२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मरकले राजालाई पनि छोडेन

क्रिस्तान धर्म प्रचार गर्न आएका पादरीहरुको लेखबाट नेपालको महामारी–इतिहासबारे थाहा पाइन्छ । धर्म प्रचारका लागि नेपालको बाटो भई भोट हिँडेका क्याप्युचिन पादरी काससिआनोको डायरीले भन्छ– नेपालमा बिफरको महामारी विसं. १७९६ मा सुरू भएको थियो ।
डा. महेशराज पन्त

संसारमा अन्त अन्त जस्तै नेपालमा पनि समय समयमा रोगव्याध लागी महामारी फैलिएको कुरा इतिहासका आकर अर्थात् उपकरण पल्टाउँदा थाहा पाइन्छ । तर हाम्रो यतातिर परमात्मचिन्तनतिर नै ज्ञानीहरूको खास दृष्टि गएकोले यस्ता कुरा आउँछन्, जान्छन् र टर्छन् भन्ने अभिप्रायले उनीहरूले यस्ता घटनाको टिपोट नराख्दा जम्मै वृत्तान्त पाइँदैन र छिटपुट कुरा मात्र थाहा पाइएको छ ।

मरकले राजालाई पनि छोडेन

त्यो पनि जे जति थाहा पाइएको छ, नेपालखाल्डोको सन्दर्भमा मात्र । हाम्रा स्वदेशी वृत्तान्तको अतिरिक्त क्रिस्तान धर्म प्रचार गर्न भनी यहाँ आएका पादरीहरूको लेखबाट नेपालमा आएका महामारीको विषयमा केही कुरा थाहा पाइन्छ । यी सबै आकर केलाउँदा परापूर्वदेखि मल्लकालको अन्त्यसम्मको सुदीर्घ समयमा जम्माजम्मी एक दर्जन महामारीको मात्र अभिलेख पाइएको छ ।

कहिले कहिले महामारी फैलिएको थियो भन्नेतर्फ जानुभन्दा पहिले महामारी शब्दकै अर्थ गर्नपट्टि लागौँ । यस शब्दसँग म सबभन्दा पहिले ‘दुर्गासप्तशती’ अर्थात् हामीले दशैँमा पाठ गर्ने गरेको ‘चण्डी’मा टकराएँ (१२।३८–३९) । ‘महाकाल अर्थात् महाप्रलयको वेलामा ‘महामारीको रूप लिने तिनै महाकालीद्वारा यो सारा ब्रह्माण्ड ढाकिएको हुन्छ, अजा अर्थात् जन्मरहिता सनातनी तिनी त्यस वेला महामारी कहिन्छिन्’ भनी त्यहाँ लेखिएकोले महाकाली अर्थात् दुर्गाको स्वरूपविशेषलाई ‘महामारी’ भन्ने गरेको देखिन्छ । कलियुगमा पाप बढेकोले ब्रह्माजीको आज्ञाले पापीको संहार गर्न देवीले महामारीको रूप लिएको र त्यसरी फैलिएको रोगको शान्ति महामारी देवीको प्रतिमास्थापना गरी मन्त्र जप्नाले, पूजा होम र दानप्रदान इत्यादि गर्नाले हुन्छ भनी लेखिएको ‘महामारीस्तोत्र’ पाइएकोले महामारीलाई देवीकै स्वरूप मानेको पुष्टि हुन्छ । त्यसैले हाम्रो यतातिरका ऐतिहासिक आकरमा महामारी भएको बयान गर्दा ‘महामारी’ शब्दमा ‘माई’ शब्द जोडिएको वा ‘महामारी’लाई अत्यादरसूचक क्रियापद प्रयोग गरेको देखिन्छ ।

प्राचीन ढङ्गको कोषमा ‘महामारी’ शब्द चढेको नदेखे पनि ‘महा’विनाको इकारान्त ‘मारि’ र/वा ईकारान्त ‘मारी’ शब्द त्यस्ता केही कोषमा चढेको मैले देखेको छु । स्तोत्रहरूमा पनि महामारीको डर हट्छ भन्नुपर्दा ‘महामारी’को ठाउँमा ‘मारी’ मात्र प्रयोग गरिएको देखिएको छ ।

