२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हमलापछिको नाइट क्लबजस्तो सुनसान

माानिस-मानिसबीच 'यसलाई कतै कोरोना भाइरसको संक्रमण त भएको छैन ?’ भन्ने सन्देहको अग्लो पर्खाल उभिएको छ । पार्टी, पिकनिक, डान्स्, डेटिङ, बिचसर्फिङ र नाइट-स्ट्यान्डजस्ता समाजमा अत्यधिक प्रचलित शब्दहरूलाई मानिसहरूले आ-आफ्ना दिल र दिमागबाट निकालेर कतै लुकाएका छन् ।
हरि अधिकारी

जनगणतन्त्र चीनको हुबेई प्रान्तको औद्योगिक नगरी वुहानमा पहिलोपल्ट देखापरेको कोभिड-१९ को महामारीले मात्रामा धेरथोर जे भए पनि संसारका अधिकांश मुलुकलाई आक्रान्त बनाएको छ ।

हमलापछिको नाइट क्लबजस्तो सुनसान

यो घातक विषाणुले वर्तमान विश्वको एकल महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई पनि थङ्थिलो पारेको छ ।

तथ्यांक हेर्दा कोरोना भाइरसको महामारीले यही समुन्नत राष्ट्रलाई सबैभन्दा बढी गाँजेको देखिन्छ । अतिविकसित आधुनिक प्रविधि, असीमित धन-दौलत र ज्ञान एवम् सूचनाको अथाह भण्डार भएको यस विशाल देशको वैभवपूर्ण चमकलाई कोरोनारूपी त्यस अदृश्य दुश्मनको एउटै प्रहारले फिका बनाइदिएको छ ।

अमेरिकी जीवनशैलीको सबैभन्दा महत्त्वपूर्ण विशेषता- यसको जीवन्त खुलापन, देशैभरि कोरोना भाइरसको व्यापक प्रसार भएसँगै अचानक गायब भएको छ । आतंककारी हमलापछिको नाइट क्लबजस्तो सुनसान भएको छ अमेरिका ।

यहाँका चौबीसै घण्टा जागा रहने चमकदमकपूर्ण भव्य सहरहरू तन्द्रामा झोक्राइरहेका छन् । माया-प्रेमको कसिलो अँगालोमा बाँधिन आतुर रहने प्रेमी प्रमिकाका बाहुहरू आफैँमा खुम्चिएका छन् । स्नेहालिंगन र चुम्बनजस्ता मानवीय अनुराग अभिव्यक्त गर्ने सामान्य क्रियाकलापलाई अमेरिकीहरूले मुटुलाई दर्‍हो पारेर अनिश्चितकालसम्मका लागि मुल्तबीमा राखेका छन् । माानिस-मानिसबीच ‘यसलाई कतै कोरोना भाइरसको संक्रमण त भएको छैन ?’ भन्ने सन्देहको अग्लो पर्खाल उभिएको छ ।

पार्टी, पिकनिक, डान्स, डेटिङ, बिचसर्फिङ र नाइट-स्ट्यान्डजस्ता समाजमा अत्यधिक प्रचलित शब्दहरूलाई मानिसहरूले आ-आफ्ना दिल र दिमागबाट निकालेर कतै लुकाएका छन् । तिनको ठाउँ लिएका छन् : सेल्फ क्वारेन्टाइन, आइसोलेसन, सोसल डिस्ट्यान्सिङ र नन्-मिंगलिङजस्ता मानिसमानिसका बीच विभाजनको रेखा कोर्ने अप्रिय शब्दहरूले । पराइ पुरुषहरूलाई आफ्नो देहको उष्मा दिएर प्रसन्न पार्ने रूपशीहरूको त रोजीरोटी नै खोसिएको छ ।

