स्मृतिमा २०४६ को आन्दोलन: चाक्सीबारीदेखि धादिङको जेलसम्म

कागजमा सही गर्नमात्र के भ्याएको थिएँ, प्रहरीले समातेर अरुङ्खोला किनारमा रहेको जिल्ला कारागारभित्र पुर्‍याए। यसरी सुरु भयो मेरो जेल बसाइ।
ध्रुव सिम्खडा

काठमाडौँ — चैत २६ को पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ कुन रोज्ने भनी प्रश्न गरेपछि मलाई ३० वर्षअघि आजकै दिनको याद आयो।

त्यसबेला प्रधानमन्त्री ओली र हामी दुवैथरी प्रजातन्त्र पुनर्प्राप्तिको आन्दोलनमा होमिएका थियौँ। त्यसैले म उहाँलाई स्मरण गराउन चाहन्छु- त्यसबेला हामी ‘जीवन रोज्दै थियौँ कि वैयक्तिक स्वतन्त्रता’?

हामी जेल/कारामुक्त हुँदा कति उन्मुक्त भएका थियौं? कारागारभित्रको स्मरण गर्न चाहन्छु।


२०४६ साल माघ। प्रतिबन्धित नेपाली कांग्रेस (प्रनेका) ले राष्ट्रिय सम्मेलन आह्वान गरेकाले माघको कठ्याङ्ग्रिँदो ठण्डीमा पनि राजनीतिक सरगर्मी निकै बढेको थियो। राजाको नेतृत्वमा पञ्चहरू आन्दोलन दबाउने हतकण्डा बनाउँदै थिए भने पञ्चायती व्यवस्था फाल्न तम्सेका आन्दोलनकारीहरू बहुदल स्थापना नगरी सम्झौता नगर्ने मुडमा थिए। भित्रभित्रै आन्दोलनको भुङ्ग्रो रापिँदै थियो।


कांग्रेस केन्द्रीय समितिको निर्णय आय – निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदल पुनःस्थापनाको शान्तिपूर्ण संघर्षमा समर्पित हुन सबैलाई आग्रह।


राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएकाले प्रतिपक्षी राजनीति विश्वविद्यालय, क्याम्पस, स्कुल शिक्षकका फोरम हुँदै गाउँघर, कुना–कन्दरासम्म फैलिएको थियो। यद्यपि, दलीय रूपमा ‘मास मोबिलाइजेसन’ गर्न कठिन थियो। यस्तै विषम अवस्थामा कांग्रेसले राष्ट्रिय सम्मेलनमार्फत बहुदल पुनःस्थापनाका निम्ति आन्दोलन गर्ने घोषणा गरेको थियो।


सम्मेलन माघ ५, ६ र ७ गते काठमाडौँ, क्षेत्रपाटीस्थित लौहपुरुष गणेशमान सिंहको निवासमा आह्वान गरिएको थियो।


त्यसबेला अहिलेजस्तो एफएम रेडियो र टेलिभिजन च्यानलहरू थिएनन्। रेडियो नेपाल र नेपाल टेलिभिजन पूरै सत्ताधारीको नियन्त्रणमा थियो। तैपनि सम्मेलनमा भारतबाट चन्द्र शेखरलगायत नेताहरू सहभागी हुने कुरा भुसको आगोझैँ देशैभरि फैलिएको थियो।


यता हामी केही विद्यार्थी प्रकाशमान सिंहको अगुवाइमा बैठकस्थलको सरसफाइमा जुटेका थियौँ। सम्मेलनको अघिल्लो दिन अपराह्न सिंह निवासको सडकसँगैको मूल प्रवेशद्वार वरिपरि उम्रिएका सिस्नो र झारपात हटाउँदै गन्ध हटाउन चुना छर्दैं थियौँ।


अधिकांश मानिसलाई भने त्यो त्रासदीपूर्ण वातावरण थियो। त्यसबेला मानिसहरू पञ्चायतले अ.त. घोषणा गरेकाहरूलाई भेट्न पनि विरलै जान्थे। जो जान्थे ती पार्टीप्रति बफादार हुन्थे। परे जिउधन नै त्याग्न हिम्मत गर्थे।


नभन्दै प्रतीक्षाको घडी आयो। माघ ५ गते कांग्रेसको राष्ट्रिय सम्मेलन सुरु भयो। देशैभरिबाट सहभागीहरू आए। आन्दोलनमा साहना प्रधानको नेतृत्वमा वाममोर्चा पनि सहभागी भयो।

भारतबाट चन्द्र शेखर (पूर्वप्रधानमन्त्री), स्वामी सुब्रमन्यम (अक्सफोर्ड विश्वविद्यालयमा राजा वीरेन्द्रका गुरु), एम फारुकी, भाकपाका हरकिशन सुरजीत सिंहलगायत नेताहरूको उपस्थितिले सम्मेलनलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्यो।


चन्द्र शेखर र स्वामी सुब्रमन्यमको भाषण तथा गणेशमान सिंहको गर्जनले पञ्चायती व्यवस्थाका पक्षधरहरूको मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। तिनीहरूले भारतीय नेताहरू बसेको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा समेत विरोध गर्न मण्डलेहरूलाई पठाए।


