कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन अनुभूति- मेरो देश र पराई देश

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हरेक दिन सञ्चारमाध्यमबाट नागरिकलाई सम्बोधन गर्न आउँछन् । कोरोनाको असरबाट कति संक्रमित भए, कतिको मृत्यु भयो भन्ने कुरा जानकारी दिएपछि सरकारले यस घडीमा दिनदिनै बदल्न परेका रणनीतिका बारेका स्पष्ट कुरा राख्छन् ।
प्रभादेवी कैनी

काठमाडौँ — इतिहास भन्छ आजको मानव समाज अनेकन महामारी र प्राकृतिक विपद् झेलेर   नै यहाँ आईपुगेको हो । तापनि हामीलाई लाग्दैछ पृथ्वी लोकका आममानव आतंकित बनेको आजको जस्तो क्षण सायद कसैले कहिल्यै भोग्यो होला ।

लकडाउन अनुभूति- मेरो देश र पराई देश

हिँडडुल गर्न डर, अरुसँग छुन र बोल्न डर । कसैले खोके तर्सनु पर्ने । कसैले हाछ्ञ्युँ गरे पर सर्नु पर्ने । र आफुले आफैंलाई कोठाभित्र बन्दी बनाउनु बाध्य हामीलाई योभन्दा भयङ्कर त्रासदी के हुन सक्ला र भन्ने लाग्दैछ।

यस्तो पनि कुनै दिन आउला भनेर कसले सोचेको हुँदो हो र ? अनुमानमात्र लगाउन पनि कठिन छ, विश्वास गर्न गाह्रो छ र पनि यो एक कटु यथार्थ स्वीकार्न विवश छ समस्त मानव जगत।

चीनमा कोरोनाको प्रकोप फैलिएको खबर आउन थालिसकेको थियो । यो भाइरस केही समयको अन्तरालमा चीनमा नै सखाप पार्नेछन् भन्ने लागेको थियो मलाई । मेरो अल्पज्ञानको परिणाम भनौं– न यसको उत्पत्तिबारे चासो, न यसको तीव्र संक्रमणबारे खोजी । यस्ता पक्षलाई वेवास्ता गर्दै यसको आतंकबाट आफू उम्कने दाउले हङकङको बाटो छोडेर दोहा र लण्डनतिबाट भागेकी थिएँ म क्यानडा ।

आतंकले अहिलेजस्तो विश्व्यापी रुपमा भयंकर अवतार लेला र यसको फैलावट र आतंक दिन दुई गुणा रात चारगुणाका हिसाबले बढ्ला भन्ने कुरामा यति बिध्न शंका थिएन । बाटो फेरि फेरि कोभिड १९ लाई झुक्याउने मेरो दाउ फेल खाएको छ । मलाई लागेको थियो एशियाली देशहरूमा जस्तो रोगले यहाँ दुख दिँदैन । लोभलाग्दो समृध्दि र कुशल व्यवस्थापनले यहाँका मानिसहरू भाइरसको फैलावटलाई तुरुन्त रोक्न सफल होलान् भन्ने मेरो सोचाई थियो । सामान्यतः अरू बेला मिल्ने अनुमान यसपटक मिलेन । कोभिड १९ ले त झन उल्टो विकशित भनिने देशमा पो बढ्ता उपद्रव मचाउँदै छ ।

दुई महिनाको छोटो बसाई तय गरेर यहाँ आएकी म फर्कन नपाई यस देशको लकडाउनमा अल्झिएकिछु । बिल्डिङको पच्चीसौं तलामा स्थित यस अपार्टमेन्टको कोठाभित्र थुनिँदा समाचार सुन्नुमात्र विशेष काम भएको छ । पट्यार लागेको समयमा झ्यालबाट बाहिर हेर्छु । यहाँबाट देखिने पियर्सन एयरपोर्टबाट एकैसाथ टेकअफ र ल्याण्डिङ गर्दै गरेका अनेकौं प्लेन देखिन्थे आकाशमा पहिले । अहिले पाँचसात मिनटको अन्तरालमा एकदुइटा उडेको देख्न पनि मुस्किल छ । क्यानडाको सबभन्दा ठुलो हवाइ सेवा प्रदायक संस्था- एयर क्यानाडाले आफ्ना हज्जारौं फ्लाईट कटौती गरेकोछ । यसका ३० हजारमध्येका १६ हजार ५ सयलाई कामबाट मुक्त गराएकोछ । अन्य एयर लाइन्सको हालत झनै खराब छ भनिन्छ ।

