कोभिड १९ : दैनिकीको अनौठो क्रमभंगता



अरू बेला वास्तै नगरिएका चिजहरू वास्ता हुन थालेका छन् । बेतुकका र अर्थहीन लाग्ने कुराहरू अचानक मूल्यवान् भएका छन् । कोभिड–१९ को विश्वव्यापी संक्रमणले करोडौँ मानिसझैँ म पनि एकान्तवासमा छु । सहरभन्दा अलिक पर । जिल्ला भक्तपुर हो तर भक्तपुर सहरभन्दा निकै पर । कौशलटार स्टेसनबाट करिब ३ किलोमिटर दक्षिणमा एउटा गाउँ छ, सिरुटार । यही गाउँको एउटा एकतले घरमा ‘लडकडाउन’मा छु म ।

मार्टिन क्रिम्पको नाटक ‘द सिटी‘ जस्तै भएको छ जीवन । नाटकको पात्र क्रिसलाई आफ्ना बच्चाहरूको कोठामा ताला छ कि छैन भन्ने पनि थाहा हुँदैन । जागिर फुस्किएपछि ऊ घरमा छ । आफ्नै घरमा पहिले कहिल्यै महसुस नगरेका धेरै कुरा अहिले महसुस गर्दै छ । सहरका उस्तै घर र उस्तै बगैँचाबीच आफ्नो घरको बगैँचा के कारणले फरक छ भन्ने पनि थाहा थिएन उसलाई । छिमेकी जेनीले भनेपछि चाल पाउँछ । आफ्नो पद र स्वतन्त्रता गुमाएपछि मान्छेले धेरै कुरा बुझ्छ तर त्यतिखेरसम्म धेरै ढिलो भइसकेको हुन्छ ।
झ्यालबाट हेर्छु, चमेली कति मजाले मौलाएको छ । मुन्तलाको पात कोमल अनि कलिलो, आँखालाई शीतल मिल्ने हरियो भएको छ । एभोकाडोमा पनि नयाँ पालुवा पलाएको छ । यसमा पहिलो पटक फूल लाग्न थालेको देखेर लुना निकै उत्साहित छ । वरिपरि चरा आउन थालेका छन् । झ्यालबाटै चिरबिरचिर सुन्छु । छतमा लुनाले पानी राखिदिएकी छ चराहरूलाई । केही काँक्रा, फर्सी र करेलाका बिरुवा यही एकान्तवासको बेला रोप्न भ्यायौँ । बढ्न थाले । यस्तो लाग्छ, हजारौं वर्षपछि पहिलो पटक यो जगत्का सारा वनस्पति खुसी छन् । चराचुरुङ्गी, कीरा–फट्याङ्ग्रा, जलचरथलचर, सारा जनावर आनन्द महसुस गरिरहेका छन्, जस्तो म महसुस गर्छु । सायद यतिखेर संकट र त्रासमा मान्छे मात्र छ । मान्छे मृत्युदेखि डराउँछ, यो कुनै नौलो कुरा भएन । तर, एउटा भाइरसले सारा बम–बारुद, युद्ध रोकिदिन्छ । संसारलाई ध्वस्त गर्ने एकसेएक हतियार भएर पनि निहत्था भएको छ मान्छे । जनावर र वनस्पतिले हाम्रो दुर्गति हेर्दै होलान् । वा यो ब्रह्माण्डका अन्य ग्रहमा पनि प्राणी छन् भने तिनले पृथ्वीवासीको यो संकट हेर्दै होलान् ? कोरियन फिल्म पोएट्रीमा कविता लेखन तालिम लिइरहेकी एक वृद्धा रूखमुनि गएर चराहरूको चिरबिर सुन्छिन् र भन्छिन्, ‘हजारौँ चराहरू गीत गाइरहेका छन् । तर के गीत गाइरहेका छन् बुझ्दिनँ ।’
बुसान– म मेरा सहकर्मी र छिमेकीहरूको चासो र चिन्ता बुझ्छु । त्यसैले म यो विश्वविद्यालय भवनको लिफ्ट प्रयोग गर्दिनँ । र, नवौँ तलामा रहेको मेरो अपार्टमेन्टमा पनि म सिँढी नै प्रयोग गर्छु ।
४७ वर्षे पार्कले विशेष कक्षमा ९ दिन बिताए । त्यसपछि १४ दिन आइसोलेसनमा बसे । तंग्रिनका लागि थप १० दिन अस्पतालमै बसे । अझै पनि वरिपरिका धेरै मानिस मलाई रोग छ भन्ने ठान्छन् । पार्क अस्पतालमा भएको बेलामा छिमेकीहरू आफ्नो घरअगाडि आएर कराएको उनकी आमाले सुनिन् । ‘यो घरको छोराको कारणले हामी पनि मर्ने भयौँ ।’
– इन्डिया टुडे, ३१ मार्च २०२०
