लालबहादुर–लालकुमारी सडकमै छन्

वन्दना ढकाल

काठमाडौँ — वैशाख चार गते बिहान साढे छ बजे । कीर्तिपुरको भित्रीगाउँदेखि नगाउँ दोबाटोसम्म मानिसहरूको एउटा लामो लस्कर देखियो । बालबालिका, तन्नेरी र अधवैंशेहरू रहेको करिब साठी सत्तरी जनाको त्यो लस्कर घर फर्कन चाहने मजदुरको थियो ।

लालबहादुर–लालकुमारी सडकमै छन्

कसैका हातमा दुनोटका स–साना पोका थिए । कसैको हातमा चाउचाउ । कसैले आधा रित्तिएका पानीका बोतल समातेका थिए । कसैका टाउकामा जेब्रा झोला ।

केही महिलाहरूले छातीमा झोलुङगो झुन्ड्याएजसरी कुर्थाको पातलो चुन्नीले बच्चा बोकेका थिए, सँगसँगै एउटा हातको कान्छी औंलामा ५–६ वर्षको अर्को सन्तान हतेरिरहेका थिए । बाँकी चार औंलाले चाउचाउ र बिस्कुटका प्लाष्टिक अड्याएका । अर्को हातमा जेब्रा झोला चपक्क पारेका । कोही पुरुषका काँधमा झोला थियो, कोहीले हाफ जाँघेभित्र सुरुवाल उनेका थिए । यस्तो लाग्थ्यो– काँधमा झोला भिर्दा हिँड्दाहिँड्दै गाह्रो हुन्छ, बरु जीउमा उने सजिलो । उनीहरू पंक्तिबद्ध हुँदै नगाउँ दोबाटो छिचोल्न के लागेका थिए, पुलिसले झ्याप्पै रोके । सँगै हातमा पन्जा, मुखमा मास्क लगाएका एक व्यक्तिले खल्तीबाट हत्तपत्त अपरेसन थियटरका डाक्टरले लगाउने जस्तो सेतो कभर झिकेर टाउकोमा लगाए र अघिअघि हिँडिरहेका मान्छेलाई हप्काउँदै सोधे, ‘तपाईंहरू कहाँ हिँडेको ?’

काँधमा झोला, खुट्टामा तुने चप्पल, हाफ जाँघे लगाएका करिब ४५–५० वर्ष जतिका ती मान्छेले सुस्तरी भने, ‘हामी घर जान हिँडेको ।’

‘अहिले लकडाउन छ भन्ने थाहा छैन ? सरकारले तिमीहरूलाई जहाँ छौ, त्यही बस भनेको होइन ? घरमै बस भनेको होइन ? किन यसरी हिँडेको ?’

‘हामी कसरी बस्ने यहाँ ? महिना दिन हुन लाग्यो काम नपाएको, पैसा पनि छैन, खानेकुरा पनि छैन । भोकले मरिने भयो भनेर घर जान थालेको,’ ती व्यक्तिले यसरी गुनासो पोखे, मानौं यति भनेपछि अगाडि जान बाटो खुल्छ ।

‘कसरी भयो महिना दिन ? लकडाउन गरेको त २०–२२ दिन पो भयो त । खान पाएन भने त्यहाँको वडालाई भन भनेर सरकारले भनिराखेको छ त, त्यति भन्दा नि कुरा बुझ्दैन ?’ उनले चर्को स्वरमा हप्काए । ‘खान पाएको भए को यसरी हिँड्थ्यो र हजुर ?’ ती व्यक्तिले गुनासो गर्दै थिए ।

चोकमा प्रहरीहरू बाटो छेकेर उभिएका थिए । स्थानीय युवा स्वयम्सेवकजस्तो देखिने ती युवाले भने मजदुरहरूलाई लकडाउन के हो भनेर सिकाइरहेका थिए । उनी भन्दै थिए, ‘तिमीहरू घर गयौ भने पनि तिमीहरूलाई कसैले घरमा राख्दैन, बाटोमा अन्त पनि तिमीहरूलाई कसैले अगाडि जान दिँदैन । तिमीहरू आफूहरू पनि मर्छौ, अरुलाई पनि मार्छौ ।’