गत जनवरी महिनाको १९ तारिखमा वासिङ्टन राज्यको राजधानी सियाटलको काँठक्षेत्र किर्कल्यान्डको एउटा अस्पतालमा भर्ना भएको, केही दिनपहिले चीन भ्रमणमा गएर फर्किएको पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोनाको सो पहिलो केस सार्वजनिक नहुँदासम्म यस देशमा कोरोना महामारीले यस्तो भयंकर रूप लिने कल्पनासम्म पनि कसैले गरेको थिएन सायद ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको शासकीय टिमका अन्य अधिकारीहरूले त्यतिबेलासम्म कोरोनाको नाम मात्र सुनेका हुँदा हुन् र उनीहरूलाई लागेको हुँदो हो : ‘कोरोनाको भाइरस चीनदेखि हजारौँ माइल लामो बाटो पार गरेर यहाँसम्म कुनै हालतमा पनि आइपुग्दैन । आइपुगिहाल्यो भने पनि त्यो खासै खतरनाक वा अहिलेको जस्तो काबुबाहिरको हुने छैन ।’

अमेरिकी नेता र जनता दुवैको दुर्भाग्यको कुरो, कोरोना महामारीलाई लिएर आफूलाई ‘सर्वज्ञ र जुनसुकै विषयमा र जहिले पनि ठीक’ ठान्ने राष्ट्रपति ट्रम्पले गरेको त्यो अनुमान पूर्णत: गलत सावित भएको छ ।

उनको प्रत्याशाको विपरीत कोरोनाको भाइरस हजारौं माइल लामो बाटो तय गरेर चीनबाट अमेरिकासम्म आएको मात्र होइन, त्यसले यो सम्पन्न र शक्तिशाली राष्ट्रको मर्ममै यति ठूलो प्रहार गरेको छ त्यसको आघातबाट सम्पूर्ण अमेरिकी जनता स्तब्ध, हतप्रभ र आतंकित भएका छन् ।

गत फेब्रुअरी महिनाको २९ तारिखमा वासिङ्टनको सियाटलमा ५० वर्ष जति उमेर भएको एक जना पुरुष बिरामीको मृत्युबाट सुरु भएको कोरोना भाइरसको महामारीले आजको मितिमा आइपुग्दा अमेरिकाका ५० वटै राज्यमा मृत्युको ताण्डव मच्चाइरहेको छ ।

कोभिड-१९ को महामारी कहिले, कुन विन्दुमा पुगेर, जन-धनको कति ठूलो नोक्सानी गरेर साम्य हुन्छ कसैले पनि भन्न सक्ने स्थिति नहुनु यस सन्दर्भमा सबैलाई हतप्रभ बनाउने विषय बनेको छ । कोरोना भाइरसविरुद्ध अहिलेसम्म कुनै प्रकारको प्रतिरोधी खोप तयार हुन सकेको छैन । साथै, यो महाव्याधिबाट पीडित बिरामीलाई दिन सकिने कुनै खास औषधि पनि छैन नै भन्नुपर्ने अवस्था छ । यो स्थितिले सम्पूर्ण मानव-जातिलाई नै निरीह र निस्सहाय बनाइदिएको छ भन्दा अत्युक्ति हुने छैन । यो नै आज विश्व मानवताका अगाडि रहेको सबैभन्दा ठूलो चिन्ताको विषय पनि हो ।

संसारभरिका करिब सयवटा प्राज्ञिक एवम् वैज्ञानिक संस्थाहरू कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सकिने खोप तयार गर्न दत्तचित्त भएर लागेका छन् । त्यसबाहेक कोरोना भाइरसका बिरामीलाई दिन सकिने हाल उपलब्धमध्ये सबैभन्दा उपयुक्त औषधिको पहिचान गर्नका लागि पनि अध्ययन भइरहेको छ ।

अमेरिकाका चौबीसै घण्टा जागा रहने चमकदमकपूर्ण भव्य सहरहरु तन्द्रामा झोक्राइरहेका छन् । माया-प्रेमको कसिलो आगालोमा बााधिन आतुर रहने प्रेमी-प्रेमिकाका बाहुहरु आफैँमा खुम्चिएका छन् । स्नेहालिंगन र चुम्बनजस्ता मानवीय अनुराग अभिव्यक्त गर्ने सामान्य क्रियाकलापलाई अमेरिकीहरुले मुटुलाई दर्‍हो पारेर अनिश्चितकालसम्मका लागि मुल्तबीमा राखेका छन् ।

