२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तर, कडा कोभिड-१९ देखिएन...

विश्व स्वास्थ संगठनले कोरोना अति जोखिमयुक्त देशबाट नेपाललाई जोखिमयुक्त देशमा राखेको छ। केही दिनयता संक्रमणको शंका लिएर आउनेको संख्यामा पनि कमी देखिएको छ। यो हाम्रो लागि सुखद समाचार हो।
शेरबहादुर पुन

काठमाडौँ — शीर्षक नेपालीले सोचेभन्दा धेरै भिन्न होला। तर यथार्थ यही हो। यो पंक्तिकारले पहिलोपटक सार्सजस्तो भाइरस चीनमा देखिएकाले हामीले पनि सतर्कता अपनाउनुपर्ने सुझावसहित लेख प्रकाशित गरेको तीन महिना बितिसकेछ। हाल यसको नाम पनि सार्स कोरोना भाइरस-२ नै राखिएको छ। तर अधिकांश नेपालीले यो रोगलाई यही नामले चिन्दैनन्।

तर, कडा कोभिड-१९ देखिएन...

विश्व स्वास्थ संगठनले यस भाइरसबाट उत्पन्न हुने स्वास्थ्य समस्या वा जटिलतालाई 'कोरोना भाइरस डिजिज-२०१९' (कोभिड-१९) नाम दिएको छ। यसलाई आधिकारिक वा प्राविधिक रुपमा जे जसरी सम्बोधन गर्ने गरे पनि नेपालमा भने यस रोगलाई सर्वसाधारणले कोरोना भाइरसको नामले बढी चिन्ने गर्छन्।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। तर यीमध्ये कोही पनि कडा कोभिड-१९ का बिरामी हालसम्म छैनन्। अर्को शब्दमा भन्दा नेपालीहरुमा कोरोनाको संक्रमण त भयो तर कडा लक्षण लिएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था सिर्जना भएको छैन। विकसित देश जस्तै: चीन, युरोप तथा अमेरिकामा सबैभन्दा बढी कडा कोभिड-१९ का बिरामी देखिएका थिए/छन्। मृत्यु पनि बढी यिनै देशमा भए/भइरहेका छन्।

नेपालमा परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या त बढेको देखियो तर सबैमा खासै कडा स्वास्थ्य समस्या भने थिएन। लगभग सबैजसो संक्रमित आफूलाई कोरोनाले संक्रमण थाहा नपाउँदासम्म सामान्य दैनिकीमा नै व्यस्त थिए। र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको प्रयोग व्यापक पार्दै जाँदा पोजिटिभको संख्या बढेको हो।

हाल प्रयोग भइरहेको आरडीटी किट संक्रमण शरीरमा प्रवेश गरिसकेपछि विकास भएको एन्टीबडी पत्ता लगाउन प्रयोग गरिन्छ। त्यस्ता किटले आईजीएम र आईजीजी गरी दुई प्रकारका एन्टीबडी पत्ता लगाउँछ। हालसम्मको अनुसन्धानहरुले आईजीएम एन्टीबडी सामान्यत: एक सातादेखि तीन साताबीचमा देखिने र आइजीजी एन्टीबडी दोस्रो सातादेखि महिनौंसम्म पनि देखिन सक्ने भनिएको छ।

नेपालमा प्रयोग भइरहेको किटमा यी दुवै एन्टीबडी छुट्टाछुट्टै नदेखाउने भएकोले यदि कोही व्यक्तिमा पोजिटिभ देखियो र सो व्यक्ति नेपाल प्रवेश गरेकोले महिना दिनभन्दा बढी भइसकेको छ भने त्यो आईजीजी एन्टीबडी हो भन्ने संकेत गर्दछ। उक्त व्यक्ति नेपाल आइपुगेपछि सम्पर्कमा आई कोरोना भाइरस सरेको भए ती व्यक्तिमा आईजीएम एन्टीबडी हुन सक्ने सम्भावना बढी हुन्छ। अर्थात्, संक्रमण भएको केही दिनमात्र भएछ भन्ने हो। उनीहरुमा पीसीआर प्रविधिबाट पनि पोजिटिभ देखाउने सम्भावना बढी हुन्छ। पीसीआर प्रविधिले संक्रमण भएको पहिलो दुई सातामा जीवाणु छ/छैन भनेर देखाउने सम्भावना बढी हुन्छ।

यी दुई प्रविधिको नतिजाको व्याख्या पनि फरकफरक हुने भएकाले आम सर्वसाधारणमा टेस्टको नतिजालाई लिएर बेलाबखत अन्योल छाएको पनि देखिन्छ। तसर्थ यस्तो अन्योल नहोस् भन्नलाई दुवै टेस्टको नतिजा भिडाएमात्र नतिजा सार्वजनिक गर्दा उत्तम हुनेछ। किनभने नेपालमा मात्र होइन विश्वमा नै कोरोना भाइरस संक्रमितलाई समुदायमा हेयको दृष्टिले हेर्ने गरेको पाइन्छ। नेपालका विभिन्न स्थानमा कोही व्यक्ति विदेश वा कोरोना प्रभावित स्थानबाट आइपुगेको भए उसमा कोरोना संक्रमणको आशंका गर्ने ठूलो जमात अहिले पनि छ।