त्यतिन्जेल उभिएका जति मजदुरहरू सबै थचथुचुक्क घरछेउका पेटीमा बसे । बालबालिकाहरू यताउता पल्याकपुलुक्क गर्न थाले । उनीहरूलाई पनि के थाहा– आमाबाले कहाँ लैजान खोजेका हुन् ? अहिले फेरि बाटैमा किन रोकिएको हो ? कहाँसम्म हिँडेर जानुपर्ने हो ? अगाडि पुलिसले रोकेको छ, लस्करको अगुवालाई एउटा खाइखाँदो मान्छेले हप्काइरहेको छ, आतंकित देखिन्छ, केटाकेटीहरूको अनुहार ।

विश्वभरि फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण सरकारले नेपालमा पनि गत तीन हप्तादेखि लकडाउनको घोषणा गरेको छ । कुनै तयारी र योजनाबिना गरिएको यस घोषणाले ‘सरकार’ र सरकार संरक्षित वर्ग त सुरक्षितै बस्यो तर लाखौं ज्यालादारी मजदुरलाई भने अचानकै भोकभोकै मर्नुपर्ने परिस्थितिमा धकेलिदियो ।

जसलाई रातदिन श्रम गरेर जीवन धान्नुपर्ने मजबुरी छ, ती मजदुरलाई के थाहा यो कोरोना भनेको के हो ? यो कसरी सर्छ ? यसले गर्छ के ? बरु उनीहरूसँग त पहिलेदेखि नै कोरोनाभन्दा भयानक चीज अर्थात् भोक दिनरात आफैँसँग टाँसिएको छ । जुन दिन काम गर्‍यो, त्यो दिन चामल किनेर डेक्ची बसाल्यो, नत्र भोकै सुत्यो । दिनरात आन्द्रा बटार्ने डरलाग्दो भोकभन्दा कुनै पनि महामारी मजदुरहरूका लागि मामुली हुन्छ । मजदुरहरू हैजा आउला र मरिएला भनेर काम छाड्न सक्दैनन् । किसानहरू अनिकाल पर्न सक्छ भनेर खेतीपाती गर्न छाड्दैनन् । काम गर्न छाड्नु र छाक टार्न नपाउनु जति पीडादायी बेला मजदुर–किसानका लागि अरु हुँदैन ।

लम्बिइरहेको लकडाउनले देशभरिका मजदुरहरूको एकैचोटि रोजीरोटी खोसिदिएको छ । त्यो नै उनीहरूका लागि सबैभन्दा खराब परिस्थिति हो । उनीहरूका लागि यतिखेर कोरोना भाइरस वा सरकारी लकडाउनबारे सोच्ने बेलै होइन । त्यसैले जहाँ सानो आफ्नो थात छ, त्यतै हिँडे उनीहरू । सयौं किलोमिटरको बाटो पार गर्न साथीहरू जुटेर । कतै थाकेर बस्दा सँगैको साथीले खोल्साखोल्सीबाट ल्याएको पानी खान्छस् भनेर त सोध्छ भन्ने भरोसामा उनीहरू दुधे केटाकेटी चेपेर हिँडिरहेका छन् । सरकार भने पानी सोध्नु त के, दिनदिन भाटा बर्साउँदै छ, गरिबका ढाडमा ।

प्रत्येक दिनका समाचारमा देश फर्कन र सहर छाड्न खोज्ने मजदुरको ताँती देखिन्छ । काठमाडौंको मान्छे हिँडेर कैलाली जान कस्सिएको छ । पोखराको मान्छे बर्दिया हिँड्दै छ । कोही महाकाली नदीमा हेलिएको छ । तर हिँडेरै र पौडेरै घर भेट्टाउने आशा बोकेको मजदुरलाई सरकारी आदेश उल्लंघनको सजायस्वरूप मुद्दा लगाउने तयारी गर्छ ।

अहिले जो कोहीको पनि मनमा सरकारको यस्तो निर्दयी र मजदुरद्वेषी रवैयाप्रति आक्रोश छ । नगाउँ दोबाटोमा संगीत र म उनीहरूको संवाद सुनिरहेका थियौँ । ‘अझ त्यहाँ उभिन्छौ ?’ एकजना पुलिसले मतिर हेरेर हप्काउन शैलीमा भनेँ ।’

‘किन, कुरा सुन्न पनि नपाउने ?’ म पनि पुलिससँग अलि चर्को स्वरमा बोलेँ । सरकारले देखाइरहेको कर्तव्यहीनतासँग उठेको रिस अलिकति भने पनि मैले पुलिससँग चर्किएर पोखेँ ।

