कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

गाउँपालिका अध्यक्षहरुलाई पत्र

अहिले तपाइँहरु विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) सिर्जित महामारीबाट आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने सोचिरहनु भएको होला । यस्तो बेला नसोचे कहिले सोच्ने हो र ? 
ध्रुव सिम्खडा

काठमाडौँ — प्रिय अध्यक्षज्यूहरु–
आरामै हुनुहोला । तपाइँका गाउँठाउँका बासिन्दा पनि निका आरामै होलान् भनी कमनासहित । 
तपाइँहरु निर्वाचित हुनुभएको पनि २ वर्ष भइसकेको छ । यस अवधिमा तपाइँहरुले आफ्ना मतदाताका लागि धेरै काम गर्नुभएको पनि होला ।

गाउँपालिका अध्यक्षहरुलाई पत्र

आफ्नो गाउँपालिका भित्रका आमनागरिकका सुख–दुःखमा पक्कै पनि साथ, सयहोग गरिरहुनु भएकै होला ।


पक्कै पनि अहिले तपाइँहरुको ध्यान प्रकृति विनास गरी ‘विकासको मूल’ फुटाउनेतिर केन्द्रित छैन होला । कोरोना कहरबाट कसरी बच्ने र बचाउने भन्नेमै केन्द्रित हुनुहुन्छ होला ।


तपाइँहरु निर्वाचित प्रतिनिधि त हो नै । लोकतन्त्रको जग पनि हो । तपाइँहरुबिना लोकतन्त्र बच्दैन । त्यसैले तपाइँहरुले आफ्ना गाउँठाउँका लागि जति राम्रा काम गर्नुहुन्छ त्यति नै आमनागरिक खुशी हुनेछन् । लोकतन्त्रको अनुभूति गर्नेछन् । जनता जनार्दनलाई खुशी पार्ने तपाइँहरु सबैको चाहना पनि होला । तर, चाहना राख्नु र व्यवहारमा देखाउनु विल्कुल भिन्न हो ।

म तपाइँहरुलाई दोषमात्र पनि दिन चाहन्न । केही कमीकमजोरी भए पनि त्यसलाई सुधारेर अगाडि बढ्ने तपाइँहरुलाई सुनौलो अवसर प्रकृतिले फेरि पनि दिएको छ । यस अवसरलाई गुमाउनुभयो भने तपाइँहरु जनताको नजरबाट टाढिनु हुनेछ । लोकतन्त्र पनि कमजोर बन्न पुग्छ ।


तपाइँहरु लोकतन्त्रको मियो हो । दरोसित अडिनुस् । जनताको मन जित्ने काम गर्नु भयो भने मात्र तपाइँहरु दरोसित उभिन सक्नु हुनेछ ।


अहिले तपाइँहरु विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) सिर्जित महामारीबाट आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने सोचिरहनु भएको होला । यस्तो बेला नसोचे कहिले सोच्ने हो र ?


आफ्नो गाउँघरमा विदेश गएका को–को आए ? तपाइँहरुसित त्यसको तथ्यांक छ कि छैन । फेरि अहिले त सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक गाउँपालिकाबाट अर्को गाउँपालिका र एक वडाबाट अर्को वडामा समेत जान नपाउने भनेको छ । यस्तो बेला तपाइँहरुले आफ्नो गाउँमा कोरोना संक्रमित भए, नभएको कसरी पत्ता लगाउने ? क्वारेन्टाइनमा कतिलाई कसरी राख्ने ? उपचारको व्यवस्था कसरी मिलाउने ? तपाइँहरु अधिकांश अलमलमा हुनुहुन्छ ।


नहुनु पनि किन र ? देशै अलमलमा छ । विश्व नै अलमलमा छ । अत्यासमा छ । तर धेर्य नगुमाउनुस् । अप्ठेरोमा नै नेतृत्वले निर्णय लिने हो, नेतृत्व क्षमता देखाउने हो ।


अलमलको कारण तपाइँहरुको नियत हुँदै होइन, त्यो तपाइँहरुको कार्यशैली र आपद्विपद् सामना गर्ने तयारीको मात्र कमी हो । नियतमा म तपाइँहरुलाई दोष दिन सक्दिन । किनभने, तपाइँहरु आफ्ना जनताको हकहितका लागि लागिरहनु भएकै छ ।


