।
शरच्चन्द्र वस्ती

ठूलो तामझामका साथ शपथग्रहण सम्पन्न भयो र देशीविदेशी शत्रुहरू परास्त भएको घोषणा गर्दै छोटे राजाले गद्दी आरोहण गरे । दुई सातासम्म सबै सामान्य थियो । उनी ऐनामा आफूलाई हेर्थे र आफैं दंग पर्थे । भाट र चारणहरूको स्तुतिगान सुनेर आनन्दित हुन्थे ।

महाराजको सिंहासन

नगरका गल्ली, चोक र सडकमा, घरका भित्ता र बिजुलीका खम्बामा उनका तस्वीर शोभायमान थिए । स्वजनको त के कुरा भयो र, खम्बामुनि नित्यकर्म गर्दा श्वजन समेत मुन्टो उठाएर मुग्धभावले उनको अनुहार नियालिरहेका हुन्थे । दाजुभाइहरू दंगदास थिए— माइलाले दिग्विजय गरेकोमा । खुशीले तिनको मुख अहोरात्र आधा च्यातिएको हुन्थ्यो । निद्रामा पनि ।

तेस्रो सातादेखि फरक दृश्य देखिन थाल्यो । छोटे राजा आफ्नो सिंहासन आफूसँगै बोकेर हिंड्न थाले । जहाँ पुगे पनि पहिले सिंहासनले त्यो ठाउँको शोभा बढाउँथ्यो, त्यसपछि उनी सिंहासनको शोभा बढाउँथे । विदेश जाँदा पनि सिंहासन उनीसँगै हुन्थ्यो, अस्पताल जाँदा पनि । प्रातःकाल एक्लै प्रयोग गर्नुपर्ने सानो कोठाको ढोका समेत सिंहासन छिर्न सक्ने बनाइएको थियो । शयनकक्षमा सुकला हुँदा उनको दाहिने हातले सिंहासनको खुट्टामा

बाँधिएको सुनौलो डोरी थामेको हुन्थ्यो । मध्यरातमा शौचालय जान लाग्दा रानी त्यसमा अल्झेर साढे दुईपल्ट लडिसकेकी थिइन् ।

सिंहासनमा बसेपछि उनको आँखामा अनौठो चमक आउँथ्यो र मुख राम्रैसँग खुल्थ्यो । उनले आफूलाई स्वप्नदर्शी घोषणा गरेका थिए । भोकाहरूलाई घरघरै बिहान–बेलुका चौरासी व्यञ्जन आइपुग्ने सपना बाँड्थे । पानी माग्नेहरूलाई पानीजहाजको टिकट खुल्ने मिति सम्झाउँथे । नांगाहरूलाई भ्यूटावरको महत्त्व सुनाउँथे । भिखारीहरूलाई स्याटलाइट सिटी बन्ने विश्वास दिलाउँथे । झोलुंगे पुन माग्नेहरू समक्ष चुच्चे रेलको कथा हाल्थे । हेलिकप्टरबाट केक मगाएर सुदूर पहाडमा जन्मदिन मनाउन पुग्थे । सानोमा आफूले नुहाउने गरेको पँधेरोलाई राष्ट्रिय पर्यटन केन्द्र र डन्डीबियो खेल्ने गरेको खेतको गह्रोलाई अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेर फर्कन्थे । औंसी–पूर्णेमा दाजुभाइलाई वरिपरि राखेर बाँसुरी बजाउँथे । लोकप्रियता खस्किन्छ कि भनेर कसैले चिन्ता गर्‍यो भने भन्थे, ‘मूला जति उँधो लाग्यो उति सप्रन्छ । उति पोटिलो हुन्छ । विज्ञानसम्मत कुरा यही हो ।’

यसैबीच कोरोनाले विश्व भ्रमण शुरू गर्‍यो । आरामसाथ कौसीमा चढेर उनले लकडाउनको आदेश जारी गरे,

