कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कहाँ अल्झिरहेछ भाषा बहस ?

हाम्रो भाषा बहस बहकिएको नै सबैखाले सवालहरुलाई एउटै डोकोमा हालेर हेर्नाले हो । यो लेख भाषाबारे उठिरहने विविध सवालहरुलाई छुट्टाछुट्टै र समग्रमा कसरी हेर्न सकिन्छ भन्नेबारे विमर्श हो ।
दुर्गा कार्की

म सानैदेखि गुरुङ समुदायको बाहुल्य भएको ठाउँमा ‘यल्ले त कस्तो हल्ला गर्च ल्हेऽऽऽऽऽ’ भन्दै लामो लेग्रो तान्ने बानी लागेर हुर्किएँ । काठमाडौं आएपछि बाग्लुङे साथीको ‘तेरो अनार किन झ्याउरो हो र आज’ मा ट्वाँ पर्दै अहिले भोजपुरे साथीको संगतले वाक्यपिच्छे ‘...कि...’ लगाएर बोल्ने भएकी छु । मेरो बोलचालको भाषा यतिखेर शतबीज लगाउन जान हजुरआमाले तयार पारेको अन्नको पोकोजस्तो भएको छ र म यो मिसावटमा गर्व गर्छु । मलाई लाग्छ, यो हाम्रो बहुजातीय, बहुभाषिक मुलुकको सुन्दर सम्मिश्रण हो ।

कहाँ अल्झिरहेछ भाषा बहस ?

भाषाविज्ञानको कुनै खास ज्ञानबिना नै बहकिएको भाषा बहसबारे यो लेख लेख्ने आँट मलाई केहीले दिएको छ भने त्यो यही सम्मिश्रणको बलले हो । र मलाई लाग्छ, हाम्रो भाषा बहस बहकिएको नै सबैखाले सवालहरूलाई एउटै डोकोमा हालेर हेर्नाले हो । यो लेख भाषाबारे उठिरहने विविध सवालहरूलाई छुट्टाछुट्टै र समग्रमा कसरी हेर्न सकिन्छ भन्नेबारे विमर्श हो ।

हरेक ‘वाद’ लाई राजनीतिक हतियार देख्नेहरूले विकृत बनाइदिएको राष्ट्रवादको अवधारणाबाट बढी मार खानेमा एउटा भाषा पनि हो । अवश्य नै भाषा पहिचान र अस्तित्वसँग जोडिएको विषय हो तर हरेकपटक कुनै अंग्रेजी शब्दको साटो नेपाली शब्दको खोजी गर्नुलाई कुरै नबुझी राष्ट्रवादको पगरी गुथाइदिइने गरिएको छ । अंग्रेजी शब्दहरूको सकेसम्म नजिकको नेपाली अनुवाद खोज्नु राष्ट्रवादसँग जोडिएको कुरा मात्र भनेर सोच्नु हामी अंग्रेजीसँग पहुँच भएकाहरूको अल्पज्ञान हो । नेपाल ठूलो छ भनेर अरूलाई घरीघरी सम्झाइरहने हामीहरूले यदि भाषालाई यसको प्राथमिक उद्देश्य ‘बुझ्नु’ सँग मात्रै जोडेर हेर्ने हो भने पनि यो देशमा ‘क्राइसिस म्यानेजमेन्ट टिम’ भन्दा ‘संकट व्यवस्थापन टोली’ सजिलै बुझ्ने वर्गका भाषिक ज्ञान भएका मानिसहरू प्रशस्त छन् भनेर सोच्न नसक्नु हो ।

