कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टुक्काको नाति ट्रोल

हामीमा ज्ञान छ । पढे–लेखेका छौँ । फेमिनिजमका ठूला–ठूला व्याख्या सहजै बुझ्छौँ । तर, महिलालाई व्यङ्ग्य गरिएको ट्रोलहरुमा हाहा रियाक्ट र सेयर कसरी गर्न सक्छौँ ? ट्रोलभन्दा भयावह मजाक त सामाजिक सञ्जाल र ट्वीटरजस्तो बौद्धिक प्लाटफर्ममा देखिन्छ ।
श्रेयज सुवेदी

समय परिवर्तनशील छ । अधिकांश कुरा पहिलाजस्तो छैनन् । ल्यापटपको जमानामा टाइपराइटर सजाउने वस्तु मात्र बन्छ । पुरानो अस्तित्वको नयाँ ठेगाना भनेको म्युजियम हो । र, संसारमा सबैभन्दा बढी म्युजियम भएको देश नेपाल हो ।

टुक्काको नाति ट्रोल

देशको करिब आधा जनसंख्या सजाएर राख्न लायक छ । पुरातात्त्विक सोचाइका आधुनिक सजीवहरू आजको विश्वमा एलियन हुन्, जो यो गतिशील समयमा पनि मतिशील बन्न सकेका छैनन् ।

बाको हात समाउँदै चियापसल गइन्थ्यो । चियापसल पुरुषत्वको ठूलो अखडा हो, जहाँ बाहरूको बहादुरी गाथा धेरै सुनियो । तर, आमाहरू चिया पिउन कहिल्यै आएनन् । आमाहरूको कुरा चल्थ्यो, ‘काम धन्ना केही छैन, आइमाईको जुनी कुरै काटेर जाने भो ।’ र, यो भनिरहँदा बाको जुठो, अघि भर्खरै आमाले सोहोरेर थालसुद्ध आमैले माझेकी हुन्थिन् । अनि चिया पसल्नी पुतली दिदी, चुलोमा दाउरा ठोसेर मौन विरोध गर्थिन् । बाको चिया अड्डाजस्तै गरी आमालाई छिमेकी अड्डामा पनि पछ्याएको छु । कुरा काट्ने नै काम हुन्थ्यो ।

तर, दिनभर बेकम्मा भई बार्दलीमा हुक्का तान्ने बालाई, आमाले ‘काम केही छैन’ भनी कहिल्यै कुरा काटिनन् । आमाले सधैँ फुर्सदिलो बाको सम्मान गरिन् । तर, बाले कहिल्यै व्यस्त आमाको सम्मान गरेनन् । ‘चोथाले आइमाई, गाम् डुली बस्’ को जवाफमा ‘बेकम्मा लोग्ने चियापसल धाई बस्’ भनेर मुख कहिल्यै फर्काइनन् । आमाले आफ्नो जीवनकालमा भातभन्दा बढी टुक्का खाइन् ।

मायाभन्दा बढी अपमान पाइन् । बाको चिया अड्डा सधैँ जायज भयो र आमाको छिमेकी अड्डा सधैं नाजायज । कान बटार्ने रेडियो हातमा बजाउँदै, बाको साथीहरू दिन बिताउन घर आउँथे । प्रजातन्त्रको कुरा हुन्थ्यो । हक अधिकारको बहस चल्थ्यो । परिवर्तन आवश्यक छ भनिन्थ्यो । अनि आमाका लागि हाट जाने पैसा, बासँग मैले माग्नुपर्थ्यो । आमाको अप्ठ्यारो सारीको सप्कोबाट

कहिल्यै बाहिर आउन सकेन । बाहरू मजाक गर्थे । ‘आइमाईको जात... दिनभरि चुलोअगाडि, रातभरि गु... (चुलोसँग रिदम मिल्ने पुरुष अंग) अगाडि ।’ वाक्य सरल र रिदममा भएकाले मैले ठ्याक्कै टिपेँ र दोहोर्‍याएँ । बा धक फुकाएर हाँसे । सोचे होलान्, ‘म मरे पनि यसले पुरुषसत्व जीवित राख्ने भो ।’