‘यहाँ नबस्नुस्, तपाईंहरू जानुस्,’ पुलिसले वरिपरि आइपुगेका अरु स्थानीयलाई पनि हप्कीदप्की गर्न थाल्यो । संगीत फोटो खिच्न खोज्दै थिए । एकजना कुनै स्थानीयले त मोबाइलमा फोटो खिचिसकेकै रहेछन् । ‘फोटो नखिच्नुस्, किन फोटो खिचेको ? मान्छेलाई दुख परिरहेको फोटो खिच्न तपाईंलाई लाज लाग्दैन ?’ अघिदेखि मजदुरहरूको लस्करलाई बाटो छेकिरहेका हट्टाकट्टा युवाले फोटो खिच्ने मान्छेलाई पनि हप्काए । उनले थचाथुचुक बसेका सबै महिला, केटाकेटीहरूलाई एकएक गर्दै भने, ‘उठ्नुस्, उठ्नुस् ! तपाईंहरू यहाँबाट फर्किहाल्नुस् । जहाँबाट आउनुभएको हो, उतै जानुस् । सबै उठ्नुस् । सबै उठ्नुस् !’

हामी पनि केहीबेर मजदुर उल्टो फर्केको बाटोतिर हिँड्यौं । अलि पर पुगेपछि संगीतले फर्कंदै गरेका एकजना अधवैशें मजदुरलाई सोधे, ‘तपाईंहरू कहाँ जान लाग्नुभएको हो दाइ ?’

‘मकवानपुर घर जान हिँडेको ।’

‘अनि कहाँबाट आउनुभएको त अहिले ?’

‘हामी थानकोटमा ज्यालादारी गर्छौं, एक महिनादेखि काम छैन, खानेकुरा पनि छैन । अनि घर फर्कन खोजेको जानै दिँदैनन् ।’

‘अनि उता थानकोटबाटै जाँदा हुन्थ्यो नि, किन यता आउनुभएको त ?’ संगीतले सोधे ।

‘त्यताबाट पनि जान दिएन, त्यहाँको पुलिसले यता धपाइदियो,’ उनले आफ्ना कुरा नसक्दै तिनै युवा फेरि चर्को स्वरमा चिच्याए, ‘सुन्नुभएन तपाईंहरूले ? चाँडो फर्कनुस् !’

त्यतिन्जेल मजदुरहरूको त्यो लर्को नगाउँको उकालोतिर फर्किसकेको थियो । चोकमा घरघरबाट मान्छेहरू बाहिर निस्केर कामदारहरूको विजोग हेरिरहेका थिए । उनीहरूलाई धपाउँदै गरेका (सायद उनी कीर्तिपुर नगरपालिकाका स्वयंसेवक हुन्) युवालाई पनि हामीले सोध्यौँ, ‘उनीहरूलाई यसरी फर्काउनुभन्दा यहाँको स्थानीय निकायसँग समन्वय गरेर उनीहरूको खानेबस्नेको व्यवस्था गर्न सकिँदैन ? उनीहरूलाई केहीबेर रोकेर नगरपालिका प्रमुखसँग पो कुरा गर्नुपर्थ्यो कि ?’

‘होइन, नगरपालिकाले नै बाहिरको मान्छेलाई उनीहरू जताबाट आएका हुन्, उतै पठाइदिनुपर्छ भन्ने निर्णय गरेको छ’, उनले भने ।

‘ए, नगरपालिकाले नै फर्काउन भनेको हो ?’

‘हो,’ यसो भन्दै उनी स्थानीयलाई पनि सम्झाउन थाले, ‘तपाईंहरू घरबाहिर ननिस्कनुस्, घरभित्र जानुस् । बाहिर के रमिता हेर्न निस्कनुभएको ?’