केही दिनअघिसम्म आफैँ ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ को फरक गुगल गरेर हेरिरहेका हामीले यो पनि बिर्सनु हुँदैन कि डाँडाकाँडा घन्किने हाम्रा एफएम रेडियोहरूले एकाबिहानै भाखा हालेर पढ्ने मूलधारे पत्रिकाका समाचारमा घरीघरी दोहोरिइरहने यी शब्दहरू सबैलाई गुगल गरेर हेर्ने सुविधा छैन । नेपाल टेलिकमले ब्यालेन्सको जानकारीसमेत रोमनमा पठाएकोमा अंग्रेजी नजान्ने हाम्रा बाआमाहरूले बुझेनन् भनेर दुःखमनाउ गरिरहेका हामीहरूले ‘एकान्तवास’ र ‘बन्दाबन्दी’ लाई सिर्फ राष्ट्रवाद वा भाषाको ठेक्का लिने दाउ देख्नु कि त हाम्रो दोहोरो चरित्र हो, होइन भने पूर्वाग्रह हो । अंग्रेजी शब्दलाई नेपालीमा अनुवाद गर्न गरिने प्रयासलाई ‘लौह पथ गामिनी’ र ‘वायु ठुसक यन्त्र’ का उदाहरण दिएर मजाकमा उडाउनु ‘गुगल ट्रान्सलेट’ को सहारामा ‘मास्टरपिस’ लाई ‘शिक्षक टुक्रा’ र ‘माइलस्टोन’ लाई ‘मिलको पत्थर’ भन्ने अनुवादबाट काम चलाइरहेका हामीलाई पटक्कै नसुहाउने कुरा हो ।

नेपाली भाषा प्रयोग गर्नेहरूलाई नेपाली शब्द चाहिन्छन् । भलै हरेक विदेशी शब्द (यदि सर्वग्राह्य भइसकेको छ भने) नेपालीकरण गर्नैपर्ने जरुरत छैन, तिनलाई जस्ताको तस्तै आरती गरेर भित्र्याइहाल्नुपर्छ भन्ने पनि होइन । तिनको प्रचलन र लोकप्रियता समयले निर्धारण गर्छ, प्रयोगकर्ताले निर्धारण गर्छन् । तर, तिनको राम्रो नेपाली शब्द पनि हुनु भनेको हाम्रो भाषा कति समृद्ध छ भन्ने कुराको द्योतक पनि हो । जस्तै, ट्विटरको ‘थ्रेड’ लाई कसैले ‘थ्रेड’ नै भन्छन्, कसैले धागो त कसैले लहरो । यसले भाषालाई हानि गर्दैन । बरु हाम्रो बहस समयानुसार हाम्रा शब्दावली र हाम्रो समग्र भाषालाई कसरी समयपरक र कुनै पनि जनसमुदायलाई चोट नपुग्ने खालको बनाउन सकिन्छ भन्नेमा हुनुपर्थ्यो । ‘बन्दाबन्दी’ वा ‘एकान्तवास’ भन्दा उपयुक्त र सर्वग्राह्य शब्द अरू छन् भने सुझाऔं । कसैले भाषाको एकलौटी ठेक्का लिएको मन परेको छैन भने हामीसँग भएका राम्रा अफर लिएर ‘टेन्डर’ हालौँ, निर्णायक हाम्रो जनमानस हो । ‘भाषा कसैको पेवा होइन’ भन्नेहरूकै तर्कबाट जाने हो भने स्विकारौं– यो हामी सबैको भाषा हो र यसलाई सहज र समृद्ध बनाउनमा सहभागी बनौं । आखिर यसको शब्दभण्डार फैलिएमा लाभान्वित हुने हामी सबै नै हौं । आज ‘दिगो विकास’ नहुँदो हो त विकासे संस्थामा जागिर खानेहरूलाई मुगु वा मनाङका जनतालाई ‘सस्टेनेबल डिभेलपमेन्ट’ बुझाउन कति पापड बेल्नुपर्ने हुँदो हो ? संविधानसभाका आठ वर्ष ‘इन्क्लुसिभनेस’ का लागि भन्दा ‘समावेशिता’ का लागि लड्न पक्कै पनि सजिलो भयो होला । भाषा कहाँ, के–का लागि र कसका लागि प्रयोग गरिन्छ भन्ने कुराले अवश्य पनि यसको प्रयोगमा ठूलो फरक पार्छ, तर कुमार नगरकोटीको साहित्य र बीबीसीको समाचारको भाषालाई एउटै भाँडोमा हालेर तुलना गर्नु गलत हो किनकि अंग्रेजी नजान्ने मेरी आमाले नगरकोटीका आख्यान नेपालीमा अनुवाद गरेर पढ्नैपर्छ भन्ने छैन ।

