कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सामाजिक होइन, भौतिक दूरी !

रोगको भयले मान्छेलाई सामाजिक र भावनात्मक रूपमा झन् टाढा नपारौं, कमजोर नपारौं । किन ‘समाजिक दूरी’ भन्नुपर्‍यो ? ‘भौतिक दूरी’ वा ‘शारीरिक दूरी’ कायम गरौं भन्न सकिन्न ? विश्व स्वास्थ्य संगठनले नै ‘भौतिक दूरी’ भनौं भनिसकेको छ । 
सुरेश ढकाल

काठमाडौँ — ‘टाढिनुपर्ने रोगसँग हो । तर, मान्छेहरूबाट टाढा भइरहेका छौं,’ प्राध्यापक चैतन्य मिश्रको टिप्पणी हो यो । कोरोना भाइरसको कारण अपनाइएको सामाजिक दूरीको असरप्रति लक्षित टिप्पणी थियो त्यो ।

सामाजिक होइन, भौतिक दूरी !

मेरो थप टिप्पणीे थियो, ‘कतै आजको समाजिक दूरी भोलि गएर सामाजिक विभेद र बहिष्करणको कारण नबनोस् ।’

आउनुस् यिनै दुई दृष्टिकोणमा आधारित रहेर सामाजिक दूरी कायम गर्ने अभ्यासको सम्भावित सामाजिक–मनोवैज्ञानिक परिणाममाथि विमर्श गरौं । शताब्दीऔंदेखि सामाजिक दूरी र त्यसले सिर्जित विभेदको चोटले आक्रान्त नेपाली समाजमा नयाँ–नयाँ स्वरूपमा सामाजिक दूरी कायम गर्ने विषय थपिँदै जाँदा सम्भावित दुष्परिणामको भयले त्रसित हुनु स्वाभाविक हो, जो म भएको छु ।

विपद्, नयाँ शब्दावली र अर्थविस्तार

संसार एउटा विश्वग्राम हो भन्ने फेरि एकपटक सहज रूपमा चरितार्थ भयो, जब कोरोना भाइरस सिर्जित रोगको प्रभावले विश्वका बडेबडे सहरदेखि तेस्रो मुलुकको कुनै सुकुम्बासी बस्तीसमेतलाई एउटै चपेटामा पार्‍यो । कठिनाइ ती श्रमिकको बस्तीमा बढी भयो । तर, भय विश्वका धनाढ्यहरूलाई पनि उत्तिकै रहेको अनुमान गर्न सकिन्छ । यस महामारीले पार्ने प्रभाव भने फरक–फरक छ, जुन स्वाभाविक हो । यस्तो समयमा विश्वभरि नै महामारीसँग जोगिने उपायका केही वैश्यिक चरित्र हुन्छन् । त्यसै क्रममा चलनचल्तीमा आयो— सोसल डिस्टान्सिङ, अर्थात् सामाजिक दूरी कायम । कुनै पनि शब्दको भाव, अर्थ निर्माण र विस्तार क्रममा तिनले स्थानिकता पनि ग्रहण गर्छन् । त्यो सामाजिक दूरी कायम गर्ने विषयमा पनि यही लागू हुन्छ ।

कतिपय अवस्थामा अनुवादले प्रथम वा मूलभाषाको मर्म बोक्न सक्दैनन् । मानवशास्त्रीहरू भाषा र सोच (विचार) को सम्बन्ध के हुन्छ, सांस्कृतिक विम्ब–विधानले कसरी मानिसको सोच प्रभावित पार्छ भनी तुलनात्मक अध्ययन गर्छन् । उनीहरू कुनै भाषा (यहाँ शब्द वा शब्दावली) प्रचलनमा आउँदा विभिन्न सांस्कृतिक समूहका स्थानीयले त्यसको अर्थबोध, अर्थग्रहण कसरी गर्छन् र अर्थविस्तार कसरी हुन्छ र त्यसैका आधारमा कसरी अवधारणा निर्माण हुन्छन् भनी ध्यान दिन्छन् ।