आजको घडीमा संक्रमित बिरामी र मृतकहरूको संख्या दुइटैको गणनामा संयुक्त राज्य अमेरिका विश्वका कोभिड-१९ को प्रकोपबाट पीडित हुने राष्ट्रहरूमध्ये १ नम्बर भएको छ । यी पंक्तिहरू लेख्ने बेला (अप्रिल १९ तारिखको अपराह्न ३.२० बजे अमेरिकाको स्थानीय समय) सम्म विश्वभरि कोभिड-१९ का कुल २३८७५०२ बिरामीहरू देखिएकोमा संयुक्त राज्य अमेरिकामा मात्रै ७५५१६२ जना भेटिएका छन् ।

मृतकको संख्यामा पनि कुल ४०१०९ जनाका साथ अमेरिका नै पहिलो नम्बरमा छ । कोरोनाका बिरामीको संख्याका हिसाबले १९५९४४ जनाका साथ युरोपेली राष्ट्र स्पेनले अमेरिकालाई पछ्याइरहेको छ भने मृतकको संख्याका हिसाबले कुल २३६६० जनाका साथ युरोपकै अर्को देश इटाली अमेरिकापछि दोस्रो नम्बरमा छ ।

विगत ४-५ दिनको तथ्यांकको विश्लेषण गरेर हेर्ने हो र त्यसलाई आउँदो समयको संकेत मान्ने हो भने आउँदा दिनहरूमा संयुक्त राज्य अमेरिकाले कोरोनाका बिरामी र यसबाट मर्नेहरूको संख्यामा संसारका सबै देशहरूलाई धेरै पछाडि छोडिदिनेछ भन्न सकिन्छ ।

दुनियाँमै अब्बलमध्ये एक मानिएको जनस्वास्थ्य सेवा प्रणाली भएको राष्ट्र संयुक्त राज्य अमेरिका कोभिड-१९ को महामारीबाट सर्वाधिक क्षति बेहार्नुपर्ने स्थितिमा पुग्नुका पछाडि केही प्रस्ट कारण छन् ।

तीमध्ये सबैभन्दा टड्कारो कारण भाइरस बोकेर विदेशबाट आएका आगन्तुकहरूको गतिविधिमा समयमै नियन्त्रण गरी संक्रमणलाई व्यापक हुनबाट रोक्न नसक्नु नै हो । अमेरिकामा कोरोनाको दुष्प्रभाव सबैभन्दा बढी परेका राज्यहरू न्युयोर्क, न्युजर्सी, म्यासाच्युसेट्स्, पेन्सिल्भेनिया, क्यालिफोर्निया, मिसिगन र इलिनोयका न्युयोर्क, जर्सी सिटी, बस्टन, फिलाडेल्फिया, लस एन्जेल्स, डेट्रोयट र सिकागोजस्ता प्रमुख सहरहरू अन्तर्राष्ट्रिय यातायातका मात्र होइन आन्तरिक यातायातका लागि पनि महत्त्वपूर्ण स्टेसन हुन् ।

ती सहरका अन्तर्राष्ट्रिय विमानस्थलहरू कोरोनाको महामारी विस्फोटक अवस्थामा पुग्ने बेलासम्म पनि उत्तिकै सक्रिय थिए भने त्यहाँका ट्रेनहरू र सार्वजनिक बस सेवा त अहिलेसम्म पनि सुचारु नै छन् । कोरोना संक्रमणको अन्तर्राज्यीय प्रसार यी सहरहरूबाट नै भएको हुनुपर्छ ।

महामारीबाट नराम्रोसँग पीडित विश्वको वित्तीय राजधानी मानिने न्युयोर्कमा मात्रै यसबाट अहिलेसम्म १८ हजार २ सय ९८ जनाको मृत्यु भएको छ । जाहेर छ, यसका लागि त्यहाँको व्यस्त विमानस्थल, मेट्रो रेलको व्यापक जालो र त्यस सहरका बासिन्दाहरूको उन्मुक्त जीवन-शैली जिम्मेवार छ । न्युयोर्कले प्राप्त गर्ने लाभहानिको धेरथोर हिस्सा छिमेकी न्यु जर्सीले स्वत: लिने भएकाले यो महामारीको सकस बेहोर्ने मामिलामा पनि जर्सीले बिग एप्पललाई अलि टाढाबाट पछ्याएको छ ।