अब अर्को सवालमा जाऊँ । हिजोआज हामीलाई काठमाडौंका महँगा स्कुलहरूले नानीहरूलाई पहिला ‘काउ’ चिनाएर नेपालीमा यसको माने घोक्न लगाएकोमा खुब रिस उठिरहन्छ । स्कुल परिसरमा झुक्केर नेपाली बोलेकाले कुखुरो बन्नुपरेकोमा वा खाजाको पैसा बचाएर जरिवाना तिर्नुपरेकोमा झ्याउरा भएर घर फर्केका केटाकेटी देख्दा बच्चाको पीडा मात्र होइन, कताकता राष्ट्रियतासमेत दुख्छ । तर, हामीमध्ये धेरै आफ्ना छोराछोरीलाई आफन्तका अगाडि अंग्रेजीमै परिचय दिन कर लगाउँछौं र बच्चाले नेपाली नजानेकोमा, नरुचाएकोमा भित्रभित्रै गर्व गर्छौं । किनकि, हामीलाई अंग्रेजी भाषासित मोह छ । हाम्रो अंग्रेजीको स्तरले भोलि हामी विदेशको कुन विश्वविद्यालयमा जाने भन्ने निर्धारण गर्न सक्छ, सजिलै जागिर खुवाउँछ, ज्ञान र अवसरको महासागरसम्म पुग्ने बाटो खोलिदिन्छ । अझ त्यसको ‘एक्सेन्ट’ मा पनि मास्टरी गरिदिनुभो भने त कुनै सभासम्मेलनमा एउटा प्रश्न सोधेकै आधारमा वक्ताले भन्दा बेसी ‘अटेन्सन’ तपाईंले पाउनुहुन्छ । अंग्रेजी ‘फनी ल्यांगवेज’ हो भनेर अमिताभ बच्चन भन्छन्, तर अंग्रेजी ‘पावरफुल ल्यांगवेज’ पनि हो भन्ने उनले नभने पनि हामीलाई थाहा छ ।

र, मातृभाषा नेपाली नै हुनेहरूले पनि नेपालीमा भन्दा अंग्रेजीमा आफूलाई अभिव्यक्त गर्न सहज मान्नु यही प्रवृत्तिकै प्रौढ अभिव्यक्ति हो भनेर सोच्न हामीले आफूलाई तयार पारिसकेका छैनौं । भलै समयक्रममा बानी परेर हामीलाई यतिखेर मातृभाषाभन्दा अंग्रेजी नै बढी सहज लाग्नु हाम्रो अपराध होइन, तर यसको जरोलाई केलाउँदा वस्तुपरक रूपमा हेर्न जरुरी छ । समाजशास्त्रीय आँखाले हेर्दा यसलाई एकातिर अंग्रेजी भाषाको बढ्दो आधिपत्य भनेर मान्न सकिन्छ भने अर्कोतिर नेपाली भाषाप्रतिको हीनताबोध भनेर पनि मान्न सकिएला । र, जो हामीलाई सकेसम्म नेपालीमै लेख न भनिरहेका छन्, उनीहरूको जबरजस्ती यही हीनताबोधले गर्दा नेपाली भाषाले भोगेको उपेक्षासितको चित्तदुखाइ मात्र हो । व्यक्तिगत हिसाबमा कसैले नेपालीमा लेख्न नजान्दैमा आकाश खसिहाल्ने त होइन, तर नेपाली नआउनु गर्व गर्नुपर्ने वा ‘बाल नदिनुपर्ने’ विषय पनि होइन । यसलाई पनि राष्ट्रियतासित जोडिरहनु आवश्यक छैन तर त्यसो हो भने हामीले अन्य मातृभाषालाई पहिचानको मुद्दाको रूपमा हेर्ने नैतिक आधार भने गुमाउँछौं । दुई–चार भाषा पनि नराखे के ‘सीभी’ भन्ने जमानामा यसको मतलब अंग्रेजीमा राम्रो हुनु हुँदैन भन्ने पटक्कै होइन, लक्षित वर्ग हेरी सकेसम्म, मिलेसम्म आफ्नै भाषा प्रयोग गरौं भन्ने मात्र हो, किनकि हामीले अंग्रेजीमा खनीखोतली आर्जन गरेको ज्ञानको थोरै हिस्सा हाम्रा बाआमासम्म पनि पुग्न पाए राम्रै हुन्छ । भाषाको समृद्धि, यसको जीवन र जीवन्तता यसको प्रयोगले निर्धारण गर्ने कुरा हो । र, यो स्वतःस्फूर्त आउने कुरा हो, भाषा अधिकारकर्मीहरूसँग यस मानेमा भाषा प्रयोगका लागि अनुरोध गर्नेभन्दा बढी हक हुँदैन । कसैले पनि कसैलाई ‘तँ यही भाषा प्रयोग गर्’ भन्ने अधिकार राख्दैन ।

