अबको किताब बजार

किताबको विश्व बजारको तथ्यांकमा बिलाएको नेपालको पुस्तक बजार अब के हुन्छ भन्ने चासो यतिबेला केवल प्रकाशक र वितरकलाई मात्रै छ ।
भूपेन्द्र खड्का

मोरङ, सुनसरीका तारानिधि रेग्मी (३७) काठमाडौं बसेर धापासीमा सुनवर्षी पुस्तक पसल चलाउँछन् र साहित्यिक पुस्तक प्रकाशन भएको २ वा ३ दिनभित्र देशभरिका करिब ९० वटा पुस्तक पसलमा डेलिभर गर्छन् ।

अबको किताब बजार

जब महिना दिनअघि कोभिड-१९ को संक्रमणसँगै लकडाउन सुरु भयो, त्यसको पर्सिपल्ट सुनसरीस्थित घर पुगेर गाई दुहुँदै गरेको फोटो उनले आफ्नो फेसबुकमा पोस्ट गरे । कोरोनाको संक्रमण फैलिँदै गर्दा उनले प्रकाशकलाई नयाँ सिजनका लागि कुन-कुन किताब सार्वजनिक हुँदै छन् भनेर सोधिरहेका थिए र पछिल्लो छिमलमा प्रकाशन भएका केही किताबको प्रचार गर्दै अघिल्लो वर्षदेखि सुस्ताएको बजार खुल्ने लख काटिरहेका थिए । तर, त्यस्तो हुन सकेन । कोरोनाको विश्वव्यापी महामारीका कारण संसार लकडाउन भयो ।

संसारभरिका लेखकका मुद्रित किताब बजारमा जान पाएनन् । प्रकाशन हुन लागेका किताब छापाखानामै अड्किए । हजारौं लिटलेचर फेस्टिभलका साथै बुक-टुर जहाँको त्यहीँ अड्किए । नेपाल पनि लकडाउनमा गयो । सबै क्षेत्र र उद्योगमा ताला लागे । अनिश्चित भविष्य सम्झेर देशको पूर्वदेखि पश्चिमसम्म र पश्चिमदेखि पूर्वसम्म घर फर्कनेको लर्को देखियो ।

विश्व अर्थतन्त्र कस्तो हुन्छ ? संसारका विकसित देशले गिरेको अर्थतन्त्र कसरी उकास्छन् ? बन्द भएका स्थल र वायु नाका कहिले खुल्छन् ? फेरि भिसा बोकेर मान्छे संसारभर कसरी निस्फिक्री हिँडडुल गर्न पाउँछन् भन्ने आम जिज्ञासा उठिरहेका बेला संसारभरका करिब ४० प्रतिशत जनता भोकमरीको चपेटामा जानुपर्ने त होइन भन्ने अड्कलबाजी अर्थशास्त्रीय बजारमा भइरहेको छ ।

सबैलाई लाग्ला, यो बेलामा पनि किताबका कुरा ! दाल, भात, डुकुका कुरा गर्नु, कसरी कमाएर बाँच्ने भन्ने कुरा गर्नु नि ! सधैं पेटको मात्र होइन, त्योभन्दा माथि उठेर दिमागको पनि कुरा गरौं । लकडाउनको समयमा करिब १ महिनासम्म घरभित्र मानिसले के गरिरहेका छन् ? स्वाभाविक हिसाबले परिवारका सदस्यसँग समय बिताए । खाए, पिए ।

त्योसँगै सिनेमा हेरे र किताब पढे । किताब पढाइको गति यस्तो देखियो कि यतिका वर्षसम्म घरमा भएका किताब पढेर सकिएर कतिले दोहोर्‍याए, कतिले इ-बुक कुन-कुन साइट र कता पाइन्छन् भनेर सामाजिक संजालमा खोजीनीति पनि गरे । यसपालि किताब साँच्चै मानिसको जीवनशैली हो र किताबले जस्तो, जुनसुकै अवस्थामा जहाँ रहे पनि सधैं साथ दिने रैछ भन्ने प्रमाणित गरेरै छाड्यो ।

किताबको विश्वबजार

युनेस्कोको तथ्यांकअनुसार, संसारभर हरेक वर्ष करिब २.२ मिलियन पुस्तक प्रकाशन हुन्छन् । १४३ बिलियन अमेरिकी डलर बराबरको साहित्यिक किताबको व्यापार हुन्छ । नेपाली रुपैयाँअनुसार, यो खर्बौं रकम हो । अमेरिकन पब्लिसर्स एसोसिएसनका अनुसार, त्यहाँ हरेक वर्ष (सन् २०१८ पछि) २६.२३ बिलियन डलरको कारोबार हुन्छ । चीन, युरोपका मुलुक, जापान र रुसमा तिनको हाराहारीमै किताबको व्यापार हुने गरेको छ ।

