महामारीपछिको अमेरिकी जनजीवन

मैना धिताल

सातामा एकचोटि (कहिलेकाहीँ त महिनामा १/२ चोटि) मात्रै हुने परिवारसँगको कुराकानीको ‘फ्रिक्वेन्सी’यतिबेला ह्वात्तै बढेको छ । दैनिकजसो परिवार, नातेदार र नजिकका साथीभाइसँग कुराकानी हुनु सामान्य भइसक्यो ।

महामारीपछिको अमेरिकी जनजीवन

उनीहरू सबैको एउटै चिन्ता र सुझाव छ, ‘अमेरिकामा कोरोना भाइरसले मान्छे सखाप भइसके । घरबाट बाहिर ननिस्कनू । आफ्नो ख्याल गर्नू ।’कोभिड–१९ ले सिंगो संसार आक्रान्त भए पनि अमेरिकाले भने सबैको ध्यान खिचेको छ । सोसल मिडिया र परम्परागत सञ्चार माध्यममा आएका समाचार हेरेर/पढेर मान्छेहरू अमेरिका खत्तमै भइसक्यो भन्ने ठानिरहेका छन् । बाहिरी संसारबाट हुने अमेरिकाप्रतिको बुझाइ र यहीँ बसेर भोग्दाको अनुभव भने अलि फरक देखिन्छ । यो आलेखमा त्यसैलाई समेट्ने प्रयास गरेको छु ।

दैनिक जनजीवन

अमेरिका खुला छ, अमेरिका बन्द पनि छ । यहाँका ५० राज्यमध्ये अधिकांशले ‘स्टे होम’अर्डर लागू गरेका छन् । ‘स्टे होम’अर्डर पनि कतिपय राज्यमा आंशिक रूपमा मात्र लागू छ भने कतिमा त्यो पनि छैन । जस्तो : आयोवा, नर्थ डकोटा, साउथ डकोटा, अर्कन्सास, नेब्रस्का राज्यमा भने ‘स्टे होम’अर्डर लागू गरिएको छैन ।

अमेरिकामा गरिएको ‘स्टे होम’अर्डर नेपाल, भारतलगायतका मुलुकले गरेको ‘लकडाउन’जस्तो अनिवार्य बन्द हैन । न्युयोर्कसिटीजस्ता बाक्लो बस्ती र जनसंख्या भएको ठूला सहरमा जीवन अलि सकसपूर्ण छ । तर, साना सहर र गाउँ क्षेत्रमा अवस्था फरक छ । ती ठाउँमा पनि मान्छेहरू कोरोनाप्रति सचेत देखिन्छन् । स्वैच्छिक रूपमै ‘सोसल डिस्ट्यान्सिङ’पालना गरिरहेका छन् ।

ग्रोसरी सपिङ (किराना सामान खरिद) गर्न बन्देज छैन । रेस्टुरेन्टमा बसेर खान नपाए पनि खानेकुरा अर्डर गरेर लैजान सकिन्छ । अनलाइनमार्फत घरमै चाहेको सामान मगाउन सक्ने विकल्प पनि छँदै छ । पार्क वा सडकपेटीमा ‘जगिङ’गर्नेहरू अझै भेटिन्छन् । तर, मान्छेहरूको नजिक नजान सजग छन् । कतिपयले घरबाटै अफिसको काम गरिरहेका छन् ।

ग्रोसरी स्टोरहरूमा अत्यावश्यक उपभोग्य सामानका र्‍याकहरू सुरुआती दिनमा रित्ता देखिए पनि आपूर्ति भई नै रहेको छ । सबै कुरा भनेको समयमा नपाइएला । तर, अधिकांश सामान ढिलोचाँडो पाइन्छ ।

कोरोना मृत्युको अतिरञ्जना !