अब भाषा बहसको अर्को प्रवृत्तिको कुरा गरौं । यो प्रवृत्तिले भाषालाई व्याकरणीय नियमहरूको थुप्रो मात्र देख्छ र यसको उपयोगिता र महत्त्वमाथि शंका गर्छ । तर, व्याकरण त भाषाको एउटा अंग मात्र हो । भाषा न त ह्रस्वदीर्घ मात्र हो, न त शब्दकोश मोटो हुनु मात्रै हो । भाषा भनेको सौन्दर्य हो, कला हो, मिठास हो । यो त नदीजस्तै बग्नुपर्छ । संघर्षजस्तै दुख्नुपर्छ । दमनजस्तै बिझ्नुपर्छ । त्यसका लागि शब्दका भकारी र व्याकरणका नियमहरूसँग खेलेर हामी आफ्ना कुरा आफूले चाहेजस्तै गरी भन्छौं । भाषा यसैले क्षमता हो, शक्ति हो, हतियार हो । हामी यसैका माध्यमबाट ज्ञान आर्जन गर्छौं, यसैका माध्यमबाट ज्ञान बाँड्छौँ । यसैका माध्यमबाट परिवर्तनका झिल्काहरू रोप्छौँ, यसैका माध्यमबाट क्रान्ति गर्छौँ । भाषामा पछि पर्नु ज्ञान आर्जन गर्न र स्पष्टसित आफ्ना कुरा राख्न पनि पछि पर्नु हो । यसको प्रत्यक्ष असर मान्छेको समग्र उपलब्धिमा पर्छ, उसको आर्थिक, सामाजिक, राजनीतिक जीवनमा पर्छ ।

तर, यति हुँदाहुँदै पनि हाम्रो भाषा बहस धेरैजसो व्याकरणमै खुम्चने गरेको छ । यसको पछाडि जति भाषामा अराजकताको वकालत गर्नेहरू छन्, त्यति नै भाषामा व्याकरणीय शुद्धता खोज्नेहरू छन् । भाषाको प्रयोग विभिन्न ठाउँमा विभिन्न प्रयोजनअनुसार फरक हुने हुँदा व्यक्तिलाई चाहिने भाषिक ज्ञान पनि प्रयोजनअनुसार फरक पर्छ । एउटा नेपाली विषयको प्राध्यापक वा सम्पादकलाई चाहिने भाषासम्बन्धी ज्ञान र ‘झर्नुअघी नै भाँडा दीनू होला’ भनेर टेम्पोको भित्तामा लेख्ने टेम्पोचालकलाई चाहिने भाषाको ज्ञानमा अन्तर हुन्छ नै । सामाजिक सञ्जालमा वा लाउरे दाइको चिया पसलको होर्डिङ बोर्डमा लेखिएका कुरा व्याकरणीय दृष्टिकोणबाट सर्वथा सही हुनुपर्छ भन्ने छैन । त्यहाँ लेखिएका कुरा कुनै चार कक्षे फुच्चेले मनमनै पढेर झटपट याद गरिहाल्ने पनि होइन । ढुक्क होऊँ, यसले कुनै हानि गर्दैन । यो यदि केही हो भने नेपाली भाषाको (नेपाली भाषाको मात्रै) हाम्रो ज्ञान कमजोर छ भन्ने सूचक मात्र हो । यो समस्या हो, र समस्या होइन पनि ।

