२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

अनलाइन शिक्षण : केही रहर, केही बाध्यता

अनलाइन कक्षा सञ्चालन गर्न चाहनेले त्यसअघि विद्यार्थीको रुचि र प्रविधिमा पहुँचको आकलन गर्नुपर्छ ।
नारायणी देवकोटा

काठमाडौँ — बन्दाबन्दी घोषणाअघि विद्यालय र विश्वविद्यालयबाट संक्रमण फैलिन सक्छ भन्ने बहस सुरु भएको थियो । 

अनलाइन शिक्षण : केही रहर, केही बाध्यता

विद्यार्थीहरू कक्षामा मास्क लगाउँथे । र, सरकारले विद्यालय र विश्वविद्यालयमा पठनपाठन बन्द गरोस् भन्ने अपेक्षा बढ्न थालेको थियो । यसैबीच बन्दाबन्दी घोषणा भयो । शिक्षक र विद्यार्थीका लागि बिदाजस्तो भयो । पहिलो हप्ता धेरैले निकै रमाइलो गरे । बिहानै उठेर पढाउन जानुपरेन । मन लागे पढे भयो, मन नलागे नपढे भयो । बन्दाबन्दीको दोस्रो हप्ता पनि रमाइलै भयो । वर्षौंदेखि पढुँला भनेर किनिएका किताबहरू सुमसुम्याउन समय मिल्यो । सिनेमाहलमै गएर हेरुँला भनेका तर युट्युबमा आइसकेपछि पनि हेर्न नभ्याएका केही फिल्मका लागि समय पाइयो । कति विद्यार्थी टिकटक भिडियो बनाउन बटुल्न व्यस्त भए ।

तर, बन्दाबन्दी लम्बिँदै गएको छ । कसैले यो दुई वर्षसम्म पनि लम्बिन सक्छ भन्न थालेका छन् । बन्दाबन्दी समय बढाउनुपर्ने अवस्था आए विद्यालय र विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्नेमा अभिभावक, शिक्षक र सम्बन्धित निकायको ध्यान जान थालेको छ । बन्दाबन्दीको तेस्रो हप्तादेखि म आबद्ध सरस्वती बहुमुखी क्याम्पस प्रमुखसहित केही प्रविधिमैत्री विभागीय प्रमुखले विद्यार्थीमाझ अनलाइन कक्षाबारे छलफल गरे र आफ्नो विभागका कक्षाहरू अनलाइन सञ्चालन गर्ने निष्कर्षमा पुगे । अहिले स्नातकोत्तरका समाजशास्त्र, व्यवस्थापन र अंग्रेजी विषयका अनलाइन कक्षाहरू सञ्चालन भइरहेका छन् ।

अन्य कलेजले विद्यार्थी र प्राध्यापकको छलफलका आधारमा एमफिल र पीएचडीका कक्षाहरू पनि सञ्चालन गर्न थालेका छन् ।

कोरोना कहरअघि केही विद्यार्थी र शिक्षकका लागि अनलाइन कक्षा सञ्चालन रहरको विषय थियो । खुला विश्वविद्यालयले भने आफ्ना कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिरहेको थियो । घरै बसेर कतिपय विद्यार्थीले विदेशी विश्वविद्यालयमा अनलाइनमा पढ्ने अनि डिग्री लिने गरिरहेका थिए ।

अनलाइन विश्वविद्यालयमा पढ्नु काममा व्यस्त र प्रविधिमा पहुँच भएका विद्यार्थीका लागि अवसर थियो । अनलाइन पढाइले विद्यार्थीलाई कक्षा भेट्न घण्टाभरको जाम छिचोल्नुपर्दैनथ्यो, जसबाट समय र खर्चको बचत हुन्थ्यो । अरू बेला क्लासमा नियमित आउन नभ्याउने आफ्नो छुट्टै पेसा वा व्यवसायमा लागेका विद्यार्थीहरूलाई अनलाइन कक्षाले अहिले बढी उत्साहित बनाएको छ । त्यो किनभने, कार्यक्षेत्र अनि जागिरका कारण उपत्यकाबाहिर बस्नुपर्दा विद्यार्थीहरू कक्षामा नियमित हुन सकिरहेका थिएनन् ।

तर, अनलाइन पढाइमा जहाँबाट पनि कक्षामा सहभागी हुन सहज भयो । यो स्नातकोत्तर तहका विद्यार्थीको कुरा हो । स्नातकोत्तर तहको पढाइमा सहभागी हुने विद्यार्थीहरू अपवादबाहेक तुलनात्मक रूपमा प्रविधिको पहुँचमा र आर्थिक रूपमा केही हदसम्म सबल हुन्छन् ।

तर, विद्यालय र क्याम्पसका (स्नातक वा सोभन्दा तलका) कक्षाहरू निरन्तर सञ्चालन गर्ने विषयमा छलफल गर्नुपर्ने देखिन्छ । कतिपय सहरका विद्यालय र क्याम्पसमा पढाउन सकिए पनि ग्रामीण भेगका धेरै ठाउँका लागि अनलाइन कक्षा उपयुक्त देखिँदैन ।