‘बहुदल पुनःस्थापना नभएसम्म कुनै हालतमा पनि आन्दोलन रोकिन्न’ भन्ने गणेशमान सिंहको अपिल बोकेर फागुन ७ बाट आन्दोलनमा होमिने उद्घोषसाथ म पनि माघ ८ गते जिल्ला हानिएँ।

तिनताक म धादिङ सदरमुकाम धादिङबेसीमा ट्युसन पढाउँथेँ। त्यसबेला व्यवस्था विरोधीहरूले ट्युसन पढाउने रणनीति लगभग देशैभरि अपनाएका थिए। खासगरी पुस–माघ र असार–साउनमा बढी ट्युसन चल्थ्यो।


झोलामा बहुदल पुनःस्थापनाको पर्चा बोकेर राजधानीबाट गएको भोलिपल्टै शीतलबजारमा पढाउन थालेँ। सदरमुकामस्थित पुछारबजार, बीचबजार र माथ्लोबजार या शीतलबजार रहेको छ। गर्मीयाममा माथ्लोबजार अलि चिसो हुने भएकाले ‘शीतलबजार’ भनिएको हो।


म र मेरा अनन्य मित्र प्रकाश पंडित नियमित बिहान ५ बजेदेखि ट्युसनमा जुट्थ्यौँ। म अंग्रेजी पढाउँथेँ, उनी म्याथ।


हामी यसअघि नै पञ्चायती व्यवस्थाविरोधी गतिविधिमा संलग्न भइसकेका थियौँ। यसअघि नै म धेरैपटक प्रहरी हिरासतमा पुगिसकेको थिएँ। प्रकाश पनि कम्ता थिएनन् यो मामिलामा।

माघ १० गते बिहान पनि अन्य बिहानजस्तै चिसो थियो। प्रकाश पल्लो घरको बार्दलीमा पढाउँदै थिए। म वल्लो घरको बार्दलीमा। यी दुवै घर सिम्खडा परिवारकै थियो।


दुई समूहलाई पढाइसकेर तेस्रो समूहलाई पढाउँदै थिएँ। एक जना सिभिल ड्रेसका प्रहरीले पढाइरहेको ठाउँमा छिरेर भने, ‘सर, एकछिन डिएसपी सा’पले बोलाउनु भा’छ। जाऊँ न।’

९ बजिसकेकोले खाना खाने बेला हुनै लागेको थियो। म थर्पूले होटलमा खाना खान जान्थेँ, साढे ९ को हाराहारीमा। तर त्यस दिन मैले खाना खान पाइन।


डीएसपीले भेट्न खोजेका छन् भनेपछि जानैपर्‍यो। ती प्रहरीको साथमा गएपछि सुरुमा मलाई केही पनि भनिएन। कार्यालयको चौरको घाममा राखे।


खाना पनि दिँदैनन्। मैले 'भोक लागिसक्यो। मलाई किन बोलाउनुभएको हो' भन्दा 'एकछिन बस्नुपर्ने आदेश छ। त्यसैले खाना यहीँ मगाउनुस्' भने। प्रहरीले नै लामिछाने दाइकहाँबाट खाना ल्याउन अह्राएछन्। मध्याह्न १२ बजेतिर लामिछाने दाइले खाना ल्याइदिए। बल्ल सास आयो। नत्र त भोकले ज्यानै जालाजस्तो भएको थियो। बिहान ५ बजेदेखि ट्युसनमा खटिँदाको भोक।

प्रहरी कार्यालयमा बस्दाबस्दै ४ बज्न लागिसक्यो। तैपनि छाड्दैनन्। कारण पनि भन्दैनन्, किन समातेको?


बल्ल माथ्लो तल्लामा रहेको डीएसपीको कोठामा लगे। ‘व्यवस्था फाल्न लागेको रहेछस् हैन? कति वर्ष भइस् बाबु? मान्छे त सानै छस्, व्यवस्थालाई नै चुनौती दिएछस्। कतिमा पढ्छस् ?’ होचाहोचा, हँसिला डीएसपीले प्रश्नैप्रश्न बर्साए। म केही बोलिनँ।

फेरि खोर्‍याए, ‘कति पढ्याछस् भाइ?’


मैले भनेँ, ‘अस्कलबाट आईएससी।’


उठे। मेरा हात समाते र 'कति नरम हात। साइन्स पढेको मान्छे। यति सानैमा के राजनीतिमा लागेको? छाड् भो' भन्दै पुनः सोधे, ‘साइन्समा कुनतर्फ पढेको नि?' मैले भनेँ, ‘फिजिक्स।’ 'मैले पनि एमएससी गरेको हुँ' भन्दै कुर्सीमा बसे। मलाई तल लैजान आदेश दिए।


मलाई पछि थाहा भयो तिनै रहेछन् डीएसपी नारायणप्रसाद शर्मा आचार्य।


त्यसलगत्तै मलाई एउटा कागजमा सही गर्न भने। लेखिएको थियो, ‘शान्ति सुरक्षा ऐनको दफा ३.२ प्रयोग गरी तपाईं श्री ध्रुव सिम्खडालाई नजरबन्द राख्नु भनी आदेश दिन्छु।’

