एउटा भाइरस र सामाजिकता

मञ्चला झा

‘हूलमूलमा जीउ जोगाउनू, अनिकालमा बीउ जोगाउनू’उखानको सान्दर्भिकता अहिले विश्वव्यापी भएको छ । कोरोना भाइरसबाट अहिले मानव जाति आक्रान्त छ । के शक्तिसम्पन्न के गरिब, सबै मुलुक त्राहिमाम् छन् ।

एउटा भाइरस र सामाजिकता

यसको जोखिमबाट बच्न मानव–मानव भौतिक दूरी नै सर्वोत्तम विकल्प भनिएपछि संसार ससानो भूगोलमा सीमित भएको छ । स्वभावैले स्वतन्त्र र खुला वातावरणमा विचरण गर्न रुचाउने मानव आज यति भयभीत र लाचार भएको छ, ऊ घर वा कोठाभित्र खुम्चिन विवश भएको छ ।

तीव्र गतिले फैलिँदै गएको यो महाव्याधिले विश्व अर्थतन्त्रको मेरुदण्ड नै कमजोर पार्ने संकेतहरू देखिन थालेका छन् । अर्थशास्त्रीहरूले प्रक्षेपण गरेअनुसार, सन् २००८–९ को भन्दा पनि ठूलो आर्थिक संकट विश्वले भोग्नुपर्नेछ । यस संक्रमणबाट बच्न अनेक मुलुक लकडाउनको अवस्थामा पुग्नुले पनि यसबाट दीर्घकालीन आर्थिक क्षति निम्तिने निश्चित देखिन्छ ।

यो महाव्याधिका कारण अमेरिकाजस्तो बलियो अर्थतन्त्र भएको महाशक्तिलाई समेत ठूलो धक्का लागेकाले विश्वका अन्य गरिब र अविकसित मुलुकको अवस्था के होला, सहजै अनुमान गर्न सकिन्छ । विश्वभरिका प्रायः व्यापार–व्यवसाय, उद्योगधन्दा, विकास–निर्माणका पूर्वाधार र परियोजनाहरू यतिखेर ठप्प र रोजगारदाता कम्पनीहरूसमेत धराशायी भएकाले मजदुरी गरी दुई छाक टार्नेहरू बिचल्लीमा पर्न लागेका छन् । यी जोखिम न्यूनीकरणका लागि साना–ठूला प्रायः देशले राहत प्याकेज ल्याउन थालेका छन् । यस्ता प्याकेजको प्राथमिकतामा गरिब बेरोजगार र असहाय छन् । तर कोरोनाले एउटा क्षेत्रमा मात्र सीमित नभई विश्वव्यापी महाव्याधिको आकार लिइसकेकाले यसबाट पर्ने आर्थिक जोखिमको मूल्यांकन गरी न्यूनीकरणको साझा पहल हुने नै छ ।

कोरोना तरंगले यतिखेर विश्वको राजनीतिक परिवेश नै फेरिएको छ । विश्व महाशक्ति अमेरिका र नवउदाउँदो शक्ति चीनबीच केही समययता चिसिएको व्यापारिक सम्बन्ध कोरोना प्रारम्भ भएसँगै उत्कर्षमा पुगेको थियो ।

आफ्नो बोलीका कारण सधैं चर्चामा आउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चीनलक्षित पछिल्ला अभिव्यक्ति र चीनले अमेरिकामाथि लगाएको आरोपले सुरु भएको वाक्युद्ध यतिखेर साम्य हुनु र कोरोनाविरुद्धको अभियानमा सहयोग तथा सहकार्यका लागि एकजुट भएर अघि बढ्नुले मानवताका अगाडि शक्तिउन्मादको कुनै स्थान हुँदैन भन्ने प्रमाणित गरेको छ ।


कोरोनाका कारण दक्षिण एसियाली मुलुकहरूको साझा संगठन सार्कसमेत जुरमुराएको छ । दक्षिण एसियामा कोरोनाको प्रवेशसँगै सार्क राष्ट्रका प्रमुखहरूबीच भएको भिडियो कन्फ्रेन्स र कोरोनाविरुद्ध खडा गरिएको कोषले साझा प्रयासको सन्देश दिएको छ । आशा गरौँ, विश्वव्यापीकरणको यो युगमा कोरोनाले अहंकारको तुषलाई क्षयीकरण गर्दै ‘वसुधैव कुटुम्बकम्’ को पाठ सिकाउनेछ ।


बिथोलिएको संस्कृति र मानवता

कोरानाले यतिखेर सबभन्दा बढी प्रभाव मानव जीवनको सामाजिक–सांस्कृतिक पक्षमाथि पारेको छ । विश्व स्वास्थ्य संगठनले समाज र मानव–मानवबीचको भौतिक दूरी बनाउन आह्वान गरेपछि अहिले विश्वभरि नै यसको अभ्यास भइरहेको छ । जुन मुलुकले सामाजिक–भौतिक दूरीलाई व्यवहारमा जति सफलतापूर्वक लागू गरेको छ, त्यहाँ त्यति नै कम कोरोनाको जोखिम खेप्नुपरेको छ । तर सामाजिक दूरीको सबभन्दा डरलाग्दो पक्ष अहिले के देखिएको छ भने, यसले मानव–मानव सम्बन्ध नै बिथोलिन पुगेको छ ।

