कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महामारी-धर्म सम्बन्ध

महामारीले विज्ञानसामु धर्म कति निम्छरो हुन्छ भन्ने देखाएको छ । मानिसको ध्यान कोरोनाको महामारी शमन गर्न कुन मन्दिर, मस्जिद अथवा गिर्जाघरमा प्रार्थना गरिए भन्नेतिर होइन, कोरोनाको औषधि फेला पार्न चीन, अमेरिका अथवा युरोपका डाक्टरहरु सफल भए/भएनन् भन्नेमा छ ।
सुजित मैनाली

कारोना भाइरसको महामारी नेपाल छिर्नै लाग्दा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले फेसबुकमा लेखे, ‘कोरोना भाइरस शान्तिका लागि रोगको कीटाणु नास गर्ने मन्त्र प्रकाश गर्दछु- ॐ किच वँ वँ गच तितिये स्वाहा । गच वँ वँ गचि तितिये स्वाहा । थिँ धरति सदुमते ज्वल रँ पये स्वाहा ।’

महामारी-धर्म सम्बन्ध

सामाजिक महत्त्वका विषयमा अनुसन्धान गर्ने/गराउने जिम्मा सम्हालेको व्यक्तिले विज्ञानलाई बेवास्ता गरेर अन्धविश्वासलाई प्रश्रय दिनु खेदजनक थियो, त्यसैले यसको चौतर्फी विरोध भयो । यस घटनाले हाम्रो सामाजिक जीवनमा वैज्ञानिक मूल्य संस्थागत गर्न अझै बाँकी नै छ भन्ने संकेत गरेको छ । साथै, महामारी र धर्मबीचको अन्तरसम्बन्धबारे विमर्श गर्ने सन्दर्भ पनि दिलाएको छ ।

भयको साम्राज्य

धर्म भनेको अलौकिक शक्तिप्रतिको सामूहिक आस्था हो । समूहबाट अलग भएमा त्यस्तो आस्था भ्रान्ति बन्छ । सामाजिक अनुमोदन पाए त्यही भ्रान्ति धर्म कहलिन्छ । धर्मको नाभि भयसँग गाँसिएको हुन्छ । महामारीमा भयले राज गर्ने हुँदा धर्मसँग यसको सम्बन्ध केलाउनुअघि भयको बीजबाट धर्म कसरी अंकुरित भयो भनी चर्चा गर्नु उपयुक्त हुन्छ ।

आजसम्म धर्मबारे जे-जति चिन्तन गरिएका छन्, तीमध्ये अधिकांश भयमा केन्द्रित छन् । बीपी कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ मा ईश्वरले हिट्लरलाई तानाशाह भनेर लाञ्छना लगाउँदा प्रतिवादमा हिट्लर भन्छन्, ‘तिमी मभन्दा ठूला तानाशाह हौ, मेरो सत्ता उल्टिएकाले संसारले आज मलाई थुकिरहेको छ, भोलि तिम्रो सत्ता उल्टियो भने तिमी पनि यसरी नै थुकिनेछौ ।’

उपन्यासको यो प्रसंग अत्यन्तै अर्थपूर्ण छ । यसले भयको गर्भबाट आस्था नि:सृत हुन्छ भनेको छ । जसले जति धेरै भय सिर्जना गर्न सक्छ, ऊ त्यति नै बढ्ता पुजिन्छ । हिन्दु धर्मावलम्बीले सृष्टिकर्ता ब्रह्माभन्दा संहारकर्ता महादेवको भक्ति-उपासना बढ्ता गर्नुको कारण पनि यही हो । राज्यप्रतिको आस्थालाई कर तिरेर जाहेर गर्नुपछाडिको कारण पनि राज्यले एकाधिकार जमाएको वैधानिक हिंसाको सम्भावित प्रयोगबाट उत्पन्न हुने भय नै हो । यस अर्थमा धर्मले राज्यभन्दा ठूलो भयको साम्राज्य चलाइरहेको छ ।

आस्था र भयबीचको सम्बन्ध केलाउनमा धर्मसम्बन्धी यावत् लेखाइ बढी केन्द्रित छन् । मानिसको सबैभन्दा ठूलो भय हो, मृत्यु । त्यसैले धर्मले सबैभन्दा बढ्ता चर्चा गर्ने विषय पनि मृत्यु नै रहँदै आएको छ ।

धर्मको सामाजिक पक्षबारे अध्ययन गर्नेहरूमध्ये बेलायती मानवशास्त्री एड्वार्ड बी. टेलर अग्रणी मानिन्छन् । उनले जीवित र मृत शरीरबीचको भिन्नताबारे बुझ्ने आदिम मानवको बौद्धिक प्रयत्नबाट प्रकारान्तरमा धर्मको जन्म भएको लेखेका छन् ।