कोरोना भाइरस आफ्नो उद्गमस्थल चीनबाट युरोप अमेरिकाको भ्रमणमा प्रस्थान गरिसकेको अवस्थामा अमेरिकाले कम्तीमा पनि आफ्नो देशको अत्यन्त ठूलो र व्यस्त विमानस्थल जेएफके, न्युयोर्कबाट देशभित्र प्रवेश गर्न लागेका व्यक्तिहरूमाथि निगरानी राखी सम्भावित भाइरस क्यारियरलाई अन्य स्वस्थ व्यक्तिको सम्पर्कमा आउनबाट रोक्न सक्नुपर्थ्यो तर दुर्भाग्यवश त्यसो हुन सकेन । पूर्वी समुद्र-तटमा पर्ने राज्यहरूमा कोरोना महामारीको प्रसार मुख्यत: कोरोना भाइरस बोकेर जेएफके एअरपोर्ट, न्युयोर्कमा उत्रिएका हवाई यात्रुहरूबाट भएको अनुमान गरिएको छ ।

कोरोना महामारीको रोकथामका उपायहरूलाई लिएर केन्द्र र राज्य सरकारहरूका बीच देखिएको मतभिन्नता र गाँड कोराकोरले यसअघिसम्म सन्तुलित र प्रभावकारी नै ठानिएको अमेरिकी राजकाजको संघीय मोडेलका कमजोरीहरूलाई उभारमा ल्याइदिएका छन् ।

अस्पतालहरूका लागि भेन्टिलेटर र स्वास्थ्यकर्मीहरूलाई व्यैयक्तिक सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउने मामिलालाई लिएर राष्ट्रपति ट्रम्प र गभर्नरहरूका बीच भनाभनको स्थिति पनि आएको हो । विपक्षीहरूमाथि क्षुद्र वचनवाण छोड्ने कुरामा राष्ट्रपति ट्रम्पले न्युयोर्क, मिसिगन र भर्जिनियाका गभर्नरहरूलाई जमेर गाली पनि गरेका हुन् ।

पछिल्लो समयमा कोरोनाको प्रकोपलाई अरू बढी फैलिन नदिन लागू गरिएको लकडाउन खोल्ने विषयलाई लिएर पनि राष्ट्रपति ट्रम्प र एक दर्जनभन्दा बढी राज्यका गभर्नरहरूका बीच तीव्र विवाद चलिरहेको छ । ट्रम्प केन्द्रबाट आदेश जारी गरेर छिटोभन्दा छिटो लकडाउन हटाउन चाहन्छन् तर गभर्नरहरूको एउटा समूह भने आपसमा सल्लाह गरेर केही समयपछि हटाउन चाहिरहेका छन् ।

कोभिड-१९ को प्रकोपले दिने सकसलाई कम गर्ने र यसका कारण उत्पन्न हुने आर्थिक समस्याबाट राहत दिने उद्देश्यले अमेरिकी संसद्ले संयुक्त राज्यमा बसोबास गर्ने, करदाताका रूपमा दर्ता भएको प्रत्येक व्यक्तिलाई १२ सय, दम्पतीलाई २४ सय र १६ वर्षमुनिका प्रत्येक केटाकेटीलाई ५ सयका दरले एकपटकका लागि आर्थिक अनुदान उपलब्ध गराएको छ ।

आफ्नै व्यवसाय गरिरहेकाहरूलाई सहुलियत कर्जा दिने, केही प्रतिशत कर माफी गर्ने र घरको मोर्टगेजबापत तिर्नुपर्ने मासिक किस्ता ३ महिनापछि तिरे पनि हुने गरी राहत प्याकेज पनि ल्याइएको छ । यो प्याकेजले जनतालाई थोरै राहत त दिएको छ तर मृत्युको आतंकमुनि बाँच्न बाध्य जनताले यस्तो पटके अनुदान प्याकेजलाई कति महत्त्व दिएका छन् यो भने अध्ययनको विषय हुन सक्छ ।

प्रकाशित : वैशाख १३, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?