२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

महामारीमा नेपाली राजनीतिको रहस्यवाद

विगतका आँधीले हानेका वर्षहरुसँग जुधेका नेपालीहरुको इतिहासले देखाएको छ, नेपालमा दुईवटा कुरा अकाट्य यथार्थको रुपमा देखिए । पहिलो, यस देशका जनता अधिकार र लोकतन्त्र पद्धतिका निम्ति जस्तो संघर्ष गर्न पनि तयार छन् । दोस्रो, यो देशमा स्वतन्त्र विचार राख्ने मिडिया, लेखक र चिन्तकहरु छन् ।
अभि सुवेदी

काेरोना महामारीले नेपालको, खासगरी शक्तिमा रहेको राजनीति, मेरानिम्ति रहस्यवादी बन्दै गएको छ । त्यसो त साहित्यिक र सांस्कृतिक अध्ययनहरूमा रहस्यवादको छलफल गरिआएकै हो । तर यहाँ भन्न खोजिएको रहस्यवाद कुनै उपनिषद, तन्त्रयोग, क्रिस्तानी धर्मका रहस्यहरू वा सुफी मतसँग जोडिएको छैन । यो सोझै नेपाली बोलीमा आउने कुरासँग जोडिएको छ । यसमा मैले भन्न खोजेको कुरा सोझो छ ।

महामारीमा नेपाली राजनीतिको रहस्यवाद

त्यो हो, अहिले यो भयानक महामारी र संकटको बेला नेपालका शक्तिमा रहेका केही क्रान्तिकारी राजनीतिक दलका नेता र राज्यसञ्चालकहरूले जे गर्न लागेका छन्, त्यो नै मेरानिम्ति रहस्य बन्दै गएको हो । अहिले मानिस यसरी विचलन भएर सलबलाएका छन् मानौं ती कुनै युद्धले विस्थापित भएका छन् । कोही लुकेरै बसेका छन् । अहिले विश्वभरि छरिएका नेपालीहरूको एक मात्र आवाज नेपाल भएको छ । यहाँका समाचारहरूले भन्छन्, राहत खासै पुगेको छैन । उपचारका उपकरण र विधि सहयोगमा आएका हुन् वा किनेका हुन् तिनको प्रस्ट चित्र छैन । राजनीेतिक सिद्धान्तका दर्शनहरू सबै दलहरूका परिचय बनेका छन् । सत्तासीनलाई प्रगतिशील र समाजवादी भनिएको छ भने विरोधी दललाई प्रजातान्त्रिक समाजवादी भनिएको छ । कोही पुरातन सनातनी राजनीतिक प्रणाली नल्याई नछाड्ने भनेर लागेका छन् । प्रजातन्त्रमा बहुल दलका बहुल विचार हुन्छन् । म यसलाई अत्यन्त लोकतान्त्रिक धार मान्छु । तर राष्ट्रिय र वैश्विक संकट परेको बेला पनि राजनीति गर्नेहरू र सरकार चलाउनेहरू तिनै शक्ति र धनका हिजोदेखिका कर्ममा लिप्त हुनु, अझ जनता अप्ठ्यारोमा परेका बेला अहिले नै दुनु सोझ्याइहालुँ भनेर लाग्नु नै एउटा ठूलो रहस्यवाद भएको छ ।

शासकीय दलका नेताहरूले हरेक अर्को व्यक्तिलाई औपचारिक भाषामा सम्बोधन गर्न छोडेका छैनन् । भाष्य यस्ता पढ्न पाइन्छन् अखबारमा ––फलाना कामरेडको फलानो निवासमा फलानाफलाना कामरेडहरूको मिटिङ बस्यो । फलानाफलाना कामरेडहरू फलाना कामरेडको नजिक र फलानो एकताबाट फलानालाई ठीक लाउने कुरामा लाग्नुभएको छ । त्यसो त मिलन पनि त्यही तरिकाले हुन्छ । मिलन भएपछि अमूक ठूला कामरेडले भन्नेछन्–– प्रस्ट रूपमा भन्दा, विदेशी तत्त्वहरूले हामीलाई विभाजन गर्न खोजेका थाहा भैसकेको छ । तपाईं जनता जनार्दनले हामीलाई दुई तिहाइ भोट दिएर जिताउनुभए पनि एकाध कुराहरू अलिक नमिलेकाले अलिक तान्त्रिक विधि नअपनाइनहुने भएकाले अर्का पार्टीका एकाध मानिस नल्याइनहुने भएको हो । बुझ्नुपर्छ, तान्त्रिक रहस्यवादको विधिका निम्ति केही पात्रहरू चाहिन्छन् । पूजा गरिन्छ । नाचहरू पनि हुन्छन् ।

