लालबहादुर–लालकुमारी सडकमै छन्

वन्दना ढकाल

काठमाडौँ — वैशाख चार गते बिहान साढे छ बजे । कीर्तिपुरको भित्रीगाउँदेखि नगाउँ दोबाटोसम्म मानिसहरूको एउटा लामो लस्कर देखियो । बालबालिका, तन्नेरी र अधवैंशेहरू रहेको करिब साठी सत्तरी जनाको त्यो लस्कर घर फर्कन चाहने मजदुरको थियो ।

कसैका हातमा दुनोटका स–साना पोका थिए । कसैको हातमा चाउचाउ । कसैले आधा रित्तिएका पानीका बोतल समातेका थिए । कसैका टाउकामा जेब्रा झोला ।

केही महिलाहरूले छातीमा झोलुङगो झुन्ड्याएजसरी कुर्थाको पातलो चुन्नीले बच्चा बोकेका थिए, सँगसँगै एउटा हातको कान्छी औंलामा ५–६ वर्षको अर्को सन्तान हतेरिरहेका थिए । बाँकी चार औंलाले चाउचाउ र बिस्कुटका प्लाष्टिक अड्याएका । अर्को हातमा जेब्रा झोला चपक्क पारेका । कोही पुरुषका काँधमा झोला थियो, कोहीले हाफ जाँघेभित्र सुरुवाल उनेका थिए । यस्तो लाग्थ्यो– काँधमा झोला भिर्दा हिँड्दाहिँड्दै गाह्रो हुन्छ, बरु जीउमा उने सजिलो । उनीहरू पंक्तिबद्ध हुँदै नगाउँ दोबाटो छिचोल्न के लागेका थिए, पुलिसले झ्याप्पै रोके । सँगै हातमा पन्जा, मुखमा मास्क लगाएका एक व्यक्तिले खल्तीबाट हत्तपत्त अपरेसन थियटरका डाक्टरले लगाउने जस्तो सेतो कभर झिकेर टाउकोमा लगाए र अघिअघि हिँडिरहेका मान्छेलाई हप्काउँदै सोधे, ‘तपाईंहरू कहाँ हिँडेको ?’

काँधमा झोला, खुट्टामा तुने चप्पल, हाफ जाँघे लगाएका करिब ४५–५० वर्ष जतिका ती मान्छेले सुस्तरी भने, ‘हामी घर जान हिँडेको ।’

‘अहिले लकडाउन छ भन्ने थाहा छैन ? सरकारले तिमीहरूलाई जहाँ छौ, त्यही बस भनेको होइन ? घरमै बस भनेको होइन ? किन यसरी हिँडेको ?’

‘हामी कसरी बस्ने यहाँ ? महिना दिन हुन लाग्यो काम नपाएको, पैसा पनि छैन, खानेकुरा पनि छैन । भोकले मरिने भयो भनेर घर जान थालेको,’ ती व्यक्तिले यसरी गुनासो पोखे, मानौं यति भनेपछि अगाडि जान बाटो खुल्छ ।

‘कसरी भयो महिना दिन ? लकडाउन गरेको त २०–२२ दिन पो भयो त । खान पाएन भने त्यहाँको वडालाई भन भनेर सरकारले भनिराखेको छ त, त्यति भन्दा नि कुरा बुझ्दैन ?’ उनले चर्को स्वरमा हप्काए । ‘खान पाएको भए को यसरी हिँड्थ्यो र हजुर ?’ ती व्यक्तिले गुनासो गर्दै थिए ।

चोकमा प्रहरीहरू बाटो छेकेर उभिएका थिए । स्थानीय युवा स्वयम्सेवकजस्तो देखिने ती युवाले भने मजदुरहरूलाई लकडाउन के हो भनेर सिकाइरहेका थिए । उनी भन्दै थिए, ‘तिमीहरू घर गयौ भने पनि तिमीहरूलाई कसैले घरमा राख्दैन, बाटोमा अन्त पनि तिमीहरूलाई कसैले अगाडि जान दिँदैन । तिमीहरू आफूहरू पनि मर्छौ, अरुलाई पनि मार्छौ ।’

त्यतिन्जेल उभिएका जति मजदुरहरू सबै थचथुचुक्क घरछेउका पेटीमा बसे । बालबालिकाहरू यताउता पल्याकपुलुक्क गर्न थाले । उनीहरूलाई पनि के थाहा– आमाबाले कहाँ लैजान खोजेका हुन् ? अहिले फेरि बाटैमा किन रोकिएको हो ? कहाँसम्म हिँडेर जानुपर्ने हो ? अगाडि पुलिसले रोकेको छ, लस्करको अगुवालाई एउटा खाइखाँदो मान्छेले हप्काइरहेको छ, आतंकित देखिन्छ, केटाकेटीहरूको अनुहार ।