आदेश दिने अधिकारीको नाम, थरः मुकुन्दप्रसाद आचार्य

प्रमुख जिल्ला अधिकारी, धादिङ।


कागजमा सही गर्नमात्र के भ्याएको थिएँ, दुई जना प्रहरीले हिँडाएर अलिकति तल अरुङ्खोलाको किनारमा रहेको जिल्ला कारागारभित्र लगेर थुने।


यसरी सुरु भयो मेरो जेल बसाइ।


माघ महिना पानी पर्दै थियो। कठ्याङ्ग्रिँदो चिसोसँगै प्रहरीले मलाई धादिङ कारागारभित्र हुले। २२ जना कैदीबन्दी थुनिएको एउटा ठूलो हलजस्तै कोठामा मलाई पनि थुने। छिर्नासाथ मैले सबैसँग परिचय गरेँ। ज्यान मारेको अभियोगमा थुनिएकासित बस्नुपर्ने भयो। कोही पनि राजनीतिक कारणले थुनिएका थिएनन् मबाहेक।


त्यहाँभित्र छिर्दा कोही नाम्लो बुन्दै थिए, कोही दाह्री काट्दै। कोही डोको बुन्दै थिए त कोहीचाहिँ बाँस–बेतका मुडा बनाउँदै। साँझ पर्नु केहीअघि जेलरले दाह्री काट्ने ब्लेड, नाम्लो बुन्ने सुइरो, चिया पिउने सिसाको ग्लास लगायतका धारिला हतियार अनि डोरी सबै एकेक गरी ढोकाको प्वालबाट बुझेर लगे। किन त्यसो गरेको होला भन्ने खुलदुली भइरहेको थियो। पछि थाहा भयो, ती सामग्रीको दुरूपयोग गरी जेलभित्रै हत्या, आत्महत्या गर्न सक्छन् भनेर पो त्यसो गरेको रहेछ जेल प्रशासनले।


साँझ झमक्क भयो। त्यसबेलासम्म मलाई भेट्न कोही पनि आएनन्। जेल प्रशासनले कैदीबन्दीसँगै खाना दिए। खाएँ। कोठाको एउटा छेउमा भाँडा माझ्ने ठाउँजस्तो रहेछ। त्योसँगै बिस्तरासहितको एउटा खाट थियो। त्यो खाटका ‘अधिपति’ सुनौलाबजारतिरका एकजना मगर बूढा रहेछन्। त्यो कोठाको ‘शासक’ पनि तिनै रहेछन्। तिनले मलाई कैदीहरूसित मागेर एउटा ओछ्याउने र ओढ्ने व्यवस्था गरिदिए। ज्यान मारेको अभियोगमा थुनिएका ती जेलका ‘नाइके’ रहेछन्। तिनलाई जेलमा कुनै छेकबार थिएन। ती त जेल छाडेर जाँदा बेरोजगार पो बन्दा रहेछन्।

त्यसअघि कैदीबन्दीले मलाई सोधे, ‘तपाईंलाई केमा थुनेको?’

मैले भनेँ, ‘राजनीति गरेकोले।’


थुनुवाहरूले सामूहिक रूपमा भने, ‘ए, तपाईं त छुटिहाल्नुहुन्छ नि।’ तर यस्तो छलफलमा ती ‘नाइके’ त्यति ध्यान दिँदैनथे। केही पनि सोध्दैनथे। तिनको गतिविधि हेर्दा थुनिएको भानै हुँदैनथ्यो।


राति पिसाब आयो भने कोठाको ‘शासक’को अर्डर हुनथ्यो, ‘उ: त्यै पर, पाइप राखेको ठाउँमा गर।’


१० बजेतिर सबै सुत्दा रहेछन्। म पनि सुतेँ। अति जाडो। राति उनैले देखाएको ठाउँमा गएर पिसाब गर्दै थिएँ। ‘शासक’ खाटबाट जुरूक्क उठेर गालामा थप्पड बजाइहाले। जंगिँदै भने, ‘पिसाब फेर्नुअघि जानकारी गराउनुपर्छ भन्ने तँलाई थाहा थिएन? तैँले यसरी सुरूक्क उठेर अरूको हत्या गरिस् भने मैले सजाय भोग्ने?’


त्यसपछि निदाउनै सकिन। उज्यालो भयो। कैदीबन्दीसँगै चिया दिए। १० बजेतिर ढोकामा पारेको प्वालबाट सिलेबरको थालमा दालभात, तरकारी एकैठाउँमा हालेर थालभरि खाना दिए। अपराह्नतिर तुलसी हजुरबाकी छोरी गीता र टेकबहादुर दाइकी छोरी ज्ञानुले एउटा स्लिपिङ ब्याग ल्याइदिए। माघको ठण्डीमा स्लिपिङ ब्यागले मेरो प्राण बचायो। त्यसका लागि गीता र ज्ञानुलाई धन्यवाद।


त्यसैदिन अपराह्न ध्रुव थापालाई पनि ल्याए। मलाई कैदीबन्दी भएको कोठाबाट निकालेर ध्रुव थापासित अर्कै सानो अँध्यारो कोठामा थुने। एउटा भेन्टिलेसन, भात दिन काठको ढोकामा पारिएको प्वालबाहेक उज्यालो छिर्ने ठाउँ कतै थिएन। प्रहरीले दिउँसो पनि लालटिन बालेर दिन्थे। यसरी ‘मितजी’ र मैले त्यो अँध्यारो कोठामा एक हप्ता बितायौँ। उनको र मेरो नाउँ एउटै भएकाले हामी एकले अर्कालाई ‘मितजी’ भन्थ्यौँ। अहिले पनि हामी भेट हुनासाथ एकले अर्कालाई ‘के छ मितजी?’ भनिहाल्छौँ।