उपनिषदीय रहस्यवादमा एक ईश्वर वा परब्रह्म हुन्छ । त्योसँग हामी सबैले मिल्नु वा एक हौं भन्नु एक मात्र बाटो हो । मार्क्सलाई त्यस्तै एक शक्ति मानेर हामी सबै मिल्नुपर्छ भन्नु एक उपनिषदीय शैलीको वामपन्थी रहस्यवाद हो । अर्को रहस्यवादले अनेकौं विधिको प्रयोग गर्छ । तन्त्र पनि त्यसमा एउटा विधि हो । यत्रो महामारीमा कामरेडहरूका यस्ता चिन्ता, यस्ता रहस्यवाद देखेर माथि मार्क्सलाई पनि दिक्क लाग्दो हो । त्यसैले उनले जीवनकालमै भनेका थिए, म क्रान्तिकारी हुँ, तर मार्क्सवादी होइन । पुस १ गते २०७६ देखि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा तीन दिनसम्म चलेको अमेरिकी नाटककार हवार्ड जिनको ‘मार्क्स इन् सोहो’ भन्ने नाटकको नेपाली रूपान्तरण ‘मार्क्स फर्किए’ को प्रस्तुति हेर्ने सबैलाई थाहा छ यो कुरा । त्यसो त रहस्यवादको अर्को पाटो पनि छ । नेपालका विरोधी दलका नेताहरू जो आफूलाई कामरेड भन्दैनन् तर सत्तामा आसीन कामरेडहरूसँग केही गोप्य सम्झौताहरूद्वारा बोलीचाली र संयम साधना गर्छन् तिनको रहस्यवाद फेरि अर्को छ ।

तर यहाँ केही मार्क्सवादी नेताहरूको सम्झना गर्नुपर्छ जो साँच्चिकै जनताका निम्ति समर्पित थिए । त्यसो त अहिले पनि कति त्यस्ता मार्क्सवादी नेताहरू छन् नेपालमा जसको बोली सुनिदैन र ती कहिलेकाहीं झिनो आवाजमा आफ्ना कुरा राखिरहेका भेटिन्छन् र पढिन्छन् । सबै दलमा यस्ता लेखक र विचारक छन् । म धेरैको नाम लिन चाहन्नँ । तर मनमोहन अधिकारीको एउटा प्रसंग ल्याउन चाहन्छु । राजनीति मेरो कर्म नभए पनि अनेकौं दलका केही नेपाली राजनेताहरूलाई मान्ने र तिनको विषयमा लेखन र प्राध्यापन गर्ने मानिस भएकाले एउटा चाखलाग्दो र सम्झनामा आइरहने प्रसंग यहाँ दोहोर्‍याउन चाहन्छु ।

यही पत्रिकामा प्रकाशित मेरो एक लेखका केही हरपहरू उध्दरण गर्न चाहन्छु– ‘भारतमा कार्यक्रमको सिलसिलामा आएका विश्वविख्यात मार्क्सवादी विद्वान् फ्रेडरिक जेमिसनलाई काठमाडौंमा आउने मिलायौं । लिटरेरी एसोसिएसनको अध्यक्ष थिएँ म । त्यही समाजका निम्ति मैले काठमाडौंमा उनको एउटा प्रवचन मिलाएँ । त्यही बेला जेमिसनले मनमोहन अधिकारीसँग भेट्ने बलियो चाहना राखे । म मनमोहन अधिकारीलाई लिएर उनको होटल गएँ । मनमोहन अधिकारीको लोकतान्त्रिक समाजवादी विचारले जेमिसन अत्यन्त प्रभावित भएका थिए । यो भेटको विषयमा मैले विचारहरूमा लेखें । तर एउटा यस्तो छ, ‘यो दोस्रो भेटमा जेमिसन उनीसँग अत्यन्त प्रभावित भए । रमाइलो कुरा अर्को थियो । मनमोहनलाई भेटेर नेपालमा चाहिँ धेरै ठाउँमा सम्भव नभएको कम्युनिस्टको चुनावी सरकार बन्न सक्ने कुरामा आशा पलायो, जेमिसनलाई, त्यो नोभेम्बर १९९३ को अमूक दिनमा । त्यसको ठीक एक वर्षपछि नोभेम्बर १९९४ मा मनमोहनजी नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए, जुन जेमिसनको भविष्यवाणी पुगेको एक ऐतिहासिक घटना थियो । तर सायद अब प्रधानमन्त्री हुने ओली वा प्रचण्ड र मनमोहन अधिकारीमा कति कुरा साम्य र कति फरक रहेछन्, त्यो हेर्न इतिहास, सन्दर्भ र समय पनि हेर्नुपर्छ । कम्युनिस्टहरूकै समय र यथार्थ अनि मिथकका पुनर्व्याख्या भएका छन्’ (कान्तिपुर ३ पुस २०७४) ।