विश्वभरि फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण सरकारले नेपालमा पनि गत तीन हप्तादेखि लकडाउनको घोषणा गरेको छ । कुनै तयारी र योजनाबिना गरिएको यस घोषणाले ‘सरकार’ र सरकार संरक्षित वर्ग त सुरक्षितै बस्यो तर लाखौं ज्यालादारी मजदुरलाई भने अचानकै भोकभोकै मर्नुपर्ने परिस्थितिमा धकेलिदियो ।

जसलाई रातदिन श्रम गरेर जीवन धान्नुपर्ने मजबुरी छ, ती मजदुरलाई के थाहा यो कोरोना भनेको के हो ? यो कसरी सर्छ ? यसले गर्छ के ? बरु उनीहरूसँग त पहिलेदेखि नै कोरोनाभन्दा भयानक चीज अर्थात् भोक दिनरात आफैँसँग टाँसिएको छ । जुन दिन काम गर्‍यो, त्यो दिन चामल किनेर डेक्ची बसाल्यो, नत्र भोकै सुत्यो । दिनरात आन्द्रा बटार्ने डरलाग्दो भोकभन्दा कुनै पनि महामारी मजदुरहरूका लागि मामुली हुन्छ । मजदुरहरू हैजा आउला र मरिएला भनेर काम छाड्न सक्दैनन् । किसानहरू अनिकाल पर्न सक्छ भनेर खेतीपाती गर्न छाड्दैनन् । काम गर्न छाड्नु र छाक टार्न नपाउनु जति पीडादायी बेला मजदुर–किसानका लागि अरु हुँदैन ।

लम्बिइरहेको लकडाउनले देशभरिका मजदुरहरूको एकैचोटि रोजीरोटी खोसिदिएको छ । त्यो नै उनीहरूका लागि सबैभन्दा खराब परिस्थिति हो । उनीहरूका लागि यतिखेर कोरोना भाइरस वा सरकारी लकडाउनबारे सोच्ने बेलै होइन । त्यसैले जहाँ सानो आफ्नो थात छ, त्यतै हिँडे उनीहरू । सयौं किलोमिटरको बाटो पार गर्न साथीहरू जुटेर । कतै थाकेर बस्दा सँगैको साथीले खोल्साखोल्सीबाट ल्याएको पानी खान्छस् भनेर त सोध्छ भन्ने भरोसामा उनीहरू दुधे केटाकेटी चेपेर हिँडिरहेका छन् । सरकार भने पानी सोध्नु त के, दिनदिन भाटा बर्साउँदै छ, गरिबका ढाडमा ।

प्रत्येक दिनका समाचारमा देश फर्कन र सहर छाड्न खोज्ने मजदुरको ताँती देखिन्छ । काठमाडौंको मान्छे हिँडेर कैलाली जान कस्सिएको छ । पोखराको मान्छे बर्दिया हिँड्दै छ । कोही महाकाली नदीमा हेलिएको छ । तर हिँडेरै र पौडेरै घर भेट्टाउने आशा बोकेको मजदुरलाई सरकारी आदेश उल्लंघनको सजायस्वरूप मुद्दा लगाउने तयारी गर्छ ।

अहिले जो कोहीको पनि मनमा सरकारको यस्तो निर्दयी र मजदुरद्वेषी रवैयाप्रति आक्रोश छ । नगाउँ दोबाटोमा संगीत र म उनीहरूको संवाद सुनिरहेका थियौँ । ‘अझ त्यहाँ उभिन्छौ ?’ एकजना पुलिसले मतिर हेरेर हप्काउन शैलीमा भनेँ ।’

‘किन, कुरा सुन्न पनि नपाउने ?’ म पनि पुलिससँग अलि चर्को स्वरमा बोलेँ । सरकारले देखाइरहेको कर्तव्यहीनतासँग उठेको रिस अलिकति भने पनि मैले पुलिससँग चर्किएर पोखेँ ।

‘यहाँ नबस्नुस्, तपाईंहरू जानुस्,’ पुलिसले वरिपरि आइपुगेका अरु स्थानीयलाई पनि हप्कीदप्की गर्न थाल्यो । संगीत फोटो खिच्न खोज्दै थिए । एकजना कुनै स्थानीयले त मोबाइलमा फोटो खिचिसकेकै रहेछन् । ‘फोटो नखिच्नुस्, किन फोटो खिचेको ? मान्छेलाई दुख परिरहेको फोटो खिच्न तपाईंलाई लाज लाग्दैन ?’ अघिदेखि मजदुरहरूको लस्करलाई बाटो छेकिरहेका हट्टाकट्टा युवाले फोटो खिच्ने मान्छेलाई पनि हप्काए । उनले थचाथुचुक बसेका सबै महिला, केटाकेटीहरूलाई एकएक गर्दै भने, ‘उठ्नुस्, उठ्नुस् ! तपाईंहरू यहाँबाट फर्किहाल्नुस् । जहाँबाट आउनुभएको हो, उतै जानुस् । सबै उठ्नुस् । सबै उठ्नुस् !’