हामीलाई थुनेको एक हप्तापछि मालेका गंगालाल तुलाधर र कांग्रेसका हरेराम बुर्लाकोटीलाई ल्याए। अन्य आन्दोलनकारीहरू पनि थपिने क्रम बढेपछि ठूलो कोठामा सारे। कांग्रेसबाट नन्दप्रसाद रिजाल, विष्णुकुमार श्रेष्ठ, प्रकाश पंडित, हरिप्रसाद रिजाल, बाबुराम अधिकारी (स्वर्गीय), केशव कँडेल (स्वर्गीय) थिए भने मालेबाट गुरुप्रसाद बुर्लाकोटी, नारायणप्रसाद रुपाखेती, मोतीलाल श्रेष्ठ, खिनबहादुर थापा (पछि माओवादीद्वारा हत्या गरिएका), हरि सिलवाल, रामबहादुर रावल, मुरारी शर्मा अधिकारी थिए।


कारागारभित्र आन्दोलनकारीको स्पष्ट दुई खेमा थियो– कांग्रेस र माले। ठूलो कोठामा बीचमा ठाउँ छाडेर एकातिर लहरै मालेका साथीहरू सुत्थे भने अर्कोतिर कांग्रेसका।


आन्दोलन सफल होला कि नहोला भन्नेदेखि बाहिरको परिस्थितिबारे छलफल हुन्थ्यो। मालेका साथीहरू भन्थे, ‘तपाईंहरूका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई भनेजस्तै हाम्रा सीपी मैनाली, मोहनचन्द्र अधिकारी छन्।’ सीपीले एउटै हिसाब विभिन्न तरिकाले गर्न सक्छ भन्थे। मोहनचन्द्रलाई त उनीहरु ‘नेपालको नेल्सन मण्डेला’ नै मान्थे।


बहसमा खरो उत्रिन प्रहरीबाट जोगाएर रेडियोमा बीबीसी समाचार सुन्ने/सुनाउने गर्थें म। गीताले फुरन्दानाभित्र लुकाएर ल्याइदिएको न्याशनल पानासोनिक रेडियो र बीबीसी नेपाली सेवाको साँझ पौने ९ को समाचारले बाह्य जगत्‌सँगको सम्बन्ध टुटेको थिएन।


हरेक दिन बिहान ६ नबज्दै सबैको निद्रा खुल्थ्यो। उठ्नासाथ ओछ्यानबाटै नारायण रूपाखेती ‘जयनेपाल’ भन्थे। त्यो सुन्नासाथ बाबुराम अधिकारी प्रफुल्ल मुद्रामा ‘जयनेपाल’ फर्काउँथे। हामी पनि त्यसै गर्थ्यौं। मालेका साथीलाई भने रूपाखेतीको त्यो पारा ठीक लागिरहेको थिएन।


उनीहरूले रूपाखेतीलाई माले भएर कांग्रेसको ‘जयनेपाल’ नभन्न दबाब दिए पनि तिनले मानेनन्। रिहा हुने बिहानसम्म पनि रूपाखेतीले ‘जयनेपाल’ भनिरहे। तिनको निःस्वार्थभाव र स्वाभिमानप्रति अहिले पनि गर्व लाग्छ। माले भईकन पनि उनी सरल थिए, व्यावहारिक पनि उत्तिकै।


कारागारभित्र खुलेर कुरा हुने मेरा अर्का मित्र थिए– बैरेनीका मोतीलाल श्रेष्ठ। तिनी धनीमानी थिए। कहिलेकाहीँ कारागार प्रशासनको ज्यादतीविरूद्ध भित्रै आन्दोलन गर्ने कुरा हुन्थ्यो। त्यो कुरा उनलाई कत्ति पनि मन पर्दैनथ्यो।


'कारागारमा थुनिएर केको आन्दोलन हुन्छ, बाहिर गएर आन्दोलन गर्नुपर्छ। जसरी हुन्छ कारागारबाट बाहिरिनुपर्छ' भन्ने उनको तर्क हुन्थ्यो।


उनी खानपिनका पनि बडा शौखिन। कारागारभित्रै त्यस वर्षको चैते दशैँ मनाउनुपर्ने भयो। चैते दशैँको दिन मासु ल्याउन लगाए। साँझ हवल्दार जो जेलर थिए ती पनि खुबै जँड्याहा। तिनैलाई ‘शिल्डप्याक’ मदिरा किन्न पैसा दिएछन्। जँड्याहा हवल्दार न पर्‍यो। मोतीले दिएको पैसाले उसैले मदिरापान गरेर हामीलाई नै थर्काउन आयो। केको रक्सी ल्याइदिनु? यसरी जेलरले कारागारभित्रको त्यो चैते दशैँ खल्लो बनाइदियो।


गुरू बुर्लाकोटीको फोटो खिच्ने शौख र खिनबहादुर थापाको गाउने नाच्ने कलाले कारागारको बसाइ पट्यारलाग्दो हुन पाएन। उता जेलभित्र केही अभाव भयो कि बाबुराम अधिकारी प्रहरीलाई थर्काइहाल्थे। उनको हक्की स्वभाव देखेर जेलर नै डराउँथे कहिलेकाहीँ त।