यो सत्य हो कि अमेरिकामा कोभिड–१९ बाट संक्रमित र मर्नेको संख्या बढिरहेको छ । यसबीचमा चार नेपालीको ज्यान पनि गएको छ । तर, यसको अर्थ कोरोनाले पूरै अमेरिका तहसनहस बनाएको भन्नु उचित नहोला । शुक्रबार दिउँसोसम्म अमेरिकामा ४ लाख ६८ हजार संक्रमित पाइएकामध्ये १६ हजार ७ सयले ज्यान गुमाएका थिए । यसको बढी प्रभाव भएको न्युयोर्कमा मात्रै पाँच हजारभन्दा धेरैको मृत्यु भएको छ । यहाँको मृत्युदर कुल संक्रमितको संख्याको करिब साढे ३ प्रतिशत मात्रै हो । यसको अर्थ हो, कोरोनाको संक्रमण भएका धेरै मान्छे निको भएका छन् र निको हुनेछन् ।

एकाथरी मानिसहरू कोभिड–१९ बाट हुने मृत्युलाई अतिरञ्जना गरिएको ठान्छन् । अहिले जति मानिसहरू यसबाट मरिरहेका छन्, त्योभन्दा बढी मानिस बर्सेनि मौसमी रुघाखोकीबाट मर्ने गर्छन् भन्ने उनीहरूको तर्क छ । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार बर्सेनि २ लाख ९० हजारदेखि ६ लाख ५० हजार मानिस मौसमी रुघाखोकी (फ्लु) बाट मर्ने गर्छन् । तर, मान्छेहरूले त्यसलाई खासै वास्ता गरेको पाइँदैन । सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार कडा रुघाखोकी (इन्फ्लुएन्जा) बाट अमेरिकामा सन् २०१० यता बर्षेनि ९० लाखदेखि ४ करोड ५० लाख मान्छे बिरामी हुने गरेका छन् । तीमध्ये १२ देखि ६१ हजार मान्छेको मृत्यु हुने गरेको छ ।

कोभिड–१९ ले यति धेरै ध्यान खिच्नुको मुख्य कारण यसलाई रोक्न भरपर्दो खोप र औषधि उपलब्ध नहुनु हो । यद्यपि, अनुसन्धानकर्ताहरू लागिरहेका छन् ।

कोभिड–१९ बाट मान्छेहरू मर्ने क्रम बढे पनि यसका कारण बन्दुक हिंसालगायतका अपराध र सडक दुर्घटनाबाट हुने मृत्यु भने घट्न पुगेको छ । असोसिएसन फर सेफ इन्टरनेसनल रोड ट्राभलको तथ्यांकअनुसार अमेरिकी सडक दुर्घटनामा बर्सेनि ३८ हजारभन्दा बढी मानिसले ज्यान गुमाउँछन् । यस्तै, सीडीसीकै तथ्यांकअनुसार बर्सेनि ३७ हजारभन्दा बढी अमेरिकीहरू बन्दुक हिंसामा परी मारिन्छन् वा मर्छन् । यद्यपि, परिवारका सदस्यहरू सामान्य समयमा भन्दा अहिले चौबीसै घण्टाजस्तो सँगै समय बिताउने हुँदा त्यसले घरेलु हिंसा भने बढाउन सक्ने आकलन छ ।

कहाँ चुक्यो अमेरिका ?

गत डिसेम्बरमा चीनको वुहान कोरोना भाइरसको प्रकोपमा जलिरहँदा ११ हजार ६ सय ४७ किमि टाढा रहेको अमेरिकाले भने त्यसलाई ‘टाढाको जोखिम’को रूपमा लियो । यसले अमेरिकालाई पार्न सक्ने असरप्रति सरकार र राजनीतिज्ञ गम्भीर भएनन् । उल्टै देशको वागडोर सम्हालेका राष्ट्रपतिले नै यसलाई ‘नयाँ होक्स’भन्दै उडाए । अमेरिकी सञ्चार माध्यमहरूका अुनसार ट्रम्प प्रशासनले जनवरी ३ मै चीनमा कोरोना भाइरसको प्रकोप फैलिएको जानकारी पाएको थियो । त्यसको केही दिनभित्रै गुप्तचर निकायले त्यसको जोखिम कति गम्भीर छ भन्ने कुरा राष्ट्रपतिलाई अवगत गराएका थिए ।

