दोहोरो लकडाउनमा

माघे संक्रान्ति रमाइलोसँग मनाइरहँदा तपाईं-हामी कसैलाई पनि होली मनाउन पाउनेछैनौं भन्ने लागेको थिएन । चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसबारे माघे संक्रान्तिताका सानोतिनो समाचारका रूपमा सुनेका थियौं ।

दोहोरो लकडाउनमा

अहिले कोरोना भाइरसले संसारलाई ठप्प पारेको छ । विश्वका सात अर्ब मानिस घरमै थुनिएका छन् । शक्तिशाली हुँ भन्ने मान्छे पनि यो भाइरससँग डराएर घरभित्रै लुक्न विवश छ ।

फागू पूर्णिमा नजिकिँदै गर्दा कोरोना भाइरस धेरै देशमा फैलिसकेको थियो । यहाँ पनि आउन सक्छ भन्दै सजग हुन विभिन्न सञ्चारमाध्यमले सूचना दिइरहेका थिए । तैपनि हामी आ-आफ्नो काम गरिरहेका थियौं । थोरै-थोरै डर भए पनि हामीले सामान्य नै मानिरहेका थियौं । बिस्तारै धेरै मुलुकमा मान्छेहरूको मृत्यु भएका समाचार दैनिक पढ्न र सुन्न थालेपछि वातावरण त्रस्तै बन्दै गयो ।

होलीका लागि किनिएका टिसर्ट र पिचकारी छोराले मन गह्रौं पार्दै दराजभित्र थन्क्यायो । होली खेल्ने रहर पालेर बसेका धेरै नानीबाबुले घरैभित्र टीका मात्र लगाएर मन बुझाए । ठूलाहरूको होली पनि सामान्य नै देखियो । होलीको भोलिपल्ट मैले छोरालाई मास्क र स्यानिटाइजर लिन पठाएँ ।

सार्वजनिक यातायातबाट कलेज जाने छोराका लागि यी सामग्री अनिवार्य रूपमा चाहिन्थ्यो । एक छिनमा ऊ तीस-चालीस रुपैयाँ पर्ने मास्क बोकेर आयो । स्यानिटाइजरबारे सोध्दा भन्यो, ‘पाइनँ । यो मास्कको पनि २५० पर्‍यो ।’ मैले बढीमा ५० रुपैयाँ पर्ने मास्कको २५० तिर्दा विरोध गर्नुपथ्र्यो नि भन्दा ऊ जवाफियो, ‘सबै सकिएको छ रे ! कति पसल गएपछि बल्ल पाएँ ।’

मलाई झट्ट भान्साको याद आयो । ओहो, यस्तै हो भने त हरेक कुरामा कालोबजारी हुन सक्छ । अरू केही नभए पनि ग्यास, चामल र नुनको जोहो गर्नुपर्छ । सधैं सामान किन्ने पसलका दाइलाई फोन गरेर अनि सामान र ग्यासबारे सोधें । उनले भने, ‘बहिनी, किन आत्तिनुभा’ ? सामान टन्न छ । हल्लाको पछि नलाग्नू । ग्यास पनि भर्खरै झर्‍या छ ।’

सरकारले लकडाउन यसै पालि गरेको भए पनि म करिब डेढ वर्षदेखि यस्तै अवस्थामा छु । २०७५ असार १६ मा स्कुटी दुर्घटनामा परेपछि १०० दिनको अस्पताल-बसाइ भयो । लामो समय घरमै थेरापी अनि आराम गरेपछि बल्ल बाहिरी संसारमा पाइला चाल्न थालेकी मेरा लागि भने यो दोहोरो लकडाउन हो ।

पसले दाइले ढुक्क बनाए पनि के हो के हो भन्ठानेर मैले केही दिनपछि भनें, ‘ग्यास पठाइदिनुपर्‍यो, सकियो ।’ ‘कहाँ ग्यास छ र ? सकियो ।’ यो सुनेर म त छाँगाबाट खसेझैं भएँ । कडै बोली निकालें, ‘अस्तिको दिन मात्र ग्यास छ भन्या होइन, कसरी सकियो ? मलाई जसरी भए पनि चाहियो । कि ग्यास लुकाउनुभयो ? यस्तो अवस्थामा एकले अर्काेलाई सहयोग गर्नुपर्नेमा लुकाउने काम नगर्नुस् है ?’ उनी नरम भए, ‘होइन नि बहिनी, भरे बेलुका आउँछ । म बिहानै पठाइदिन्छु ।’ नभन्दै बिहानै दाइले ग्यास पठाइदिए ।

लकडाउन सुरु हुँदा अलिक दिन भए पनि स्कुल-कलेज जानु नपर्ने भयो भनेर खुसी भएका छोराछारी अहिले बोर हुन थालेका छन् । हुन पनि आफ्नै घर र यसो हावा खान मिल्ने ठाउँ भए त सजिलै हो, नत्र सानो कोठामा बस्ने बालबालिकालाई कति कष्ट होला ? गृहिणीहरूको छुट्टै पीडा छ । प्राय: दिन बिराएर भिडियो कल गर्ने विराटनगरकी साथीले लकडाउनपछि कल गर्न छोडी । झनै फुर्सदिलो समय हो यो, त्यसैले मैले नै भिडियो कल गरें । लगभग एक बजेको हुँदो हो, ऊ खाना पकाउँदै रहिछ । ‘यति बेला

खाना ?’ मैले सोधें । ऊ विरक्तिई, ‘के भन्छेस् र ? न खानको टुङ्गो न सुत्नको । कति बेला नास्ता, कति बेला खाना । हैरान छु म । पहिले पो खाना र खाजा टाइम-टाइममा थियो र फुर्सद हुँदो रैछ ।’

पर्समा पैसा च्यापेर बसेका, हातहातमा इन्टरनेटवाला मोबाइल अनि किताब पढ्ने बानी भएकाहरूलाई त दिन काट्न सहज हुन्छ र मन पनि ढुक्क हुने होला । तर जो बिहान-बेलुकाको छाक टार्न दिनभर काम गर्छन्, उनीहरूको अवस्था के होला ? दूध खोलामा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अनि तरकारी कुहिएर बारीमै गाड्नुपर्दा किसान रोइरहेका तस्बिरहरू मन कुँडाएर हेर्नुपरिरहेको छ ।

एक साँझ बरन्डामा निस्केर बाहिरतिर हेर्दै थिएँ । सधैं डोकामा साग डुलाउँदै आउने दिदीमा आँखा पर्‍यो । ती दिदी अति हँसिली थिइन् । डोकाभरि टनाटन साग हुन्थे । तर त्यस साँझ उनको हाँसो र डोकाको साग ओइलाएको थियो । आँखा निराश थिए । अवस्था यस्तै रहिरहे बिहान-बेलुकाको छाक कसरी टार्ने, कोठाभाडा कसरी तिर्ने भनी सोच्तै थिइन् होला उनी । बरा !

प्रकाशित : वैशाख ३, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?