बीचबीचमा आन्दोलन तुहिने हल्ला पनि आउँथ्यो। त्यसले केही साथीलाई हतास पनि बनाउँथ्यो। प्रशासनले कागज गरेर छुटाउने लहरै चलेको रेडियो नेपालको समाचार आइरहन्थ्यो। त्यो सुनेपछि त अब जीवनभर थुनिनुपर्ने भयो भन्ने भयले केही साथी झन् आत्तिन्थे।


डीएसपी र सीडीओले कारागारभित्रको परिसरमा एक्लैएक्लै घुमाउँदै कागज गरेर निस्कन आग्रह गर्थे। मलाई पनि त्यसै गरेका थिए। कागज गर्न अस्विकार गरेपछि एकदिन डीएसपीले मलाई 'साइन्स पढ्ने मान्छे के गरेर कारागारमा दिन काट्छौ' भनी सोधे। मैले 'कापी, कलम पाएँ भने केही लेख्छु' भनेँ। अनि भोलिपल्टै उनले मलाई जेलरमार्फत आधा दर्जन कापी र पेन्सिल पठाइदिए।

कारागारमा मैले एउटा उपन्यास पनि लेखेको थिएँ। त्यसमा जीवन र स्वतन्त्रतालाई कसरी हेरेको थिएँ हुँला? नाम पनि के पो राखेँ कुन्नि? बिर्सें अहिले।


छुट्ने दिन बिहान आ–आफ्ना लुगाफाटा र सामान मिलाउने सन्दर्भमा बाबुराम अधिकारीले 'त्यो उपन्यास म छपाउँछु' भनेर लगे। तर कारागारबाट छुटेको केही वर्षमै उनको निधन भयो। मैले कारागारभित्र लेखेको त्यो उपन्यास अहिलेसम्म भेटेको छैन।


चैत २७ गते बिहानैदेखि हामी बस्ने कोठाको ढोकामा कुनै ताल्चा थिएन। ढोका खुलै थियो। किनकि, पञ्चायती राज ढलिसकेको थियो।


आन्दोलनकारीहरूले विजय पताका फहराइसकेका थिए। हिजो रातिसम्म हामीलाई गाली गर्ने, तर्साउने प्रहरीहरू ‘सर तपाईंहरूको माग पूरा भयो अब केहीबेरमै छुट्नुहुन्छ' भन्दै थिए। बिहानको खाना खाएर हामी कारागारमुक्त हुने तरखरमा थियौँ।


बजारबाट शुभचिन्तकहरू फूलमाला र अबिर लिएर आउँदै थिए। हामी पालैसित कारागारबाट छुटकारा पत्रमा सही गरेर छुट्ने लाम बस्दै गर्दा मालेका मित्र गंगालाल (जो पछि शिक्षामन्त्री भए) ले भने, ‘कांग्रेसको त एउटै चारतारे झण्डा छ। साथीहरुले गर्वसाथ पहराउनेछन्। तर मालेको त्यस्तो अलग्गै आफ्नो झण्डा छैन। विभिन्न कम्युनिष्ट पार्टीले हँसिया–हथौडा अंकित एउटै झण्डा बोक्दा मानिसलाई भ्रम पर्न सक्छ।’


गंगाले यति भन्दै गर्दा हामी कारागारको द्वारबाट बाहिरको खुला चौरमा आइसकेका थियौँ। कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेका ‘मितजी’को भने थुनिनुअघि नै बिहे छिनिएकाले कागज गरेर छुटिसकेका थिए। विष्णुकुमार श्रेष्ठ र केशव कँडेल पनि कागज गरेर छुटेका थिए। बाँकी सबै २०४६ चैत २६ गते बहुदल घोषणासँगै दलहरूमाथिको प्रतिबन्ध हटेपछि २७ गते रिहा भएका थियौँ।


dhruba.simkhada@gmail.com प्रकाशित : चैत्र २६, २०७६ १९:४३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँपालिका अध्यक्षहरुलाई पत्र

अहिले तपाइँहरु विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) सिर्जित महामारीबाट आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने सोचिरहनु भएको होला । यस्तो बेला नसोचे कहिले सोच्ने हो र ? 
ध्रुव सिम्खडा

काठमाडौँ — प्रिय अध्यक्षज्यूहरु– आरामै हुनुहोला । तपाइँका गाउँठाउँका बासिन्दा पनि निका आरामै होलान् भनी कमनासहित । तपाइँहरु निर्वाचित हुनुभएको पनि २ वर्ष भइसकेको छ । यस अवधिमा तपाइँहरुले आफ्ना मतदाताका लागि धेरै काम गर्नुभएको पनि होला ।

आफ्नो गाउँपालिका भित्रका आमनागरिकका सुख–दुःखमा पक्कै पनि साथ, सयहोग गरिरहुनु भएकै होला ।

पक्कै पनि अहिले तपाइँहरुको ध्यान प्रकृति विनास गरी ‘विकासको मूल’ फुटाउनेतिर केन्द्रित छैन होला । कोरोना कहरबाट कसरी बच्ने र बचाउने भन्नेमै केन्द्रित हुनुहुन्छ होला ।

