खोइ के बन्द छ यहाँ ?

एंगेल्सको किताब ‘डाइलेक्टिस् अफ नेचर’ मा ब्याक्टेरिया शब्द भेटिन्छ तर भाइरस उल्लेख छैन । यदि एंगेल्स भाइरसको यो द्वैध चरित्रबारे जानकार भएका भए जीवनलाई कसरी परिभाषित गर्थे ? आफ्नो लामो दाह्री हल्लाउँदै सायद भन्दा हुन्– द्वैध चरित्र मान्छेको मात्र एकलौटी रहेन ।
रामचन्द्र श्रेष्ठ

जिन्दगीको गतिमा अनायास ब्रेक लागेको छ । सारा दैनिकी बदलिएका छन् । स्वाभाविक र चलनचल्तीको बाटो छोडेर हामी अञ्जान यात्रा गर्न विवश छौं । हुन त ‘नियमित आकस्मिकता’ मा बालकृष्ण समले आकस्मिकतालाई इन्‍कार गरेका छन् । हरेक आकस्मिकताको पछाडि नियमितता हुन्छ भनी वकालत गरेका छन् ।

खोइ के बन्द छ यहाँ ?

पक्कै पनि यो आजको नियमितताको पछाडि लम्बेतान ऐतिहासिकता होला । तथापि आज भोग्नेहरूका लागि जिन्दगीको निरन्तरतामा निकै फेरबदल आएको छ ।

धनको बिटो सोहोर्न व्यस्तहरूका लागि आम्दानीको मुहान थुनिएको छ । पैसाको छेलोखेलो नभए पनि दुई छाक खान पुग्नेहरूका लागि व्यस्त दैनिकीमा फुर्सदको खहरे आएको छ । दैनिक पसिना बेच्नेहरूको जिन्दगीमा दुई गाँस पनि भयंकर प्रश्न बनेको छ । सपनाको गोडमेल गर्न सहर आएका गाउँका अतिरिक्त श्रमशक्ति भोकै, प्यासै सयौं किलोमिटर लामो यात्रा हिँडिरहेका छन् । लकडाउन अर्थात् सबै थोक बन्द । तर, के बन्द छ र यहाँ ? सन्तापहरू बन्द भए ? पिरहरू पिरोलिन छोडे ? ती जो हिजो पनि मस्त थिए, आज पनि उस्तै छन् । ती जो हिजो पनि त्रस्त थिए, आज पनि भयभीत छन् । जिन्दगी कोरोना भनेर चिनिने कोभिड–१९ ले मात्र होइन, भविष्यको धमिलो क्षितिजले त्रस्त छ । जिन्दगी पूरै बदलिएको छ । रामकृष्ण ढकालको गीतमा जस्तै कहाँबाट जिन्दगीले यहाँ ल्याइसकेछ... ।

दिमाग पूरै अशान्त छ । मजस्तै एक्लै बस्ने साथी अमित पनि अझै सुतेको छैन । फेसबुकमा हरियो बत्ती बलेकै छ । ऊ भन्छ, ‘लकडाउनपछि दिन र रातमा फरक हुन छोड्यो । कति बेला सुत्छु र कति बेला उठ्छु निश्चित नै छैन ।’ हो त, लकडाउनपछि हाम्रा दैनिकी हेरफेर भएका छन् । हिजो हामीलाई बाध्यता थियो । तोकिएको समयमा तोकिएको ठाउँ पुग्नु थियो । तोकिएको काम गर्नु थियो । त्यसका लागि जीवनशैली पूरै घडीको तालमा बाँध्नुपर्थ्यो । दौडादौडको दैनिकी हेर्दा यस्तो लाग्थ्यो, घडी हातमा होइन खुट्टामा बाँधिएको छ । देवकोटाले ‘घडी’ निबन्धमा ‘मानिसले घडी होइन, घडीले मानिस बाँधेको छ’ भनेर त्यसै लेखेका होइनरहेछन् । जब–जब व्यस्तताको हदले आफैंलाई पिरोल्थ्यो, मलाई देवकोटाको निबन्ध सम्झना भइराख्थ्यो । हातको घडीले ‘तँ मेरो बन्दी होस्’ भनेजस्तो लाग्थ्यो । समय नाप्ने यो फिस्टे यन्त्र मान्छेको सबैभन्दा ठूलो नेल लाग्थ्यो । फुर्सदका यी दिनमा मैले घडीलाई हातबाट पर मिल्काएको छु । तर, अचम्म यो के म आफैँलाई फेरि पनि स्वतन्त्र ठानिरहेको छैन । एक अनौठो खालको बेचैनी, चिन्ता र अस्तव्यस्ताबीचको व्यस्तताले फेरि पनि छोडेको छैन । यस्तो किन भइरहेछ ?