एकबाट अर्कोमा सरी धेरै जनको खति हुने रोगलाई संस्कृतवाङ्मयमा ‘महामारी’ शब्दले त होइन, ‘मरक’ शब्दले बुझाएको देखिएको छ । यो ‘मरक’ शब्द ‘महामारी’ शब्द जस्तै हाम्रो इतिहासका आकरमा पनि आएको कुरा यस प्रसङ्गमा भन्नुपर्छ ।

नेपालको इतिहासका आकर केलाउँदै जाँदा सृष्टिदेखि उठाएर नेपालका वि.सं. १४४५ सम्मका घटना टिपिएको, अहिले ‘गोपालराजवंशावली’ भनी कहलिएको इतिवृत्तमा नेवारीमा लेखिएको एउटा वृत्तान्तको उल्था यस्तो हुन्छ–

‘दुधे कर्कलोको कारण श्रीप्वस्येदेव राजाको पालामा खप्नै नसकिने गरी मह्रं भयो । सपनामा देखाइएअनुसार यसको शान्ति गरियो । श्रावणशुक्लद्वादशीको दिन दुधे कर्कलो उमालेर ढोकामा राख्दा र ९ दिनसम्म बेथे, रायो र गोबरले अभिषेक गर्दा शापबाट रक्षा भई मह्रंको निवारण भयो’ (३० ख पत्रका ३–५ पङ्क्ति) ।

मिति नदिई लेखिएको यस टिपोटमा राजाको नाउँको आधारमा समयनिर्धारण गरूँ भने पनि राजाकै नाउँ अपभ्रष्ट रूपमा लेखिएकोले केही परिश्रम गर्नुपरेको छ । जुन लिपिमा ‘गोपालराजवंशावली’ लेखिएको छ, त्यस लिपिमा ‘प’ र ‘य’ अक्षर सहजै छुट्ट्याउन नसकिने हुनाले तेस्रो अक्षर अर्थात् ‘स्य’ पढेकोलाई ‘स्प’ पढ्न नसकिने होइन ।

लिच्छविवंशका उठानउठानका राजाहरूका नाउँमा यस ‘गोपालराजवंशावली’मा सुपुष्पदेवको नाउँ आउँछ (१९ ख पत्रको ४ पङ्क्ति) । यसै गरी लिच्छवि राजा द्वितीय जयदेव (प्रामाणिक राज्यकाल वि.सं. ७७१–७९०) को वि.सं. ७९० को शिलालेखमा पनि लिच्छविवंशका पहिले पहिलेका राजाहरूमध्ये नाउँ किटिएका राजा सुपुष्प छन् । यस कारण त्यही ‘सुपुष्प’ भन्ने नाउँमा अघिल्लो अक्षर ‘सु’ छोडेर विकृत ढङ्गले उच्चारण गर्दा प्वस्ये/प्वस्पे लेखिएको हुन नसक्ने होइन ।

‘मरण’ भन्ने अर्थमा चलेको ‘मर’ शब्दमा ‘क’ प्रत्यय थपी ‘महामारी’ को अर्थमा संस्कृतमा ‘मरक’ शब्द चले पनि केही आधुनिक भाषामा ‘क’ प्रत्ययबाहेकको ‘मर’ वा त्यसका रूपभेद चलेको देखिएको छ (राल्फ लिली टर्नर, ‘कम्पेर्एटिभ् डिक्शन्अरि अफ् दि इन्डोएर्इएन् ल्याङ्ग्विज्इज्’, अक्सफोर्ड युनिभर्सिटि प्रेस, लन्डन, ई.सं. १९६६ मा मर) । त्यही ‘मर’ शब्द यहाँ अपभ्रष्ट भई ‘मह्रं’ भई आएको छ ।

त्यही इतिवृत्तमा ने.सं. २३५ तदनुसार वि.सं. ११७१ पौषकृष्णसप्तमीको एउटा घटना दिई अनि ‘मरक’ को कुरा आएको छ । पुरानो नेवारीमा लेखिएको यस टिपोटका पूरै शब्दको अर्थ नलागे पनि कतिसम्म बुझिन्छ भने, ‘खप्नै नसक्ने गरी देशमा (मानिस) मरे, देशमा देवता थापेर शान्ति गर्नुपर्ने भयो । यसपछि देशमा ‘मक्राह’ भएन’ (५३ क पत्रका १–२ पङ्क्ति) । यहाँचाहिँ ‘मर’को अपभ्रष्ट रूप नलेखी ‘मरक’ को विकृत रूप ‘मक्राह’ लेखिएको विचारणीय छ ।