तपाइँहरु निर्वाचित प्रतिनिधि त हो नै । लोकतन्त्रको जग पनि हो । तपाइँहरुबिना लोकतन्त्र बच्दैन । त्यसैले तपाइँहरुले आफ्ना गाउँठाउँका लागि जति राम्रा काम गर्नुहुन्छ त्यति नै आमनागरिक खुशी हुनेछन् । लोकतन्त्रको अनुभूति गर्नेछन् । जनता जनार्दनलाई खुशी पार्ने तपाइँहरु सबैको चाहना पनि होला । तर, चाहना राख्नु र व्यवहारमा देखाउनु विल्कुल भिन्न हो ।
म तपाइँहरुलाई दोषमात्र पनि दिन चाहन्न । केही कमीकमजोरी भए पनि त्यसलाई सुधारेर अगाडि बढ्ने तपाइँहरुलाई सुनौलो अवसर प्रकृतिले फेरि पनि दिएको छ । यस अवसरलाई गुमाउनुभयो भने तपाइँहरु जनताको नजरबाट टाढिनु हुनेछ । लोकतन्त्र पनि कमजोर बन्न पुग्छ ।

तपाइँहरु लोकतन्त्रको मियो हो । दरोसित अडिनुस् । जनताको मन जित्ने काम गर्नु भयो भने मात्र तपाइँहरु दरोसित उभिन सक्नु हुनेछ ।

अहिले तपाइँहरु विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) सिर्जित महामारीबाट आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने सोचिरहनु भएको होला । यस्तो बेला नसोचे कहिले सोच्ने हो र ?

आफ्नो गाउँघरमा विदेश गएका को–को आए ? तपाइँहरुसित त्यसको तथ्यांक छ कि छैन । फेरि अहिले त सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक गाउँपालिकाबाट अर्को गाउँपालिका र एक वडाबाट अर्को वडामा समेत जान नपाउने भनेको छ । यस्तो बेला तपाइँहरुले आफ्नो गाउँमा कोरोना संक्रमित भए, नभएको कसरी पत्ता लगाउने ? क्वारेन्टाइनमा कतिलाई कसरी राख्ने ? उपचारको व्यवस्था कसरी मिलाउने ? तपाइँहरु अधिकांश अलमलमा हुनुहुन्छ ।

नहुनु पनि किन र ? देशै अलमलमा छ । विश्व नै अलमलमा छ । अत्यासमा छ । तर धेर्य नगुमाउनुस् । अप्ठेरोमा नै नेतृत्वले निर्णय लिने हो, नेतृत्व क्षमता देखाउने हो ।

अलमलको कारण तपाइँहरुको नियत हुँदै होइन, त्यो तपाइँहरुको कार्यशैली र आपद्विपद् सामना गर्ने तयारीको मात्र कमी हो । नियतमा म तपाइँहरुलाई दोष दिन सक्दिन । किनभने, तपाइँहरु आफ्ना जनताको हकहितका लागि लागिरहनु भएकै छ ।

खालि सम्झनुपर्ने के हो भने तपाइँहरु पञ्चायतकालीन प्रधानपञ्च र बहुदलकालीन गाविसका अध्यक्षहरुजस्तै बन्ने कि उहाँहरुभन्दा फरक ? उहाँहरुभन्दा तपाइँहरुको क्षेत्र फराकिलो भएको छ । स्रोतसाधन पनि बढी छ । जनचेतना पनि बढेको छ । यस्तो अवस्थामा पनि गर्न सक्नु भएन भने तपाइँहरुलाई सफल राजनीतिज्ञ मान्न सकिन्न । लोकतन्त्रको जगमा रहेर जनताका समस्या समाधान गर्ने जिम्मेवारीमा रहनुभएका तपाइँहरु नै असली राजनीतिज्ञ हो । यस कुराको ख्याल राख्नु होला ।

अहिले कोरोनाको महामारीमा एकाएक सहरबजार बन्दाबन्दी भएपछि हिजो गाउँघर छाडेर सहर पसेकाहरु रातारात आफ्नो थातथलो फर्केका छन् । दशैँ न तिहार, तिनीहरु जीवन बचाउन भनी छाडेर आएका गाउँघर फर्केका छन् । विदेशमा कमाउन गएका पनि फर्कन भ्याए जति फर्केका छन् । अब तिनीहरुलाई कसरी गाउँमा अड्याउने भनी सोचेर योजना बनाउनुपर्ने बेला तपाइँहरुमध्ये अधिकांश के गर्ने भनी अलमलिरहनु भएको छ । त्यसैले पहिले त्यो अलमलबाट बाहिर निस्कने उपाय खोज्नुहोस् ।

तपाइँको गाउँपालिकाको जनसंख्या कति छ ? ती कुनकुन उमेरका छन् ? विद्यालय कति छन् ? शिक्षक र विद्यार्थी कति छन् ? तिनमा महिला, पुरुष कति छन् ?