जर्मन दार्शनिक म्याक्स मुलरले चाहिँ मानव जीवनलाई जोखिममा पार्ने आँधीबेहेरी, चट्याङ, ज्वालामुखीजस्ता प्राकृतिक विपत्तिको रहस्य बुझ्न खोज्दा मानिसले धर्मको सृष्टि गरेको उल्लेख गरेका छन् ।

जीवनले बेहोर्ने सबैभन्दा ठूलो क्षति मृत्यु हो । एक छिनअघि हलचल गरिरहेको शरीर सधैंका लागि अचेत हुनु र क्रमश: कुहिँदै जानुले जीवित व्यक्तिहरूलाई भयभीत बनायो । यसबाट जोगिन उनीहरूले यस्तो हुनुपछाडिको कारण जान्न खोजे । खोज्दै जाँदा सबै प्राणीको जीवन मृत्युमा गएर टुंगिन्छ भनी बुझे ।

मृत्युलाई दैवी शक्तिको रचना ठम्याए । त्यस शक्तिलाई प्रसन्न तुल्याएर मृत्युबाट जोगिने अथवा मृत्युपर्यन्त अर्को जीवन पाउने आशाको खोजी गरे । अर्का बेलायती मानवशास्त्री बी. मेलिनोस्कीले संसारभरिका समुदायमा प्रचलित मृत्यु संस्कारमा धर्मसँग जेलिएको अमरत्वप्रतिको आस्थालाई मृत्युसम्बन्धी त्यस्तै आदिम विश्वासको प्रमाण मानेका छन् ।

मृत्युको भयबाट मुक्ति पाउने मानवीय अभिलासाले धर्मलाई जन्म दिएकाले यसको उद्देश्य जीवित मानिसलाई मृत्युबाट र मृतकलाई जीवनको क्षणभंगुरताबाट उन्मुक्ति दिनु रहँदै आएको छ । सबै धर्मले मृत्यु जीवनको अन्त्य होइन भनी दाबी गर्नुको कारण यही हो । अमरत्वको चाह प्राणीको जन्मजात गुण भएकाले यसबाट निवृत्त हुन मानिसलाई सम्भव छैन, जसकारण धर्मले आगामी दिनमा पनि निरन्तरता पाइरहने निश्चित छ ।

त्रासबाट आसतर्फ

महामारीले मृत्युको भय लिएर आएको हुन्छ । भयग्रस्त माहोलमा धर्मको साम्राज्य विस्तार गर्न सजिलो हुने भएकाले महामारीजस्ता संकटमा धार्मिक अभियन्ताहरू बढ्तै सलबलाउने गर्छन् । अहिले हामी यस्तै देखिरहेका छौं । महामारी शान्त गर्न भनेर भारतमा मानिसलाई यज्ञ, जप, देवीदेवताका नाममा बाजागाजासहित द्वीप प्रज्वलन आदि गर्न हिन्दु अभियन्ताहरूले आह्वान गर्दै छन् । गहुँत (गाईको पिसाब) र योगबलद्वारा कोरोना भाइरसलाई परास्त गर्न सकिने झूटा आश्वासन बाँड्दै छन् । यसको प्रभाव नेपाली समाजमा पनि परिरहेको छ ।

महामारीको बेला प्रबल हुने मृत्युको भय अरू बेला पनि समाजमा विद्यमान हुन्छ । रोगी मानिस मृत्युसँग बढी डराउँछ । योगविद्यामार्फत हिन्दु अभियन्ताहरूले रोगी मानिसमा रहेको त्यस्तो भयको दोहन गरी धर्मको साम्राज्य फैलाउने प्रयास गर्दै आएका छन् । यदि योग प्रशिक्षकहरूको चाहना धार्मिक साम्राज्यको विस्तार थिएन भने उनीहरूले योगविद्यालाई धर्मबाट अलग गरिसकेका हुने थिए ।

धर्म फैलाउन मृत्युको भय दोहन गर्ने सवालमा इसाई धर्मले बाँकी सबै धर्मलाई उछिन्दै आएको छ । चीनको वुहान सहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि इसाई मिसनरीहरूले त्यहाँका मानिसलाई राहत सामग्रीसँगै ‘पितापरमेश्वरको उपदेश’ बाँडेको समाचार सार्वजनिक भएको थियो । यस्तो प्रवृत्ति नेपालमा पनि देखियो ।

पोखराको एउटा सुकुम्बासी बस्तीमा इसाईहरूलाई कोरोना भाइरसले छुँदैन भनी अफबाह फैलाउने एक जना क्रिस्चियन धर्मगुरु पक्राउ नै परे । २०७२ सालको भुइँचालोपछि उत्पन्न संकटमा पनि हामीले इसाई धर्मविस्तारको यस्तो उद्योग फस्टाएको देख्यौं ।