‘अब घरबाहिर ननिस्कनू । घरबाहिर नहेर्नू । घरबाहिरका कुरा नसुन्नू । घरबाहिर सुनिने गरी नबोल्नू । बाहिर जे गर्नु छ, हामी गर्छौं । चासो नदिनू । स्वतन्त्रताको सपना नदेख्नू । नत्र ढाड सेकाइन्छ । कोरोनाको होइन, नागरिकको ।’ आफ्नो सर्वज्ञता प्रकट गर्दै उनले निर्देशन दिए, ‘कोरोना आफैं मरिसकेको निर्जीव वस्तु हो । कालो चश्मा लगाएर तातो पानीले हात धुनू, यसको पत्तासाफ हुन्छ । यसले केही गर्न सक्तैन ।’

कौसीबाट ओर्लंदा छोटे राजा गद्गद थिए । रानीसँग भने, ‘आज मैले ठूलो काम गरें । दुनियाँ मेरो काम देखेर चकित छ । मेरो नाम गिनेस बुकमा आउँदै होला । अब अर्को ठूलो काम गर्नु छ ।’

भन्दैगए, ‘कोरोनाले पुराना सपना ध्वस्त पार्ने भो । बहुत राम्रो हुने भो । अब जनतालाई नयाँ सपना चाहिन्छ । सपना देख्न आँखा चिम्लनुपर्छ । म पनि कोरोना–सोरोनाबाट आँखा चिम्लन्छु । मेरो निद्रा नबिथोल्नू ।’ र, सिंहासन घिसार्दै शयनकक्षमा पसी सिरक ओढेर सुते ।

बीचबीचमा दाजुभाइहरू भेट्न जान्थे । बैठक कक्षमा दुई घण्टा प्रतीक्षा गर्थे । चिया खान्थे । मोबाइल चलाउँथे । अन्त्यमा सिरकमुनिबाट निस्केका दुई चरणको दर्शन गरेर फर्कन्थे । सारै जरूरी पर्दा आदेश र निर्णय सांकेतिक भाषामा आउँथ्यो । सल्लाहकारले अर्थ खुलाइदिन्थे— बूढीऔंला हल्लियो भने ‘हुन्छ’, पूरै पैताला हल्लियो भने ‘हुँदैन’ । केही सल्लाहकार विशेष शक्तिशाली मानिन्थे । तिनमा पैताला हल्लाइदिन सक्ने हैसियत रहेको विश्वास गरिन्थ्यो । तिनले माफिया, व्यापारी र ठेकेदारको फाँट सम्हालेका थिए ।

माइलो किन यस्तो भयो भन्ने बुझ्न नसकेर दाजुभाइहरू दिक्क हुँदैगए । त्यही रनाहामा एक दिन साइँलो एक धार्नी छोएला लिएर भैंसीबाबाकहाँ पुग्यो । केही वर्षअघि उनैले भैंसीपूजा गराएर उसको भाग्य जगाइदिएका थिए । साइँलाले मनको बह पोखेपछि माइलाको रहस्य खोल्दै बाबाले भने :

अहिले ऊ बस्ने गरेको सिंहासन उहिलेका श्री ३ महाराजको सिंहासन हो । गद्दीमा बसेको एक हप्तापछि माइलो त्यो गद्दी नून नहालेको तर्कारी जस्तो भो भन्दै मकहाँ आएको थियो । ‘मलाई महाराजको सिंहासन ल्याइदेऊ’ भनेर खूब रोड्याइँ गर्‍यो । मैले ‘तँ श्री ३ को विरोधी हुँ भनिहिंड्नेलाई फेरि किन चाहियो श्री ३ कै सिंहासन ?’ भनेर हप्काएँ । उसले ‘त्यो त दुनियाँलाई देखाउन भन्या नि’ भनेर ङिच्च गर्‍यो र ‘म श्री ३ होइन, श्री ३ लाई हटाउनेहरूको पो विरोधी, मेरा असली दुश्मन त ती पो हुन्’ भन्दै मेरा खुट्टा समात्यो । दुई दिनसम्म त मैले सक्तिनँ, हुँदैन नै भनें । त्यो सिंहासन खतरनाक छ, त्यसमा बसेपछि दाजुभाइले नै सिध्याउँछन् भनेर डर पनि देखाएँ । तर उसले मान्दै मानेन । एकदमै अपहत्ते गरेपछि तेस्रो दिन मध्यरातमा तीन घण्टा राँगोपूजा गराएर महाराजको सिंहासनको आत्मा त्यसमा हालिदिएको छु । तीन गद्दीको शक्ति छ त्यसमा । त्यही भएर ऊ सिंहासन बोकी हिंड्छ । त्यसमा बस्यो कि उसमा श्री ३ को भूत सवार हुन्छ । अनि तिमीहरूलाई के गन्थ्यो त्यसले ?