आफ्नै अनन्य मित्रलाई अँगालो मार्न डराउँछु म । हिजो करप्प हात अँठ्याएर मित्रता जाहेर गर्ने साथी परैबाट हात हल्लाएर तर्किन्छ । आफ्नै परिवारबीच आदिम अन्धविश्वासी छुवाछुतजस्तो पुनरावृत्त भएको छ जीवन । सबै योजनाहरूको तालिका भत्किएको छ । समयले हामीलाई आफ्नो तालिकामा राख्छ कि हामी समयलाई आफ्नो तालिकाअनुसार विभाजन गर्छौँ ? आफ्ना सपना, योजना र कार्य सम्पादनलाई हामी व्यक्तिको क्षमता र कौशलसँग दाँज्छौँ । धेरै व्यस्त, काम भएको र धेरै योजना बोकेको मानिसलाई आमसमाजले चासो दिने संस्कार थियो, छ । कार्य व्यापार र योजना नभएका मानिसप्रति परिवार र समाजले सधैँ प्रश्न गर्थ्यो, गर्छ । केही समयअघि एउटा टेलिभिजन कार्यक्रममा राजनीतिक विश्लेषक आहुतिले भने, ‘संसारमा अरूको मजदुरी गर्ने प्राणी भनेको मान्छे मात्रै हो । अरू सबै प्राणी आफ्ना लागि (घर बनाउन र खान) मात्रै काम गर्छन् । यसरी मैले पहिला कहिल्यै सोचेको थिइनँ ।
तर मान्छेलाई बस्ने ठाउँ र खानाले मात्रै पुगेन । अरू जनावरभन्दा पहिले मान्छेको महत्त्वाकांक्षा सायद लुगाबाट सुरु भयो । त्यसपछि जिब्रोबाट । पकाएर खान थाले पछि मान्छेले स्वाद थाहा पायो । मान्छेको लागि छाला र जिब्रो महत्त्वपूर्ण भयो । खानाको परिकार, लुगाको किसिम, वासस्थानको किसिम यी तीन कुराले मान्छेलाई अरू प्राणीभन्दा फरक बनायो । सायद लुगाले शरीर छोप्न थालेपछि मान्छेमा यौनांगप्रति बढी उत्सुकता भयो । अलिअलि पढेका, सुनेका र बाँकी कल्पना मिसिएर मनमा अनेकौँ कुरा खेल्छन् । ट्विट गर्छु– ‘खाने कुरा उब्जाउने र रोगको उपचार गरिदिने, यी दुई नै सबैभन्दा महान् रहेछन् । अरूचाहिँ त्यसपछिका कुरा रहेछन् । अरूचाहिँ क्रमशः त्यसपछिका प्राथमिकता रहे ।’ अरूका फेसबुक, ट्विटर स्क्रोल गर्छु । कोरोना भाइरसकै कहर छ जता पनि ।
कोभिड १९ का कारणले हिजो साँझ ७ बजे मेरो बुबाको मृत्यु भयो । मेरी आमा क्वारेन्टाइनमा छिन् र उनी पनि संक्रमित छिन् । मेरो बुबाको अन्त्येष्टि समारोह गर्न दिइएन । मेरी आमालाई म ५ फिट परै बसेर झ्यालबाट चियाउन सक्छु । आमाले हामीलाई पनि भाइरस सर्ला भन्ने चिन्ताले निवेदन गर्दै झनिन्– ‘तिमीहरू यहाँबाट जाओ ।’
– सोनाम, ट्विटर (@sonamhasleft)
बेडरुम, लिभिङ रुम, पुस्तकालय, किचन, ट्वाइलेट र घरको छत सिंगै ब्रह्माण्डजस्तो छ आजकल । हामी यस घरमा बस्न थालेको ८ वर्ष पुग्यो । यसरी घरमा बसेको पहिलो पटक हो । चैत ११ भन्दा अघि सम्भवतः कुनै दिन थिएन, म पूरै २४ घण्टा बाहिर ननिस्की घरमै बसेको । हरेक दिन बिहानदेखि बेलुकासम्म थिएटरमै हुन्थेँ । बिहान ७ बजे थिएटर क्लासका लागि पुगिसक्नुपर्थ्यो । दिनभरि रिहर्सल वा अन्य काम । साँझ नाटक । यही दैनिकी चलिरहेको थियो, ८ वर्षदेखि । मंगलबार बिदाको दिन पनि म पूरै घर बसेको कुनै रेकर्ड थिएन । तर, यसपटक घरमै देखेर छिमेकीहरू मुस्कुराउँछन् । भन्छन्, ‘लकडाउनले कमसेकम छिमेकीको अनुहार देख्न पाइयो ।’