खालि सम्झनुपर्ने के हो भने तपाइँहरु पञ्चायतकालीन प्रधानपञ्च र बहुदलकालीन गाविसका अध्यक्षहरुजस्तै बन्ने कि उहाँहरुभन्दा फरक ? उहाँहरुभन्दा तपाइँहरुको क्षेत्र फराकिलो भएको छ । स्रोतसाधन पनि बढी छ । जनचेतना पनि बढेको छ । यस्तो अवस्थामा पनि गर्न सक्नु भएन भने तपाइँहरुलाई सफल राजनीतिज्ञ मान्न सकिन्न । लोकतन्त्रको जगमा रहेर जनताका समस्या समाधान गर्ने जिम्मेवारीमा रहनुभएका तपाइँहरु नै असली राजनीतिज्ञ हो । यस कुराको ख्याल राख्नु होला ।


अहिले कोरोनाको महामारीमा एकाएक सहरबजार बन्दाबन्दी भएपछि हिजो गाउँघर छाडेर सहर पसेकाहरु रातारात आफ्नो थातथलो फर्केका छन् । दशैँ न तिहार, तिनीहरु जीवन बचाउन भनी छाडेर आएका गाउँघर फर्केका छन् । विदेशमा कमाउन गएका पनि फर्कन भ्याए जति फर्केका छन् । अब तिनीहरुलाई कसरी गाउँमा अड्याउने भनी सोचेर योजना बनाउनुपर्ने बेला तपाइँहरुमध्ये अधिकांश के गर्ने भनी अलमलिरहनु भएको छ । त्यसैले पहिले त्यो अलमलबाट बाहिर निस्कने उपाय खोज्नुहोस् ।


तपाइँको गाउँपालिकाको जनसंख्या कति छ ? ती कुनकुन उमेरका छन् ? विद्यालय कति छन् ? शिक्षक र विद्यार्थी कति छन् ? तिनमा महिला, पुरुष कति छन् ?


एउटा बालकले सबैभन्दा टाढा कति घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ ? त्यो पनि पत्ता लगाउन नभूल्नुस् कि तपाइँको कार्यालयसम्म कति घण्टा हिँडेर मतदातालाई सेवा लिन आउनुपर्ने वाध्यता छ ? स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार हो भन्ने सम्झनु होला ।

तपाइँको गाउँपालिकामा कति स्वाथ्यचौकी, प्रहरी पोस्ट, सहकारी, साना किसान, बैँक/बित्तीय संस्था, आमा समुह, महिला समुह, क्लब, जेष्ठ नागरिक क्लब छन् त्यो पनि पत्ता लगाउनुस् ।

कतिजना डाक्टर, इन्जिनियर, नर्स, मिडवाइफ, जेटीए, हुलाकी छन् ? त्यो पनि बुझ्नुस् ।


खानी, वन–जंगल, पाटी–पौवा, मठ–मन्दिर, खोला–नाला, झरना, खर्क, आवादी र गैरआवादी भूमि कति छ ? कति पक्की सडक बनेको छ ? कति कच्ची ? यातायातको सुविधा कस्तो छ ?

सञ्चार सुविधा कस्तो छ ? कतिको हातमा मोवाइल फोन छ ? कतिलाई इन्टरनेट सुविधा पुगेको छ ?


सायद तपाइँहरुमध्ये आफ्नो गाउँपालिकाको सबै यथार्थ आफ्नो टेबलमा राखेर कार्ययोजना गरिरहनु भएको कोही हुनुहुन्छ भने त्यो गौरवको विषय हुनेछ । र, त्यसबाट सिक्ने प्रयास सबैले गरौँ ।


लौ भन्नुस् त अध्यक्षज्यूहरु,

तपाइँहरुको गाउँपालिकाबाट कतिजना मानिस तपाइँ निर्वाचित भइसकेपछि बसाइँसराई गरे ? कतिको लगत कट्टा गर्नुभयो ? गाउँपालिकाभन्दा बाहिर काम गर्ने तर गाउँपालिकामा चुनाव र चाडपर्वहरुमा मात्र फर्किने कति छन् ?


अनि, अहिले कोरोना भाइरसको महामारीसँगै तपाइँको गाउँपालिकाभित्र कति भित्रिए ? तीमध्ये को को कहाँ कहाँबाट आए ? कहाँ, कसरी बसिरहेका छन् ?