भारत मुम्बईका एक ५६ वर्षीय पुरुष ज्वरो र खोकीका कारण मार्च २६ मा चिकित्सककहाँ जँचाउन पुगेका थिए। प्रयोगशाला परीक्षणपछि कोभिड-१९ रहेछ भन्ने पुष्टि भयो। संक्रमित बस्ने स्थान एसियाको एक ठूलो सुकुम्बासी क्षेत्र मानिने गरिएको छ। यस मानेमा पनि धेरैको अनुमान अब त्यहाँ कोरोना भाइरस द्रुत गतिमा फैलिने र धेरैको मृत्यु हुन सक्ने आकलन गरिएको थियो। तर त्यसको ठिकविपरीत त्यहाँ कोरोनाका कारण ठूलो हताहती भएको रिपोर्ट छैन। यद्यपि, त्यो ठाउँमा संक्रमितको संख्या भने बढेको भने हुन सक्छ। त्यहाँको अवस्था पूर्वानुमान गरेभन्दा फरक देखिँदा यो पंक्तिकारमात्र नभई अरु वैज्ञानिक पनि उत्तिकै आश्चर्यचकित भएका थिए।

केही आश्चर्यका घटनामध्ये बाग्लुङकी ६४ वर्षीया महिलामा देखिएको कोरोना संक्रमणलाई पनि लिन सकिन्छ। उनलाई कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा प्रयोगशाला परीक्षण गर्दामात्र संक्रमित रहेछ भनेर पत्ता लागेको थियो। अर्थात्, उनी कोभिड-१९ को बिरामी भने होइनन्। उच्च रक्तचाप र दमजस्तो दीर्घरोग समेत रहेको उनमा कुनै स्वास्थ्य जटिलता भने देखिएको थिएन।

हालसम्म गरिएका विभिन्न अनुसन्धानले कोभिड-१९ को जोखिम सबैभन्दा बढी वृद्धवृद्धामा हुने र मृत्युदर पनि यही उमेर समूहमा हुने देखाएको छ, जुन नेपालीमा भने मेल खाएको देखिँदैन। यस्तै ६० वर्षभन्दा माथिका अरु संक्रमितमा पनि परीक्षणको क्रममा मात्र कोरोना संक्रमण पत्ता लागेका थिए। उनीहरुमा पनि संक्रमणको कारणले स्वास्थ्यमा जटिलता देखिएको थिएन। अर्थात्, कडा कोभिड-१९ थिएन।

विश्वमा हाल कोभिड-१९ को मृत्युदर ७ प्रतिशतको हाराहारीमा देखिन्छ भने भारतमा ३ प्रतिशतको हाराहारीमा। नेपालमा भने कोभिड-१९ को कारण मृत्युको संख्या शून्य छ। अरु देशमा कोरोनाले आक्रमण गर्दै संक्रमितलाई अस्पतालसम्म पुर्‍याउने गरेको पाइन्छ। नेपालमा त्यसको ठिक उल्टो विदेशबाट फर्केकाहरुलाई कोरोना भाइरस परीक्षण गर्न अनुरोध गर्दै बोलाउने तथा आवश्यक परे कन्ट्याक्ट ट्रेसिङ गर्दै कोरोनाको खोजी गर्ने गरिएको छ। यो नै कोरोना प्रभावित विकसित देशहरु र नेपालबीच देखिएको अचम्मलाग्दो अन्तर हो। यसले पनि नेपालमा सार्स कोरोना भाइरस-२ भित्रिएको वा संख्या बढेको भए तापनि कडा कोभिड-१९ का बिरामी भने देखिँदैन।

यो पंक्तिकारले पहिलेदेखि नै कोरोना संक्रमण हुनेबित्तिकै मरिँदैन भन्ने सन्देश पनि दिँदै आइरहेको थियो। अहिले हेर्दा नेपालमा यस्तै ट्रेन्ड देखिन्छ। हालै नेपाललाई विश्व स्वास्थ संगठनले कोरोना अति जोखिमयुक्त देशबाट जोखिमयुक्त देशमा राखेकोबाट पनि नेपाल सुरक्षित हुँदै गइरहेको भन्ने सन्देश दिएको छ। केही दिनयता कोरोना संक्रमणको शंका लिएर आउनेहरुको संख्यामा पनि उल्लेखनीय कमी देखिएको छ। यो आफैमा हाम्रो लागि सुखद समाचार हो।

अन्तमा, आजसम्मको तथ्यांकलाई विश्लेषण गर्ने हो भने कम्तीमा ७ जना कोरोना संक्रमितमा कडा लक्षण देखिनुपर्ने थियो वा झन्डै दुई जनाको मृत्यु नै भइसक्नुपर्ने थियो। कडा कोभिड-१९ नदेखिए पनि आगामी दिनमा नदेखियोस् भन्नका लागि हालसम्म भएका प्रयासलाई आगामी दिनमा निरन्तरता भने दिनैपर्छ। यसका लागि विश्वमा कोरोना भाइरस रोकिएको घोषणा नभएसम्म नेपाली सबै एकजुट भएर निरन्तर मेहनत गर्नुको विकल्प छैन।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित : वैशाख १४, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?