हामी पनि केहीबेर मजदुर उल्टो फर्केको बाटोतिर हिँड्यौं । अलि पर पुगेपछि संगीतले फर्कंदै गरेका एकजना अधवैशें मजदुरलाई सोधे, ‘तपाईंहरू कहाँ जान लाग्नुभएको हो दाइ ?’

‘मकवानपुर घर जान हिँडेको ।’

‘अनि कहाँबाट आउनुभएको त अहिले ?’

‘हामी थानकोटमा ज्यालादारी गर्छौं, एक महिनादेखि काम छैन, खानेकुरा पनि छैन । अनि घर फर्कन खोजेको जानै दिँदैनन् ।’

‘अनि उता थानकोटबाटै जाँदा हुन्थ्यो नि, किन यता आउनुभएको त ?’ संगीतले सोधे ।

‘त्यताबाट पनि जान दिएन, त्यहाँको पुलिसले यता धपाइदियो,’ उनले आफ्ना कुरा नसक्दै तिनै युवा फेरि चर्को स्वरमा चिच्याए, ‘सुन्नुभएन तपाईंहरूले ? चाँडो फर्कनुस् !’

त्यतिन्जेल मजदुरहरूको त्यो लर्को नगाउँको उकालोतिर फर्किसकेको थियो । चोकमा घरघरबाट मान्छेहरू बाहिर निस्केर कामदारहरूको विजोग हेरिरहेका थिए । उनीहरूलाई धपाउँदै गरेका (सायद उनी कीर्तिपुर नगरपालिकाका स्वयंसेवक हुन्) युवालाई पनि हामीले सोध्यौँ, ‘उनीहरूलाई यसरी फर्काउनुभन्दा यहाँको स्थानीय निकायसँग समन्वय गरेर उनीहरूको खानेबस्नेको व्यवस्था गर्न सकिँदैन ? उनीहरूलाई केहीबेर रोकेर नगरपालिका प्रमुखसँग पो कुरा गर्नुपर्थ्यो कि ?’

‘होइन, नगरपालिकाले नै बाहिरको मान्छेलाई उनीहरू जताबाट आएका हुन्, उतै पठाइदिनुपर्छ भन्ने निर्णय गरेको छ’, उनले भने ।

‘ए, नगरपालिकाले नै फर्काउन भनेको हो ?’

‘हो,’ यसो भन्दै उनी स्थानीयलाई पनि सम्झाउन थाले, ‘तपाईंहरू घरबाहिर ननिस्कनुस्, घरभित्र जानुस् । बाहिर के रमिता हेर्न निस्कनुभएको ?’

हामी बिहान दुई घण्टा मात्रै खुल्ने कीर्तिपुर सहकारी पसलमा सामान किन्न पुगेका थियौं । पसल खोल्नुअघि नै सडकमा देखिएको यस्तो दृश्यले हामीलाई धेरैबेर तनाव भयो । मोबाइलमा दुई–तीन ठाउँमा फोन डायल गर्‍यौं । कसैको उठेन । धेरैबेर छटपटी भयो । अनि संगीतले १०० मा डायल गरेर प्रहरीमा टिपाए, ‘कीर्तिपुरको नगाउँ भन्ने ठाउँमा बालबालिकासहितका ६०–७० जना मजदुरहरू अलपत्र छन् । उनीहरू खानबस्नको समस्या भएपछि मकवानपुर आफ्नो घरमा फर्कन खोजिरहेका रहेछन् । यहाँका स्थानीयले बाटो छेकेका कारण उनीहरू बाटैमा अलपत्र छन् । कीर्तिपुर प्रहरी वा नगरपालिकामा खबर गरेर उनीहरूको व्यवस्थापन गर्न सकिन्थ्यो कि ?’

