१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

खाली दिमाग २ : कोही किन खराब बन्छ ?  

श्रीश भण्डारी

लकडाउनको दुई साता सकिनै लागेको छ । फुर्सदमा कुन फिल्म हेर्ने भनेर साथीहरू सिफारिस–सूची पस्किरहेका छन् । मलाई भने उदेक लाग्छ । उनीहरूले सुझाएका त के अहिलेसम्म बनेका कुनै पनि फिल्मले यति बेला मलाई चित्त बुझाउलान् जस्तो लाग्दैन । 

खाली दिमाग २ : कोही किन खराब बन्छ ?  

सबैभन्दा दह्रो र खरो चलचित्र आफ्ना आँखैअघिल्तिर घुमिरहेझैं लाग्छ । मानौं म सिंगो मुलुकको एउटा विशाल हलमा छु । यहाँ इतिहासकै अभूतपूर्व ट्रेजेडी चलिरहेको छ । कथावस्तु प्रतीकात्मक छ । मार्मिक र वियोगान्त । दृश्यपटमा एक महानायक, एक उपमहानायक र केही नायक छन् ।


मुलुकमा कोभिड–१९ भाइरसको संक्रमण फैलिइरहेको छ । छिमेकी मुलुकबाट सुरु भएको संक्रमण आइनपुग्दै सारा मुलुकवासी त्रस्त थिए । उनीहरू नचिच्याएका होइनन्– भाइरसले हामीलाई जुनसुकै बेला सखाप पार्न सक्छ, छिट्टै सुरक्षा–प्रबन्ध गर । तर महानायक र नायकहरूले ती सबैलाई ठट्टा ठाने । उल्टै मुलुकलाई भाइरसमुक्त घोषणा गरिदिए ।


केही साता नबित्दै मुलुकभित्रै भाइरसको आतंक मच्चियो । छिमेकीको नक्कल गर्दै महानायक टुप्लुक्किए । देशवासीलाई केही थान अर्ती र आश्वासन बाँडे । त्यसपछि लगभग अलप । आफैं रुग्ण र जराजीर्ण भएकाले पनि होला, त्यसपछिका दृश्यहरूमा उप–महानायक र नायकहरू हाबी भए । उनीहरू बगैंचामा पाल टाँगेर विभिन्न उर्दी र फर्माइस गर्न व्यस्त रहे ।


भाइरसको आतंक निरन्तर बढिरहेछ । मुलुक बन्द छ । मुलुकवासी बिलखबन्द । न भाइरसबाट बच्ने उपाय छ, न खाने–बस्ने प्रबन्ध ।

यसबीच नायकहरूले थुप्रै प्रहसन पस्केका छन् । सबैले कानै टट्याउने गरी कराउन थालेपछि नायकसभा निर्णय गर्छ– विदेशबाट ओखतीमूलो ल्याउने । यहाँसम्म कथावस्तु प्रस्टै छ । यसपछि भने नितान्त फरक मोड आउँछ । मुलुकभर सनसनी फैलिन्छ– करोडौं खर्चेर ल्याइएको ओखतीमूलो नक्कली । त्यसैमा पनि ठूलो भ्रष्टाचार ।

सपनाबाट भर्खरै ब्युँतेझैं देशवासी झसंग हुन्छन्– हामीले आजसम्म जसलाई नायक मान्यौं ती कतै खलनायक त थिएनन् ! जनताको आशंका टार्न भएभरका दोष कुनै कर्मचारीको टाउकामा थोपरिन्छ । अनि कथावस्तुमा प्रवेश हुन्छ, सेनाको गौरवशाली उपस्थिति ।

चलचित्र निरन्तर छ ।

मुलुक बन्द हुँदा मुलुकवासीले पाउनसम्म सास्ती पाइरहेका छन् । समय पुग्दैमा शिशुहरूले जन्म लिन पाउँछन् नै भन्ने छैन । मृत्युका मुखमा पुगेकाहरूका लागि प्राण त्याग्न सहज छैन । किनकि अस्पतालहरुमा नियमित सेवा ठप्पप्रायः छ । शव उठाउन र मसानघाटमा मूर्दा जलाउन मुस्किल छ ।