आजको प्रसंग आफैं बोल्छ । एउटा लेखमा धेरै कुरा राख्न सकिँदैन । अहिले कमिनिस्टहरूकै सरकार छ । तिनकै दल ठूलो बहुमतमा छ । मेरा प्रश्नहरू अनेक छन् । ठाउँ नभएकाले अलिक अर्को प्रसंग ल्याउन चाहन्छु । त्यो अर्को रहस्यवाद हो । नेपालको २०७२ सालको महाभूकम्पपछिको कुरा हो । बसन्त बस्नेतको चिनिएको किताब ‘७२ को विस्मय’ (२०७५ः३५) बाट केही उद्धरण लिन्छु, ‘नेताहरू भागेर बाहिरपट्टिको साँघुरो गल्लीमा आइपुगे । भाग्दाभाग्दै प्रचण्डले एकै सासमा भनिभ्याए, ‘यति डर त मलाई युद्धमा पनि लागेको थिएन’ । अर्को चालाग्दो उद्धरण छ, ‘पराकम्पनहरूकै बीच प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई भनेका थिए, ‘मलाई त बाँचिन्छजस्तै लागेको थिएन । अब सारा तिक्तता बिर्सेर संविधान जारी गर्नेतिर लाग्नुपर्छ । ककसले केके छाड्ने वार्ता गरेर टुंग्याऔं । संविधान जारी नगरी फ्याट्ट मरियो भने त जनताले सराप्छन् ।’ जेठ २५, २०७२ मा सोह्रबुँदे सम्झौता भयो । अहिले ती दुवै जना पार्टी अध्यक्ष छन् । केपी ओली प्रधानमन्त्री छन् जो यो लेखेको बेलासम्म आफ्नै कुर्सीमा पराकम्पनका अनुभव गर्दै छन् । अहिले यो रहस्यवादका पात्रहरूको ध्यान शक्ति र शासन, धन र मनलाई नत्थी गरेर चलेको छ । ‘ककसले केके छाड्ने वार्ता गरेर टुङ्ग्याऔं’ भन्ने प्रचण्डको अभिव्यक्ति ‘न्यु हिस्टारिसिस्टले’ नोटबुकमा लेखुन् ।

विरोधी दलहरूले आन्दोलन गर्ने प्रस्ताव पास गरेका छन् । शासकीय दल र सरकारका चक्रवात हिजोकै जस्ता छन् । विपद्ले राजनीतिक चिन्तनमा पर्ने प्रभाव भनेको एकता हो जुन भूकम्पको उदाहरणबाट देखियो । भूकम्पपछि एउटा ठूलो क्षेत्रका जनता प्रभावित भएका थिए । अहिले देश, छिमेक र विश्वकै मानिस प्रभावित छन् । अखबार भन्छन्, नेताहरू लेनदेन मिलाउन कुदिरहेका छन् । हिजोको जीवन क्षणभंगुर देख्ने नेताहरूमा आज चिरञ्जीवी चेतना आएकोलाई राम्रै मान्नुपर्छ । तर यस्तो महामारीको बेला सबैलाई जीवनको अकिञ्चन बोध भएको बेला उनीहरूमा समाधानतिर जाने चेतना भने किन आएन ? आजका शासकीय दलका नेताहरू र सरकारले किन यस्ता राजनीतिक खेल, शक्ति उन्माद र लेनदेनका कुरालाई नेपाली राजनीतिको मूल ठाउँमा ल्याउने हर्कत गरिरहेका छन् भन्ने रहस्यवादको मूल पाटो हो । विरोधी दलहरू झन्डा लिएर आम जनतालाई उरालेर कुन सडकमा जान्छन् ? दूरी कति मिटरको राख्छन् ? रहस्यवादको यो अर्को पाटो हो । विश्वकै शक्तिलोलुप नेता र शासकहरूका भाष्यमा एकल चरित्र भेटिन्छ ।

अन्त्यमा, विगतका यी आँधीले हानेका वर्षहरूसँग जुधेका नेपालीहरूको इतिहासले देखाएको छ, नेपालमा दुईवटा कुरा अकाट्य यथार्थको रूपमा देखिए । पहिलो, यस देशका जनता अधिकार र लोकतन्त्र पद्धतिका निम्ति जस्तो संघर्ष गर्न पनि तयार छन् । दोस्रो, यो देशमा स्वतन्त्र विचार राख्ने मिडिया, लेखक र चिन्तकहरू छन् । ती अदम्य छन् । ती जागरुक छन् । निर्वाचनमा उचित निर्णय गर्न सक्ने चेतना यहाँका प्रत्येक नागरिकमा छ । दुःख धेरै झेलेरै जीवन चलाएका अनि शिक्षाका धेरै अवसर नपाएका भए पनि, आफ्ना निम्ति काम गर्ने सरकारको कहिल्यै अनुभूति गर्न नपाएका भए पनि, ती यस मुलुकको सबै क्षेत्रमा बस्ने मानिस सतत जागरुक छन् । अबको स्थिति अर्कै हुनेछ । सत्य यत्ति हो ।

प्रकाशित : वैशाख २०, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?