कोरोनाको विश्वव्यापी संत्रासले सबैको मनमा अब रहुँला कि नरहूँला भन्ने हुटहुटी मच्चिएकोछ । यसैक्रममा संसारभर छरिएर बसेका मानिस आफ्नो देश पुग्न आतुर देखिन थाले । आफ्नो देशका नागरिकको चाहनाअनुरुप प्राय: सबै देशका सरकारले प्लेन चर्टर गरेर अन्यत्र रहेका आफ्ना नागरिकलाई ओसारेका ओसार्‍यै छन् । केही दिनअघि नेपालबाट अस्ट्रेलियनहरु फर्कंदै गरेका देखेकी थिएँ । अमेरिकाले नब्बेभन्दा बढ्ता देशहरुबाट आफ्ना नागरिक ल्याइसकेकोछ । क्यानडा सरकारले पनि धेरै देशबाट आफ्ना नागरिकलाई भित्र्याइसकेको छ नेपालबाट पनि आफ्ना नागरिक फर्काउने तयारीमा जुटेको समाचार सुनेकी थिएँ ।

समाचार हेर्दा र सुन्दा देशबाहिर रहेका नेपाली पनि आफ्नो देश फर्कन चाहनेको संख्या निकै रहेछ। तीमध्ये अधिकांशले सरकार गुहारेका छैनन् । चीनको वुहानमा रहेका विद्यार्थीलाई बाहेक सरकारले अरुलाई आफ्नो पहलमा देशमा भित्र्याउन कोशिष गरेको पनि छैन । कतिपय नेपाली आफ्नै सुरले आत्तुरी गरिगरि आफ्नो देश फर्केका छन् । उनीहरुलाई थाहा छ अमेरिका, क्यानडा, जापान, अष्ट्रेलिया र युरोपियन देशका सरकारझैं सबैलाई देशभित्र ल्याउनसक्ने ताकत नेपाल सरकारको छैन । यतिसम्म ठीकै मान्न सकिएला।, तर आफ्ना नागरिकालाई आफ्नै देशमा आउन आह्वान गर्ने काममात्र पनि सरकारले गरेन । उल्टो बाहिर रहेकाहरू नआइदिए हुन्थ्यो भन्ने आशयले मौन बसीरह्यो ।

अरबतिर भएकाहरू नआउन् भन्ने ध्येयले त्यहाँकाको सरकारसँग उतै राखिमाग्न अनुरोध गर्‍यो। त्यतिमात्रै पनि होइन आफ्नै प्रयासले आएकालाई रोक्ने, लछार्ने, नाङ्गै पार्नेजस्ता के पो गरेन ? सरकारको यस्तो गैह्रजिम्मेवार हर्कतलाई छल्दै कोही महाकालीमा हामफालेर देशभित्र पसे, कोही वैधानिक नाका छलेर जंगल र खेतका आलि कटेर पसे । अहिले पनि सहरमा काम गर्न आएका मजदुर सहरमा खान र बस्न नसकी पोका बोकेर हप्तौंको बाटो खाली खुट्टा हिँड्दै गरेका अनेकन तस्बिर देखिन्छन् । यी सबै घटना परिघटना देख्दा लाग्छ लकडाउन घोषणा गरिदिएर, घरमै बसौं, कोरोनाबाट बचौं भनेर आफ्नो दायित्व पूरा भएको सम्झँदैछ सरकार ।

दिनदिनैको समाचारमा देख्छु अनि आफ्नो देश र पराइ देशका जनताको आशा र सरकारको कामको लेखाजोखा गर्छु। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हरेक दिन सञ्चारमाध्यमबाट नागरिकलाई सम्बोधन गर्न आउँछन् । कोरोनाको असरबाट कति संक्रमित भए, कतिको मृत्यु भयो भन्ने कुरा जानकारी दिएपछि सरकारले यस घडीमा दिनदिनै बदल्न परेका रणनीतिका बारेका स्पष्ट कुरा राख्छन् । अनि पत्रकारबाट सोधिएका प्रश्नको जवाफ दिन्छन् र घरभित्र पस्छन् । त्यसैगरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हरेक दिन कोरोना भाइरसविरुद्ध लड्न बनाइएको टास्कफोर्ससहित टिभिमा उपस्थित भइ दिनदिनको बदलिँदो अवस्थाबारे अमेरिकी जनतालाई जानकारी गराउँछन् । संक्रमणबाट प्रभावितहरुको संख्या र दिनदिनै कोरोनाका कारण संक्रमित र मृतकहरुको आधिकारिक तथ्याङ्कसहित हरेक दिन सरकारकोतर्फबाट हुँदै गरेका प्रयासबारे आफ्ना नागरिकलाई आश्वस्त पार्ने कोसिश गर्छन् ।