कोरोना महामारीसँगै भित्रिएको यो सामाजिक दूरी कायम गर्ने अर्थात् सोसल डिस्टान्सिङको विषय पनि त्यसैअनुरूप हेर्नुपर्ने हुन्छ । सोसल डिस्टान्सिङले जे अर्थ दिन्छ, त्यो समाजमा जहाँबाट यो शब्दको प्रचलन सुरु भयो, सामाजिक दूरीले ठ्याक्कै त्यही अर्थ नदिन सक्छ यहाँ । साथै सामाजिक दूरी कायम गर्न गरिएका कार्यले जे अर्थ निर्माण गर्छ, त्यो प्रसारणकर्ताले इच्छाइएको अर्थ नहुन सक्छ ।

भाषिक अर्थमा मात्र होइन समाजिक, मनोवैज्ञानिक दृष्टिकोणमा पनि यो अनुपयुक्त रहेको कुरा विश्व स्वास्थ्य सगंठनले नै पनि भनिसकेको हो । उसले भन्यो, ‘सामाजिक दूरी कायम गर्ने कुराको सामाजिक र मनोवैज्ञानिक प्रभाव नकारात्मक हुन सक्छ, बरु सामाजिक रूपमा झन् गाँसिइनुपर्छ, तर भौतिक दूरी कायम गरेर ।’ अहिलेको समयमा प्रविधिको उपयोगमार्फत सहजै निकट रहन सकिन्छ, भौतिक रूपमा नै समीपमा हुनु आवश्यक छैन, विश्व स्वास्थ्य संघकी इपिडिमोलोजिस्ट मारिया केर्खोभको भनाइ थियो ।

कोरोना सन्त्रास

मानिसहरू हडबडाएका छन् । व्याकुल छन् । उनीहरूमा अनौठो छटपटी छ । अन्योल छ । रोगको प्रकृति वा रोग सार्ने भाइरसको प्रकृति कुनै छापामार युद्धको शक्ति र सामर्थ्यबारे कसैलाई थाहा नभएको भूमिगत दस्ताजस्तो भयो– कुन बेला, कहाँ, कसलाई आक्रमण गर्छ थाहै नहुने । काठमाडौंलगायत अन्य ठाउँमा समेत संक्रमण देखापरेपछि मान्छेका सन्त्रास झनै बढेको छ ।

जब मान्छेलाई मौजुदा औषधि विज्ञान र स्वास्थ्य सुविधाको सीमितताबारे थाहा भयो, उनीहरू आतंकित बने । विकसित देशमा समेत स्वास्थ्यकर्मीहरू व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्त सुवधिा नपाएर जोखिमयुक्त वातावरणमा रहेर काम गर्नुपर्‍यो, सर्जिकल मास्क सर्वसुलभ हुन सकेन, तब यो संक्रमणको सम्भावना सन्त्रास बनेर आयो, हाम्रोतिर पनि । हाम्रा बेथितिका कुरा त छँदै छन् ।

यस्तो अवस्थामा रोग प्रसारण र संक्रमणको प्रकृतिले सहज रोकथामको विधि बन्न गयो– लकडाउन र सोसल डिस्टान्सिङ । उदगमस्थल चीनमा लकडाउन र सोसल डिस्टान्सिङको सफल प्रयोगका कारण पनि अन्यलाई सहज अनुकरण स्वाभाविक बन्यो ।

सामाजिक दूरी कायम गर्ने विषयको परिणाम कतिपय ठाउँमा व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी नभई साँच्चैको सामाजिक दूरी बन्न जाने छाँट देखियो । समाचारमा आएका सामाजिक दूरी कायम गर्नका लागि भएका केही अभ्यास र घटनाले त्यस्तै संकेत गरे । त्यस संकेतले कस्तो सामाजिक मनोविज्ञान निर्माण गर्दै छ भनी बुझ्न पर्याप्त छ ।