एउटा बालकले सबैभन्दा टाढा कति घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ ? त्यो पनि पत्ता लगाउन नभूल्नुस् कि तपाइँको कार्यालयसम्म कति घण्टा हिँडेर मतदातालाई सेवा लिन आउनुपर्ने वाध्यता छ ? स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार हो भन्ने सम्झनु होला ।
तपाइँको गाउँपालिकामा कति स्वाथ्यचौकी, प्रहरी पोस्ट, सहकारी, साना किसान, बैँक/बित्तीय संस्था, आमा समुह, महिला समुह, क्लब, जेष्ठ नागरिक क्लब छन् त्यो पनि पत्ता लगाउनुस् ।
कतिजना डाक्टर, इन्जिनियर, नर्स, मिडवाइफ, जेटीए, हुलाकी छन् ? त्यो पनि बुझ्नुस् ।

खानी, वन–जंगल, पाटी–पौवा, मठ–मन्दिर, खोला–नाला, झरना, खर्क, आवादी र गैरआवादी भूमि कति छ ? कति पक्की सडक बनेको छ ? कति कच्ची ? यातायातको सुविधा कस्तो छ ?
सञ्चार सुविधा कस्तो छ ? कतिको हातमा मोवाइल फोन छ ? कतिलाई इन्टरनेट सुविधा पुगेको छ ?

सायद तपाइँहरुमध्ये आफ्नो गाउँपालिकाको सबै यथार्थ आफ्नो टेबलमा राखेर कार्ययोजना गरिरहनु भएको कोही हुनुहुन्छ भने त्यो गौरवको विषय हुनेछ । र, त्यसबाट सिक्ने प्रयास सबैले गरौँ ।

लौ भन्नुस् त अध्यक्षज्यूहरु,
तपाइँहरुको गाउँपालिकाबाट कतिजना मानिस तपाइँ निर्वाचित भइसकेपछि बसाइँसराई गरे ? कतिको लगत कट्टा गर्नुभयो ? गाउँपालिकाभन्दा बाहिर काम गर्ने तर गाउँपालिकामा चुनाव र चाडपर्वहरुमा मात्र फर्किने कति छन् ?

अनि, अहिले कोरोना भाइरसको महामारीसँगै तपाइँको गाउँपालिकाभित्र कति भित्रिए ? तीमध्ये को को कहाँ कहाँबाट आए ? कहाँ, कसरी बसिरहेका छन् ?

यस्ता तथ्यांक पक्कै पनि अहिले तपाइँहरुसित छैनन् । यो नहुँदा तपाइँ के गर्ने, कताबाट काम थाल्ने भनेर अलमलमा हुनुहुन्छ ।

त्यसैले तपाइँहरुको पहिलो र महत्वपूर्ण काम भनेकै आफ्नो गाउँपालिकाको यथार्थ तस्बिर आउने तथ्यांक संकलन गर्नु हो । आफ्नो कार्यालयको टेबलमा त्यो तथ्यांक राखेर योजना कोर्न सक्नु भयो भने मात्र तपाइँ सफल राजनीतिज्ञ बन्नु हुनेछ ।

यो महामारीमा नभ्याए पनि ‘एउटा माघले जाडो जाँदैन’ भनेझैँ फेरि पनि आपद्विपद् र महामारी आइरहन सक्ने भएकाले हरहमेशा तम्तयार रहनै पर्छ । त्यसको लागि तत्काल सोचेर अगाडि बढ्ने योजना गर्नु पर्छ ।

गाउँपालिकाको तथ्यांक संकलन या एकप्रकारले भन्ने हो भने आधुनिक शैलीको जनगणना कसरी सम्भव छ त ? के त्यसका लागि एनजिओ र आइएनजिओकै भरपर्ने ? वा आँफैले गर्ने ?
यो काम तपाइँ आँफैले गर्न सक्नुहुन्छ ।

कसरी ?

तपाइँका गाउँपालिकाभित्र रहेका सबै विद्यायका शिक्षकलाई १ महिना यो काममा सहयोग गरिदिन आग्रह गर्नुस् । तिनले खुशीसाथ तपाइँलाई सहयोग गर्नेछन् । यो काम राष्ट्रिय जनगणनाको जस्तो १० वर्षमा गर्ने होइन, वर्षेनी गर्नुस् ।

अनि तपाइँ कहाँ कहाँ, के के गर्ने भनी योजना बनाउनुस् । किनकि, तपाइँ निर्वाचित प्रतिनिधिमात्र होइन, गाउँठाउँ बुझेको योजनाविद पनि हो ।

योजना गर्नुस्, जनशक्ति परिचालन गर्नुस् । तपाइँलाई साधनस्रोतको कुनै कमी हुने छैन । लोकतन्त्रको सबैभन्दा बढी स्रोतवाला र धनी तपाइँ नै हुनुहुन्छ । यसले तपाइँलाई आफ्नो खुट्टामा उभिन सहयोग गर्नेछ । र, तपाइँको गाउँपालिका आत्मनिर्भर बन्नेछ ।

पहिले शिक्षामा हात हाल्नुस् । कति विद्यालय छन् ? कति शिक्षक छन् ? विद्यार्थी कति ? त्यसको सही तथ्यांक भएपछि शिक्षक बढी भएका, विद्यार्थी न्यून रहेका विद्यालयहरुबारे निर्णय लिनुस् । शिक्षकहरुको गुणस्तरमा ध्यान दिनुस् । केन्द्रीय र प्रादेशिक राजनीतिमा संलग्नहरुबाट तपाइँको गाउँपालिकाको शिक्षालयलाई मुक्त राख्नुस् । यदि तपाइँ पनि केन्द्र र प्रदेशका पार्टी नेताहरुको इशारामा चल्नु भयो र शिक्षकलाई राजनीतिमा परिचालित गर्नुभयो भने तपाइँ त डुब्नुहुन्छ नै लोकतन्त्र पनि सँगै डुब्नेछ ।