राजा अमृतदेवको (२५ ख पत्रको १ पङ्क्ति), अरि मल्लको (उही पत्रको ३ पङ्क्ति), अभय मल्लको (उही पत्रको ४ पङ्क्ति) र जयदेवको (उही पत्रको ५ पङ्क्ति) को पालामा गरी ४ पटक ‘महामारी’ आएको कुरा ‘गोपालराजवंशावली’मा लेखिएको छ, मिति भने दिइएको छैन । सम्झनुपर्ने कुरा के छ भने, यहाँ हरेक पटक ‘मरक’ शब्दको प्रयोग नगरी ‘महामारी’ शब्दको प्रयोग गरिएको छ । ‘गोपालराजवंशावली’कै छाँटको, अहिले ‘केसरवंशावली’ भनी कहलिएको इतिवृत्तमा चाहिँ अरि मल्लको पालामा आएको महामारीलाई ‘मरक’ शब्दले बुझाइएको छ (८–९ पृ.) ।

यी महामारी भएको मिति नदिई खालि फलाना फलाना राजाको पालामा यस्तो भयो भनेर मात्र लेखिएकोले यी राजाहरूले कहिले कहिले राज्य गरेका थिए भन्ने पत्ता लगाई ती ती महामारीको आसन्न समय बताउन सकिन्छ ।

अमृतदेव (वि.सं. ११७०–१२३६) वि.सं. १२३२ देखि १२३५ सम्म, अरि मल्ल (वि.सं. १२१०–१२७३) वि.सं. १२५७ देखि १२७३ सम्म, अभय मल्ल (वि.सं. १२४०–१३१२) वि.सं. १२७३ देखि १३१२ सम्म राजा भएकाले अघिल्ला ३ महामारी वि.सं. १२३२ देखि १३१२ सम्मको ८० वर्षभित्र ३ पटक आएको देखिन्छ । चौथो महामारीचाहिँ अभय मल्ल गद्दीमा छँदै वि.सं. १३११ मा विधिपूर्वक राजा घोषित भई अभय मल्ल बितेपछि फेरि दोस्रोपटक विधिपूर्वक राजा घोषित भएर वि.सं. १३१४ सम्म राज्य गरेका जयदेवको पालामा आएको देखिन्छ ।

त्यही ‘गोपालराजवंशावली’मा एक ठाउँमा ‘ने.सं. ३६४ तदनुसार वि.सं. १३०१ को असार महिनाको औँसीको दिन ठूलाठूला सलह आए, ४ दिनसम्म घरबाट बाहिर निस्कन सकिएन, महामारी र दुर्भिक्ष अर्थात् अनिकाल पर्‍यो’ भनी लेखिएको छ (३८ ख पत्रको १ पङ्क्ति) । वि.सं. १३०१ मा यहाँ अभय मल्लको राज्य चलिरहेकोले अभय मल्लको पालामा महामारी आयो भनी ‘गोपालराजवंशावली’मा माथि (२५ ख पत्रको ४ पङ्क्तिमा) लेखिएको कुराले यही महामारीतर्फ सङ्केत गरेको हुनुपर्छ । यहाँनिर विचार गर्नुपर्ने अर्को एउटा कुरा के छ भने, यहाँ जहाँ जहाँ महामारीको कुरा आएको छ, त्यहाँ त्यहाँ ‘महामारी’ शब्दको लगत्तै ‘दुर्भिक्ष’ शब्द आएको छ । यस कारण महामारीको एउटा परिमाण अनिकाल पर्नु देखिएको छ ।

तेस्रो पटक ‘मरक’ शब्द ‘गोपालराजवंशावली’ मा ने.सं. ४४९ तदनुसार वि.सं. १३८५–८६ को घटना बयान गर्दा आएको छ । त्यहाँ के लेखिएको छ भने, ‘ने.सं. ४४९ फाल्गुनशुक्लदेखि महामरक आयो । भदौसम्म दिनका दिन सय जनासम्म कम भए । यसको नाउँ कनिमरक । लोकले बत्ती बाल्न सकेन ।’ (४६ क पत्रका १–२ पङ्क्ति) ।

वि.सं. १३८५ फागुनदेखि १३८६ भदौसम्म चम्केको यस मरकलाई ‘मरक’ मात्र नभनी ‘महामरक’ भनेकोले र यसबाट दिनको सय जनासम्मको ज्यान गएकोले यो साँच्चिकै ठूलो रूपको देखिन्छ । अझ यस मरकको खास नाउँ ‘कनिमरक’ भएकोले यो कुन प्रकारको महामारी हो भनी निर्णय गर्न सके राम्रो हुन्थ्यो ।