‘हुन्छ, हजुर हामी कुरा गरिहाल्छौं,’ प्रहरीले भन्ने यस्तै हो । उताबाट यस्तै जवाफ आएछ । मजदुरहरूको लर्को नगाउँ हुँदै राराहिल नगरतिर फर्क्यो । त्यसपछि पनि संगीतले अरु एक/दुई ठाउँमा फोन गरे । हामी नगाउँचोकतिरै फर्क्यौं ।

थानकोटका मान्छेलाई छेकेर कीर्तिपुर पुर्‍याउने, कीर्तिपुरबाट लघारेर फेरि उतै पठाउने प्रहरी र स्वयम्सेवकहरू निमित्त मात्रै हुन् । किनभने उनीहरूले कर्तव्य पालना गर्ने आफ्नो विवेकले होइन, माथिको आदेशले हो । माथि अर्थात् टाउको । अर्थात् सरकार र सरकार चलाइरहेका शासकहरू । शासकहरू जनताको चित्कार कतै सुनिन्छ कि भनेर खोपडीमा किटनाशक औषधी छर्केर सत्गुरु र बालयोगी आदित्यनाथका ‘दिव्यवाणी’ सुन्न मस्त होलान् । किट अर्थात् जनता । हो, शासकका लागि जनता भनेका आखिर कीट हुन्, कीराबराबर । शासकका लागि कीराको के मूल्य ? कीराहरू सत्तामा उकाल्ने बेलामा मात्रै काम आउँछन् । चुनावका बेलामा ती कीट रातारात जनतामा रूपान्तरित हुन्छन् । सायद, आजकल शासकहरूको खोपडी किटनाशक औषधीमा लठ्ठिएर शरीरबाट निकालेर भेन्टिलेटरमा राखिएको छ । यस्तो मुर्कट्टाशासित समयमा मजदुरहरूले ‘घर’ पुग्नका लागि कोशौंकोश हिँडेर गौडा पार गर्न देऊ भन्दै पुलिससँग अनुनय गर्नु बेकार छ ।

पन्ध्र वर्षअघि यस्तै मौसम थियो । साल २०६२/६३ । त्यही नगाउँ दोबाटोबाट यस्तै तुने चप्पल, अर्धानो जाँघे लगाएका पुरुष, पिठ्यूँमा दुधे बच्चा बोकेकादेखि सबै उमेरका महिला अनुहारमा जोश, रगतमा आक्रोश उमालेर, एउटा हात हावामा मुठ्ठी पार्दै अर्को हातले झण्डा समातेर नयाँबजारतिर लम्किएका थिए । निरंकुश शासनसत्ता ढाल्न । यिनै मैलाधैला लुगा लगाएका, गलैंचा कारखानाका सिपालु, इट्टाभट्टा मिस्त्री, ज्यामी, मजदुर सबैसबै मोर्चाबद्ध थिए ।

ठ्याक्कै यही समय हो– घाम पनि यस्तै लागेको थियो । नयाँ शासकहरूले बिर्सिसके– के र कसरी अहिले यो मखमली मोर्चा आरक्षित भएको थियो ? त्यो यही बेला हो है– मजदुरहरूको आक्रोश सडकमा उर्लिँदाको परिणाम के हुन्छ ? किनकि मजदुरहरूलाई थाहा छ– केवल भोकले कंकाल भइसकेको शरीरलाई केही गुम्ला कि भन्ने कुनै डर लाग्दैन ।

र, कवि विनोदविक्रम केसीले अर्को कविता लेख्नेछन्– लालबहादुर–लालकुमारी सडकमा निस्किसके ! प्रकाशित : वैशाख ६, २०७७ ०९:१३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना कैरन

हामीमा सामाजिक नैतिकता र सामूहिकताको भाव ह्रास हुँदै गएको छ । यसरी नै नेपाली समाजको चारित्रिक विशेषता ह्रास हुँदै जाने हो भने नेपालीको चरित्र अन्ततोगत्वा न पश्चिमी देशको झैं व्‍यक्तिप्रधानतामुखी हुनेछ न त पूर्वीय सामाजिक सामूहिकतामुखी नै ।
डम्बर चेम्जोङ

डिसेम्बर २०१९ देखि चीनको वुहान सहरमा महामारीको रूपमा सुरु भएर हाल विश्वभर फैलिएको कोरोना भाइरस–१९ चमेराबाट सालक हुँदै मानिसमा सर्‍यो होला भन्ने अनुमान गरिन्छ । यस भाइरसको संक्रमणबाट हुने रोगलाई विश्व स्वास्थ्‍य संगठनले फेब्रुअरी २०१९ को दोस्रो हप्तामा कोभिड–१९ नामकरण गरेपछि यो रोगको नाम नै कोभिड–१९ रह्यो ।