बाको सोचाइको जिब्रोमा कालो कोठी रैछ सायद । ‘तपाईंमा पुरुष हुनुको दम्भ छ’ भन्दै सधैँ ऊ रिसाएकै हुन्थी । बाले आमालाई ‘ओइ यता मुन्टी’ भनी बोलाउँथे । म त उसलाई तिमी भनी सम्बोधन गर्छु । कहिलेकाहीं रिसाएर झर्किनु भनेको बेग्लै कुरा हो । ऊ पनि झर्किन्छे, रिस देखाउँछे । तर, रिसको सुरुमा मैलेजस्तै जे भेट्यो त्यैले झटारोचैँ आजसम्म हानिन । मैले त रिसाउने स्वतन्त्रता पनि देको छु । आमा त बाले पिट्दा हिक्का पनि घाँटीमै दबाउँथिन् । हामीले ब्याचलर पढ्दापढ्दै भागी बिहे गर्‍यौं ।

पछि मसँगै डिग्री गर्न चाहन्थी । तर, उसको पढ्ने इच्छामा मैले लजिक नै देखिनँ । घर नै हेर्नु छ भने पढाइमा पैसा किन खेर फाल्नु ! बहसमा ऊ माथि पर्दै गएपछि मुखैमा भन्दिएँ, ‘जति पढे पनि भाँडै मोल्ने हो ।’ उसले चित्त दुखाएर दुई महिना बोलचाल नै बन्द गरी । तर, आमाको जस्तै मैले बन्देज त दिएको छैन । समयको मागअनुसार समाज बुझेर घर चलाउन दिएकै छु । तलब सबै हातैमा राख्दिन्छु ।

कुनै कुनै निर्णय उसैलाई सोधेर गर्छु । बजार जान्छे । फेसबुक चलाउँछे । साथीभाइसँग घुलमिल गर्छे । आमाजस्तो एउटै फरियाले जुनी काट्न परेको छैन । महिनैपिच्छे नयाँ लुगा हाल्देकै हुन्छु । तर, कहिलेकाहीं पढे–लेखेको जताउन बढी बोल्छे । ‘पोथी बासेको ठीक होइन’ भनी आँखा नतरेसम्म, उसको मुखमा बिर्को लाग्दैन । मैले अर्थ हेरेको छु । उसले घरको मर्म बुझेकी छे । बीचमा दुई सन्तान भएपछि जागिर खाएर घर खर्चमा सहयोग गर्छु भनी हैरान पारी । बच्चाबच्चीको लालनपालनमा असर पर्छ भनेर सम्झाउनै सकिनँ । लामै बहस भयो । झगडै पर्‍यो ।

आखिर उसले बालबच्चा हेर्नैपर्‍यो । त्यत्रो बखेडा किन गर्नुपरेको ! मेरो मर्म पनि त बुझ्नुपर्छ नि ! मर्द भएर स्वास्नीको कमाइ कसरी खानु ! मेरो चैँ आत्मसम्मान हुन्न ? मेरोचैँ इच्छा मार्नैपर्ने ? समझदारी मेरो भागमा मात्र किन ? घरलाई समय कैले दिने ? यस्ता प्रश्न लिएर सधैँ ऊ कचकच गर्न बस्छे । तीजको दुई–चार दिन घर एकदम शान्त हुन्छ । वर्षमा दुई–चारवटा तीज थपिए, महिलाभन्दा बढी पुरुष रमाउँथे ।

श्रीमतीको किचकिच अनावश्यक तनाव हो । कहिलेकाहीं लाग्छ, टेन्सनलाई सिन्दूर हालेको रै’छु । उसले के चाहन्छे, म बुझ्नै सक्दिनँ । उसको महिलावादमा म अटाउनै सकिनँ । त्यसैले छोरोको लालनपालनमा महिलावादको लिटो घोटाएरै ख्वाएकी छे ।