अजिब लाग्छ, यस्तैमा पनि हामीले नेता मान्दै आएकाहरू कमाउ धन्दामै जोडतोडले उछलकुद गरिरहेछन् । नागरिकको ज्यान बाजी राखेर पैसो कमाउन उद्यत छन् ।


सबैले बुझेकै कुरा हो– एउटाको समस्या अर्काका लागि अवसर हुन्छ । तर हाम्रा नेताहरू सबैको समस्यामा समेत आफ्नै अवसर देखिरहेछन् । कठै ! ती सबैभित्र उनीहरू आफैं पनि पर्छन् भनेर कसले सम्झाइदिने ?

मैले जीवनमा धेरै ट्रेजेडी देखेको छु । कैयन् ट्रेजेडी भोगेको छु । कहिलेकाहीँ म आफूसित आफैं टिठाउँछु– सञ्चारकर्मी भएका नाताले हामी हरेक दिन ट्रेजेडीहरूलाई नयाँ–नयाँ शैली र बान्की दिन विवश छौं । जस्तो कि– अस्पताल लगिए पनि उपचार नपाएर मृत्यु । सीमामा सयौंको बिचल्ली । चिकित्सकले छुनै मानेनन् । घरबेटीले बासै दिएनन् । उनीहरू अलपत्र । यिनीहरू बेसहारा । बाटैमा ठहरै । आदि–आदि ।


तर मैले देखे–भोगेका ट्रेजेडीमध्ये यसपल्टको जत्तिको कारुणिक र मर्मस्पर्शी अरू थिएनन् ।

प्रायः नाटक वा फिल्ममा हिरो र भिलेनबीच भिन्नता छुट्याउने खास ३ आधार हुन्छन् । हिरो उदार र लोकतान्त्रिक, भिलेन सामन्ती र दमनकारी । हिरो शान्ति र प्रेमको प्रतीक, भिलेन भय र घृणाको । हिरो न्याय र समानताको पक्षधर, भिलेन आवेग र प्रतिशोधको । र, त्यो भिलेन उत्कृष्ट हुन्छ, जसलाई चलचित्रको आधाभन्दा बढी अवधिभर दर्शक हिरो ठानिरहेका हुन्छन् ।

अहिले मेरो आँखाअघिल्तिर नाचिरहेको ट्रेजेडीका (खल) नायकहरू ठ्याक्कै यस्तै छन् । मुलुकमा अहिले जे भइरहेको छ, त्यो जुनसुकै शिल्पसिद्ध निर्देशकले बनाउने फिल्मलाई माथ गर्ने प्रकृतिको छ ।

खलपात्रका कुरा उठ्दा हामी महाभारतका दुर्योधन, दुःशासन र शकुनिजस्ता चरित्रहरूलाई बिर्सन सक्दैनौं । ती त्यस्ता जीवन्त खलपात्र थिए जसले आफ्नो जीवन आफ्ना लागि कम र अरूको अहितमा ज्यादा खर्चिए । तैपनि उनीहरू सबैमा एउटा साझा गुण थियो, बदला लिनुपर्ने कारण नभई कसैमाथि जाइलागेका थिएनन् ।

तर हाम्रा (खल) नायकहरू यहाँ विनाप्रतिशोध दुस्ट्याइँ गरिरहेका छन् । नत्र कोरोनापीडित आमनागरिकसँग के शत्रुता ? संकटको यो घडीमा उनीहरूले जे–जस्तो बेहोरा देखाए, त्यसले राजनीतिबाट समाजले सही गति पाउला भन्नेमै शंका पैदा गराइदिएको छ ।

खाली दिमाग १ : अमलेटबाट अण्डा बन्ला ?

