२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लकडाउन त खुल्ला, स्वच्छन्दता?

जसरी विश्व समुदायले वुहानको लकडाउन खुल्दाको अवस्थालाई परिकल्पना गरेका थिए, केही कुरामा खुकुलो हुनुबाहेक यहाँको जीवनशैली अहिले पनि पूर्णतः लकडाउनजस्तै छ।
लक्ष्मी लम्साल

लकडाउनका कारण दैनिकी कष्टकर भइरहेको छ। मानिसहरूले बाह्य ‘संकट’ भन्दा व्यक्तिगत ‘स्वतन्त्रता’ कुण्ठित भएको ठानिरहेका छन्। अहिले अधिकांशले लकडाउन खुलोस् त्यसपछि चराजस्तै ‘हावामा कावा’ खाने सोचिरहेका होलान्।

लकडाउन त खुल्ला, स्वच्छन्दता?

तर लकडाउन खुल्दैमा सबै कुरा ठिकठाक हुने होइन। किनकि महामारी कुनै खेलाँची होइन। भ्याक्सिनको सफल परीक्षण नभएसम्म आगामी दिनहरू होसियारीपूर्वक गुजार्नुको विकल्प छैन। जसरी विश्व समुदायले वुहानको लकडाउन खुल्दाको अवस्थालाई परिकल्पना गरेका थिए, केही कुरामा खुकुलो हुनुबाहेक जीवनशैली पूर्णतः लकडाउनकै पारामा देखिन्छ।

जनवरी २३ देखि अप्रिल ८ सम्म ७६ दिन तत्कालीन कोरोनाको ‘इपिसेन्टर’ मानिएको चीनको वुहान घोषित रूपमै लकडाउन भएर खुली नै सक्यो। तर वुहानको मुख्य गेट खुल्नुको अर्थ भाइरसजन्य सानातिना धम्कीका गेट खुलेको ठहर्दैन। त्यहाँ अझै पनि महामारी रोकथाम तथा नियन्त्रणका उपाय यथावत् छन्। उडान, बस, रेलका लामो दूरी खुले पनि यथार्थमा पिँजडाबाट उडेको चरीजस्तो जीवनशैली वुहानवासीको छैन। वुहान नगरको राजनीतिक तथा कानुन कमिटीका उपसचिव एवं सामुदायिक रोकथाम तथा नियन्त्रण कमान्डका उपसचिव लुओ फिङले सीसीटिभीलाई भनेका थिए, ‘वर्तमान महामारीको अवस्थाअनुसार केही कुराका लागि लकडाउन खुलेपनि अन्य कुरा यथावत् नै छन्।’

वुहानमा अझै पनि ‘एसिम्प्टोम्याटिक इन्फेक्सन’ देखिएकाले मास्क लगाउनैपर्छ। चिनियाँ विशेषज्ञहरूका अनुसार अदृश्य शत्रु जहाँकहीँ पनि हुन सक्ने भएकाले सावधानीका एकाध कदममा पनि लापरबाही गर्न मिल्दैन।

महामारी फैलिएलगत्तै चीनमा थालिएका रोकथामका उपाय र परीक्षणका गतिविधि घटाइएको छैन। अर्थात् एउटा अनुशासन र दृढता कायम छ। चीनमा मानिसको प्रवाह तीव्र र घना हुने भएकाले अति खुल्ला हुनु उच्च जोखिम हुन्छ। लकडाउन खुलेपछि धेरै मानिसको कार्यालय काज तथा उत्पादन पुनः सुरु हुनेछ। मानिसहरूको उठबस, हेलमेल गहिरो हुनेछ, तर आँखा चिम्लेर अँध्यारोमा हिँड्न पटक्कै मिल्दैन। सहरको ठूलो गेट खुल्नुको अर्थ सारा घरघरका ढोका ह्वांगै हुनु हुँदैन। सामुदायिक आवासक्षेत्रहरू सिल र व्यवस्थित छन्। हरेक व्यक्तिले आफ्नै घरमा पुग्नैपर्छ। वुहान सहरका पार्टी कमिटी सचिव फान लिच्वान भन्छन्, ‘समुदायले अझै पनि चार कुरा पालना गर्नैपर्छ। पहिलो सर्वसाधारणको परिचय, दोश्रो तापक्रम मापन, तेस्रो व्यक्तिगत रेकर्ड र चौथो अनिवार्य मास्क।’

