लकडाउन र विराटनगर जेलको सम्झना

झापा विद्रोहसँग असहमत भएर होला, मनमोहन दाइ जेलमा रहँदा कम्युनिस्ट साथीहरूको मेसमा खाना नखाई हाम्रो मेसमा खाना खानु हुन्थ्‍यो ।
हरिहर दाहाल

सन् २०१९ को अन्तमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संकट विश्वव्यापी बनिसकेको छ । भारतमा पनि संक्रमणको प्रभाव बढ्न थालेको छ । त्‍यहाँ मृत्‍यु हुने पनि बढेका छन् । यो संकटमा नेपाल पनि अछुतो छैन । गत चैत ११ गतेदेखि जारी लकडाउन पटकपटक अवधि थप गर्दै वैशाख १५ गतेसम्मका लागि बढाइएको छ । 

लकडाउन र विराटनगर जेलको सम्झना

यो लकडाउनको अवधिमा साहित्य, धर्म र राजनीतिसँग सम्बन्धित पुस्तकहरू पनि अध्ययन गर्दै छु । २०३४ सालदेखि कानुन व्यवसाय सुरु गरेपछि दसैं–तिहारको समयमा बिदामा बसेको र परिवारसँग समय बिताएको बाहेक यति लामो समय मैले कहिल्यै पनि घरमा बसेर जीवनयापन गरेको छैन ।

लकडाउनमा घरमा बन्दीसरह बस्नुपर्दा राजकाज मुद्दाको अभियोगमा विराटनगर जेलमा २०२८ साल कात्तिकदेखि २०३० साल भदौसम्म बिताएको बन्दी जीवनको सम्झना आइरहेको छ । बन्दी जीवनमा सँगै रहनुभएका केशवप्रसाद कोइराला (कोसु दाइ), मनमोहन अधिकारी, प्रभुनारायण चौधरी, राम, लक्ष्मण, तेजनाथ भण्डारी, पीपी सिटौला, वासु शाक्य यस धरतीमा हुनुहुन्न । अरू त्यसबेला बन्दी अवस्थामा रहेका कतिपय साथीहरूसँग भेट पनि भएको छैन । यसैगरी २०३६ सालमा थुनामा पर्दा सँगै हुनुभएका मित्र वसन्त थापाको पिता इन्द्रबहादुर थापा पनि हामीमाझमा हुनुहुन्न ।

२०२८ देखि २०३० सालसम्मको अवधिमा हामी जेलमा बस्दाको दैनिकी सम्झना भइरहेको छ । सम्झँदै जाँदा बिहान आफ्नो नित्य कर्म सकेपछि बिहानै जेल कम्पाउन्डभित्र वरिपरि हिँड्ने र दौड्ने काम गथ्र्याैं । साथै यथाशक्य व्यायाम पनि गर्थ्यौं । कस्तो नास्ता र खाना खाने भन्नेबारेमा कोसु दाइ (डा. शेखर कोइरालाको पिता) को सम्झना हुन्छ । उहाँले नास्ता खानाको बारेमा तय गर्ने र व्यवस्थापन गर्ने काम भने अशोक कोइराला (भूपू प्रम सुशील कोइरालाका भाइ) ले गर्नुहुन्थ्यो । कोसु दाइ आफैं डाडु–पन्यु चलाउँदै विशेषगरी मासु र तरकारी सब्जीको परिकार तयार गर्नुहुन्थ्यो । कोसु दाइलाई स्वादिष्ट

भोजन चाहिने तर अल्पाहारी हुनुहुन्थ्यो । मनमोहन अधिकारी भने न धेरै, न कम ठीकै खानुहुन्थ्यो । यसका अतिरिक्त कोइराला निवासबाट पनि पठाइएका विभिन्न परिकारहरू पनि हामीले कोसु दाइको सौजन्यबाट खान पाउँथ्यौं । अहिले हामी पनि घरमा लकडाउनमा बसेको बेलामा श्रीमती गायत्री, छोरा र बुहारीसमेत मिलेर मीठोमीठो परिकार बनाउँदै आनन्द लिँदै छौं ।

पुन: जेलजीवन सम्झँदा कोसु दाइले खासगरी २००७ सालको क्रान्ति कथालाई जीवन्त वर्णन गरी सुनाउनुहुन्थ्यो । भारतीय स्वतन्त्रता संग्रामसँग जोडिएका विभिन्न घटनाहरू पनि सुनाउनुहुन्थ्यो । जननायक बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको जन्म भएदेखि कांग्रेसका नेताहरू बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराईसमेतले निर्वाह गर्नुभएको भूमिका र कोसु दाइ स्वयम्ले २००७ सालको क्रान्तिमा विराटनगर गोस्वरा कब्जा गर्दाको रोमञ्चकारी घटनाको वर्णन गरी सुनाउनुहुन्थ्यो । कोसु दाइ हामीलाई ऐतिहासिक र राजनीतिक पुस्तक पढ्न उत्प्रेरित गर्नुहुन्थ्यो । यसैगरी मनमोहन दाइ भने कम्युनिस्ट साहित्यप्रति जानकार हुनुहुन्थ्यो । उहाँकै मुखबाट तत्कालीन सोभियत युनियनमा भएको अक्टुवर क्रान्ति, लेनिनले नेतृत्व गर्नुभएको बेलादेखि खुस्चेभसम्मका कुराहरू, कार्ल माक्र्सको ‘दास क्यापिटल’ र ‘कम्युनिस्ट मेनिफेस्टो’ बारेमा वर्णन गर्दै छलफल चलाउनुहुन्थ्यो । साथै चीनको जनवादी क्रान्तिदेखि भारतमा त्यसबेला चारु मजुमदारको नेतृत्वमा भइरहेको नक्सलवादी आन्दोलनसम्मको परिघटना पनि सुनाउनुहुन्थ्यो । हामी भने आर्थिक समानता र राजनीतिक स्वत्रन्तता दुवै अपरिहार्य भएकाले प्रजातान्त्रिक समाजवाद नै उत्तम आदर्श हो भन्दै बीपी