त्यस्तै, नयाँ लेखकका र अन्य नयाँ पुस्तक प्रकाशन गर्ने देशमा भने चीन सबैभन्दा अघि छ । त्यहाँ प्रतिवर्ष ४ लाख ४० हजारभन्दा बढी नयाँ किताब प्रकाशन हुन्छन् । त्यसपछि अमेरिकामा करिब ३ लाख ४ हजार, युरोपमा १ लाख ८४ हजार, जापानमा १ लाख ४० हजार र रुसमा १ लाख २० हजार नयाँ किताब प्रकाशन हुन्छन् ।

युनेस्कोको तथ्यांकलाई सही मान्ने हो भने अबको साहित्यिक किताबको बजार मध्य तथा पूर्वी एसियाका मुलुकहरू हुन् । बढ्दै गएको साक्षरता र चेतनाले त्यसलाई संकेत गरेको छ । तथापि जनसंख्याको हिसाबले निकै माथि रहेको भारतको साहित्य बजारको विश्वव्यापी स्थान निकै तल छ । विश्व बजारको १९ प्रतिशत किताबको व्यापार अमेरिकन मल्टिनेसनल कम्पनी अमेजनले गर्दै आएको छ भने इ-बुक र अडियो-बुकको त्यत्तिकै हिस्सा पनि उसकै हातमा छ ।

नेपालको किताब बजार

किताबको विश्व बजारको तथ्यांकमा बिलाएको नेपालको पुस्तक बजार अब के हुन्छ भन्ने चासो यतिबेला केवल प्रकाशक र वितरकलाई मात्रै छ । पाठ्यक्रमका पुस्तकसहित करिब साढे ४ अर्बको कारोबारमा साहित्यिक किताबको हिस्सा जम्माजम्मी १० प्रतिशत मात्र हो । यसमा ७५ प्रतिशत पाठ्यपुस्तक तथा स्टेसनरी र १५ प्रतिशत आयातित र अनुसन्धानात्मक किताबको हिस्सा छ ।

करिब ४० करोडको कारोबारको साहित्यिक किताबको कारोबारलाई लिएर यसलाई पुस्तक उद्योग भन्ने कि नभन्ने भन्ने मत एकातिर छ भने यसमा लगानी गरेका निजी प्रकाशकहरू कोरोनापछिको अवस्थाका कारण घर भाडासम्म तिर्न नसक्ने अवस्थामा छन् । नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डे भन्छन्, ‘लकडाउन जेठसम्म लम्बियो भने अधिकांश पुस्तक पसल घर-बहाल तिर्न नसकेरै बन्द हुनेछन् ।’

पाण्डेले भनेजस्तै पुस्तक प्रकाशकहरू पनि यतिबेला मारमा छन् । चैत-वैशाखको सिजनका लागि छापिएका किताब गोदाममै थन्किएका छन् । मुद्रणका लागि तयार पारिएका किताबहरू कम्प्युटरभित्र फाइलमै छन् । प्रतिकूल अवस्थाका कारण विक्रेताबाट पैसा लिन मुस्किल भइरहेको छ । यस्तो अवस्थामा नयाँ किताब प्रकाशनको कल्पना नै गर्न सकिन्न । यस्तो अवस्थामा प्रकाशनगृह सञ्चालन गर्न निकै कठिनाइ छ । करिब ६ महिना पुस्तकको बजार नखुले धेरै प्रकाशकले वैकल्पिक व्यापार रोज्ने बताइरहेका छन् ।

धेरैलाई लाग्न सक्छ, जीउधनको सुरक्षा नै नभइरहेको बेला किताबका कुरा गर्नु मूर्ख्याईँ हो । तर, समाजलाई गतिशील बनाइरहन र चेतनालाई माथि उकास्ने सबैभन्दा गतिलो हतियारमध्ये किताब पनि एउटा हो । किताबबिनाको घर, पाठशाला, समाज र व्यक्तिको परिकल्पना गर्नु अबको विकसित समाजमा हास्यास्पद हुन्छ । अझै यसलाई यसरी भनौं, लकडाउनका बेला घरभित्र अहिले जसरी किताब पढिइरहेका छन्, यसले पनि किताब हाम्रो अपरिहार्य तत्त्व रैछ भन्ने पुष्टि हुन्छ ।

अर्थ मन्त्रालयले विनियोजन गरेको बौद्धिक सम्पत्ति खरिद गर्ने बजेट पनि लकडाउनकै बेला कोरोना कोषमा स्थानान्तरण गरेपछि सरकारी विद्यालयले खरिद गर्दै आइरहेका साहित्यिक पुस्तकको खरिदमा पनि कटौती हुनेछ । स्थानीय सरकारको पुस्तकालयको निर्माण र खबर भने सार्वजनिक भइसकेको छैन । साथै, राष्ट्रपति शिक्षा कोषमा भएको ६ अर्ब अब कम्प्युटर, फर्निचर र पुस्तक खरिद-बिक्रीमा खर्च हुन्छ कि हुन्न भन्नेबारेमा पनि अन्योल छ ।