‘कसरी तीन गद्दी भए प्रभु ? माल्दाइसँग त दुई गद्दी मात्र छन्— एउटा हामीले दिएको, अर्को दुनियाँदारले दिएको । होइन र ?’ साइँलाले हात जोड्यो ।

‘ए हुस्सू १ गर्मी भएको वेला कहिलेकाहीं शीतल–पाटी जाने गरेको छस् कि छैनस् ?’ बाबाले उसको अज्ञानतर्फ इंगित गरे, ‘तेस्रो गद्दी त्यही हो । हरेक गद्दीको शक्ति एउटा चकटीमा हालेर तीनवटा चकटी खापिएको छ त्यो सिंहासनमा । के बुझिस् ? हेर्दै जाओ, अब के के गर्दो रहेछ माइलाले ।’

भैंसीबाबाबाट सिंहासनको रहस्य थाहा पाएपछि दाजुभाइहरू माइलाले हाच्छिउँ गर्दा पनि झस्कन थालेका थिए । एक दिन अचानक छोटे राजा हातमा खड्ग लिएर शयनकक्षबाट निस्केको सुनियो । पहिले त उनीहरूको होशहवासै उड्यो तर एकै छिनमा आँट गरेर ठाउँको ठाउँ झ्यापझुप समाते । र हप्काए, ‘क्या हो, हामीलाई हान्न हिंडेको ?’

हडबडाउँदै उनले भने, ‘तपाईंहरूलाई होइन । यसो दुश्मनहरूलाई तर्साउनुपर्‍यो भनेर ।’

‘मलाई पत्यार लागेन माइला,’ जेठाले भने, ‘पहिला यो हतियार हटाइहाल् ।’ घेराबन्दीमा परेका छोटे राजाले आनाकानी नगरी खड्ग बिसाए ।

‘वर्तमान परिप्रेक्ष्यमा यसरी राजकाज चल्न सक्तैन,’ जेठाको बोली तत्काल उच्च भयो, ‘सबै चकटी तैंले मात्र ओगट्ने ? एउटा चकटी मलाई चाहिन्छ ।’

‘मलाई पनि एउटा चकटी दिने भनेर मने निश्चित रूपमा खोलमा झुलाइरहेका छौ दाजै । सहनुको पनि हद हुन्छ, कति सहनु ?’, साइँलाले ङ्वार्र गर्‍यो ।

‘सानो भनेर नहेप नि । चकटी त मलाई पनि चाहिन्छ,’ यो कान्छाको स्वर थियो ।

‘हो, हो । एक व्यक्ति एक चकटी हुनैपर्छ । नत्र बाँकी राखिंदैन । गुठियार बोलाइन्छ र ठीक लगाइन्छ,’ काइँलाले जग हाल्यो ।

चारै जना आवेशमा आएर उफ्रिन थालेपछि कोलाहल मच्चियो । एक छिन तमाशा हेरेर छोटे राजाले भने, ‘साइँलालाई एउटा चकटीको खोल दिएकै छु । चाहिन्छ भने जेठालाई पनि दिउँला । अरू जे भन्छौ ठीकै छ । चकटीकै आस चाहिं कसैले नगरे हुन्छ । त्यो मेरो सिंहासनको अभिन्न अंग हो ।’

‘भाग त लगाउनैपर्छ’ सामूहिक स्वर घन्कियो ।

‘ए, मेरो सिंहासनै भत्काउने ?’ छोटे राजा गर्जिए, ‘त्यो दिन आउनुभन्दा अघि यहाँ धेरै थोक भत्किन्छ ।’ उनको रक्तचाप बढिसकेको थियो, ‘मसित एउटा मात्र हतियार छ भन्ठान्या ? मर्नु परेपछि खुट्टै तन्काएर...’

चारै जना स्तब्ध भए । वातावरण चकमन्न भयो ।

महाराजको सिंहासन मुसुमुसु हाँसिरहेको थियो ।

प्रकाशित : वैशाख २०, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?