अनलाइन पढाइ सञ्चालन गर्ने विषयमा कुरा गर्दा केही मानिस भन्छन्, ‘धेरै विद्यार्थीले फेसबुक चलाउने गरेका छन् त्यसैले स्मार्ट फोन त भैहाल्छ नि !’ फेसबुक अकाउन्ट वा स्मार्ट फोन हुनु मात्रैले प्रविधिसँग गहिरो पहुँच छ भन्ने हुँदैन । कतिपय स्थान यस्ता छन्, जहाँ फोन पनि राम्ररी टिप्दैन, टिपिहाले पनि डाटा चल्दैन । एक दिनको कक्षा थोरैमा पनि चार घण्टाको हुन्छ । मोबाइल वा ल्यापटपमा चार घण्टा निरन्तर पढ्दा शारीरिक समस्या ननिम्तिएला भन्न सकिन्न ।

प्रविधिमा पहुँच नभएका विद्यालय र कलेजका लागि अनलाइन कक्षा धेरै हदसम्म उपयुक्त देखिँदैन ।

अनलाइन कक्षा सञ्चालन गर्न चाहनेले त्यसअघि विद्यार्थीको रुचि र प्रविधिमा पहुँचको आकलन गर्नुपर्छ ।

अनलाइन कक्षा सञ्चालनका लागि मुलुकलाई प्रविधिमैत्री बनाउनुपर्ने, बनाउन सकिनेमा सरकारले भर्खर छलफल सुरु गरेको छ, जसबाट तत्कालको आवश्यकता पूरा हुने सम्भावना छैन । त्रिविका सबै प्राध्यापक अनलाइन कक्षा सञ्चालन गर्न सक्ने गरी प्रविधिमैत्री छन् कि छैनन्, प्रश्न गर्ने ठाउँ छ ।

अनलाइन कक्षा सञ्चालन गर्ने विषयसँग गरिबीको प्रश्न टड्कारो रूपमा उठ्छ । यति बेला पैदलयात्रामा निस्केकाहरूको दृश्यबाट सहरी गरिबीको अवस्थाबारे आकलन गर्न सकिन्छ । तीबाहेक छिँडीको एउटा कोठामा बस्नुपर्ने बाध्यता पनि छ, सहरी परिवारको ।

दुई सन्तान एउटै कोठामा एकैपटक आआफ्ना विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षामा बस्ने वातावरण सायदै हुन सक्छ । अर्कातर्फ, घर विद्यालय होइन ! नचाहेर पनि मानिसहरू एकअर्कासँग बोल्नुपर्ने हुन्छ । दुई सन्तान अनलाइनमा पढ्दै गर्दा अभिभावकले त्यही कोठामा खाना, खाजा पकाउनुपर्ने हुन्छ । त्यसमाथि विपत्का कारण विभिन्न समस्या भोगिरहेका अभिभावकलाई छोराछोरीको पढाइभन्दा अरू आवश्यकताले दपेटिरहेका हुन्छन् ।

स्नातक तह पढ्ने प्रायः गृहिणीले छोराछोरीलाई विद्यालय र श्रीमान्लाई काममा पठाएपछि मात्र फुर्सद पाउँछन् । यीमध्ये कतिपयले आफ्नो पढाइबारे परिवारमा नबताएका पनि हुन सक्छन् । यस्ता गृहिणीलाई छोडिदिने हो भने पनि जानकार परिवार सदस्यमध्ये कतिले ‘तिम्रो कक्षाको समय भयो, पढ’ भनेर उनीहरूलाई पढ्ने वातावरण बनाइदिन सक्लान् ? वातावरण बने पनि छोराछोरी, श्रीमान् वा घरका वृद्धवृद्धाका अनुरोध र सरोकारलाई छोडेर ‘म अनलाइन कक्षामा सहभागी हुन्छु’ भन्ने स्थिति छ कि छैन ?

शिक्षित अभिभावक, बलियो आर्थिक अवस्था र प्रविधिको पहुँच भएका ठाउँका शैक्षिक संस्थामा अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । तर यस्तो अनुकूलता नभएका विद्यार्थीका लागि यो रहरभन्दा पनि बाध्यता बन्न पुग्छ । अनलाइन कक्षा सञ्चालन गर्दा धनी र गरिब विद्यार्थी अनि अभिभावकबीचको खाडल अझै गहिरिने त होइन भन्ने प्रश्न मुख्य हो । अनलाइन शिक्षणविधिलाई विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ, तर अनिवार्य पूर्वाधार खडा गरेर मात्रै ।

अनलाइन अध्ययनविधिको पूर्वाधार, सजिलो प्रयोग, सहज पहुँच सुनिश्चित गर्न यथाशीघ्र विद्यालय र विश्वविद्यालयले काम गर्नुपर्छ।

प्रकाशित : वैशाख १०, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?