आज भाषा बहससित सबैभन्दा धेरै पूर्वाग्रह पालेको वर्ग भनेको आफ्नो यही व्याकरणीय कमजोरीले गर्दा लज्जाबोध वा हीनभावले थलिएको समूह हो । कसैले आफ्नो भाषागत कमजोरी औंल्यााइदिँदा यो समूहलाई विगत दुख्छ । कसैलाई एक भाषा नीतिका कारण आफ्नो भाषा छाडेर जबरजस्ती कनीकुथी अर्काको नेपाली पढ्नुपरेको बाध्यता दुख्छ, कसैलाई डन्डीबियो खेल्न कक्षा हापेको सम्झना दुख्छ त कसैलाई आफूले कति दुःखले आर्जन गरेको ज्ञानको अभिव्यक्तिलाई सिर्फ ह्रस्वदीर्घमा मात्र खुम्च्याइदिएकोमा आत्मसम्मान दुख्छ । जो पहिल्यैदेखि दुखिरहेका छन्, उनीहरूलाई यतिखेर व्याकरणीय गल्ती देखाएर झन् दुखाउनुको कुनै तुक छैन । हाम्रो भाषागत कमजोरी हाम्रो कमजोर शिक्षा प्रणालीको पनि अभिव्यक्ति हो । हामीले भाषालाई कठोर व्याकरणीय नियमको थुप्रोबाहेक अर्थोक देखाउन नसक्नुको उपज हो । भाषा बहसमा खुब प्रयोग हुने ‘बुझे भैहाल्यो नि’ भन्ने वाक्य यही दुखाइ नदेखाउनका लागि प्रयोग गरिने ‘डिफेन्स मेकानिज्म’ मात्रै हो । तर, भित्री कुनामा हामी सबैलाई हाम्रा सन्तति भाषामा हामीभन्दा अब्बल होउन् भन्ने छ । हामी सबैलाई भाषा व्याकरण मात्र होइन भन्ने बोध छ ।

र, यदि कसैलाई साँच्चिकै भाषा बुझे मात्र पुग्छ भन्ने छ भने त्यो भाषाबारेको काँचो बुझाइ हो । भाषा सञ्चारको माध्यम मात्रै हुन्थ्यो भने सिमोन द बुभ्वाको ‘द सेकेन्ड सेक्स’ को पहिलो अंग्रेजी संस्करणमा उनको लेखाइको सार मात्र आयो, उनको सैद्धान्तिक व्यक्तित्व झल्किएन भनेर सिँगै किताब फेरि जस्ताको तस्तै अनुवाद गर्ने अनुवादकहरूले सिमोनकी धर्मपुत्रीसित बसेर ‘लङ लिभ द सेमिकलन’ भन्दै गिलास ठोक्काउँदैनथे । भित्री गुदी राम्रो भनेर सिफारिस भइआएका किताब पनि भाषा नराम्रो भएको भन्दै हामी पहिलो पानामै फ्याँकिदिन्नथ्यौं । अथवा, दोस्तोअवस्की, टोल्सटोय वा गोर्कीका अनुवादित भर्सनमा धीत नमरेर लेखककै पहिलो भाषामा पढ्न सिंगो रूसी भाषा नै सिक्न कस्सिँदैनथ्यौं ।