लकडाउनको यस परिस्थितमा कमाई खाने साना व्यवसायी, अधिकांश हवाईसेवा, रेष्टुराँ व्यबसायीहरू, उद्योग र निर्माण कम्पनीहरू, सेवा प्रदायक निजी कम्पनीहरू या त पूर्णरूपमा बन्द नै भएका छन् अथवा कामदारहरूको अत्याधीक कटौती गरेका छन् । ग्रोसरी र खाद्यस्टोरमा सीमित मानिसले मात्र काम गर्दैछन् भने सरकारी सेवा र स्कुल कलेज मिलेसम्म अनलाईनबाट सञ्चालन गरिँदै छन् ।

यस्तो असाधारण अवस्थामा कोरोना रोकथाम सँगसँगै निम्न आयमा बाँच्न बाध्य आफ्ना देशबासीका लागि के सुविधा दिन सकिन्छ भनी हरदम प्रयत्नशील देखिन्छन् । सरकारको ध्यान नपुगेको क्षेत्र कुनै छैन । देशका नागरिक कसैले उपेक्षाको अनुभूति गरेको देखिँदैन । धमाधम सहुलियतका कार्यक्रम ल्याइएका छन् ।

यस महिनाको सुरुमै प्रधानमन्त्री ट्रुडोले भरखर कामबाट हटाइएकाहरूका लागि प्रतिव्यक्ति प्रतिमहिना २ हजार डलर दिने घोषणा गरे। अहिलेलाई यो रकम चार महिनालाई दिइएको छ । त्यसबेलासम्म परिस्थितिमा केही सुधार हुने आशा राखेर चार महिना तोकिएको हुन सक्छ । केही गरि सुधार हुन नसकेको खण्डमा फेरि केही न केही नयाँ कार्यक्रम ल्याउनेछ आफ्नो सरकारले भन्ने भरोसाका साथ आश्वस्त छन् जनता पनि । त्यसका साथै हरेक बालकका लागि दिँदै आएको मासिक खर्चमा एक वर्षका लागि ३ सय डलर थपिएको छ भने वृध्दहरुका लागि पनि विभिन्न किसिमका सहुलियतहरु थपिएका छन् । त्यसैगरि बिद्युत महशुल घटाइएकोछ, हरेक महिना तिर्नुपर्ने घरको मोर्टरेज, गाडी र अन्य किस्ताबन्दीमा किनिएका सामाग्रीको समय सीमा खुकुलो पारिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जो कोरोना भाइरस संक्रमणको यस समयमा सायद संसारकै सबैभन्दा आलोचित व्यक्ति हुन्, जसका कारण अमेरिकाले अकल्पनीय दुख र क्षय व्यहोर्नु पर्‍यो भनेर उनलाई नसराप्नेहरू कमै होलान् । यसै समयमा विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको रकम नदिने घोषणा गरेर विश्वमा नै आलोचित हुन पुगेका यी राष्ट्रपतिले समेत आफ्ना नागरिकका हितमा भने अनेकौं कार्यक्रम ल्याउनु परेको छ । यस विपत्तिमा कामबाट बिमुख हुन पुगेकाहरुका लागि २० खर्ब डलरको राहत प्याकेज ल्याएका छन् ।

अहिले काम गुमाएर बेखर्ची बनेका ३ करोड सत्तरी लाखले यस राहत कोषबाट सहुलियत खोज्दैछन् । अमेरिकी जनता र यहाँ वैधानिक तवरबाट बस्दै आएका आप्रवासीहरु समेत सबैलाई सरदरमा सरकारले प्रत्येक परिवालाई २४ सय डलर र एक्लै बस्दै आएकाहरूलाई १२ सय डलर दिने निर्णय गरेको छ। सत्र वर्षमुनिका बालबालिकाकालाई मासिक थप ५ सय डलर दिइने रहेछ । यसबाट समृध्द देश र जिम्मेवार सरकार भएका ठाउँमा जस्तै दुखका दिनमा पनि साधारण जनता कसरी आश्वस्त हुने रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ ।

यता पराई देश लकडाउनमा छ र उता मेरो आफ्नो देश पनि लकडाउनमा छ । दिनदिनैका समाचारबाट म आफ्नो देश र यी पराई देशको लकडाउनको स्थिति र बेथिति पनि नियाल्दै छु । मेरो देशमा सरकार लकडाउनको उर्दी गरेपछि आफ्नो दायित्व सकिएको सम्झन्छ । जनताले घर जान नपाउँदा बसको व्यवस्था गरेर घर पुर्‍याउनेसम्म जिम्मेवारीबाट सकेसम्म पन्छिन खोज्ने अनुत्तरदायी निकायलाई सरकार मानिरहन बाध्य हामी नेपालीका लागि योभन्दा विडम्वनाको विषय सायदै हुन सक्ला ! यहाँका जस्तै मेरो देशका निर्वाचित शासक पनि बेलाबेला देखिन्छन् सञ्चारमाध्यममा । तर, पत्रकार सम्मेलन गर्दैनन् । प्रश्नहरुको सामना गर्दैनन् । बरु राष्ट्रका नाममा संवोधन गर्छन् । त्यसमा पनि कि त उखान र टुक्काले भुलाउन खोज्छन् कि त दुई तिहाईको आडमा जनतालाई धम्क्याएर चुप लगाउने प्रयास गर्छन् ।