साँच्चै, हिजो फुर्सद कति भव्य कल्पना थियो तर आज प्राप्तिमा त्यही किन मीठास बनिरहेको छैन ? सारा धपडीको अल्पविराममा पनि किन आनन्द प्राप्ति भइरहेको छैन ? किन यो समय सुन्दर बन्न सकिरहेको छैन ? सबै थोकको बन्दाबन्दीमा पनि किन मान्छेका हृदय र दिमाग चञ्चल भइरहेका छन् ? किन कोही अनेक परिकार बनाएर दुनियाँलाई देखाउन व्यस्त छ ? किन कोही स–साना विषयमा पनि अनेकन अभिव्यक्ति दिएर वाचाल भइरहेछ ? किन केही जना सामाजिक सञ्जालमा तितोपिरो गरिरहेछन् ? खोइ के बन्द छ यहाँ ? को शान्त छ यहाँ ? सायद यही चञ्चलता नै जीवनको लक्षण हो ।

सायद कुनै न कुनै प्रकारले गतिको संकेत गर्नु नै जीवित हुनुको अभिव्यक्ति हो । उसो त केही सूक्ष्म जीवहरू आफूलाई प्रतिकूल हुने मौसममा जीवनप्रक्रियालाई नै शिथिल राखेर बसिदिन्छन् । उसो त पृथ्वीको यही वातावरणमा विद्यमान विषाणुले हामीलाई आक्रान्त पारेको छ । जीवन र अजीवनको गुण देखाएर यसले जीव विज्ञानलाई एउटा रहस्य प्रकट गरिदिएको छ । न योसँग जीवन हुनका लागि आधारभूत बनोट भएको कोष छ, न त यसले जीवित भएको प्रतिक्रिया दिन्छ । योसँग केवल रसायन छ, जसलाई विज्ञानको भाषामा न्युलिक एसिड भनिन्छ । त्यो पनि कि त आरएनए कि त डीएनए अनि त्यसलाई प्रोटिनको खोलले ढाकेको छ । अरू बेलामा यो रासयनिक संरचना चुपचाप बस्छ । जब कुनै माध्यममार्फत आफूलाई अनुकूल हुने कोषमा पुग्छ आफ्नो रसायन खन्याउँछ अनि जीवित भएको प्रतिक्रिया दिन्छ । आफ्नो संख्यामा अभूतपूर्व वृद्धि गरिदिन्छ ।

कोभिड–१९ ले हामीलाई फेरि यो विषाणुसँग परिचित हुने मौका दिएको छ । विज्ञानका कक्षामा पढेका जानकारीहरू सम्झन्छु । विभिन्न वैज्ञानिक र विज्ञानप्रेमीहरूले लेखेको लेख पढ्छु । अनि मलाई जीवनबारे बोध हुन थाल्छ । म सोच्न थाल्छु, खासमा यो कोभिडले हामीलाई जीवन पढाइरहेको छ । यसले भनिरहेको छ, ‘हेर १ जीवन निश्चित रासायनिक संरचना हो । अनुकूल वातावरण र स्थान पाएपछि प्रतिक्रिया गरेर आफूलाई अभिव्यक्त गरिदिन्छु । प्रतिकूल समयमा निस्तेज भइदिन्छु ।’ तर, के जीवन यत्ति हो त ? के जीवन जटिलतम रासायनिक संरचना र रासायनिक प्रतिक्रियाहरूले हुने अभिव्यक्ति मात्र हो त ? के हो जीवन ? जीवनलाई कसरी बुझ्ने ?

‘एन्टी ड्युरिङ’ मा फ्रेडरिक एंगेल्सले जीवनका सम्पूर्ण प्रक्रियाहरूका माध्यमबाट मात्रै जीवन बुझ्न सकिने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘जीवनबारे व्यापक ज्ञानका लागि जीवन जहाँ–जहाँ प्रकट हुन्छ ती सबै, सूक्ष्मदेखि उच्चतमसम्मको अध्ययन गरिनुपर्छ ।’