जुनसुकै विषयमा होस्, नियम भनेको अराजकता हावी नहोस् भनेर आएको अवधारणा हो, चाहे त्यो भाषामा होस् वा बिमाको फाराममा । विश्वव्यापीकरणको आजको जमानामा अन्तर्राष्ट्रिय व्यापारदेखि कानुनसम्ममा ‘युनिफर्मिटी’ र ‘हार्मोनाइजेसन’ खोजिने गरेको बेला नियमको ध्येय कुनै पनि विषयलाई अनावश्यक जड बनाउनु होइन, बरु एकरूपता ल्याएर धेरैको पहुँच बढाउनु हो । तर, भाषामा नियम चाहिनुको कारण यति मात्र होइन । आज नेपालमा जम्मा १२९ भाषा (२०६८ को जनगणनाअनुसार १२३ मा ६ नयाँ भाषा थपिएर) बोलिन्छन् । यीमध्ये औँलामा गन्न सकिनेबाहेक लोपोन्मुख अवस्थामै रहेका अन्य भाषा हराउनुको मुख्य कारण ती लिपिबद्ध नहुनु वा तिनको लेख्य परम्परा नहुनु हो भन्ने मातृभाषाका अधिकारकर्मीहरूको ठम्याइ छ । र, मातृभाषाको संरक्षण र विकासको प्रवेशद्वारको रूपमा धेरैजसो भाषिक समुदायले वर्ण निर्धारण, शब्दकोश निर्माण एवं प्रकाशनको कामलाई प्राथमिकतामा राखेका छन् । लेख्य पद्धति वा परम्परामा भाषालाई ढाल्नु भनेको भाषाका नियमहरू निर्माण गर्नु भन्ने पनि हो । लिपिबद्ध नगरिएकै कारण राउटे समुदायको खाम्ची भाषा यो समुदायसँगै हराउने जोखिमबारे हामी अवगत नै छौं । त्यसैले भाषाको सन्दर्भमा अराजकता त्यति जच्ने विषय होइन ।

तर यसो भनिरहँदा हामीले के पनि बिर्सनु हुँदैन भने भाषा भनेको सदा गतिशील, परिवर्तनशील चीज हो । इन्टरनेटको आगमनसँगै नयाँ पुस्तालाई ‘थ्याङ्क यू’ को सट्टा ‘टी.क्यू.’ जस्ता संक्षिप्त रूपले नपुगेर आँखाबाट आँसु निकालेर भुइँमा लडीबुडी खेल्दै हाँसेकादेखि अनेकौँ ‘इमोजी’ हरू आए । यतिखेर ‘जिफ’ र ‘मिम’ हरूको मौसम छ । भोलि अझै रोचक र नयाँ अवधारणा आउलान् । यिनलाई हाम्रो भाषिक नियममालाले उपद्रव देख्न हुँदैन । सबैले सही व्याकरण नै लेख्न जरुरी छैन, तर लेखेको राम्रै हो । व्याकरणीय शुद्धता मेरो अनुभवमा थोरै सावधानी र धेरै भाषाप्रतिको सम्मान हो । एकपटक ‘सीता’ दीर्घ लेखिन्छ भनेर थाहा पाएको बेला याद गर्ने हो भने अर्कोपटक ‘सिता’ लेख्दा के नमिलेको के नमिलेको जस्तो लाग्छ (गरेर हेर्नुहोस्) । भलै सिंगो व्याकरण यति सजिलो छैन, तर व्याकरणीय कमजोरी कसैको अभिव्यक्तिमाथि नै अंकुश कदापि बन्नु हुँदैन । भाषा हाम्रो सहजताका लागि बनेको हो, हामीले भाषाको श्रीवृद्धिका लागि खुम्चिनु पर्दैन, नपरोस् ।