वुहानमा जो कोहीले यात्रा गर्ने हो भने ‘हरियो स्वास्थ्य कोड’ र १४ दिन क्वारेन्टाइन बसेको प्रमाणपत्र तथा पुनः सुरु भएको कार्यालयको प्रमाणपत्र बोक्नैपर्छ। अत्यावश्यक छैन भने सकेसम्म यात्रा नगर्न नै सुझाइएको छ। दैनिक जीवनका लागि अत्यावश्यक कुरा चाहिएको हो भने बाहिर निस्कन सकिन्छ। तर हरेक परिवारको एक जना निश्चित गरेर २ घन्टाका लागि मात्रै ‘सपिङ’ जान पाइन्छ।

वुहानमा यदि कोही बाहिर निस्कनु जरुरी नभए पनि सम्बन्धित सार्वजनिक क्षेत्र ‘डिसइन्फेक्टेट’को ग्यारेन्टी छ। निमोनिया लामो समयसम्म फ्लुका रूपमा अस्तित्वमा रहन सक्छ। कम्तीमा केही महिना कडाइका साथ प्रतिरोधी कदम यथावत गर्नैपर्छ। भेला, पार्टी, महोत्सव रोक्नैपर्छ।

अहिले पनि वुहानका मुख्य ६ वटा समूह अनुसन्धानको घेरामा छन्। जसप्रति परीक्षणको क्रम खुकुलो हुनै हुँदैन। निश्चित भएका बिरामी, शंकास्पद बिरामी, एसिम्प्टोम्याटिक संक्रमित बिरामी, असामान्य शारीरिक अवस्थामा विदेशबाट भित्रिएका व्यक्ति, बिरामीको घनिष्ट सम्पर्कमा रहेका व्यक्ति जस्तै: स्वास्थ्यकर्मी र समुदायकर्मीहरू इत्यादि।

मनोवैज्ञानिक दबाब

वुहानमा २ महिनाभन्दा लामो समयदेखि लकडाउनमा रहेका नागरिकको मनोवैज्ञानिक दबाब खुकुलो पारिएको छ। गम्भीर भावनात्मक वा विचारधारा नै किन नहोस्, सर्वसाधारणले महामारीको पीडा अनुभूत गरेका छन्।

एक, भावनामा तत्कालै बग्नु श्रेयस्कर होइन। महामारीप्रति तत्कालै नरम सोच बनाइहाल्नु वेश हुँदैन।

दुई, अवस्था अनुकूल हुनका लागि, दिनमा तीनपटक पकाइएको र स्वच्छ पौष्टिक खानुपिउनु, मुख धुनु र दाँत माझ्नु तथा घरको वरिपरि टहल्नु राम्रो छ।

तीन, कुनै विशेष अर्थ नभए पनि केही कुरा गर्दै रहनुपर्छ। व्यावहारिक सक्रियताले मानसिकता बलियो बनाइराख्नुपर्छ। केही नगर्नुभन्दा केही आत्मसन्तुष्टि जाग्ने खालका गतिविधि गर्नु उपयुक्त छ।

इपिसेन्टर उन्मुख भारत!

