१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रकृतिले त्राण पाएको समय 

सन्दर्भ : विश्व पृथ्वी दिवस
गोविन्द पोखरेल

आज विश्व पृथ्वी दिवस । ५०औं वर्षमा आइपुग्दा यो दिवस ‘भर्चुअल’रूपमा अनलाइनमार्फत विभिन्न कार्यक्रम तथा बहस गरेर मनाइँदै छ । कोभिड–१९ महामारीका कारण अहिले विश्व नै ‘लकडाउन’ छ । मानिसहरू घरमै बसेका छन् ।

प्रकृतिले त्राण पाएको समय 

सवारीसाधन कुदेका छैनन् । उद्योग तथा कलकारखाना बन्द छन् । यो मौकामा वायुको गुणस्तर सुध्रिएको छ । प्रदूषण स्वात्तै घटेको छ । नदी सफा देखिएका छन् । हिमाल र डाँडाकाँडा छर्लंग छन् ।

ध्वनि प्रदूषण नहुँदा सहरमा चराचुरुंगीको आवाज प्रस्टै सुनिन्छ । जीवजन्तुले बिनारोकतोक प्रकृतिमा रमाउने मौका पाएका छन् । यी सबै हुनुमा एउटै कारण छ– मानवीय गतिविधिमा कमी आउनु ।

मानौं, समग्र प्रकृतिले त्राण पाएको छ यतिखेर । प्राकृतिक स्रोतमाथिको दोहन, प्रदूषण, फोहोर, वन फँडानीलगायत गतिविधि ठप्प छन् । एककोषीय कोरोना भाइरसले खर्बौं कोष मिलेर बनेको मानिसलाई घरभित्रै बस्न बाध्य जो बनाइदिएको छ ।

सन् १९६९ मा अमेरिकाको क्योलिफोर्निर्यास्थित सान्ता बारबार नहरमा तेल चुहिएपछि परेको वातारणीय प्रभावले मानिहरूलाई समग्र पृथ्वीबारे सोच्न बाध्य बनायो । प्रशान्त महासागरमा पर्ने नहरमा ८० हजारदेखि १ लाख ब्यारेल कच्चा तेल फैलिँदा भयावह अवस्था निम्तिएको थियो । त्यसैलाई लिएर वातावरणीय मुद्दाहरू उठ्दै जाँदा १९७० अप्रिल २२ देखि पृथ्वी दिवस मनाउन थालिएको हो ।

५०औं दिवस जलवायु परिवर्तनका मुद्दा तथा न्यूनीकरणका लागि दबाब दिने गरी ‘क्लाइमेट एक्सन’सँग जोडिएको छ । तर, कोरोनाका कारण बेलायतमा हुने भनिएको कोप २६ स्थगित हुन पुग्यो ।

मानवीय अतिक्रमण, प्रदूषण र प्राकृतिक स्रोतमाथिको दोहनले जलवायु परिवर्तन, बाढी, पहिरो, प्रजातिको विनाश, तापक्रम वृद्धिजस्ता अनेकौं समस्या पृथ्वीमा देखिएका छन् ।

लकडाउनपछि मानिसहरु घुम्न नआएपछि दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्‍जकै बीच सडकमा मस्तसँग आराम गरिरहेका सिंह तस्बिर : निकुञ्‍जको फेसबुकबाट

तापक्रम परिवर्तनसँगै वन्यजन्तुको वासस्थान विनाशले गर्दा पछिल्लो समय विभिन्न संक्रामक रोग आउने गरेका छन् । अहिले देखिएको कोरोना भाइरस चमेरो हुँदै मानिसमा सरेको अनुमान गरिएको छ । घरपालुवा जनावरहरू वन्यजन्तुमा भएका जीवाणु मानिसमा सार्ने एउटा माध्यम रहेको यूएनईपीले जनाएको छ । यूएनईपीका अनुसार ६० प्रतिशत संक्रामक रोग वन्यजन्तुबाट सरेका छन् । इबोला, मर्स, सार्स, जाइकाजस्ता भाइरस यसै गरी मानिससम्म आइपुगेका हुन् ।