जहाँसम्म नेपाली भाषालाई दिइएको (बेसी) महत्त्वसँग चित्त नबुझ्ने सवाल छ, यसलाई सर्सती बाहिरबाट मात्रै हेर्नु हुँदैन । महेन्द्रको एकल भाषा नीतिका कारण आफ्नो मातृभाषा मर्दाको पीडाबोध मात्र होइन, जबरजस्ती लादिएको नेपाली भाषा खसआर्य समुदायले जस्तै गरी बोल्न नजान्दा हियाइनु र आफ्नो भाषा बोल्दा कोर्रा खानुपर्दाको जुन अपमान आदिवासी जनजाति तथा सीमान्तकृत समुदायले बाँचेको छ, त्यसको कसै गरे पनि उचित क्षतिपूर्ति हुँदैन । तर, भविष्यदर्शी हुने हो भने नेपालको संविधानले मातृभाषालाई दिएको स्थानलाई आशाको किरणको रूपमा लिन सकिन्छ । नेपाललाई बहुभाषिक, बहुजातीय मुलुकको रूपमा उभ्याएको संविधानले भाषिक विभेदको अन्त्य गर्दै बहुभाषिक नीति अवलम्बन गर्ने नीति लिएको छ । नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा भएका छन् र हरेक व्यक्तिलाई आफ्नो मातृभाषामा पठनपाठन गर्ने मौलिक हक छ । आसलाग्दो काम गर्न नसके पनि संवैधानिक निकायको रूपमा भाषा आयोग बनेको ४ वर्ष पुग्न लागिसकेको छ । हरेक प्रदेशलाई एक वा एकभन्दा बढी राष्ट्रभाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने अधिकार छ । स्थानीय तहलाई मातृभाषामा स्कुल खोल्नेसम्मको अधिकार छ ।

तर यति हुँदाहुँदै पनि मातृभाषाहरू किन टाउको उठाउन सकिरहेका छैनन् ? किन फैलन सकिरहेका छैनन् ? कुनै बेला ४२ विद्यालयमा चलेको थारू भाषा कक्षा अहिले सबैतिर बन्द हुँदै एक विद्यालयमा सीमित भएको छ । खस नेपालीपछि सबैभन्दा धेरै बोलिने थारू भाषा बोल्न निकै प्रयोग हुने भए तापनि लिखित रूपमा अभ्यासमा आउन नसकेको हुनाले फुक्न सकिरहेको छैन । अवश्य पनि भाषाको पहिलो सर्त बोलिनु हो, अनि मात्र लेखिनु हो तर पहिलो सर्तमा मात्र सीमित रहने भाषा किन मर्दै जान्छन् भन्ने ज्वलन्त उदाहरण थारू भाषा हो ।

यहाँनेर गहिरो राजनीतिक रङ र अर्थ बोकेको भाषालाई सामाजिक न्यायसँग जोडेर हेर्न पनि अत्यन्त जरुरी छ । तर, यो भन्दै गर्दा हामीले के पनि बिर्सन हुँदैन भने सामाजिक न्यायको प्रवर्द्धन आधिपत्य जमाएको भाषाका नियमहरू खुकुलो पार्दैमा मात्र हुँदैन, त्यसका लागि विगतमा अन्यायमा परेका भाषाले फुक्ने र फैलने वातावरण पाउनुपर्छ । हामीले व्यक्तिगत र संस्थागत तवरबाट यो वातावरण तयार गर्नमा के–कस्तो भूमिका खेलिरहेका छौं ? उदाहरणका लागि, नेपालीइतर मातृभाषा भएको पत्रकारले कमजोर नेपालीमा लेखेकै कारण पहिलो पृष्ठको बन्नलायक समाचार पुछारतिर धकेलिन्छ भने के त्यसका लागि भाषा मात्रै जिम्मेवार होला ? के त्यो स्टोरीलाई भाषिक अन्यायमा पर्न नदिनु सामाजिक न्याय प्रवर्द्धन गर्ने समूहका अग्रपंक्तिमा रहेका पत्रकार–सम्पादकहरूको दायित्व होइन ? एक असफल नेताले आफूले गर्न नसकेका कामको लागि विगतलाई दोष दिनुमा र यसमा कति फरक छ ? त्यति मात्र होइन, आज अंग्रेजी भाषाको आधिपत्यबाट नेपाली भाषाको भविष्य जसरी डगमगाएको छ, यसले मातृभाषालाई त झनै बाँकी राखेको छैन, राख्ने पनि छैन । नियमित पठनपाठन भइरहेको थारू भाषालाई यतिखेर अंग्रेजी विषयले प्रतिस्थापन गर्नुमा विद्यार्थी र अभिभावकको अंग्रेजीको मोहले कसरी काम गर्‍यो भन्ने उदाहरणले यसलाई झनै छर्लंग पार्छ ।