विश्वको दोस्रो ठूलो जनघनत्व भएको नेपालको दक्षिणी छिमेकी भारत कोरोना भाइरस महामारीको वुहानपछिको अर्को ‘इपिसेन्टर’ बन्ने खतरा रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यद्यपि स्रोतसाधन सम्पन्न मुलुक अमेरिका यतिखेरको इपिसेन्टर बनेको छ। भारतमा स्वास्थ्य सेवाको अभाव मात्रै होइन, सामाजिक विकासको व्यापक परीक्षणको घडी पनि यही हो। ठूलो जनघनत्व, नाजुक स्वास्थ्य अवस्थाका साथै सरकारको क्षमता, बहुदलीय प्रणाली, आर्थिक अवस्था, ओखती स्रोतका कारण भारतप्रति आशावादी हुन सकिँदैन। त्यसको प्रत्यक्ष सिकाइ नेपालमा पनि छ। भारतको प्रभावकारी सार्वजनिक स्वास्थ्य प्रणालीको अभाव रहेको जानकारहरू बताउँछन्। सहरी क्षेत्रका सुकुम्वासी गरिब नै महामारीका कारण बन्न सक्छन्, जो एक-अर्काको ऐँचोपैँचोमा निर्भर रहेर रोटी जोड्न बाध्य छन्।

दुर्गम क्षेत्रमा जनघनत्व कम होला, तर स्वास्थ्य अवस्था र मेडिकल स्रोत कमजोर। एउटा भाइरसको सानै केसले पनि नियन्त्रण गुमाउन समय लाग्नेछैन। भारतको महामारी रोकथाम नीति कमजोर रहेका बेला गरिब जनतालाई शरणका लागि जन्मथलो फर्किनुपर्ने बाध्यता छ। त्यहाँ मजदुर वर्ग घर फर्किन नसक्ने वा बाहिर निस्कन नसक्ने अवस्थाले आर्थिक दबाब थप चर्किँदै आएको छ। आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासी ठान्ने भारतले बन्दाबन्दीमा स्वतन्त्रता खोज्ने नागरिकलाई नियन्त्रण गर्नु पनि हम्मेहम्मे छ।

लगभग उस्तै परिदृश्य नेपालको सवालमा पनि छ। सानो जनसंख्या भए पनि व्यवस्थापनमा जस्तो भारत- उस्तै नेपाल भएको छ। नेपालमा लकडाउन, मास्क, पन्जा, सेनिटाइजर, परीक्षण, भौतिक दुरी, कन्ट्याक ट्रेसिङ, पीपीई, क्वारेन्टाइन, आइसोलेसन इत्यादि शब्दहरूसँग हामी राम्रैसँग परिचित भइसकेका छौं। यी शब्दहरूबाट आजित भएकाले सरकारले कहिले लकडाउन खुलेको घोषणा गर्ला भन्ने प्रतीक्षा छ। तर व्यक्तिगत सुरक्षाका लागि कसैले पनि लापरबाही गर्नुहुँदैन। दृश्य शत्रुबाट हामी भागेर वा लुकेर बच्न सकौंला तर अदृश्य शक्ति कहाँबाट आइलाग्छ भन्ने सोचेर हामीले सदैव तयारी गरिरहनुपर्छ। लकडाउन खुल्दा कोरोना भाइरस हटेको त मानिएला तर धुँवाधुलो लगायत सम्भावित अन्य सरूवा रोगबाट बच्नका लागि प्राथमिक रोकथामको रूपमा मास्क लगाउने बानी बसाल्नैपर्छ।

सार्वजनिक यातायात चढ्दा वा बाटोघाटोमा हिँड्दा सभ्य हुनेदेखि कसैसँग अनावश्यक नजिकिने, टाँस्सिने र एक किसिमले अनुचित लाभका लागि अँगालो फिँजाउने, आँखा, नाक, कान कोट्याउने तर नधोईकन अरूसँग हात मिलाउने, खानेकुरा बाँड्ने वा एक-अर्काको जुठो सेयर गर्ने कुरा सुधार्नु जरूरी छ। नेपालमा कुनै दिन लकडाउन खुल्ला तर तत्कालका लागि वुहानको जस्तै अनुशासन र शिष्टताको खाँचो सदैव रहिरहनेछ।

प्रकाशित : वैशाख ९, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?