छोरो मभन्दा धेरै बुझकी छ । रेप केसहरूमा मुर्मुरिँदै फाँसी दिनुपर्छ भन्छ । उसलाई राम्रो छुवाइ, नराम्रो छुवाइसम्बन्धी ज्ञान छ । मी–टु अभियानको ठूलो समर्थक हो । बैनीको महिनाबारी हुँदा पनि, मसँग झगडा गरेर चाडपर्व मनाउन लगाउँछ । भान्छामा सबै काममा सहयोग गर्छ । श्रीमतीलाई बाहिर काम गर्ने स्वतन्त्रता दिन्छु, लुगा लगाउने स्वतन्त्रता दिन्छु भनेर हामीसँग बहस गर्छ । छोरीहरू भोलिको भविष्य हुन् भन्दै ठूलाठूला तर्क दिन्छ । तर, अस्ति दाजु–बैनीको झगडा पर्‍यो । छोरीले भन्दै थिई, ‘तँलाई महिलाहरूको सम्मान गर्न अझै आएन ।’

म त दंग परेँ । यस्तो महिलावादी मान्छेलाई किन गाली गरेकी होला ! पछि थाहा भयो, छोरोले एउटा मिम सेयर गरेको थियो, ‘एक महिना ब्युटिपार्लर जान नपाउँदा केटीहरूको हालत ।’ अनुहारभरि कपाल पलाको केटीको फोटोमा मैले पनि हाहा रियाक्ट गर्‍या थेँ । त्यति कुरामा दाजु–बैनीको घमासान पर्‍यो । राति सुत्ने बेला फेरि उसले प्रवचन सुरु गरी, ‘जत्ति नै थापे पनि, पुरुषत्व चुहिने रैछ । महिलाको सम्मान आज पनि छैन ।’ छोरोलाई राम्रो पाठ आज छोरीले सिकाई ।

त्यो युगको व्याख्या, चलिआएका उखानहरूले गरिदिन्छन् । महिलाहरूलाई व्यवहारसँगै टुक्काबाट पनि थुप्रै प्रहार हुन्थ्यो । अधिकांश उखानमा महिलालाई होच्याएकै देखिन्छ । त्योबेलाको अपमानको छाया टुक्काहरूमा प्रस्ट देखिन्छ ।

‘काम नपाई बुहारी पाडाको कन्डो कन्याई’, यो उखान उसैले बनाए होलान्, जसको छोरो दिनभर चौतारीमा बसी तास खेल्दो हो । बेरोजगार छोराहरूको नाममा कतिवटा टुक्का बने ? बुहारीको काममा चित्त नबुझ्दा यति पेचिलो उखान– ‘छोरी कुटेर बुहारी तर्साउने ।’ छोरा कुटेर ज्वाइँ तर्साउन त सक्नु पनि पर्‍यो नि ! छोरी कुट्नैका लागि जन्माएको ? बुहारीहरू तर्साउनकै लागि भित्र्याइएको ?

‘उमेरमा दसवटा पोइ, मर्ने बेला कोई न कोई !’ पोइको ठाउँमा जोई किन भएन ? पुरुष निर्भरताको बयान गर्न खोजेको ? अनि पचास ठाउँमा मुख जुठो गर्दै हिँड्नेलाई चैँ केही नभन्नु ? स्वास्नीलाई नै नीच देखाउनुपर्ने ? ‘दुई स्वास्नीको पोइ कुना पसी रोई !’ यहाँ पनि रुवाउने पात्र स्वास्नी नै ? अनि तिमीले जिन्दगीभरि स्वास्नी रुवाको व्यङ्ग्यचैँ कुन उखानले गरिदिने ? महिलामाथिको मजाक इतिहासकै उपज हो । व्यवहार र व्यङ्ग्य दुवै सहनु त्यो बेलाको बाध्यता थियो ।

बिस्तारै व्यवहारमा झिनो परिवर्तन त आयो तर त्यही टुक्काले टन्ट जन्मायो । गर्न नसक्नेहरूले बोलेर महिला दबाउन थाले । झर्काइले आवाज थिच्न थालियो । समाजको भूत देखाएर अधिकारलाई तर्साउन थालियो । छोटा लुगा, साथीसंगतजस्ता शीर्षकको काँधमा बन्दुक राखेर निरन्तर स्वतन्त्रता र व्यक्तिगत रुचिलाई छाडापनको संज्ञा दिइयो । छोरीजस्तो के रोइराको, आइमाई जत्ति नै टाइम लाग्छ रेडी हुन?