यस्ता तथ्यांक पक्कै पनि अहिले तपाइँहरुसित छैनन् । यो नहुँदा तपाइँ के गर्ने, कताबाट काम थाल्ने भनेर अलमलमा हुनुहुन्छ ।


त्यसैले तपाइँहरुको पहिलो र महत्वपूर्ण काम भनेकै आफ्नो गाउँपालिकाको यथार्थ तस्बिर आउने तथ्यांक संकलन गर्नु हो । आफ्नो कार्यालयको टेबलमा त्यो तथ्यांक राखेर योजना कोर्न सक्नु भयो भने मात्र तपाइँ सफल राजनीतिज्ञ बन्नु हुनेछ ।


यो महामारीमा नभ्याए पनि ‘एउटा माघले जाडो जाँदैन’ भनेझैँ फेरि पनि आपद्विपद् र महामारी आइरहन सक्ने भएकाले हरहमेशा तम्तयार रहनै पर्छ । त्यसको लागि तत्काल सोचेर अगाडि बढ्ने योजना गर्नु पर्छ ।


गाउँपालिकाको तथ्यांक संकलन या एकप्रकारले भन्ने हो भने आधुनिक शैलीको जनगणना कसरी सम्भव छ त ? के त्यसका लागि एनजिओ र आइएनजिओकै भरपर्ने ? वा आँफैले गर्ने ?

यो काम तपाइँ आँफैले गर्न सक्नुहुन्छ ।


कसरी ?


तपाइँका गाउँपालिकाभित्र रहेका सबै विद्यायका शिक्षकलाई १ महिना यो काममा सहयोग गरिदिन आग्रह गर्नुस् । तिनले खुशीसाथ तपाइँलाई सहयोग गर्नेछन् । यो काम राष्ट्रिय जनगणनाको जस्तो १० वर्षमा गर्ने होइन, वर्षेनी गर्नुस् ।


अनि तपाइँ कहाँ कहाँ, के के गर्ने भनी योजना बनाउनुस् । किनकि, तपाइँ निर्वाचित प्रतिनिधिमात्र होइन, गाउँठाउँ बुझेको योजनाविद पनि हो ।


योजना गर्नुस्, जनशक्ति परिचालन गर्नुस् । तपाइँलाई साधनस्रोतको कुनै कमी हुने छैन । लोकतन्त्रको सबैभन्दा बढी स्रोतवाला र धनी तपाइँ नै हुनुहुन्छ । यसले तपाइँलाई आफ्नो खुट्टामा उभिन सहयोग गर्नेछ । र, तपाइँको गाउँपालिका आत्मनिर्भर बन्नेछ ।


पहिले शिक्षामा हात हाल्नुस् । कति विद्यालय छन् ? कति शिक्षक छन् ? विद्यार्थी कति ? त्यसको सही तथ्यांक भएपछि शिक्षक बढी भएका, विद्यार्थी न्यून रहेका विद्यालयहरुबारे निर्णय लिनुस् । शिक्षकहरुको गुणस्तरमा ध्यान दिनुस् । केन्द्रीय र प्रादेशिक राजनीतिमा संलग्नहरुबाट तपाइँको गाउँपालिकाको शिक्षालयलाई मुक्त राख्नुस् । यदि तपाइँ पनि केन्द्र र प्रदेशका पार्टी नेताहरुको इशारामा चल्नु भयो र शिक्षकलाई राजनीतिमा परिचालित गर्नुभयो भने तपाइँ त डुब्नुहुन्छ नै लोकतन्त्र पनि सँगै डुब्नेछ ।


तपाइँको गाउँपालिकामा कतिवटा स्वास्थ्य चौकी छन् ? कतिजना स्वास्थ्यकर्मी छन् ? स्वास्थ्य सुविधाको अवस्था के छ ? यसतर्फ सोच्नुस् र योजना बनाउनुस् ।