धर्म विस्तार अभियानमा लागेकाहरूले महामारीजस्ता संकटलाई अवसरका रूपमा लिने गरेका छन् । सन् १७४० ताका भारतबाट तिब्बत हिँडेका इसाई पादरीहरू काठमाडौं उपत्यका आइपुग्नेबित्तिकै यहाँ बिफरको महामारी फैलियो ।

महामारी फैलिन नदिन उपत्यकाका नाकाहरू बन्द गरिए । नाका नखुलुन्जेल उपत्यकामै रहनुपर्ने भएपछि पादरीहरूले महामारीलाई उपयोग गर्ने निश्चय गरे । भक्तपुरका राजाको अनुमति लिएर निकै परबाट देखिने गरी फलामको ठूलो क्रस चिह्न ठड्याई उनीहरू रोगीको उपचारसँगै धर्म प्रचारमा सरिक भए ।

इसाईहरूले स्वास्थ्यसम्बन्धी ज्ञानलाई हतियार बनाएर अविकसित समाजमा धर्मान्तरण गराउँदै आएका छन् । औषधोपचारलाई बाइबलको सन्देश फैलाउने माध्यमका रूपमा दोहन गर्ने उपाय उनीहरूले सुविचारित रूपमै अवलम्बन गरेका हुन् । यसका प्रमाण यत्रतत्र भेटिन्छन् ।

मल्लकालताका बंगालको चन्द्रनगरस्थित इसाई केन्द्रमा सक्रिय जोभान्नी दा फानोले २७ सेप्टेम्बर १७१२ मा रोमस्थित पादरी फेलिचे दा मोन्तेक्योलाई एउटा पत्र लेखेर तिब्बत र आवश्यक परे नेपालमा समेत सक्रिय हुने गरी थप धर्मप्रचारक पठाउन आग्रह गरेका थिए । नयाँ धर्मप्रचारकहरूमा ईश्वरभक्तिको अतिरिक्त औषधोपचार, गणित र घडी तथा समयसम्बन्धी ज्ञान हुनु अनिवार्य रहेको जिकिर गरेका थिए ।

समाजविज्ञान, ललितकला र संगीतसम्बन्धी ज्ञानसमेत भए समाजमा घुलमिल हुन उनीहरूलाई अझ सजिलो हुने राय व्यक्त गरेका थिए । स्वास्थ्यसम्बन्धी ज्ञान भयो भने धर्म फैलाउन सजिलो हुन्छ भनेरै तिब्बत मिसनमा सक्रिय केपुचिन पादरी दोमेनिको दा फानोले धर्मप्रचारकहरूलाई स्वास्थ्य सेवाबारे प्रशिक्षित गर्ने उद्देश्यले पाँच सय पृष्ठको ग्रन्थ त्यतिबेलै तयार गरेका थिए ।

मल्लकालताका इसाई पादरीहरू महामारी अथवा अन्य रोगव्याधि फैलिएको बेला औषधि बोकेर समाजभित्र पस्ने गर्थे । पितापरमेश्वरले चाहेमा रोग र मृत्युबाट मुक्ति पाइन्छ भन्दै मानिसहरूलाई आफ्नो धर्मबारे प्रशिक्षित गर्थे । त्यतिबेला बाल मृत्युदर उच्च थियो । कुनै घरमा बालक मृत्युको सँघारमा पुगेको थाहा भयो भने मिसनरीहरू पुग्थे र त्यस्ता बालकलाई इसाई बनाउँथे ।

सन् १७३३ ताका काठमाडौं उपत्यकामा रहेका पादरी फ्रान्सिस होरेसले त्यस्ता केही बालकलाई इसाई बनाएका थिए । पितापरमेश्वरको कृपा भयो भने बालक बाँच्छ अथवा उहाँसँगै स्वर्गमा बस्छ भनी पादरीहरूले परिवारका सदस्यलाई राजी गराउने गर्थे । बिरामीहरूको औषधोपचार र उनीहरूका निम्ति ईश्वरसँग प्रार्थना गरेर स्थानीयलाई प्रभावमा लिने गर्थे ।

पादरीहरू शासनसत्तामा रहेका मानिसको औषधोपचार गरेर उनीहरूलाई कृतज्ञ तुल्याई धर्मान्तरण सहज बनाउने रणनीति पनि अवलम्बन गर्ने गर्थे । यही रणनीतिअनुरूप कीर्तिपुरसँग गोरखाको युद्ध हुँदा कीर्तिपुरेहरूले हानेको वाण लागेर पृथ्वीनारायणका कान्छा भाई शूरप्रतापको एउटा आँखो फुटेपछि काठमाडौंमा रहेका पादरी माइकल एन्जेलोले उपचार गरिदिएका थिए । तिनै पादरीले पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंहको पनि उपचार गरेका थिए । यसबापत बाबुको मृत्यु भएपछि प्रतापसिंह इसाईहरूप्रति हार्दिक रूपमा प्रस्तुत भएका थिए ।