एंगेल्सले आजको विज्ञानको चमत्कार देख्न पाएनन् । उनको जीवनको उत्तरार्द्धतिर सूक्ष्म जीवहरूको अध्ययन हुँदै थियो । लुई पास्चर रेबिजको वास्तविक कारण पत्ता लगाउन प्रयत्नरत थिए । एंगेल्स ब्याक्टेरियासम्म परिचित थिए । तर, सोह्रौं शताब्दीको अन्त्यतिरबाट विषलाई जनाउन ल्याटिन भाषामा भाइरस शब्द प्रयोग भए पनि सजीव र निर्जीव दुवै गुण बोकेको यसबारे उनी परिचित थिएनन् । उनको चर्चित पुस्तक ‘डाइलेक्टिस् अफ नेचर’ मा ब्याक्टेरिया शब्द भेटिन्छ तर भाइरस उल्लेख छैन । यदि एंगेल्स भाइरसको यो द्वैध चरित्रबारे जानकार भएको भए जीवनलाई कसरी परिभाषित गर्थे होलान् ? आफ्नो लामो दाह्री हल्लाउँदै सायद भन्दा हुन्– द्वैध चरित्र मान्छेको मात्र पेवा होइन रहेछ । जसरी मान्छेले शान्त शरीरमा अस्थिर मानसिकता बोकेर बस्छ, जसरी मान्छेले दयालु देखिएर हिंसा अभिव्यक्त गरिदिन्छ, जसरी मान्छेले आँखाले देखेको सत्यलाई पनि अस्वीकार गरिदिन्छ र द्वैध चरित्रमा सम्पूर्ण अधिकार कायम गर्छ, अब यो मान्छेको मात्र एकलौटी रहेन ।

उसो त भाइरसजस्तै रहस्यमय छ मान्छे । मानवशास्त्रमा चर्चित उक्ति छ– मान्छेले विश्व, ब्रह्माण्डको व्यापक अध्ययन गरिसक्यो तर सबैभन्दा कठिन मान्छेकै अध्ययन हो । मान्छेले प्रकृतिसँग संघर्ष गर्दै, कैयौं प्राकृतिक सीमिततालाई पार गर्दै आफ्नो शरीरको निर्माण गरेको हो । उनै एंगेल्सले भनेका थिए, ‘मान्छे १ तँ तेरै हातको श्रमको कारण दुईखुट्टे भएको होस् । श्रमकै कारण आफ्ना हातहरूलाई स्वतन्त्र पारेको होस् ।’ मान्छेले आफ्नो ज्ञानको क्षितिज बढायो । संज्ञानको निर्माण गर्‍यो । संगठनको निर्माण गर्‍यो । मुख्यतः यसले संस्कृतिको निर्माण गर्‍यो । प्रकृतिले जे दिएको छैन र मान्छेले जे बनाएको छ त्यही त संस्कृति हो ।

लामो यात्रामा मान्छेले यो धर्तीमा अनेकन कठिनाइमाथि विजय हासिल गरेको छ । प्रागऐतिहासिककालमा नै मान्छेले ज्वालामुखी विस्फोटबाट लगभग सखाप हुने परिस्थिति झेलेको थियो । सभ्यताको उदयपश्चात् पनि युद्ध, महामारी र अनेकन प्राकृतिक प्रकोपहरूसँग मान्छे जुध्यो । विज्ञानको उन्नति हुँदै जाँदा आँखाले नदेख्ने सूक्ष्म भाइरसको पनि अध्ययन गर्न सक्यो । लाखौँ प्रकाश वर्ष टाढाका तारालाई पनि अवलोकन गर्न सक्यो । प्रकृतिले दिएका क्षमतालाई मान्छेले फराकिलो पार्‍यो । चिकित्सा विज्ञानमा गरेको असाधारण प्रगतिले आफ्नो आयु लम्ब्यायो ।

चौधौं शताब्दीमा बिफरले महामारी मच्चाउँदा मान्छेसँग ईश्वरको प्रार्थना गर्नुभन्दा अन्य विकल्प थिएन । तर, अहिले मान्छेले यति छिटो यो भाइरसको अध्ययन गरिसकेको छ, यसका कैयौं चरित्रबारे पत्तो पाइसकेको छ । चिकित्सा विज्ञान र प्रविधिको समायोजनले मान्छेले छिट्टै यो भाइरसमाथि विजय पाउला । तर, आज पनि विश्वका मै हुँ भन्ने शक्ति राष्ट्रहरू किन कायल छन् ? हिजो यो धर्तीलाई सात टुक्रा पार्ने अणुबमको धाक दिने राज्य किन आज रोइरहेको छ ? विश्वलाई उन्नति, प्रगतिको कथा भन्ने युरोप महादेश आज एकै झोकमा किन यति बेचैन भयो ?