यस दौरानमा यूएसएका राष्ट्रपति ट्रम्पले बारम्बार ‘चाइनिज भाइरस’ भने र विदेशमन्त्री माइक पम्पेओले विकसित जी–सेवेन देशहरू (यूएसए, क्यानडा, जर्मनी, फ्रान्स, इटाली, यूके र जापान) को मिटिङमा यस रोगको नाम वुहान भाइरस राख्न प्रस्ताव गरे पनि अन्य देशहरूले मानेनन् ।

नयाँ शब्दहरूको आविष्कार

आजसम्म नयाँ रोगहरूको पहिचान, निदान र उपचारमा मूलत: मेडिकल साइन्सभित्रैबाट शब्द र शब्दावली निर्माण हुन्थेजस्तो लाग्छ । तर, कोरोना भाइरस–१९ रोगका कारण भने सुन्दैमा अलोकतान्त्रिक लाग्ने ‘लकडाउन’ शब्द विश्वव्यापी बनायो । साथै ‘सोसल डिस्टान्स’, ‘फिजिकल डिस्टान्स’ जस्ता अंग्रेजी शब्दहरू नेपाल भित्रिए । नेपाल सरकारले पहिलोपटकको ‘लकडाउन’ घोषणा यही अंग्रेजी शब्दमै गर्‍यो । तर, यस्ता शब्दको कानुनी तथा राजनीतिक र विभिन्न प्रयोजन भइरहने हुनाले नेपालीमा नै प्राविधिक शब्द–शब्दावलीको निर्माण वाञ्छनीय हुन्छ । यसैले नेपालीमा प्राविधिक शब्द बनाउने प्रयासमा ‘बन्दाबन्दी’, ‘घरबन्दी’ जस्ता शब्दहरू चर्चामा आएपछि कनकमणि दीक्षितले सुरुमा प्रयोग गरेको ‘बन्दाबन्दी’ शब्द मन्त्रिपरिषद्ले समेत प्रयोग गरेको सन्दर्भमा अब स्थापित हुनेछ भन्ने लाग्छ । घरबास हुनेहरू घरभित्र बस्ने मात्र होइन, देशदेशावर नै बन्दको स्थितिमा रहने भएकाले बन्दाबन्दी शब्द उपयुक्त देखिन्छ । यसरी नै रोगको संक्रमण हुन नदिन ‘भौतिक दूरी’, ‘सामाजिक दूरी’ भन्ने नौलो शब्दावली प्रचलनमा आयो । सामरिक हातहतियार, युद्धक जेट, बमवर्षक विमान, युद्धपोतहरू, सिपाही र कमान्डरहरू बन्दुकका

गोली–गठ्ठाहरूसँग लडिने युद्ध भनेर बुझिरहेकोमा कोरोना भाइरसले ‘युद्ध’ शब्दको अर्थ विस्तार गर्‍यो । यो युद्ध औषधिका गोलीसँग रोगविरुद्ध लडिने युद्ध भयो । सामाजिक–राजनीतिक वैमनस्यका कारण लडिन्थ्यो पुरानो युद्ध । कोरोना भाइरसविरुद्धको युद्ध भने सामाजिक सौहार्दता, सहायता र सद्भावले लडिने देखियो ।

कोरोना भाइरसको रोकथाम, निदान, उपचारका लागि विश्व अहिले युद्धस्तरमा काम गरिरहेको छ । तर, कोरोना भाइरस डिजिज–१९ बढ्तै आततायी निस्क्यो । मेडिकल साइन्समा आजसम्म गरिएको प्रगतिले चक्मा खाएको छ यो महामारीविरुद्धको लडाइँमा । बालकृष्ण समले लेखेजस्तै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ चरितार्थ भइरहेको स्थिति छ ।

मानवीयताको पक्ष

वुहानमा रोग फैलिनेबित्तिकै त्यहाँका नेपालीले देश फर्किने याचना गरेपछि नेपाल सरकारले भक्तपुरको खरिपाटीमा आगन्तुकलाई एकान्तबासमा राख्ने तयारी गर्दा–नगर्दै स्थानीयबाट ठूलो विरोध भयो । यसले नेपालीको मानवीयताको एउटा पक्ष र सामाजिक दायित्वबोध कस्तो रहेछ भन्ने दर्सायो । त्यसो त कोरोना भाइरस रोग चीनमा मात्रै सीमित हुनेछ भन्ने विश्वास गरेर बस्यो चीनबाहिरको संसार । एक प्रकारले चीनको खिल्ली उडाउने र खुच्चिङ भन्ने लाक्षणिक अर्थका सामग्री पस्कनमै पश्चिमा सञ्चारजगत् रमाएर बस्यो एक महिनाजति । नेपालमा पनि त्यही सिको गरेको देखियो । ‘तिमीलाई खाने बाघले मलाई पनि खान्छ’ भन्ने हेक्का भएन । तर, नेपालमा समेत यो रोगको संक्रमण भित्रिन सक्छ भन्ने भएपछि बजार भाउ आकासियो, बजारबाट सामान सबै हरायो । प्रथमत: साधारण सर्जिकल मास्क थाहै नपाई सकियो बजारबाट । कालोबजारी बढ्यो । नेपालमा पनि पुँजीवादीका लागि हरेक संकटले मुनाफा कमाउने नयाँ अवसर ल्याउँछ भन्ने भनाइ चरितार्थ भयो ।