हामीमध्ये धेरैलाई लाग्न सक्छ– के गर्नु यस्तै त हो नि । तर होइन । वर्षौंदेखि यस्तै खलनायकत्वमा हुर्के–बढेकाले मात्रै हामीलाई यस्तो लागेको हो । नत्र समाज यस्तै होइन, हुनै सक्दैन । हामी यस्तो समाजमा छौं जसको अगुवाइ मानवीयता र जीवन–मूल्यप्रति कठोर वैमनस्य र धनदौलतप्रति अगाध मोह भएकाहरूले गरिरहेका छन् ।

सीमापारि क्वारेन्टाइनमा रहेकाहरू भनिरहेछन्– ‘प्यास मेटिने गरी पानी पनि खान पाएका छैनौं ।’ स्वदेश पस्न नपाएर महाकाली किनारमा अड्किएका नेपालीले खेप्नुपरेको सास्ती कवि टीएस इलियटको ‘द वेस्ट ल्यान्ड’ मा वर्णित बिरान शुष्कताको भावचित्रलाई पनि बिर्साउने खालको लाग्छ । यस्तो शुष्कता जहाँ पानीको आवाज लिएर ‘तप्–तप्–तप्’ गर्दै चरा कराउँछ तर पानी छैन । विदेशका हन्डर र ठक्करको कुरा छाडौं, आफ्नै घरमा आउन पनि कति ठूलो संघर्ष छ यहाँ ।


यी सबै दृश्य एकैपल्ट मडारिँदा खाली दिमागमा प्रश्न उठ्छ– आखिर कोही किन खराब बन्छ ?

अमेरिकी मनोवैज्ञानिक फिलिप जिम्बार्डोले यससम्बन्धी केही आश्चर्यजनक तथ्य पत्ता लगाएका छन् । कसरी असल मानिस खराब बन्छन् भन्ने बुझ्न उनले एउटा प्रयोग गरे । स्टान्डफोर्ड विश्वविद्यालयका प्राध्यापक जिम्बार्डोको उक्त प्रयोग स्टान्डफोर्ड प्रिजन एक्सपेरिमेन्ट (१९७१) का रूपमा चर्चित छ । प्रयोगका क्रममा उनले कलेजका स्वयंसेवी विद्यार्थीलाई दुई भिन्न भूमिका निर्वाह गर्न लगाए– जेलको कैदी र सुरक्षाकर्मी । परिणाम– कलेजका सामान्य विद्यार्थीको एउटा समूह भावनात्मक हिसाबले टुटेका कैदीजस्तै बन्यो भने अर्को उस्तै समूह क्रूर, निर्दयी र परपीडक । एक सातामै यस्तो अप्रत्याशित नतिजा आएपछि उनले आफ्नो प्रयोगै स्थगन गरे । आफ्नो पुस्तक ‘द लुसिफर इफेक्ट’ मा जिम्बार्डोको निष्कर्ष छ– सामाजिक संरचना र प्रणालीले असल व्यक्तिलाई पनि खराब बनाउन सक्छ ।


त्यसो हो भने के हामी सबै खराबै छौं त ?

कि कोही असल, कोही खराब छन् ?

छन् भने छुट्ट्याउने आधार के ?

आफूले गरेका काम सही छन् कि गलत भनेर बुझ्न सामाजिक नियम–कानुनको पालना मात्र पर्याप्त हुन्न । कानुनबाट जोगिएर पनि मज्जैले ठगी गर्न सकिन्छ जसरी अहिले नेताहरू गरिरहेका छन् । अनि सही काम गर्दागर्दै पनि सामाजिक नियमको परिबन्दमा पर्न सकिन्छ, जसरी ज्यान जोगाउन महाकालीमा पौडिएर आएका नागरिक पक्राउ परेका छन् ।

सामाजिक कानुन अल्पकालीन व्यावहारिकताका उपाय मात्र हुन् । मुलुकैपिच्छे फरक हुने त्यस्ता कानुन सिंगो मानव जातिले गर्न हुने/नहुने कामका अन्तिम मानक बन्न सक्दैनन् । आफू सही छु कि गलत भनेर बुझ्न आफूले आफैंलाई जाँच्न सकिन्छ । यस्तो जाँचका मुख्य चार तरिका हुन सक्छन्–