‘गोपालराजवंशावली’ लाई नेपालीमा उल्था गर्दा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१) ले यस ‘कनिमरक’ शब्दको अर्थ नगरेकोमा त्यसैलाई अङ्ग्रेजीमा उल्था गर्दा भने कमलप्रकाश मल्ल (वि.सं. १९९३–२०७५) ले नेवारीमा ‘मकै’लाई ‘कःनि’ भनिने भएकोले शब्दानुवाद गरी ‘मेज्–डेथ्’ लेखी प्रश्नचिह्न हालेका छन् (धनवज्र वज्राचार्य र कमलप्रकाश मल्ल, ‘द गोपालराजवंशावली’, फ्रन्त्स स्थाइनर फेर्लाग, वीस्बादेन, ई.सं. १९८५, १०२, १४९ पृ.) ।

कमलप्रकाश मल्लले नै तयार गरेको ‘गोपालराजवंशावली’को अकारादिक्रमअनुसारको शब्दसूचीमा यस शब्दको अर्थ दिँदा उल्थामा दिए जस्तै, ‘मेज्–डेथ्’ र थप ‘स्मल्पक्स्’ पनि दिई दुवै शब्दको अन्त्यमा प्रश्नचिह्न हालेकाले (उही १६८ पृ.) यो महामारी ‘बिफर’ हो कि भन्ने उनको विचार देखिन्छ ।

कमलप्रकाश मल्लकै प्रधानसम्पादकत्वमा निस्केको, पुरानो नेवारी कोषमा भने ‘गोपालराजवंशावली’को माथि चर्चित वाक्यको उद्धरण गरी ‘मनिम्रक’को अर्थ ‘वन् अफ् द नेम्ज् अफ् थन्डर् बोल्ट्’ अर्थात् ‘चट्याङका नाउँमध्ये एक’ भनी गरिएको छ (अ डिक्शन्अरि अफ् क्ल्यास्इक्ल् नेवारी, च्वसा पासा, काठमाडौँ, ई.सं. २००० मा कनिम्रकः) ।

तर ‘गोपालराजवंशावली’को त्यही बयानबाट ६ महीनासम्म त्यो मरक भएकोले र त्यसबाट दिनहुँ सय जना जति मरेको बुझिएकोले त्यस कोषमा लेखिए जस्तो यो ‘चट्याङ’ नभई ‘महामारी’ नै हो भनी निर्धक्क भन्न सकिन्छ ।

यस प्रसङ्गमा अर्को एउटा कुरा पनि गर्नुपर्ने भएको छ । त्यो के हो भने, अहिलेको नेवारीमा ‘कःनि’ले मकै बुझाए पनि जुन वेलाको घटना ‘गोपालराजवंशावली’मा लेखियो, त्यसको ३ सय वर्षपछि र जुन वेला यो वंशावली तयार भयो, यसको २ सय वर्षपछि मात्र पश्चिमबाट पूर्वतिर मकै भित्रिएकोले त्यस वंशावलीमा आएको ‘कनि शब्दले ‘मकै’ बुझाएको र त्यसबाट मकैसँग गाँसिएको महामारी आएको भन्ने अनुमान गर्न सकिन्न ।

‘मरक’, ‘मारि’ इत्यादि शब्द मात्र नदिई तिनको अर्थ पनि खुलाइएका प्राचीन कोषमध्ये बाह्रौं शताब्दीका यादवप्रकाशको ‘वैजयन्ती’ (३।६।२०२), हेमचन्द्र (वि.सं. ११४५–१२२९) को ‘अभिधानचिन्तामणि’ (२।२३८ मा स्वोपज्ञवृत्ति), बाह्रौँ शताब्दीका महेश्वरको ‘शब्दभेदप्रकाश’ (४।२१)मा ज्ञानविमलले विसं १६५४ मा लेखेको टीका र सत्रौं शताब्दीका सहजकीर्तिको ‘सिद्धशब्दार्णव’ (२८६ श्लोक) पनि पर्छन् । तिनमध्ये ‘वैजयन्ती’मा ‘सबैमा फैलिएर मरिने रोग’ ‘अभिधानचिन्तामणि’मा ‘सर्वलोकमा फैलिएर मरण हुने रोग’, ‘शब्दभेदप्रकाश’मा ज्ञानविमलको टीकामा ‘धेरै मानिस मर्ने रोग’ र सिद्धशब्दार्णव’मा ‘सबैमा जाने रोग’ भनी लेखिएकोले यी शब्दले कुनै रोगविशेष नबुझाई छ्यापछ्यापती फैलिएको जुनसुकै रोग पनि बुझाउन सक्ने देखिन्छ । यस कारण ‘गोपालराजवंशावली’मा चर्चित ‘महामारी’ वा ‘मरक’ यही नै रोग हो भनी किटेर भन्न सक्ने अवस्थामा हामी छैनौँ भन्ने कुरा स्पष्ट छ ।