जस्ता टन्टहरूले महिला र पुरुषको भूमिकालाई सीमांकन गर्न खोजियो । आमा, श्रीमती, बैनी र प्रेमिकाहरूलाई तल देखाउन र राख्न यस्ता टन्टहरूको प्रयोग गरियो । घर, समाज र आफन्तसँग फरकमत राखी, राज्यसँग अधिकार मागी आज यो दिनसम्म आउँदा, आशाको घाम नझुल्केको होइन । महिलाहरूमा अधिकारको चेतना र समानताको चाहसँगै, महिला बुझिदिने पुरुष नभेटिएका होइनन् । हामीमा समानताको पक्षमा चेतनाको स्तर त बढ्यो । तर, सम्मानको अर्थ बुझ्न हामीले अझै बाँकी रैछ । हजुरबाको टुक्काको जिन आजकाल तिमी ट्रोलहरूमा देखाउँछौ ।

लकडाउनको समयमा यस्ता ट्रोलहरू हिट भयो, जसले महिलाको आत्मसम्मानमा हिट गर्‍यो । एउटी महिला फार्मेसीमा गएर मास्क माग्छिन् र भन्छिन्, ‘मेरो सारीसँग म्याच हुने मास्क दिनू ।’

यो मजाकले सिधै यही भन्छ- महिला लुगाका मात्र पारखी हुन् । के गलत छ चिटिक्क पर्नुमा ? देवानन्द जिउँदा हुन्थे भने उनले पनि फार्मेसीमा गएर म्याचिङ हुने कालो मास्क नै माग्थे होलान् । म्याचिङ लगाउनु महिलाको मात्र भागको कुरा होइन । यो त कसैको व्यक्तिगत छनोटको कुरा हो । मेरो एक जना साथी जुत्ता र टिसर्ट सधैँ मिलाएर लाउँछ । योचैँ उसको च्वाइसको कुरा हुन सक्ने तर सारीसँग म्याचिङ मास्कको चैँ मजाक बन्नुपर्ने ! मैले यस्ता थुप्रै केटी देखेको छु, जसलाई छोटो कपाल, चप्पल र ठूला खुला लुगा मन पर्छ ।

मिलाएर लगाउनु, ल्याङफ्याङ हिँड्नु सबै व्यक्तिगत कुरा हुन् । यस्ता कुराको मजाक बनाउनु आफ्नै चेतनास्तरको मजाक बनाउनु हो । तीन जना मुखभरि कपाल पलाएको केटीको फोटोमाथि लेखिन्छ, ‘लकडाउनपछि ब्युटिपार्लर बन्द हुँदा ।’ यसले सिधै महिलाको शृंगार गर्ने बानीलाई व्यङ्ग्य गर्छ । सुन्दर देखिनु गलत हो ? प्रियंका कार्कीको मेकअप नगरेको फोटोमा लाइक नगर्ने तिमी नै होइनौ ? बलिउडका ५० कटेका हिरोहरू चाउरी छोप्न मेकअप गर्दैनन् ? छोरीमान्छेको सुन्दरता शृंगारमै टिकेको भन्ने मानसिकता पाल्नु गलत हो ।

मेरी कान्छी बैनी अहिलेसम्म पार्लर छिरेकी छैन । उसलाई मेकअप र क्रिम मन पर्दैन । र, घरकी सबैभन्दा राम्री सदस्य हो । ठूली बैनी आवश्यकतानुसार पार्लर जान्छे । दिदी जान्छे भन्दैमा बैनी जानैपर्ने र बैनी जान्न भन्दैमा दिदी पनि जान नहुने होइन नि ! यो त दुई जनाको व्यक्तिगत रुचिको कुरा हो ।