नेपाली चरित्रको मानवीय पक्षको अर्को उदाहरण देखियो : इन्डोनेसियाका १३ जना मुस्लिम पाहुनाले कतै बास नपाएको स्थिति । तराईको एक जिल्लामा धार्मिक कार्यक्रममा भाग लिएर फर्किएका उनीहरू सुरुमा बालाजु, माछापोखरीको मस्जिदमा बस्ने योजना थियो । स्थानीयले विरोध गरेपछि प्रहरीले उनीहरूलाई ललितपुरको इमाडोलस्थित जामे मस्जिद पुर्‍यायो । त्यहाँ पनि स्थानीयले विरोध गरी बस्न नदिएपछि उनीहरूलाई गोदावरी लगियो । फेरि स्थानीयको विरोधपछि उनीहरूलाई अन्यत्रै लैजानुपरेको कुरा समाचारमा आएको थियो । दुई महिनाभन्दा अगाडि नेपाल प्रवेश गरेका पाहुनामाथि नेपालीको यस्तो व्यवहारले ‘पर्यटक पाहुना हुन्, पाहुना देउता समान हुन्छन्’ भन्ने नेपाली भनाइको धज्जी उडेको छ । यसरी कोरोनाले सबैभन्दा पीडा दियो, यात्रामा रहेकालाई । एकअर्कामा संक्रमण नहुने कुष्टरोगीलाई त पाप–धर्मसँग जोडेर गाउँ निकाला गर्ने उहिलेको नेपाली समाज, छेउ पर्दा नै रोगको संक्रमण हुन्छ भनेपछि नचिनेको निरोगीलाई पनि छेउ पर्न दिएनन् अहिलेका मानिसले ।

माथि उल्लिखित प्रवृत्तिलाई आम प्रवृत्ति मान्ने हो भने सामाजिक सौहार्दता, सद्भाव, ऐक्यबद्धता र निष्ठाका हिसाबले नेपाली मानवीयता कमजोर हुँदै गएझैँ लाग्छ । नेपाली समाज क्रमश: आत्मकेन्द्रित र व्यक्तिमुखी वा बढीमा आफ्नै परिवारकेन्द्रितसम्म बन्दै गएको भान हुन्छ । हामीमा सामाजिक नैतिकता र सामूहिकताको भाव ह्रास हुँदै गएको छ । यसरी नै नेपाली समाजको चारित्रिक विशेषता ह्रास हुँदै जाने हो भने नेपालीको चरित्र अन्ततोगत्वा न पश्चिमी देशको झैँ व्यक्तिप्रधानतामुखी हुनेछ न त पूर्वीय सामाजिक सामूहिकतामुखी नै । यस्तो प्रवृत्ति विकसित हुँदै जानमा कतै नेपालको विद्यालय शिक्षा प्रणाली वा हाम्रो आफ्नै समाजको सामाजिकीकरणमा केही खोट छन् कि !

वैश्विक तहमा कोरोना प्रभाव

विश्व व्यवस्थाका आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक सबै पक्षमा कोरोना महामारीको बृहत् र दीर्घकालीन असर पर्नेछ भन्ने लाग्दैन । किनभने वर्तमान विश्वका सबै देश, उत्पादन प्रणाली र राज्यव्यवस्थासमेत परस्परमा अत्यन्त अन्तरसम्बन्धित र अन्तरनिर्भर भैसकेका छन् । विश्व समाजको हरेक कुना, तह र तप्कामा मुद्रा र मार्केटको प्रभाव यति भित्रसम्म प्रवेश गरेको स्थिति छ कि यसबाट पछाडि फर्कन असम्भव छ । अहिले आर्थिक उत्पादन प्रणाली एक हदसम्म केही महिनालाई आंशिक रूपमा ठप्प वा निलम्बित भइरहेको स्थिति मात्र हो । साथै मुद्रा र मार्केटको हैसियत अहिले आंशिक रूपमा निलम्बित छ ।