तपाइँको गाउँपालिकामा कतिवटा स्वास्थ्य चौकी छन् ? कतिजना स्वास्थ्यकर्मी छन् ? स्वास्थ्य सुविधाको अवस्था के छ ? यसतर्फ सोच्नुस् र योजना बनाउनुस् ।

खाद्यान्नको अवस्था कस्तो छ ? तपाइँको गाउँपालिकामा बाहिरबाट के कति खाद्य आपूर्ति गर्नु पर्छ ? त्यसको लेखाजोखा गरी खाद्यान्न, तरकारी, फलफूललगायत सामग्रीको व्यवस्थापनमा ध्यान दिनुस् । तपाइँको गाउँपालिका भित्रका कतिलाई आफ्नो उत्पादनले वर्षभरि खान पुग्छ, कतिलाई ६ महिना पुग्छ, कतिलाई ३ महिना पुग्छ र कति ज्यालामजदुरीमा बिहान–बेलुकाको छाक टारिरहेका छन् ? पत्ता लगाउनुस् ।

खानेपानीको अवस्था के छ ? सोच्नुस् । खानाजस्तै पानी मानिसको पहिलो आवश्यकता हो भन्ने नभुल्नु होला ।

अनि सिंचाई, सडक, पशुपालन, खेतीपाती, फलफूल उत्पादन, माछापालन लगायतका पेशामा आफ्ना नागरिकलाई सहयोगको हात बढाउनु होला । सकभर उर्वर भूमि मासेर सडक, खेलमैदान तथा यस्तैयस्तै फत्तुर काम नगर्नु होला ।

खानी भएका ठाउँमा खानी सञ्चालन गर्ने योजना बनाउनु होला । कुटीर उद्योगहरु सञ्चालनमा ध्यान दिनु होला । सम्भावना छ भने साना जलविद्युतको योजना गर्नु होला ।

सुमाकरले भनेजस्तै ‘स्मल इज व्युटिफुल’ । अहिलै तपाइँले व्यवस्थित गाउँपालिका, आत्मनिर्भर गाउँपालिका र सचेत गाउँपालिका बनाउने योजना गर्नु भयो भने लोकतन्त्रको जग बलियो हुनेछ । तपाइँको भूमि अझै ‘भर्जिन’ छ । मानिस अझै पसिना बगाउन तयार छन् । गाउँपालिकाहरु हाम्रा सहजबजारहरुझैँ अस्तव्यस्त कच्याककुचुक र उकुसमुकुस भइसकेका छैनन् ।

ससाना (५ सयदेखि १ हजारसम्मका) बस्तीहरुको विकास गर्ने योजना पनि बनाउनुस् । त्यसोगर्दा उर्वर भूमि, खानी भएको स्थान र बाढीपहिरोको जोखिम नभएको ठाउँ छनोट गर्न नभुल्नु होला । त्यस्ता बस्तीहरुलाई अर्ग्यानिक सडकहरुले जोड्नु होला ।

मैले माथि उल्लेख गरेका कतिपय कुरा तपाइँले गरिरहनु भएकै छ । तर तदर्थ शैलीमा । योजना न लक्ष्य । तथ्यांक न आवश्यक मानव संशाधन ।

तपाइँले धेरै गर्नुपर्ने छैन । सही तथ्यांक लिने र सोहीअनुरुप के कति काम भइरहेका रहेछन् तिनलाई व्यवस्थित ढाँचामा राख्ने र बाँकी कामको योजना बनाएर अगाडि बढ्ने हो ।

प्रिय अध्यक्षज्यूहरु,
म कुनै योजनाविद् पनि होइन । कन्सल्टेन्ट पनि होइन । गाउँघरकै पानी पिएको, खोले–फाँडो खाएको, रनवन डुलेको, दुःखसुखको झरीले रुझेको तपाइँहरुजस्तै सामान्य गाउँले हुँ । तपाइँ र ममा यत्ति फरक छ—तपाइँहरु गाउँमै हुनुहुन्छ । गाउँकै बारे सोचिरहनु भएको छ । मचाहिँ सहर पसेको छु । यता न उताको भएको छु ।

तपाइँहरुले मेरा यी कुरालाई गन्थन र अर्ती/उपदेश मात्र नठानिदिनु होला । हामी सहरबासी मनुवाको गाउँ फर्कने मूलमन्त्र भनेर बुझिदिनु होला । त्यसोभयो भने पञ्चायतकालको गाउँफर्क अभियान र तपाइँको गाउँ फर्काउने अभियानबीच पक्कै फरक हुनेछ । आजैबाट तपाइँका योजना र दृष्टिकोणसहितका काम व्यवहारमा देख्न पाइने आशा एवम् विश्वाससाथ पत्र टुंग्याउने अनुमती चाहन्छु ।

विनीत
ध्रुव सिम्खडा
काठमाडौं

प्रकाशित : चैत्र २५, २०७६ १७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×