खाद्यान्नको अवस्था कस्तो छ ? तपाइँको गाउँपालिकामा बाहिरबाट के कति खाद्य आपूर्ति गर्नु पर्छ ? त्यसको लेखाजोखा गरी खाद्यान्न, तरकारी, फलफूललगायत सामग्रीको व्यवस्थापनमा ध्यान दिनुस् । तपाइँको गाउँपालिका भित्रका कतिलाई आफ्नो उत्पादनले वर्षभरि खान पुग्छ, कतिलाई ६ महिना पुग्छ, कतिलाई ३ महिना पुग्छ र कति ज्यालामजदुरीमा बिहान–बेलुकाको छाक टारिरहेका छन् ? पत्ता लगाउनुस् ।


खानेपानीको अवस्था के छ ? सोच्नुस् । खानाजस्तै पानी मानिसको पहिलो आवश्यकता हो भन्ने नभुल्नु होला ।


अनि सिंचाई, सडक, पशुपालन, खेतीपाती, फलफूल उत्पादन, माछापालन लगायतका पेशामा आफ्ना नागरिकलाई सहयोगको हात बढाउनु होला । सकभर उर्वर भूमि मासेर सडक, खेलमैदान तथा यस्तैयस्तै फत्तुर काम नगर्नु होला ।


खानी भएका ठाउँमा खानी सञ्चालन गर्ने योजना बनाउनु होला । कुटीर उद्योगहरु सञ्चालनमा ध्यान दिनु होला । सम्भावना छ भने साना जलविद्युतको योजना गर्नु होला ।


सुमाकरले भनेजस्तै ‘स्मल इज व्युटिफुल’ । अहिलै तपाइँले व्यवस्थित गाउँपालिका, आत्मनिर्भर गाउँपालिका र सचेत गाउँपालिका बनाउने योजना गर्नु भयो भने लोकतन्त्रको जग बलियो हुनेछ । तपाइँको भूमि अझै ‘भर्जिन’ छ । मानिस अझै पसिना बगाउन तयार छन् । गाउँपालिकाहरु हाम्रा सहजबजारहरुझैँ अस्तव्यस्त कच्याककुचुक र उकुसमुकुस भइसकेका छैनन् ।


ससाना (५ सयदेखि १ हजारसम्मका) बस्तीहरुको विकास गर्ने योजना पनि बनाउनुस् । त्यसोगर्दा उर्वर भूमि, खानी भएको स्थान र बाढीपहिरोको जोखिम नभएको ठाउँ छनोट गर्न नभुल्नु होला । त्यस्ता बस्तीहरुलाई अर्ग्यानिक सडकहरुले जोड्नु होला ।


मैले माथि उल्लेख गरेका कतिपय कुरा तपाइँले गरिरहनु भएकै छ । तर तदर्थ शैलीमा । योजना न लक्ष्य । तथ्यांक न आवश्यक मानव संशाधन ।


तपाइँले धेरै गर्नुपर्ने छैन । सही तथ्यांक लिने र सोहीअनुरुप के कति काम भइरहेका रहेछन् तिनलाई व्यवस्थित ढाँचामा राख्ने र बाँकी कामको योजना बनाएर अगाडि बढ्ने हो ।


प्रिय अध्यक्षज्यूहरु,

म कुनै योजनाविद् पनि होइन । कन्सल्टेन्ट पनि होइन । गाउँघरकै पानी पिएको, खोले–फाँडो खाएको, रनवन डुलेको, दुःखसुखको झरीले रुझेको तपाइँहरुजस्तै सामान्य गाउँले हुँ । तपाइँ र ममा यत्ति फरक छ—तपाइँहरु गाउँमै हुनुहुन्छ । गाउँकै बारे सोचिरहनु भएको छ । मचाहिँ सहर पसेको छु । यता न उताको भएको छु ।


तपाइँहरुले मेरा यी कुरालाई गन्थन र अर्ती/उपदेश मात्र नठानिदिनु होला । हामी सहरबासी मनुवाको गाउँ फर्कने मूलमन्त्र भनेर बुझिदिनु होला । त्यसोभयो भने पञ्चायतकालको गाउँफर्क अभियान र तपाइँको गाउँ फर्काउने अभियानबीच पक्कै फरक हुनेछ । आजैबाट तपाइँका योजना र दृष्टिकोणसहितका काम व्यवहारमा देख्न पाइने आशा एवम् विश्वाससाथ पत्र टुंग्याउने अनुमती चाहन्छु ।


विनीत

ध्रुव सिम्खडा

काठमाडौं

प्रकाशित : चैत्र २५, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?