‘दुधे कर्कलोको कारण श्रीप्वस्येदेव राजाको पालामा खप्नै नसकिने गरी मह्रं भयो । सपनामा देखाइएअनुसार यसको शान्ति गरियो । श्रावणशुक्लद्वादशीको दिन दूधे कर्कलो उमालेर ढोकामा राख्दा र ९ दिनसम्म बेथे, रायो, गोबरले अभिषेक गर्दा सापबाट रक्षा भई मह्रंको निवारण भयो ।’

माथि चर्चा गरिएका, परापूर्वकालदेखि वि.सं. १३८५–८६ भित्र फैलिएका सातैवटा औपसर्गिक रोग कुनै व्याधिविशेषको हो भन्ने कुरा नखुले पनि वि.सं. १७२९, १७३६, १७६३ र १७९६–९७ मा गरी अठारौं शताब्दीका ६८ वर्षभित्र यहाँ कमसेकम ४ पटक बिफर चम्केको थियो भन्ने कुरा तात्कालिक आकरबाट थाहा भएको छ । त्यसबाट कति जनाको खति भयो भन्ने थाहा नभए पनि ३५ वर्षको अन्तरालमा २ जना गद्दीनशीन राजा र राजपरिवारका अरू ३ जना बितेको भने स्पष्ट हुन्छ ।

सबभन्दा पहिले, बिफरको पहिलो प्रकोपको विषयमै चर्चा गरौँ । यसको वृत्तान्त नेवारीमा लेखिएका तात्कालिक २ वटा टिपोटमा पाइएको छ । तिनमध्ये पहिलो टिपोट राजकीय हो । खुलाएर भन्दा, काठमाडौँ र ललितपुर राज्यमा पाइने गरेका अभिलेखभन्दा नितान्त फरक ढङ्गका थप एक थरी अभिलेख भक्तपुर राज्यका पाइन्छन् । धरःपौ अर्थात् लगत भनी चिनिने त्यस्तै एउटा अभिलेखमा भक्तपुरका राजा जगत्प्रकाश मल्ल (वि.सं. १६९५–१७२९) लाई बिफर आउँदा ने.सं. ७९३ तदनुसार वि.सं. १७२९ मार्गशुक्लपञ्चमीको दिन उनको रोगशान्तिको लागि थुप्रो दानधर्म गरेको कुरा लेखिएको छ । अन्त्यमा केही नलागी दानधर्म गरेको १५ दिनमा मार्गकृष्णपञ्चमीको दिन उनी त्यही रोगले बिते । यति लेखिसकेपछि उनको शवयात्राको र काजक्रियाको विषयमा लेख्दै गई बरखीसम्मको कुरा त्यस लगतमा छ (शङ्करमान राजवंशी, ‘भक्तपुरका मल्ल राजासँग सम्बन्ध राख्ने धरःपौ (लगत)का केही ऐतिहासिक सारांश’, ‘पूर्णिमा’ १६ पूर्णाङ्क, २०२४, ३६७–३६८ पृ.) ।

वि.सं. १७२३ देखि १७३२ सम्मका घटना नेवारीमा लेखिएको एउटा टिपोटमा पनि जगत्प्रकाश मल्लको मरणको विषयमा लेखिएको छ । ने.सं. ७९३ मार्गकृष्णचतुर्थी बृहस्पतिवारको दिन भक्तपुरका राजा जगत्प्रकाश मल्लको मृत्यु बिफर पाक्दा भयो, ९ जना सती गए भनी त्यहाँ लेखिएको छ (शङ्करमान राजवंशी, ‘ऐतिहासिक घटनावली’, वीरपुस्तकालय, काठमाडौँ, २०२०, ५ पृ.) ।