निश्चयै पनि यस्तो समयमा संक्रमण रोक्नु र रोग फैलन नदिनु सरकारको प्रथम दायित्व हो । तर, त्यसोभन्दैमा अलपत्र परेका जनतालाई केही छाक खाना खुवाउने र कमसे कम आफ्ना घरसम्म पुर्‍याउने दायित्वबाट पन्छिन मिल्छ ? एउटा काम गरेको देखाएर अर्को कामबाट पन्छिनु कपट हो । विकसित देशहरुले ल्याएजस्तै राहत र क्षतिपुर्तिका प्याकेज ल्याउन सकेन । ठीकै छ मानियो, देशमा बेरोजगारलाई दिन सक्ने श्रोत र साधनको कमी छ, त्यो पनि अहिले नै कसैले खोजेको पनि छैनन् । तर, सहरमा बस्ने खाने अवस्था नदेखेर हिँडेकालाई कुनै निश्चित व्यबस्थाबिना नै सहरमा नै बस्न भनिन्छ । औषधि किन्न निस्किएका मानिस कुटिन्छन् । बिशेष दक्षताका डाक्टरलाई हतास गराउने प्रयासका समाचार सुनिन्छन् ।

धन्य मेरो देश ! लकडाउन छ भने के सुत्केरी, हृदयघात हुन लागेका मानिस, दुर्घटनामा परेकाहरूलाई अस्पताल नलैजाने ? लकडाउनको स्थितिमा अत्यावश्यक कामका लागि मानिस बाहिर जान सक्छन् । यो कर्फ्यु आदेश होइन् भन्नेजस्ता सामान्य कुरा पनि प्रहरीलाई सरकारले अवगत गराउँदैन । प्रहरी पनि पाएको बेला निरिह जनातालाई बिनाकारण दुख दिन्छ ।

यतातिर खुल्ला र फराकिला बाटा छन् । लकडाउनकै बेला पनि एकदुई- एकदुई जना मानिसहरु मिलेर हिँडेका देखिन्छन् । एक बबलबाट अर्को बबलमा नपस्ने भनिन्छ । जस्तो एउटै घरमा बस्ने हामी दुई तीनजना बाहिर सँगै हिँड्दा हुन्छ । तर हाम्रो बबल (परिवारजस्तो सानो एकाई)ले अर्को बबललाई नतोड्नु भनिन्छ । एक बबल अर्कोसँग मिसिन भएन। मिसिएको खण्डमा हामीले अरुलाई संक्रमण गर्ने अथवा अरुबाट संक्रमित हुने डर रहन्छ । यसबेला बाहिर निस्कनै पर्नेले यत्ति कुरा बुझ्नु पर्‍यो कि बाहिर नहिँडि नहुने बेलामा पनि अरुसँग यथेष्ट दुरी (कम्तिमा पनि २३ मिटर )कायम गर्नुपर्‍यो ।

फेरि भनौं, लकडाउन यहाँ पनि छ तर रातदिन बस चलेकै छन् । यो बेग्लै कुरा हो, बस निकै पातलिएका छन् तर चलेका छन् । मानिसको आवागमन पातलो छ तर आत्यावश्यक कामका लागि एक ठाऊँबाट अर्को ठाउँमा जानुपर्ने जनतालाई यातायात सेवा दिइएकै छ, उच्च सतर्कताकासाथ । यतातिर देख्छु- अत्यावश्यक ठूला- साना खाद्यपसल पहिलेभन्दा राम्रो व्यबस्थाका साथ खुलेका छन् । अनलाईन सेवाबाट सामाग्री मगाउने र यसमा संलग्न कामदारहरू घरघरमा नै डेलिभरी गर्न व्यस्त छन् । खान नपाएर मरिन्छ कि भन्ने कतै कसैले अनुभुत गरेको देखिँदैन । कालो बजारी बढेको हल्ला कतै सुनिँदैन ।

सामान्य बेलामा गरिखान कामको प्राचुर्य त छँदैछ। आसामान्य अवस्थामा पनि मेरो देशका नागरिकले जस्तो सरकारप्रति विश्वास गुमाउन परेको छैन । सामान्यभन्दा सामान्य नागरिकले पनि आफू सुरक्षित महशुस गरेको छ ।आतंकित बनेको छैन बरू भरोसा जगाएको स्पष्टै देख्न र अनुभूत गर्न सकिन्छ । यस्तै आशा र विश्वासको वातावरण मेरो देशमा कहिले अनुभूत गर्ने होला?

प्रकाशित : वैशाख १०, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?