वैदेशिक रोजगारीबाट फिरेका मानिसको घरमा झन्डा गाड्ने, टाढैबाट देखिने चिह्न लगाउने कार्य एकातिर छ, जसले ती परिवारलाई सामान्यभन्दा फरक हुन् है भन्ने जनाउने भयो– मानौँ ती घरपरिवार दोयम हुन् र बाँकी अरू अब्बल । यसर्थ भाइरस संक्रमित हुनु वा सम्भावित संक्रमित ठानिनु पनि अरूले के ठान्लान् भनेर चुपचाप बस्ने मनोविज्ञान निर्माण हुँदै गयो । कतै कालान्तरमा विभेदमा पो परिन्छ कि, बहिष्करणको सिकार हुनुपर्छ कि भन्ने डर हुने भयो । जसले हिजो बिफर (शीतला) लागेकालाई डाँडा कटाएको कुरा सुनेका थिए, कुष्ठरोग (महारोग) लागेको परिवारमा बिहेबारी नै गर्न कोही नमान्ने अनुभव सँगालेका थिए, जसले एचआईभी संक्रमितलाई गरेका घृणा देखेका थिए, आज उनीहरू सन्त्रस्त हुने नै भए ।

समाज र सामाजिक निकटता

समाज त मान्छेलाई गाह्रो परेको बेला झनै चाहिन्छ । आफ्नाहरू, आफन्तहरू यस्तै बेला बढी महत्त्वपूर्ण हुन्छन् । मानिसहरू भावनात्मक हिसाबले झनै जोडिनुपर्ने बेला हो यो । यस्तो बेला मान्छेलाई सान्त्वना आवश्यक पर्छ । हाम्रोजस्तो कमजोर स्वास्थ्यसेवा र प्रणाली भएको ठाउँमा समुदायको, समाजको भूमिका महत्त्वपूर्ण हुन्छ, हुनु पनि पर्छ । अनि कहाँबाट आयो यो सामाजिक रूपले टाढा बस्ने कुरा ? कहाँबाट आयो यो सामाजिक दूरीको कुरा ? कसरी नाप्ने हो यो सामाजिक दूरी ?

समाज र सामाजिक हुनुको समाजशास्त्रीय अर्थमा प्रवेश नगरीकनै पनि भन्न सकिने कुरो के हो भने मान्छेलाई सामाजिक दूरीमै बस् भन्नु भाषिक र सामाजिक दुवै रूपले गलत हो । त्यसले अर्को पक्ष वा टाढै बस्नुपर्ने पक्षलाई राम्रो खाले मनोवैज्ञानिक प्रभाव त पक्कै पर्दैन । भौतिक दूरी वा शारीरिक दूरी भनिदो हो त ती शब्दका अर्थबोध फरक ढगंबाट हुँदो हो, भावार्थ फरक पर्दो हो ।

‘मान्छेको जातलाई आफ्नो नजिक जान नपाइने कुराले सबभन्दा कमजोर बनाउने रहेछ,’ अमेरिकामा कार्यरत एक स्वास्थ्यकर्मीको अनुभव थियो त्यो, जब उनी कोरोना भाइरस संक्रमणका कारण कोठामा थुनिएर बस्नुपर्‍यो ।

अब भन्नुस् मान्छेलाई सामाजिक रूपले नै विभेद गरिने हो कि भन्ने डर, समाजले नै कतै अन्य वा असामान्य ठान्ला कि भन्ने डरले कस्तो मनोभाव उत्पन्न गर्दो हो ? आफ्ना ठाउँभन्दा पर रहेर काम गर्ने मजदुरको बिचल्ली हामीले दैनिक देख्दै आएका छौँ । कमजोर राज्यप्रणाली भएको ठाउँमा नागरिकले सास्ती पाउँछन् । तर, सामाजिक दूरी कायम गर्ने ‘धर्म निर्वाह’ गर्न समाजले गरेका हर्कत पनि कम जिम्मेवार छैनन् । कुनै विषयलाई विज्ञानसम्मत ढंगबाट बुझाउन नसक्दा त्यसलाई धर्मको रूपमा ग्रहण गर्न लगाइन्छ वा गरिन्छ भने त्यसको परिणाम सुखद हुँदैन । मानिसले सार्वजनिक सडक, पुल, गौंडाहरूमा तगारो लगाएका छन्, कतै कोही पराया आफ्नो बस्तीमा छिर्लान् कि भनेर । यो कस्तो मानवद्वेषी कार्य हो ? के यसले मान्छेप्रति नै घृणा उत्पन्न गर्दैन ?