यी २ थरी आकरमा एउटा मार्गकृष्णपञ्चमीमा र अर्कोमा मार्गकृष्णचतुर्थीमा जगत्प्रकाश मल्लको मृत्यु भयो भनी लेखिएकोले परलोक भएको तिथि दिँदा १ दिन फरक परेको देखिन गएको भए पनि यसको समाधान गर्न नसकिने होइन ।

वि.सं. १५८९ देखि १८३३ सम्मका घटनाको विषयमा नेवारीमा लेखिएको एउटा टिपोटमा पनि जगत्प्रकाश मल्लको मृत्युको विषयमा लेखिएको छ । उनी कुन रोगले बिते भनी त्यहाँ नखुलाइए पनि ने.सं. ७९३ मार्गकृष्णचतुर्थीउप्रान्त पञ्चमी बृहस्पतिवारको दिन साँझ जगत्प्रकाश मल्लको मृत्यु भयो, ९ जना सती गए भनी लेखिएकोले (डिल्लीरमण रेग्मी, ‘मेड्ईइभल् नेपाल्’ ३ भाग, २ खण्ड, फर्मा के.एल. मुखोपाध्याय, कलकत्ता, ई.सं. १९६६, ११२ पृ.) चतुर्थीको घडी पला सिद्धिई पञ्चमी लागेपछि उनको प्राण छुटेको देखिन्छ । गणनाबाट पनि यस तिथिमितिको पुष्टि भएकोले वि.सं. १७२९ मङ्सीर २९ गते जगत्प्रकाश मल्ल बितेको ठहर्छ (भोलानाथ पौडेल, ‘जितामित्र मल्ल’, ‘पूर्णिमा’ १ पूर्णाङ्क, २०२१, २० पृ. र ‘जगत्प्रकाश मल्ल’, ‘पूर्णिमा’ ६ पूर्णाङ्क, २०२२, ३७ पृ.) ।

वि.सं. १७३४ देखि १७६२ सम्मका, खास गरी काठमाडौँ राज्यका घटना नेवारीमा लेखिएको एउटा टिपोटबाट वि.सं. १७३६ मा काठमाडौँमा बिफरको प्रकोप भएको कुरा थाहा हुन्छ । खुलाएर भन्दा, ने.सं. ७९९ तदनुसार वि.सं. १७३६ श्रावणशुक्लद्वादशी शुक्रवार गद्दीनशीन राजा नृपेन्द्र मल्ल (वि.सं. १७१८–१७३७, राज्यकाल वि.सं. १७३१–१७३७) की भाञ्जी बिफरले बितेको, त्यसको ९ दिनमा श्रावणकृष्णपञ्चमी शनिवारको दिन तिनै मृतककी आमा, नृपेन्द्र मल्लकी दिदी सिद्धश्री बिफरले बितेको, त्यसको ५ दिनमा दशमीको दिन सिद्धश्रीको ५ दिनको काम सिद्धिएलगत्तै मृतकका छोरा पनि त्यही रोगले बितेको कुरा त्यस टिपोटबाट थाहा हुन्छ । बिफरले बितेकामा राजाका दिदी र भाञ्जाभाञ्जीको मात्र किटेर त्यहाँ चर्चा गरिए पनि अरू धेरै बालक पनि बिफरले मरेको कुरा विधि नगरेकोले अहिले केटाकेटीलाई मात्र लगेको हो, पछि राजा र प्रमान (मन्त्री)लाई पनि नराम्रो हुन सक्छ भन्ने वाक्य देउता चढेको मानिसको मुखबाट निस्क्यो भनी त्यहाँ लेखिएकोले देखिन्छ (महेशराज पन्त, ‘सबभन्दा पहिले प्रकाशमा आएको ठ्यासफू २ खण्ड,’ ‘पूर्णिमा’ १३१ पूर्णाङ्क, २०६६, १९७ पृ.) ।