थाहा छ, यो विषम परिस्थितिमा गिज्याएजस्ता यी प्रश्न खासै शोभनीय होइन । तर, मार्क्सको द्वन्द्ववाददेखि लाकेनको मनोविश्लेषण र हेगेलको मेटाफिजिक्ससम्म पकड राख्ने दार्शनिक स्लावोज जिजेकले भर्खरै प्रकाशित किताब ‘पाण्डेमिक : कोभिड १९ सेक द वर्ल्ड’ मा गरेको प्रश्न दोहोर्‍याउन मन लाग्छ । जिजेक भन्छन्, ‘हामीले यही मुख्य प्रश्न उठाउनु छ कि हाम्रा प्रणालीमा के त्यस्तो गल्ती भयो जसले गर्दा वैज्ञानिकहरूले केही वर्षदेखि चेतावनी दिँदादिँदै पनि हामी यो विनाश सामना गर्नका लागि तयार भएको देखिएन ?’

चीनदेखि युरोप हुँदै कोभिडद्वारा मारिएका मान्छेको लासको तस्बिरले आक्रान्त बनाउँछ । मेरो सानो सहर बुटवलमा कोभिड पुष्टि नभए पनि आरोपित भएर मृत्युवरण गर्न विवश बाबुराम थापाको मृत्यु संस्कारको क्रममा उत्पन्न भय सुन्छु । मान्छेको जीवनको यो हदको अवमूल्यन देख्दा र सुन्दा बेचैन हुन्छु । मेरो चिन्ता जिजेकको प्रश्न नै हो । किन २१ औं शताब्दीका हाम्रा उन्नत सभ्यताहरू साह्रै सूक्ष्म विषाणुसँग हायलकायल भए ? जबकि २०१६ मै वैज्ञानिकहरूले यसको संकेत गरिसकेको खबर आएको छ ।

यही प्रश्नको समाधान खोज्न भौँतारिइरहन्छु । कहिले जनस्वास्थ्य र राज्यको सम्बन्ध बुझ्न जनस्वास्थ्यविद् शरद वन्तको लेख ‘राज्यको भूमिका : जनस्वास्थ्यको दृष्टिकोणबाट’ पल्टाउँछु । उनी राजनीतिक संरचनाको प्रकृति कसरी रोग र प्रकोपको सामनाको लागि जिम्मेवार हुन्छ भनी औंल्याउँछन् । आजभन्दा १८ वर्षपहिले प्रकाशित उक्त लेखको आधारमा वर्तमान छाम्न खोज्छु । उता चर्चित विश्लेषणात्मक पत्रिका ‘मन्थ्ली रिभ्यु’ मा चार जना लेखकले आठ हजार शब्दको लेख लेख्न भ्याइसकेका छन् । उनीहरू वन्त पढेर बनेको मेरो विचारमा मलजल गर्दै भन्छन्– आज अमेरिकामा देखिएको संकट उहिल्यै अमेरिकी राज्यले मुठ्ठीभरका मानिसहरूका लागि मात्र स्वास्थ्य सेवा सीमित पारेको परिणाम हो । अमेरिकी राज्यले कहाँ चिकित्सा विज्ञानको अनुसन्धानका लागि लगानी गरेको छ र ? त्यसले त हतियारमा पो लगानी गरेको छ । त्यसले युद्ध सामग्रीको निर्माणमा लगानी गरेको छ । हाम्रो हजारौं वर्षको सभ्यतामा यो सबैभन्दा ठूलो व्यंग्य होइन ? जीवनका लागि हुनुपर्ने लगानी, जीवनहरणका लागि भइरहेको छ ।

मेरो सम्झनाको धमिलो क्षितिजमा एकाएक क्युबाली विदेशमन्त्री आउँछन् । फिडेल क्यास्ट्रोको पालामै ती क्युबाली विदेशमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै भनेका थिए– हतियारमा होइन औषधिमा लगानी गरौं । फेरि सम्झन्छु, चिलीकी ती जोसिली क्यामिला भाल्लिजोलाई, जसले आठ वर्षपहिले रित्ता अश्रुग्यासका खोकाहरूले घेरिएर हतियारमा होइन शिक्षामा लगानी गर्न माग गरिरहँदा अपमान र तिरस्कार खेपेकी थिइन् ।

सायद मानवताको सबैभन्दा ठूलो चुनौती नै बुद्धहरू वनबास जानु र युद्धवीरहरूले राज गर्नु हो । जीवनको साटो मृत्युको खेती गर्नु हो । मानवतामाथिको यो अपराध देख्दा आक्रोशको ज्वारभाटा उठ्छ तर, आफैंलाई थाम्न अर्नेस्ट हेमिंग्वेको वाक्य दोहोर्‍याउनुको विकल्प छैन, ‘मान्छे ध्वस्त हुन सक्छ तर परास्त हुन सक्दैन ।’

प्रकाशित : वैशाख २०, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?