चाँदीको घेरा

महामारी विपत्को क्षण हो । तर, समाजको उन्नतिमा महामारी, प्राकृतिक प्रकोप, युद्धजस्ता संकटले महत्त्वपूर्ण योगदान गर्दै आएको हामीले भुल्नु हुँदैन । चिकित्साविज्ञानदेखि समाजविज्ञानसम्मका क्षेत्रमा दोस्रो विश्वयुद्धताका हासिल भएका अभूतपूर्व उपलब्धिलाई यसको प्रतिनिधि उदाहरण मान्न सकिन्छ ।

अहिलेको महामारीलाई पनि हामीले धर्मसम्बन्धी हाम्रो बुझाइ परिशुद्ध गर्ने एउटा अवसरका रूपमा लिन सक्छौं । यस सन्दर्भमा चौधौं शताब्दीमा युरोपको करिब एकतिहाइ जनसंख्या सखाप पार्ने गरी फैलिएको प्लेगको महामारीले त्यहाँको धार्मिक जीवनमा पारेको प्रभावबारे चर्चा गर्नु प्रासंगिक हुन्छ ।

त्यतिबेला महामारी फैलिनुको कारण थाहा पाउन सक्ने गरी चिकित्साविज्ञानको विकास भएको थिएन । त्यसैले मानिसले आफूहरूसँग रुष्ट भएर दैवले महामारी फैलाइदिएको विश्वास गरे । पापमोचनका लागि आफ्नै शरीरमा कोर्रा बर्साएर उनीहरू आत्मपीडक बने । व्यापारका सिलसिलामा संसारभरि यात्रा गर्ने ‘विधर्मी’ यहुदीहरूले महामारी भित्र्याएको भन्दै उनीहरूमाथि युरोपका इसाईहरू बर्बर रूपमा प्रस्तुत भए । महामारीबाट संक्रमित हुने र मर्नेको संख्या बढ्दै गएपछि बाँच्ने अभिलासामा मानिसहरू चर्च धाउने क्रम बढ्यो ।

यसले गर्दा चर्च महामारीको केन्द्र बन्न पुग्यो । चर्चमा रहने पादरी, संन्यासीलगायत पनि भटाभट मर्न थाले । आफूलाई ईश्वरको दूत दाबी गर्नेहरूसमेत मरेको देखेपछि मानिसमा धर्मप्रतिको आस्था धर्मराउन थाल्यो । यही आममनोविज्ञानले रुढीग्रस्त इसाई धर्ममा सुधारको पहल गर्ने आन्दोलनलाई आधार प्रदान गर्‍यो । महामारीकै कारण मानिसहरू धर्मको सीमाबारे अवगत भए । विज्ञानप्रतिको मानिसको रुझान बढ्दै गयो । यस्तो बुझाइले युरोपेली समाजलाई क्रमश: धर्मनिरपेक्ष बनाउँदै लग्यो ।

अहिलेको महामारीले पनि विज्ञानसामु धर्म कति निम्छरो हुन्छ भन्ने देखाएको छ । मानिसहरूको ध्यान कोरोनाको महामारी शमन गर्न कुन मन्दिर, मस्जिद अथवा गिर्जाघरमा प्रार्थना गरिए भन्नेतिर होइन, कोरोनाको औषधि फेला पार्न चीन, अमेरिका अथवा युरोपका डाक्टरहरू सफल भए/भएनन् भन्नेमा छ । यसले हामीलाई धर्मको सीमा महसुस गरी वैज्ञानिक मूल्यमान्यता आत्मसात् गर्न प्रेरित गरिरहेको छ ।

महामारीको बेला धर्मले गर्न सक्ने एक मात्र काम भनेको अप्ठेरोमा परेकाहरूप्रति सहृदयी बन्न मानिसलाई प्रेरित गर्नु हो । योभन्दा अतिरिक्त दायित्व यदि धर्मले बहन गर्न खोज्यो भने यसले संकटलाई अझ सघन बनाउँछ ।

यही कुरा महसुस गरेर पशुपतिनाथदेखि मक्कामदिनासम्मले भक्तालुहरूलाई दर्शनार्थ नआउन भनिरहेका छन् । ईश्वरको शरणमा आयौ भने मर्न सक्छौ भनेर भक्तजनलाई सम्झाइरहँदा के धर्मका मठाधीशहरूले विज्ञानको हैसियत धर्मभन्दा माथि हुन्छ झनी स्विकारिरहेका छैनन् ?

प्रकाशित : वैशाख १३, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?