नृपेन्द्र मल्लकी भाञ्जी परलोक भएको भोलिपल्टदेखि देउता चढी वाक्य बन्द भएका एक जनाको बक ४ दिनमा अर्थात् श्रावणकृष्णद्वितीयाको दिन मात्र फेरि खुलेपछि ठाउँठाउँमा महाबलि दिए रोग शान्त हुन्छ भन्ने वाक्य ती मानिसको मुखबाट निस्कँदा तदनुसार महाबलि दिएको कुरा त्यहाँ लेखिएको छ । त्यस्तो महाबलि भाद्रशुक्लचतुर्थीउप्रान्त पञ्चमी शनिवारको दिन बाङ्गेमूढा, इन्द्रचोक, सोकनबु (हनुमान्ढोकादरबारको इलाका), मरु, लगन, लुमडी, पचली, कङ्केश्वरी र इन्द्रायणी गरी ९ ठाउँमा दिइएको थियो (उही) ।

वि.सं. १५८९ देखि १८३३ सम्मका घटना लेखिएको एउटा टिपोटबाट वि.सं. १७६२ मा बिफरको प्रकोप भएको बुझिन्छ । कुरा के भने, ने.सं. ८२६ तदनुसार वि.सं. १७६३ आश्विनकृष्ण षष्ठीउप्रान्त सप्तमी अर्थात् कार्तिक १५ गते बुधवारको दिन आधा रातमा ललितपुरका राजा लोकप्रकाश मल्ल (वि.सं. १७५५–१७६३, राज्यकाल १७६२–१७६३)को बिफरले मृत्यु भएको त्यहाँ लेखिएको छ (शङ्करमान राजवंशी, ‘योगनरेन्द्र मल्लका उत्तराधिकारी’, ‘पूर्णिमा’ ६ पूर्णाङ्क, २०२२, ३८–४२ पृ.) । बिफरको अर्को महामारी वि.सं. १७९६ मा शुरू भई १७९७ असोजसम्म कायम रहेको कुरा नेपालको बाटो भई भोटमा क्रिस्तान धर्म प्रचार गर्न जान भनी यहाँ आइपुगेका क्याप्युचिन पादरी कास्सिआनो (वि.सं. १७६५–१८४७)को डायरीबाट बुझिन्छ ।

त्यसताका भारतमा क्याप्युचिनहरूको गढ कलकत्ताको उत्तरमा हुग्ली नदीको किनारमा रहेको चन्द्रनगरमा थियो । फ्रान्सको अधीनमा रहेको त्यस सहरबाट धर्मप्रचार गर्न पादरीहरू खटाइन्थे । त्यसैअनुरूप, भोटमा धर्मप्रचार गर्नको लागि चन्द्रनगरबाट खटाइएको, प्रीफेक्ट (मुख्य अधिकारी) फ्रान्चेस्को ओराजिओ (वि.सं. १७३७–१८०२) सहित ९ जनाको टोली वि.सं. १७९६ माघमा (ई.सं. १७४० फेब्रुअरी ६ मा) भक्तपुर आइपुग्यो । आएको भोलिपल्टै त्यस टोलीले भक्तपुरका राजा रणजित् मल्ल (वि.सं. १७५९–१८२८, राज्यकाल वि.सं. १७७९–१८२६) सँग भेट गर्‍यो । वि.सं. १७९४ मै आफ्नो राज्यमा धर्मप्रचार गर्न क्याप्युचिन सम्प्रदायलाई घर दिइसकेका रणजित् मल्लले हिजो मात्र आइपुगेको टोलीको राम्ररी स्वागत गरे । यो कुरा कास्सिआनोको माथि चर्चा गरिएको डायरीबाट थाहा हुन्छ ।

फ्रान्चेस्को ओराजिओको त्यस टोलीको मनसाय छिटै भोटतिर लाग्ने भए पनि त्यो सम्भव भएन । त्यस बेला यहाँ बिफर चम्केकोले बाटाघाटा बन्द गरिएको हुँदा त्यो टोली यहीँ ७ महीना थन्किएर रह्यो । बाटाघाटा खुलेपछि वि.सं. १७९७ असोजमा (ई.सं. १७४० अक्टोबर ४ मा) मात्र त्यस टोलीले भक्तपुर छोड्यो (फुल्जेन्तिउस भान्नानि, ‘क्रिस्चन् सेटल्मेन्ट्स् इन् नेपाल् ड्यूर्ङ् दि एटिन्थ् सेन्चुरि’, नयाँ दिल्ली, ई.सं. १९७७, ४९–५०, ५२ पृ. र महेशराज पन्त, ‘उहिलेको नेपालमा क्रिस्तान धर्म–इतिहासबाट टुक्राटाक्री’, ‘राजधानी’, २०७०।९।१५।२, ७ पृ.) ।

प्रकाशित : वैशाख २०, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?