पश्चिमा केही देशमा चाइनिज मूलका एसियाली अमेरिकीमाथि भएको घृणायुक्त दुर्व्यवहारको समाचार सबैले सुनेकै छन् । यसर्थ कतै यो जातीय घृणा र द्वेषको कारण पो बन्ला कि भनेर होसियार हुनु अतिशयोक्ति सोच्नु पक्कै होइन ।

‘जातीय मर्यादालाई व्यवस्थित गर्न’ भनिएको जयस्थिति मल्लका सुधारदेखि जंगबहादुरको मुलुकी ऐनका कारण सिर्जित जातीय विभेदको पीडा खेप्नेलाई सोध्नुहोस्— सामाजिक दूरीको दुःखाइ कस्तो हुन्छ भनेर ।

सामाजिक दूरी कायम गर्ने कुराले कसैलाई भावनात्मक चोट नपुगोस् भनेर सोच्नैपर्छ । सामाजिक दूरीको सम्भावित जोखिम कतै सामाजिक विभेद र बहिष्करणको रूपमा प्रकट नहोस् भनेर बेलैमा होस पुर्‍याउनैपर्छ । मान्छेले अर्थ त उसकै एतिहासिक, सामाजिक सन्दर्भमा नै निर्माण गर्ने हुन् नि !

अन्त्यमा,

यी तर्कको अनर्थ नलगाइयोस् । महामारीको बेला रोगबाट आफू जोगिन र अरूलाई पनि जोगाउन कडा अनुशासन पालना गर्नैपर्छ । संक्रमणको सम्भावना हुँदा भौतिक दूरी कायम गर्नैपर्छ । रोगलाई अँगाल्ने भनेको होइन तर रोगको भयले मान्छेलाई सामाजिक र भावनात्मक रूपमा झन् टाढा नपारौं, कमजोर नपारौं भनेको हो । संक्रमित नै हो भनेर जाने पनि छिःछिः दूरदूर गर्नु पर्दैन । सके सहानूभूति र सद्भाव दर्साउनु ताकि मान्छेको सामाजिक अनुहार प्रकट होस्, न कि स्वार्थी अनुहार मात्र ।

कहिलेकाहीँ अनुपयुक्त शब्द चयनले अनुमानातीत परिणाम ल्याउन सक्छ । किन ‘समाजिक दूरी’ भन्नुपर्‍यो ? ‘भौतिक दूरी’ वा ‘शारीरिक दूरी’ कायम गरौं भन्न सकिन्न ? उदेकलाग्दो त कतिपय ‘विज्ञ’ र सञ्चारमाध्यम नै यसमा सचेत देखिएका छैनन्, जब कि विश्व स्वास्थ्य संगठनले नै ‘भौतिक दूरी’ भनौं भनिसकेको छ ।

सामाजिक रूपमा हामी सँगै छौं भन्ने अर्थ प्रसार गरौं । यथार्थ, त्यो शब्दको अर्थले निर्माण गर्ने यथार्थ नै किन नहोस्, सामाजिक रूपमा नै निर्मित कुरा हुन् । मान्छेका व्यवहारका अनेकौं अदृश्य परिणाम हुन सक्छन् । आखिर मान्छेको जीवनमा यति धेरै विडम्बना छँदै छन्, थप अर्को एक विडम्बना किन ?

प्रकाशित : वैशाख ६, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?