तत्कालीन अवस्थामा कोभिड–१९ को संक्रमण बढेका चीन, दक्षिण कोरिया, इटालीलगायतका मुलुकबाट यात्रा गर्न रोक लगाए पनि अरू उपाय खासै अवलम्वन भएन । वासिङ्टन पोस्टको दाबीअनुसार कोरोना भाइरसको गाम्भीर्यता बुझ्न ट्रम्प प्रशासनलाई झन्डै ७० दिन लाग्यो । अर्थात्, कोभिड–१९ ले प्रकोपको रूप लिएपछि मात्रै सरकार गम्भीर हुन थाल्यो ।

सरकारले समयमै ध्यान दिएको भए अवस्था यस्तो हुने थिएन भन्नेमा धेरै जना विश्वस्त छन् । किनकि अमेरिकासँग अरू मुलुकको तुलनामा बढी विज्ञता, स्रोत–साधन, योजना र महामारी विज्ञानसम्बन्धी बढी अनुभव थियो । अमेरिकाले कोभिड–१९ परीक्षणको सहज व्यवस्था नगर्नु नै ठूलो कमजोरी थियो । परीक्षण गर्न चाहेका सबैले त्यो सुविधा पाएनन् । परीक्षण गरिहाले पनि त्यसको नतिजा थाहा पाउन धेरै दिन कुर्नुपर्ने बाध्यता रह्यो ।

ढिलै भए पनि सरकारले कोभिड–१९ विरुद्धको लडाइँलाई तीव्र बनाएको छ । स्वास्थ्य सामग्री थपिएका छन् । अहिले र्‍यापिड टेस्टमार्फत गरिने परीक्षणमा पोजेटिभ नतिजा ५ मिनेटभित्रै र नेगेटिभ नतिजा १३ मिनेटभित्रमै देखाउन सक्ने उपकरण प्रयोगमा आइसकेका छन् । यस्तै, संघीय सरकारले हालै १६ करोड ७० लाख मास्क खरिद गर्ने निर्णय गरेको छ । यसअघि स्वास्थ्य तथा मानव सेवा विभागले गत महिना नै ६० करोड ‘एन ९५’मास्क अर्डर गरिसकेको छ । त्यसो त यसअघि अमेरिकामा सर्वसाधारणले मास्क लगाउने चलन थिएन । एसियाली मुलुकमा जस्तो मास्क लगाउने कल्चर नभएका कारण यसको आवश्यकता अलि ढिलो महसुस गरियो । घरबाहिर निस्कँदा धूलो–धूवाँ नहुने भएकाले पनि मास्कको सर्वसाधारणलाई आवश्यक थिएन । यतिबेला भने संघीय र राज्य सरकारले नै मास्क लगाउन सर्वसाधरणलाई आग्रह गरिरहेका छन् ।

अर्थतन्त्र र व्यापार व्यवसाय

कोरोनाले सिंगो विश्व अर्थतन्त्रलाई धक्का दिएको छ । विश्वको ठूलो अर्थतन्त्र अमेरिका त्योबाट अछुतो रहने कुरै भएन । यो संकटको घडीमा अर्थतन्त्र बचाउने उद्देश्यले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो रकम (२.२ ट्रिलियन डलर) को ‘आर्थिक प्रोत्साहन प्याकेज’ल्याइएको छ । उक्त प्याकेजले कामदार संरक्षणदेखि संकटमा परेका उद्योगलाई राहत दिनेसम्मको कार्यक्रम समेटेको छ । यसअन्तर्गत धेरैजसो अमेरिकीले –एकल आम्दानी ७५ हजारभन्दा कम) १२ सय वा २४ सय (दम्पतीको संयुक्त आम्दानी डेढ लाखभन्दा कम भएमा) डलरको चेक केही साताभित्रै पाउँदै छन् ।