त्यसो त अघिल्लो वर्षदेखि ओरालो लागेको नेपाली किताबको बजार आयातित किताबमा सरकारले लगाएको भन्सार महसुल करका कारण पनि मारमै थियो । त्यसैले अबको पुस्तक बजार ओरालो झर्नेमा कुनै सन्देह छैन ।

नेपालमा किताबको नयाँ बजार

क्यानाडेली मल्टिनेसनल कम्पनी ‘राकुटेन कोबो’ ले कोरोनाको संक्रमणपछि विश्व बजारमा इ-बुक र अडियो-बुकको राम्रो व्यापार गर्‍यो । त्यसैगरी अमेजन, एप्पल बुक्स, गुगल प्लेलगायतले पनि यो संक्रमणमा पुस्तक व्यापारमा नाफा कमाए । मुद्रित किताब बेच्नका लागि समय प्रतिकूल भइरहेको अवस्था र संसार डिजिटल प्रविधिमा अगाडि लम्किरहेका बेला नेपालमा यसको बजार खोजिनु जरुरी छ । के नेपालमा कुनै कम्पनीले तिनै मल्टिनेसनल कम्पनीले जस्तै बजारअनुसारको व्यापार गर्न सक्छन् ?

यसको सम्भावना र परीक्षणका लागि यति बेला ‘थुप्रै डट कम’ नामक एउटा कम्पनी देखापरेको छ । यसले अहिले केही प्रकाशकका किताबलाई डिजिटलाइज्ड गरिरहेको छ । यसका प्रबन्धक राजु गोतामे भन्छन्, ‘हामीले थुप्रै डट कमको एप, राकुटेन कोबो, अमेजन किन्डल, एप्पल बुक्स, गुगल प्ले, बार्नस् एन्ड नोबेल, वालमार्टलगायतका अन्तर्राष्ट्रिय प्लेटफार्मबाट इ-बुक र अडियो-बुक बेच्नका लागि द्रुततर गतिमा काम गरिरहेका छौं र डिजिटल प्लेटफार्मबाट किताब बिक्री हुनेमा हामी आशावादी पनि छौं । साथै, ‘प्रिन्ट अन डिमान्ड’ मा पनि अमेजनमार्फत किताब बिक्रीको थालनी गरिसकेका छौं ।’

थुप्रै डट कमले गरेको यो प्रयास सफल भयो भने प्रविधिमा रुचि राख्ने र प्रविधिमैत्री पाठकलाई यसले केही राहत दिन सक्छ । तर, नेपालका करिब ९० प्रतिशत पाठकका लागि भने उही मुद्रित किताब नै चाहिनेछ, जसले उनीहरूलाई दशकौंदेखि पठनको आनन्द दिइरहेको छ ।

नेपाली लेखकको बजार

वाल स्ट्रिट जर्नलका अनुसार, बेस्ट सेलर किताब त्यो हो, जुन कम्तीमा ३ देखि ५ हजार प्रति बिक्री हुन्छ । तर, पब्लिसर्स विक्लीले भने नयाँ किताब प्रकाशन भएको करिब १ महिनासम्म जुन किताब हरेक दिन ११ सय प्रतिका दरले बिक्री हुन्छ, त्यो किताब बेस्ट-सेलरको उत्कृष्ट ५ पुस्तकभित्र पर्ने भनेको छ ।

अन्तर्राष्ट्रिय नियम जे भए पनि नेपालमा राम्रा किताब सामान्यतया ३ देखि ५-६ हजारसम्म बिक्री हुन्थे । केही गिनेचुनेका लेखकका किताब २० औं हजारप्रति बिक्री पनि भए । यसमा पुरस्कार प्राप्त पुस्तकको व्यापार जोडिएको छैन । तर, अब अवस्था त्यस्तो हुने छैन । बेस्ट-सेलर लेखकको छाती अलि खुम्चिनेछ । कोरोनाको संक्रमणले थलिएका प्रकाशकले जो पायो, त्यही लेखकका किताब प्रकाशन गर्ने आँट गर्ने छैनन् । आर्थिक अवस्था कमजोर भएपछि कमसल लेख्ने तर आफैं लगानी गरेर किताब छाप्ने ‘रहरे’ लेखकको कमी आउनेछ ।

कथा, उपान्यास र कविता अब्बल छापिनेछन् भने गैर-आख्यानमा जसरी लकडाउनमा धर्म, इतिहासदेखि भूगोल र राजनीतिका अब्बल किताब पढिए, त्यस्तै अब्बल किताब लेखकले लेख्ने प्रयास गर्नेछन् र प्रकाशकले छाप्नेछन् । त्यसपछिको नेपाली साहित्यिक पुस्तकको बजार झन् अब्बल र फराकिलो भएर आउनेछ भन्ने आशा गर्न सकिन्छ, भलै यस्तो समय आउन एक-दुई वर्ष समय लाग्नेछ ।

(प्रकाशन क्षेत्रमा आबद्ध खड्का कला, साहित्य, संगीत क्षेत्रको लेखनीमा सक्रिय छन् ।)

प्रकाशित : वैशाख १३, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?