सोचाइ, बोलाइ र गराइबीच तालमेल : असल व्यक्ति जे सोच्छन् त्यही बोल्छन्, जे बोल्छन् त्यही गर्छन् । भ्रष्टहरू मनमा एउटा राख्छन्, मुखले अर्कै भन्छन्, व्यवहारमा झन् अर्कै गरिरहेका हुन्छन् । मन्त्रिपरिषद् बैठकमा एउटा निर्णय गर्ने, पत्रकार सम्मेलनमा आएर अर्कै बोल्ने र कार्यान्वयन अझै अर्कै ढंगले गर्ने तरिका यस्तै भ्रष्ट आचरणको द्योतक हो । पूर्वीय दर्शनमा यसलाई मनसा, वाचा, कर्मणा भन्ने गरिएको छ ।


परपीडन परीक्षण : आफू ठीक छु कि छैन भनेर बुझ्ने अर्को तरिका हो– मैले अरूलाई कत्तिको दुःख दिएको छु भनेर ख्याल गर्ने । मेरो कारणबाट धेरैले दुःख पाएका छन् भने म गलत छु । सुख पाएका छन् भने सही । तर एउटालाई दुःख दिएर अरूलाई सुख दिन खोजेको छु भने झनै गलत । ती साँच्चै महामानव हुन् जो आफैं कष्ट सहेर अरूका लागि खट्छन् । बेन्जामिन फ्र्यांकलिनले त्यसै भनेका होइनन्– तिमी अरूप्रति जति असल बन्छौ, त्योभन्दा बढी आफैंप्रति असल बन्न पुगेका हुन्छौ ।


रिभर्स पोजिसनिङ : म सही छु कि लगत भनी ठम्याउने अर्को तरिका हो– रिभर्स पोजिसनिङ । आफूलाई जे मन पर्दैन त्यो अरूमाथि गरियो कि गरिएन ? तपाईं कसैप्रति गलत व्यवहार गर्दै हुनुहुन्छ भने एकपल्ट सोच्नुस्– म उसको स्थानमा भएको भए के गर्थें ?


अन्तरात्माको आवाज : हामीलाई जे कुरा सही लागेको हुन्छ त्यो प्रायः नैतिक रूपमा पनि सही नै हुन्छ । जे आफैंलाई गलत लागेको हुन्छ, त्यो प्रायः गल्ती नै हुन्छ । त्यसैले थोरै गल्ती मात्र नजानेर हुन्छन् । अधिकांश गल्ती जानीजानी गरिन्छन् ।


मलाई लाग्छ, यो आलेख अहिले मुलुकमा चलिरहेको ट्रेजेडीका (खल) नायकज्यूहरूले पढ्नुभयो भने उहाँहरूलाई पनि पक्कै यो महसुस हुनेछ ।

अरू सबै विपत्तिजस्तै कोभिड–१९ पनि निर्धो र निर्धनमाथि नै सबैभन्दा बढी निर्मम छ । तपाईंहरूले पनि यसैलाई कमाउने उर्वर अवसर ठान्नुभएको छ । एकपल्ट सोच्नुस्– यसरी आर्जने सबै सम्पत्ति उपभोग गर्न तपाईंको जीवनकालले मात्र पक्कै भ्याउनेछैन । एउटा यस्तो समय पनि आउनेछ जतिबेला तपाईंले आर्जेको सम्पत्तिमा अरू नै मोजमस्ती गरिरहेका हुनेछन् । सम्पत्तिमा जोसुकैले मस्ती मारून् । तर त्यसलाई थुपार्ने क्रममा तपाईंले अपनाएको गलत बाटोका लागि भने तपाईं सधैंका लागि दोषभागी हुनुपर्नेछ ।

प्रकाशित : चैत्र २४, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?