सुख–दुःख बाँड्न मानिसलाई समाज चाहिन्छ । मानवीय संस्कार, रहनसहन र सिकाइमा समाजको ठूलो योगदान हुन्छ । जिउँदाको जन्ती र मर्दाको मलामी यत्तिकै भनिएको हैन । यसको सबभन्दा ठूलो उदाहरण २०७२ मा गएको भूकम्पमा देख्यौँ । उचनीच, जातभातको सबै विभेद मेटिएको थियो त्यति बेला । ठूलठूला महल र झुपडीमा बस्नेहरू एउटै टेन्टभित्र बसेका थिए, खानेकुरा बाँडेर खाएका थिए । तिनले सुख–दुःख सेयर गरेको देख्दा लागेको थियो— गजबको छ यो प्रकृतिको लीला, जसले धनी र गरिबबीचको सीमा मेटाइदिएको छ । तर अहिले कोरोना भाइरस विचित्र रूप लिएर आएको छ । अन्य महामारीभन्दा तीव्र गतिले फैलिने यसबाट बच्न समाजबाट पृथक् रहनुपर्ने, भीडभाड र जमघटबाट टाढिनुपर्ने अवस्था आएको छ ।


यतिसम्म कि, नातेदार, कुटुम्ब र छिमेकबाट समेत अलग भएर बस्न मानव जाति यतिखेर विवश छ । स्थिति यस्तो भयावह र त्रासद बन्दै गएको छ, कोही मर्दापर्दा आर्यघाट जानसम्म मान्छे हच्किने अवस्था छ । कोरोना संक्रमितप्रति मानवता र सहानुभूति जगाउनभन्दा घृणा र गालीगलौज बर्साउन यही समाजको एक तप्का उद्यत छ । अस्पतालहरूमा साधारण रोगका बिरामी आए पनि डाक्टरहरू हच्केर बिदामा बस्ने र बिरामीहरूलाई फिर्ता पठाउनेसम्मको अमानवीय व्यवहार पनि देखिएको छ । मानिसहरू न्यूनतम मानवीय दायित्वबाट पनि पन्छिन थालेका छन् । गाउँघरमा वैदेशिक रोजगारबाट फर्केकाहरूप्रति असहिष्णु व्यवहार गर्ने, सम्बद्ध परिवारबाट मुख लुकाउनेसम्मको अवस्था देखिन थालेको छ । कोरोना कहर लामो समयसम्म कायमै रह्यो भने हाम्रो सामाजिक जनजीवनमा दूरगामी असर पार्ने सम्भावना छ । कतै यसै कारण भविष्यमा सामाजिक सौहार्दमा ह्रास आउने त हैन ? मानवीय सम्बन्धमा चिरा उत्पन्न गर्ने त हैन ? गम्भीर प्रश्न उब्जाएको छ ।


कोरोनाको कहर साम्य भएपछि पनि हाम्रो समाज पहिलाजस्तो खुला नरहला । हिजोसम्म आफन्त या प्रियजन, इष्टमित्रलाई भेट्दा जसरी मानिस आलिंगनबद्ध हुन्थे, अब त्यसो गर्न निश्चय पनि झस्किन्छन् होला । भर्खरभर्खर समतामूलक सामाजिक अभ्यासतर्फ अग्रसर हुँदै गएको नेपाली समाजमा पनि यसले प्रभाव पार्ने नै छ । यसको मारमा सबभन्दा बढी फेरि दलित, सीमान्तकृत र सर्वहारा पिछडा वर्ग नै पर्ने सम्भावना देखिन्छ ।


अन्त्यमा, कोरोना महाव्याधि उग्ररूप लिएर आएको छ । मानवताविरुद्धको यो क्रूर लडाइँ जित्ने आखिर मानव जातिले नै हो । यो वास्तविकतालाई बुझेरै होला, ढिलो भए पनि आज विश्वशक्तिहरू एकजुट भएका छन् । संकटको यो बेला नागरिकको सुरक्षा र त्यसप्रतिको दायित्व निर्वाह गर्नु प्रत्येक राज्यको दायित्व हो । राज्यका लागि पनि यो परीक्षाको घडी हो । तर मानवीय संकटको यो समय हामी नागरिकले पनि आफ्नो कर्तव्य बिर्सिनु हुँदैन ।

निश्चय पनि हाम्रो मन अतालिएको छ, हामीबीच सामाजिक दूरी बढेको छ । तैपनि मानवीय संवेदना र भावनात्मक सम्बन्धले हामी जोडिएका छौँ । एकअर्कालाई भौतिक रूपमा केही सहयोग गर्न नसके पनि यो महामारीसित जुधिरहेकाहरूका लागि प्रार्थना गर्न नचुकौँ । विपत्तिको यो बेला धैर्यधारण गरौँ । न्यूनतम साझा मानवीय दायित्वबाट नपन्छौँ । मानवताका लागि एकजुट होऔँ ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?