कोइराला, राममनोहर लोहिया र रोजा लक्जेम्बर्गका चिन्तनलाई आधार मान्नु नै उपयोगी हुन्छ भन्थ्यौं । त्यसताका मनमोहन दाइ झापामा चलिरहेको विद्रोह अर्थात् वर्गशत्रुविरुद्धको आन्दोलनप्रति सहमत हुनुहुन्थेन । सर्वविदितै छ, झापा विद्रोहका नायकहरूमध्ये हाल प्रधानमन्त्री केपी शर्मा ओली पनि हुनुहुन्छ । यो पनि उल्लेख गर्नु उपयुक्त हुन्छ, कि सुखानी हत्याकाण्डमा सहिद भएका झापा विद्रोहका नायक रामनाथ दाहाल नै केपी ओलीका राजनीतिक गुरु र पदप्रदर्शक हुन् भन्दा अत्युक्ति हुँदैन । झापा विद्राहसँग असहमत भएर होला, मनमोहन दाइ जेलमा रहँदा कम्युनिस्ट साथीहरूको मेसमा खाना नखाई हाम्रो मेसमा खाना खानुहुन्थ्यो । राजनीति यस्तै नै हो, २०४७ सालमा आएर मनमोहन अधिकारी आम कम्युनिस्टहरूको नेता बन्न पुग्नुभयो ।

२०३० साल जेठ २८ गते विमान अपहरणको घटना हुँदा हामी जेलमै थियौ । सो विमान अपहरणको घटनापछि मुलुकको राजनीतिमा तरंंग पैदा हुन थालेको थियो । त्यसपछि राम–लक्ष्मण जेलबाट भागेर भारत जाने विचार सुनाउन थाले । बीपीले आह्वान गर्नुभएको सशस्त्र क्रान्तिमा हामी युवाहरू भाग लिन जानुपर्छ, जेल बसेर हुँदैन भनेर सधैं भनिरहन्थ्यौं । यसै क्रममा २०३० साल असार अन्ततिरजस्तो लाग्छ, जेलबाट विराटनगर अस्पतालमा उपचार गर्न जाँदा राम, लक्ष्मण र म तीनै जना सँगै थियौं । उपचार गराएपछि रामले पुलिसको आँखा छलेर भागौं भने । दुई जना मात्र प्रहरी थिए, उनीहरूले पनि हामीलाई पूरै विश्वास गर्थे । चाहेको भए भाग्न पनि सक्थ्यौं, तर मैले राम र लक्ष्मणलाई भनें, ‘बंगलादेशका नेताहरूसँग भारतीय नेताहरूको असमझदारी बढिरहेको छ, विमान अपहरण घटनापश्चात् भारतीय सरकारको रबैया पनि कडा भइरहेको छ भन्ने खबर हामीले सुन्छांै यस्तो अवस्थामा भागेर भारत जानु उचित

छैन, मलाई सशस्त्र क्रान्ति गर्ने बीपीको भावना र विचार ठीक भए तापनि स्वदेशमै बसेर क्रान्ति गर्नुपर्छ भन्ने किसुनजीको विचार ठीक लाग्छ, भारत नजाऔं ।’ त्यसपछि हामी तीनै जना अस्पतालबाट जेल फक्र्यौं । पछि मलाई तोकिएको कैद भुक्तान भएपछि २०३० भदौ अन्तमा जेलमुक्त भएँ । म जेलमुक्त भएको २, ३ महिनापछि राम–लक्ष्मण जेलबाट भागेर भारत गएछन् । तत्पश्चात् २०३१ सालमा नेपाली कांग्रेसको आह्वानमा भएको ओखलढुंगाको टिम्बुरबोटे घटनामा राम–लक्ष्मण दुवै सहिद

भए । राम–लक्ष्मण जीवित रहेको भए यो मुलुकमा लोकतन्त्रको संवद्र्धनमा उनीहरूको सशक्त भूमिका हुने थियो । राम–लक्ष्मणको नाम यो लोकत्रान्त्रिक संघर्षको इतिहासमा स्वर्णाक्षरले अंकित छ । यो लकडाउन अवधिमा विगतलाई सम्झँदै जाँदा बन्दी जीवनका जीवित साथीहरूसँग ‘नमरी बाँचे दैवले साँचे’ भनेझैं पछि पनि भेटौंला ।

अन्त्यमा, कोरोना भाइरसको महामारीको बेलामा घरमा सुरक्षित बसांै त भन्छौं तर दिनभरि काम गरी हात–मुख जोड्ने ठूलो जनसंख्या बेरोजगार हन बाध्य छ । समतामूलक ढंगबाट त्यो जनसमुदायमा राहत पुग्न सकेन भने रोगबाट भन्दा पनि भोकमरीबाट मानिसको मृत्यु हुन सक्छ । यसतर्फ सरकारको ध्यान जाओस् । काठमाडौंबाट आ–आफ्नो घर जान चाहने जनसमुदायलाई सुरक्षित ढंगबाट जानदिने व्यवस्ता गरिनु नितान्त आवश्यक छ ।

प्रकाशित : वैशाख ६, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?