वन्यजन्तुको वासस्थान मिचिँदा उनीहरू बस्तीतिर आउँछन् । घरका चौपाया र खाद्यान्न खाइदिन्छन् । तिनैमार्फत भाइरस सर्ने जोखिम रहेको विज्ञहरू बताउँछन् । ‘जसरी मानिसको अतिक्रमणबाट प्रकृतिको सन्तुलन बिग्रिएर कोभिड–१९ जस्तो महामारी आएको छ । यस्ता कुरा भविष्यमा हुन नदिन हामीले पृथ्वीको सन्तुलन बिग्रन नदिने उपाय खोज्नुपर्छ,’ वातावरणविद् आस्था जोशीले भनिन् । पृथ्वी मानव जातिको मात्रै नभएर अन्य प्रजातिको पनि रहेकाले उनीहरूको अस्तित्व स्वीकार गर्नुपर्ने उनले बताइन् ।

सन् २०१९ को यूएनको प्रतिवेदनअनुसार पछिल्लो शताब्दीमा प्रजातिहरूको विनाश सय गुणाले बढेको छ । दश लाख प्रजाति विनाशको जोखिममा छन् । यसको कारण मानवीय अतिक्रमण र जलवायु परिवर्तर्नलाई औंल्याइएको छ ।

इन्टरगभर्नमेन्टल प्लेटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेस (आईपीबीईएस) को प्रतिवेदनले आगामी दिन मानिसलाई झन् चुनौती रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले जीवहरूको विनाश बढ्ने प्रक्षेपण गरेको छ । प्रतिवेदनले वैकल्पिक स्रोत तथा ऊर्जा खपतमा जोड दिनुपर्ने औंल्याएको छ ।

शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धि १ दशमलव ५ प्रतिशतमा सीमित गर्न कार्बनडाइअक्साइड उत्सर्जन वार्षिक ७ दशमलव ६ प्रतिशतले घटाउनुपर्ने यूएनईपीको इमिसन ग्यास रिपोर्ट २०१९ मा उल्लेख छ । त्यो गर्न नसकिए हिउँ दुई तिहाइले पग्लने इसिमोडको हिन्दूकुश हिमालय एसेसमेन्ट रिपोर्टको प्रक्षेपण छ ।

तस्बिर : निकुञ्‍जको फेसबुकबाट

५० वर्षयता मानिसको जनसंख्या दोब्बरले बढेसँगै वन फँडानी तीव्र छ । त्यही अनुपातमा संक्रामक रोग फैलिएका छन् । कार्बन उत्सर्जन २१ प्रतिशत र समुद्रहरूको अम्लीयपन ४ प्रतिशतले बढेको छ । ग्रिन ल्यान्डको बरफ पग्लने वृद्धिदर ६ प्रतिशत पुगेको छ । समुद्री सतह हरेक दशकमा ३.३ प्रतिशतले बढ्दै छ ।

यहीबीच पृथ्वीलाई मानवीय अतिक्रमणबाट जोगाउन प्रयास नभएका होइनन् । वैकल्पिक ऊर्जार् प्रयोग गर्न थालिएको छ । ‘रिस्टोरेसन’ कार्य तथा वृृक्षरोपणलाई तीव्रता दिइएको छ ।

ब्रह्माण्डमा एक हजार माइल प्रतिघण्टाका दरले हुइँकिइरहेको एउटा ‘जीवित यान’ हो पृथ्वी । यसका रैथाने हौं हामी । यहीँको पानी, वनस्पति, जमिन उपयोग गरेर बाँचेका छौं । हामीले आफैंलाई जोगाउन पनि वातावरण जोगाउन जरुरी छ । यसका लागि सचेतना र अनुसन्धान बढाउँदै प्रकृतिमाथि मानवीय अतिक्रमण र उत्सर्जनमा कमी ल्याउनुपर्छ । वैकल्पिक ऊर्जाको प्रयोग, विद्युत्मा जोड दिन सके हानिकारक ग्यासको उत्सर्जन स्वतः कम हुनेछ ।

प्रकाशित : वैशाख १०, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?