कोभिड–१९ को मारमा एयरलाइन्स, होटल, महल, रेस्टुरेन्टलगायतका क्षेत्रमा बढी असर पुगेको छ । सेन्ट लुइज फेडको प्रक्षेपणअनुसार कोरोना संकटका कारण अमेरिकामा ४ करोड ७० लाख रोजगारी घट्नेछ । त्यसो भएमा कुल बेरोजगारी दर बढेर ३२ प्रतिशतसम्म पुग्नेछ । त्यही अवस्थालाई मध्यनजर गर्दै सरकारले यसअघि नै बेरोजगारलाई साप्ताहिक रूपमा भत्ता दिने निर्णय गरिसकेको छ । संघीय सरकारले चार महिनासम्म साताको ६ सय डलरका दरले बेरोजगारी भत्ता पनि उपलब्ध गराउँदै छ । कतिपय राज्य सरकारहरूले पनि छुट्टै बेरोजगारी भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।

तर, अमेरिकाका सबै उद्योग–व्यवसाय ठप्प भने छैनन् । ई–कमर्सलगायतका केही उद्योग–व्यवसाय फस्टाइरहेका छन् । जस्तो कि ट्वाइलेट पेपर, स्यानिटाइजर, स्टेसनरी र घरायसी उपकरणजस्ता सामानको माग बढिरहेको छ । बाहिर खाने धेरै मानिस यतिबेला घरमै पकाएर खान थालेका छन् । यसले मान्छेको स्वास्थ्य मात्रै सुध्रिएको छैन । बढ्दो घरायसी उपकरणको मागले ती त्यी उद्योगमा रोजगारी सृजना भएको छ । अझ कतिपय कामदारले ओभरटाइम पाएका छन् ।

कतिपय काम सुचारु गर्न प्रविधिले सजिलो बनाइदिएको छ । अधिकांश कलेज, विद्यालय र कर्पोरेट क्षेत्रको काम घरबाटै भइरहेको छ । शिक्षकहरू जुम, एडोबी कनेक्ट, गुगल ह्याङआउटजस्ता सफ्टवेयरमार्फत लाइभ पढाइरहेका छन् वा पढाउने तयारीमा छन् । बिद्यार्थी पनि घरमै बसेर ‘भर्चुअल क्लास’मा सहभागी भइरहेका छन् । धरै संघसंस्थाका कर्मचारी पनि ‘वर्क फ्रम होम’गरिरहेका छन्, जसले आफ्नै परिवारका सदस्यलाई ‘नयाँ सहकर्मी’बनाउन पाएका छन् ।

केही अर्थशास्त्रीहरू अर्थतन्त्रको भविष्यप्रति आशावादी देखिन्छन् । उनीहरूको भनाइ छ, ‘महामारीको अवस्था सकिएपछि मान्छेहरूको दैनिकी फेरि सामान्य बन्नेछ । मान्छेहरू काममा फर्कनेछन् । अर्थतन्त्र छिट्टै तंग्रिनेछ ।’अझ कोभिड–१९ विरुद्ध भरपर्दो खोप र उपचार उपलब्ध भयो भने त कुरै अर्कै । मान्छेहरू फेरि यात्रा गर्न थाल्नेछन् । होटलका बुकिङ बढ्नेछन् । विभिन्न सेवामूलक व्यवसाय सुचारु हुनेछन् । अर्थतन्त्र फेरि चलायमान हुनेछ । आर्थिक समृद्धिले फेरि गति लिनेछ । आशा गरौं, त्यो समयका लागि धेरै कुर्नुपर्नेछैन ।

प्रकाशित : चैत्र २९, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?