केही समयपश्चात् हालको निलम्बित उत्पादन प्रणाली र प्रक्रिया सुचारु भएपछि संरचनाले आफ्नो पूर्वरूप लिनेछ । विश्व अर्थव्यवस्थामा कोरोना भाइरसको महामारीले ल्याएको आर्थिक मन्दीको परिणामको हिसाबकिताब त हुनेछ तर विश्व अर्थव्यवस्था पूर्वरूपमै फर्कनेछ किनभने सम्पूर्ण कुराहरूको पूर्वाधारमा क्षति पुगेको वा भत्केको स्थिति होइन । विकसित देशहरू र कामको अवसर प्राप्त खाडी देशबाट कामदारहरू फर्काइन्छन् होला भन्ने जो त्रास छ, त्यसरी त ती देश नै चल्ने छैनन् । बरु अहिलेको संकटमा घरबाट टाढा रहनुपरेकाहरू कहिल्यै विदेश नजाने गरी फर्कने सम्भावना पनि उत्तिकै छ । यसर्थ नेपालजस्तो देशको निमित्त कृषि प्रणालीमा नयाँ खेती पद्धति सुरु गरेर आत्मनिर्भरताको पक्षमा हिँड्न सकिन्छ । स्थानीय समुदायलाई आत्मनिर्भर हुनेगरी विकास र समृद्धिको नयाँ मोडेलहरू लागू गर्न सकिन्छ ।

यस महामारीको असर आर्थिक पक्षभन्दा केही ज्यादा विश्व राजनीतिमा पर्ला कि भन्ने लाग्छ । आगामी नोभेम्बरमा सम्पन्न हुने यूएसएको राष्ट्रपतिको निर्वाचनको पृष्ठभूमिमा हालका राष्ट्रपतिले कोरोना क्राइसिसलाई राजनीतिक हतियारको रूपमा पनि प्रयोग गरिरहेको प्रस्टै छ । यसै क्रममा यूएसएले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको कोष रोक्ने घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका एक पूर्वअधिकारीले ट्रम्पको यस्तो चाल मानवताविरुद्ध अपराध हो भन्ने आरोप लाएका छन् । स्थिति हेर्दा चीन आफ्नो उत्पादन प्रणालीको पुरानै लयमा चाँडै फर्कने अवस्थामा छ ।

मानिलिऊँ, विश्व स्वास्थ्य संगठनलाई यूएसएले यस वर्षका लागि कबोल गरेको कोष करिब ५७ मिलियन यूएस डलर साँच्चै नै रोक्यो र त्यो रकम चीनले थपिदियो भने यूएसए र यूएनबीचको राजनीति कस्तो होला ? चीन पुरानै लयमा फर्किरहँदा अफ्रिकी देशहरूसँग चीनको हालको नजिकको सम्बन्ध पुरानै गतिमा अघि बढाइरहन सक्नेछ । एउटा सम्भावना, चीन लामो समय कोरोना महामारीले थला परेको भए अफ्रिकासँगको उसको सम्बन्धमा आउने खाली ठाउँ भर्न युरोप वा उत्तर अमेरिका तयार हुने अवस्था आउन सक्थ्यो । तर, हाल परिस्थिति युरोप र उत्तर अमेरिकाका लागि प्रतिकूल भइदियो । उनीहरू आफैँ तंग्रिन केही समय लाग्ने देखियो । युरोपियन युनियनभित्रको आन्तरिक राजनीतिमा पनि केही हदसम्म कोरोना प्रभाव पर्छ भन्ने लाग्छ ।