त्यसैले अबका दिनहरूमा भाषासम्बन्धी बहसमा पुनरावलोकनको खाँचो छ । र, यसो भनिरहँदा जसले कमसेकम सामाजिक सञ्जालमै मात्र भए पनि भाषिक विमर्शलाई जीवित राखिरहेका छन्, तिनीहरूलाई माकाफुँई बनाउँदैमा अन्य भाषाको स्वतः विकास हुने पनि होइन । तर, के पनि सत्य हो भने सामाजिक सञ्जालमा सक्रिय भाषाप्रेमीहरूले कसैलाई सार्वजनिक स्थलमा आफ्ना कुरा भन्नै ‘डर’ लाग्ने गरी वा भाषासितै दिक्दारी उत्पन्न हुने गरी भाषाको आधारमा कसैको मूल्यांकन गर्न पनि बन्द गर्नुपर्छ । सामाजिक सञ्जालमा वैचारिक रूपमा सक्रिय पुस्तालाई यतिखेर ह्रस्वदीर्घ हेरिबस्ने नेपाली मास्टर चाहिएका होइनन् । वास्तवमा स्कुल–कलेजमा भाषाका राम्रा मास्टर नभइदिनाले भाषाविद्हरूलाई सामाजिक सञ्जालमा मास्टर बन्नुपरेको हो । भाषाका पारखीहरूको ध्यान कसरी नेपाली मास्टरहरूलाई व्याकरणको साँघुरो घेराबाट बाहिर निस्केर नयाँ पुस्तामा भाषाप्रति प्रेम जगाउन उपयोग गर्ने भन्नेजस्ता विषयमा केन्द्रित हुनुपर्छ, आफैँ व्याकरणको घेरामा थुनिनेमा होइन ।

तर, हामीले भाषिक विमर्श भने जारी राखिरहनुपर्छ । नेपाली भाषाको मात्र के, भाषिक विमर्शहरू मातृभाषाका पनि उत्तिकै आवश्यक छन् । देवनागरी लिपिका व्यञ्जनवर्णहरू अन्य (अंग्रेजी) भाषामा अनूदित हुँदा कतिपय वर्णहरू कसरी हराउँछन् भनेर आफ्नो कविता एन आर्काइभ अफ कन्सोनेन्ट्स’ अर्थात् ‘व्यञ्जनवर्णको अभिलेख’ मार्फत् अक्षरहरूको अस्तित्वको कवितात्मक खोजी गरेकी कवि इतिशा गिरी भन्छिन्, ‘भाषा, भाषा मात्र होइन, यो मानिसले बाँच्ने वास्तविकता हो, यथार्थ हो । एउटा भाषामा भएका वर्ण, शब्द आदि अर्को भाषामा नहुनु भनेको तिनले बुझाउने तमाम अवधारणा, हाम्रो तीसँगको सम्बन्ध, अनुभव आदि पनि नरहनु हो ।’ त्यसैले भाषाहरू बाँच्नुपर्छ । यी समाजशास्त्रीहरूले ‘कसरी लोप भयो... भाषा’ जस्ता शीर्षकमा निकै दुःख गरेर तयार पारिने शोधपत्रमा मात्र सीमित हुनु हुँदैन । र, भाषालाई जोगाउने र जगाउने कर्तव्य हामी सबैको हो भन्ने मानेका दिन हाम्रो भाषा बहसले स्वतः सही दिशा समात्नेछ ।

प्रकाशित : वैशाख २०, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?