हामी बिहान दुई घण्टा मात्रै खुल्ने कीर्तिपुर सहकारी पसलमा सामान किन्न पुगेका थियौं । पसल खोल्नुअघि नै सडकमा देखिएको यस्तो दृश्यले हामीलाई धेरैबेर तनाव भयो । मोबाइलमा दुई–तीन ठाउँमा फोन डायल गर्‍यौं । कसैको उठेन । धेरैबेर छटपटी भयो । अनि संगीतले १०० मा डायल गरेर प्रहरीमा टिपाए, ‘कीर्तिपुरको नगाउँ भन्ने ठाउँमा बालबालिकासहितका ६०–७० जना मजदुरहरू अलपत्र छन् । उनीहरू खानबस्नको समस्या भएपछि मकवानपुर आफ्नो घरमा फर्कन खोजिरहेका रहेछन् । यहाँका स्थानीयले बाटो छेकेका कारण उनीहरू बाटैमा अलपत्र छन् । कीर्तिपुर प्रहरी वा नगरपालिकामा खबर गरेर उनीहरूको व्यवस्थापन गर्न सकिन्थ्यो कि ?’

‘हुन्छ, हजुर हामी कुरा गरिहाल्छौं,’ प्रहरीले भन्ने यस्तै हो । उताबाट यस्तै जवाफ आएछ । मजदुरहरूको लर्को नगाउँ हुँदै राराहिल नगरतिर फर्क्यो । त्यसपछि पनि संगीतले अरु एक/दुई ठाउँमा फोन गरे । हामी नगाउँचोकतिरै फर्क्यौं ।

थानकोटका मान्छेलाई छेकेर कीर्तिपुर पुर्‍याउने, कीर्तिपुरबाट लघारेर फेरि उतै पठाउने प्रहरी र स्वयम्सेवकहरू निमित्त मात्रै हुन् । किनभने उनीहरूले कर्तव्य पालना गर्ने आफ्नो विवेकले होइन, माथिको आदेशले हो । माथि अर्थात् टाउको । अर्थात् सरकार र सरकार चलाइरहेका शासकहरू । शासकहरू जनताको चित्कार कतै सुनिन्छ कि भनेर खोपडीमा किटनाशक औषधी छर्केर सत्गुरु र बालयोगी आदित्यनाथका ‘दिव्यवाणी’ सुन्न मस्त होलान् । किट अर्थात् जनता । हो, शासकका लागि जनता भनेका आखिर कीट हुन्, कीराबराबर । शासकका लागि कीराको के मूल्य ? कीराहरू सत्तामा उकाल्ने बेलामा मात्रै काम आउँछन् । चुनावका बेलामा ती कीट रातारात जनतामा रूपान्तरित हुन्छन् । सायद, आजकल शासकहरूको खोपडी किटनाशक औषधीमा लठ्ठिएर शरीरबाट निकालेर भेन्टिलेटरमा राखिएको छ । यस्तो मुर्कट्टाशासित समयमा मजदुरहरूले ‘घर’ पुग्नका लागि कोशौंकोश हिँडेर गौडा पार गर्न देऊ भन्दै पुलिससँग अनुनय गर्नु बेकार छ ।

पन्ध्र वर्षअघि यस्तै मौसम थियो । साल २०६२/६३ । त्यही नगाउँ दोबाटोबाट यस्तै तुने चप्पल, अर्धानो जाँघे लगाएका पुरुष, पिठ्यूँमा दुधे बच्चा बोकेकादेखि सबै उमेरका महिला अनुहारमा जोश, रगतमा आक्रोश उमालेर, एउटा हात हावामा मुठ्ठी पार्दै अर्को हातले झण्डा समातेर नयाँबजारतिर लम्किएका थिए । निरंकुश शासनसत्ता ढाल्न । यिनै मैलाधैला लुगा लगाएका, गलैंचा कारखानाका सिपालु, इट्टाभट्टा मिस्त्री, ज्यामी, मजदुर सबैसबै मोर्चाबद्ध थिए ।

ठ्याक्कै यही समय हो– घाम पनि यस्तै लागेको थियो । नयाँ शासकहरूले बिर्सिसके– के र कसरी अहिले यो मखमली मोर्चा आरक्षित भएको थियो ? त्यो यही बेला हो है– मजदुरहरूको आक्रोश सडकमा उर्लिँदाको परिणाम के हुन्छ ? किनकि मजदुरहरूलाई थाहा छ– केवल भोकले कंकाल भइसकेको शरीरलाई केही गुम्ला कि भन्ने कुनै डर लाग्दैन ।

र, कवि विनोदविक्रम केसीले अर्को कविता लेख्नेछन्– लालबहादुर–लालकुमारी सडकमा निस्किसके !

प्रकाशित : वैशाख ६, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?