नेपाली अवस्था

नेपालमा कोरोना महामारी फैलन नदिन पूर्वसावधानी अपनाउने क्रममै आर्थिक, सामाजिक हिसाबले दैनिक रूपमा ज्यालादारीमा जीवन गुजारा गर्नुपर्ने सबैभन्दा कमजोर वर्गले नै ठूलो संकट भोग्नुपर्‍यो । हामी घरबासको बन्दोबस्त भएकाहरू लकडाउन घोषणा हुनासाथ घरभित्र पस्यौं र हात धुँदै बस्यौँ । दैनिक ज्यालादारीमा काम गर्नेका लागि सात दिन मात्र पनि काम छुट्यो भने उनीहरू र उनीहरूको परिवार भोक–भोकै रहनुपर्ने सम्भावना शतप्रतिशत हुन सक्छ । यस्तो स्थितिको कामदार भोकै हुनुभन्दा रोगले भेटे पनि निको हुन्छु भनेर काम खोज्छ । यसैले हुन सक्छ, काठमाडौंका कामदारहरू दैनिक दर्जनौंको संख्यामा पैदल हिँडेर घर–गाउँ फर्किरहेका छन् । सोलुखुम्बुबाट कैलाली, ललितपुरदेखि सुनसरी जाँदै छन्, भक्तपुरदेखि बर्दिया हिँड्दै छन् । केही होला कि भन्ने आशाले काठमाडौं पसेका कामदार आज भोकले रन्थनिएर जीवनको ‘लङ मार्च’ मा छन् । यहाँ ‘लकडाउन’ को विरोध गरिएको होइन तर सरकारले यस्ता घोषणा गर्दा विपन्न वर्गलाई सर्वप्रथम ध्यानमा राख्नुपथ्र्यो । घरबास हुने त्यसैभित्र बस्छन्, घरबासै नहुने कहाँ बस्लान् भन्ने हेक्का सरकारले राखेन । सबैखाले समस्या, संकट बुझ्न र समाधान खोज्न वर्गीय कोणबाट केलाउनुपर्छ भनेर हामी कहिल्यै थाक्दैनौं । हामी केही गरिखाएका, अलिकति पढिखाएकाहरूको चेतना र मजदुर वर्गको मुक्तिको लडाइँ लड्ने हाम्रो वर्गवादी चेत पनि लकडाउनसँगै लकअप भएको पत्तै भएन ।

करन कुँवर र पुष्पा पौडेलले ‘काठमाडौं उपत्यकामा मजदुरहरूलाई पुग्दो पिउनलाई सफा पानी उपलब्ध छैन, हामी हरेक आधा घण्टामा साबुन–पानीले हात धुँदै बस्ने’ अभियान चलाइरहेका छौँ लेखेर फट्कारेपछि अनि कवि विनोदविक्रम केसीले ‘लालबहादुर घरभित्रै छ’, सामाजिक ‘दूरीका निम्ति यति धेरै चिन्ता गर्नुपर्दैन, सदियौँदेखि हुने र नहुनेबीच विकराल छँदै छ दूरी’ लेखेर सान्त्वना दिएपछि मात्र हामी ढुक्कले बस्न सकेका हौँ घरभित्र पनि । काठमाडौंमा हामी केही गरिखाएका, पढिखाएका लालपथका बटुवाहरू, आफ्नै अनुहार ऐनामा हेर्दा यस्तो लाग्छ— हामी मुखले माक्र्सवादी हौँ, चित्त र चिन्तनले सामन्तवादी हौँ र जीवनशैलीले पुँजीवादी हौँ– बन्दाबन्दी हाय हाय, हामी सुरक्षित हुन पाए, कामदारहरू जतासुकै जाय ।

महेन्द्र पी लामाका वाक्यांश लिने हो भने ‘कोरोनालाई पनि राजनीतिको नाङ्लोमा निफन्ने प्रवृत्ति’ नेपालमा पनि छरपस्टियो । राजनीति सरकारपक्षीय र सरकारइतरमा मात्र सीमित रहेन, अझ दुवै पक्षबीच गुट उपगुटमा विभक्त भएर सरकारले अपनाएका कोरोनाबाट बच्ने उपायप्रति समर्थन र विरोधका स्वरहरू प्रवाहित बने । कोरोना संकटसँग जुझ्न सर्वदलीय सरकारको अनौपचारिक माग उठ्यो । एक जना प्रतिपक्षका नेताले मध्यावधि निर्वाचनको जिकिर पनि गरे । फेरि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनुपर्छ भन्ने पनि आयो । सरकार पनि के निर्णय कसरी गरिरहेको छ, आफैँलाई पत्तो नहुने गरी आत्तिएजस्तो देखियो । पैदलै घर फर्किरहेका मजदुरका लागि दुई दिन यातायात चल्ने निर्णय गरियो । आँखा झिमिक्क गरियो, अनि पढियो त्यस्तो कुनै निर्णय भएको छैन । कमरेड प्रचण्डले ठीकै भनेका रहेछन्, ‘द्वन्द्ववाद भनेको त हो पनि होइन पनि हो नि त ।’

कोरोना भाइरसविरुद्धको लडाइँ प्राविधिक र सामरिक क्षमताले मात्रै लड्न सकिने होइन । यसलाई सामाजिकता, आपसी सहयोग, समझदारी र सामाजिक अनुशासनले रोक्न र जित्न सकिन्छ । तर, यहाँ न त सत्तासीनमा निष्कपटता र निष्ठा प्रतीत हुन्छ न त प्रतिपक्षीमै जिम्मेवारीबोध ।

प्रकाशित : वैशाख ६, २०७७ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×