आफूचैँ मुखभरि दारी पालेर अनुहार छोपिने गरी हिँड्दा केही नहुने, केटीहरूको आँखीभुइँ जोडिँदा तिम्रो टाउको किन दुख्ने ? तिमीलाई नै चाहिने होइन केटीको सफा काखी र खुट्टा ? तिमीलाई लाग्छ, पार्लर जानु विकृति हो भने खुट्टाभरि कपाल देखाउँदै सट्स लगाएर बजार डुल्ने स्वतन्त्रता देऊ न त तिम्रो प्रेमिका, श्रीमती र बैनीलाई । सोच्दा पनि कस्तो अप्ठ्यारो लाग्यो नि होइन ? अधिकांशलाई पार्लर जान बाध्यचैँ, तिमीजस्तैले बनाएका हुन् ।

‘लकडाउनको बेला पुरुषहरूलाई घरमा बस्ने वातावरण दिऊ ।’ यसले सीधा भन्छ, महिलाहरू कचकचे हुन्छन् । एक दिन भान्छा समालेर लुगा धोएर कोठा सफा गरेर देखाऊ, अनि थाहा पाउँछौ चिड्चिडाहट कसरी आउँछ । दिनभरि काम गरेर जब तिमी भाउजूलाई सोफामा पल्टेर फेसबुक चलाको देख्छौ नि, अनि हेर्नू तिमीभित्र कुन हर्मोनले कताकता असर गर्दोरैछ । दाजु... तिमी एकाएक रिसाहा, कचकचे, पिराहा बन्छौ । हाँस्नु स्वास्थ्यका लागि फाइदा हो । तर, महिलाको आत्मसम्मान लडाएर हाँस्नुचैँ तिम्रो सन्ततिलाई बेफाइदा हो ।

हामीमा ज्ञान छ । पढे–लेखेका छौँ । फेमेनिजम्का ठूला–ठूला व्याख्या सहजै बुझ्छौँ । तर, महिलालाई व्यङ्ग्य गरिएको ट्रोलहरूमा हाहा रियाक्ट र सेयर कसरी गर्न सक्छौँ ? ट्रोलभन्दा भयावह मजाक त सामाजिक सञ्जाल र ट्विटरजस्तो बौद्धिक प्लाटफर्ममा देखिन्छ । महिलाले तर्क र विचार राख्दा पुरुषत्वमा ठेस लाग्ने, गलतलाई गलतभन्दा सिकाउनु नपर्ने अभिव्यक्ति दिने, ‘ओइ’ सम्बोधनमा पुरुषत्व भजाउने, गुट बनाएर हमला गरेको आरोप लगाउने ।

हमला के हो भनेर, अभिव्यक्ति राख्दा पुरुषत्वको श्रीपेच लगाएका महाराजहरूले लेखी पठाएको गाली पढ्नू । एकान्तमा पढ्नुहोला, भाउजूले पढ्न नसक्ने गालीहरू छन् । हामीलाई हिँड्न, बोल्न सिकाउने आमा पनि महिला नै होइन र ? महिलासँग नजानेको सिक्दैमा तिम्रो अपमान हुन्न नि दाजु ! आत्मसम्मान त सबैको हुन्छ नि ! कि छोरीहरू जन्मिँदा बिनामुटु जन्मिन्छन् ? कि छोरीहरू हुर्किंदा आत्मसम्मान नखोज्नुपर्ने ? स्वतन्त्रता र समानताको लडाइँमा हामी सँगै छौँ भनिरहँदा, आत्मसम्मानको सम्मानमा कसरी चुकिरहेका छौँ ? कि अझै हाम्रो सोचाइमा हजुरबाहरूको टुक्का छ ?

कि अझै हाम्रो मगजमा ड्याडीहरूको टन्ट छ ? तिम्रो ट्रोल र हजुरबाको टुक्कामा मैले खासै भिन्नता केही देखिनँ । माध्यम मात्र परिवर्तन भएछ । के हाम्रा लागि महिला जहीँको तहीँ हो ? के हक, अधिकार, समानता, स्वतन्त्रता र सम्मानको लडाइँमा गरिएका भएका सबै काम बालुवामा पानी नै भएका हुन् त ? यो मानेमा तिमी पनि एलियन भयौ त ! म्युजियममै बस्ने हो ?

प्रकाशित : वैशाख १३, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?