आइसल्यान्ड– प्रसिद्ध रियालिटी सो स्टार ओलिभिडा बकल्यान्डले एकलवासका लागि ठूलो घरको पुनर्निर्माण गरिन् र लोग्नेलाई सँगै राखिन् । तर कोरोना भाइरसको लकडाउनको समय बिताउन उनले अर्को उत्तम उपाय गरिन् । इन्स्ट्राग्रामका २.३ मिलियन फलोअरहरूलाई उनले आफ्ना भित्री वस्त्र मात्रै लगाएको तस्बिर र भिडियो राखेर चकित पारिन् ।
दाङ– कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ । घोराहीस्थित बुद्ध इन्टरनेसनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका छन् ।
विदेशबाट आएका र कोरोना रोगको शंका लागेका व्यक्तिहरू अनिवार्य रूपमा कम्तीमा २ हप्ताका लागि क्वारेन्टाइनमा बसौँ । कोरोना भाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऔँ । घरमै बसौँ । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौँ । आफू पनि बचौँ, अरूलाई पनि बचाऔं ।
भारतको राजधानी दिल्लीका सडकहरू पैदल यात्रीहरूको भीडले भरिएको छ । नजिकका प्रान्तका उनीहरू आफ्नो घर जान लागिरहेका हुन् । यी अधिकांश मानिस दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन् । कोरोना भाइरसको महामारी फैलन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ तारिकमा देशभरि लकडाउन घोषणा गरेपछि कामविहीन भएका छन् । जागिर र पैसाको अभावका कारण उनीहरू आफ्नो गाउँ पुग्न व्याकुल छन् । केहीले सरकारी यात्रुबस भेट्टाए । नपाउनेहरू हिँडेरै जान थाले ।
नेदरल्यान्डको लरेन सहरको सिंगर लरेन म्युजियमबाट आज बिहान ३ बजेर १५ मिनेटमा सिसाको ढोका फोडेर प्रख्यात कलाकार भ्यानगगको निकै स्तरीय पेन्टिङ चोरी भयो । पर्सनाज गार्डेन एट नुएनन स्प्रिङ नामको उक्त चित्रको मूल्य पाँच मिलियन डलर अनुमान गरिएको छ ।
नयाँ दिल्ली– भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बिरामीको स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने डायग्नोस्टिक किट्सको निर्यातमा समेत रोक लगाएको छ । जबकि करिब दुई साताअघि नै भारत सरकारले अत्यावश्यक भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा पनि रोक लगाइसकेको छ ।
रसियन पोर्नस्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् । ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओछ्यानमा जान तयार छु’, टेलरले भनेकी छन् । उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । सबै जना चिन्तित छन् ।
कोरोना भाइरसबाट संक्रमित प्राय बिरामीलाई श्वासप्रश्वासमा समस्या हुन्छ । वृद्ध मानिसहरू, हृदयरोग, मधुमेह, क्यान्सरजस्ता रोगका पीडितलाई भाइरसको संक्रमण चाँडो हुन्छ । कोरोना भाइरस मुख्यतया र्यालबाट सर्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा नजिकै भएको व्यक्तिमा सर्न सक्छ । आजसम्म यस रोगको औषधी छैन । संक्रमित व्यक्तिबाट टाढा रहनु, बारम्बार साबुनपानीले हात धुनु वा सेनिटाइजर लगाउनु नै यसबाट बच्ने उपाय हो ।

काठमाडौँ — ‘हामी कसैको सम्झनाका निम्ति र रुनका निम्ति, हाँस्नका निम्ति र केही चिन्तन गर्नका निम्ति, केही प्रयोग गर्न र सिक्नका निम्ति भेला हुन्छौँ ।’–साउथ अफ्रिकाकी नाट्य निर्देशक ब्रेट बेलीको सन् २०१४को विश्व रङ्गमञ्च दिवस सन्देशको एउटा अंश हो ।

