बीपी डायरी लकडाउनमा

बीपीले मुक्तिको बाटो सम्मान र स्वतन्त्रतालाई अनि साधारण बस्‍ने खाले व्यवस्थालाई माने । आज कोरोना महामारीसँग लड्‍दा त्यो विषयलाई भुल्न हुँदैन ।
अभि सुवेदी

केही छानिएका व्यक्ति र तिनका कर्मबारे लेख्तै जाने विचार गरें । उडी यालनको फ्यान्टासी कमेडी ‘मिडनाइट इन प्यारिस’ (सन् २०११) भन्‍ने फिल्ममा जस्तो आँखाअगाडि अनेकौं पात्र नाच्‍न थाले । ती अनेकौं समयका मानिस थिए।

बीपी डायरी लकडाउनमा

कोही बितिसकेका, कोही नजिकैका, कोही परका, कोही जीवित, अनेकौं उमेरका ती नरनारीको त्यो भीडमा मैले आफैंले जानेका र विचार बुझेका, समय बिताएका, कोही समकालीन र कोही मभन्दा धेरै उमेरका तर मैले सङ्गत गरेका मानिसहरू पनि निस्किए एउटा तरंग पैदा भयो । तर यही बेला कोरोना भाइरसको महाप्रकोपले एकाएक केही हप्तामै मूल्यहरू परिवर्तन भए । मैले देखेका मानिसहरूको भीडबाट विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९) उर्फ बीपीलाई छानें । तिनको विषयमा पहिला लेख्छु भन्‍ने अठोट गरें । तर लाग्यो, सरासर कसैको जीवन र कर्मबारे आमसूचनावाहक पत्रहरूमा लेखिबस्‍नुको अहिलेको यो कोरोना महामारीको परिस्थितिमा खासै अर्थ देखिएन ।

यसै सन्दर्भमा वैश्विक उथलपुथल हुँदा साहित्य लेखिन्छ कि लेखिँदैन भन्ने एउटा ठूलो प्रश्नबारे हामी छलफल गर्छौं । फ्रेङ्कफर्ट स्कुलका विद्वान् थियोडोर एडोर्नोले नाजी अस्विच वा हत्याक्याम्पमा नरनारी र बालबालिकाको जघन्य हत्या भएपछि भने— अब कुनै पनि सिर्जनशील रचना, त्यसमा पनि गीति कविता लेख्नु भनेको पाशविकता हो । उनको विचारमा मानिसले मानिसकै त्यस्तो जघन्य हत्या गरेपछि कविता लेख्नु नै ‘बार्बारिक’ भयो । कविता लेख्नुले केही हुने भएन । तर कोरोना भाइरसको महामारी मानिसको कर्तुतले भएको घटना होइन । यसमा मानिसले गरेका भूलले भने यसलाई झन् भयावह बनाउने काम गरेका छन् ।

बीपी कोइरालाले जीवनका अत्यन्त विषम परिस्थितिमा पनि सिर्जना गरिरहे । उनले अराजकतावादी सिर्जनशील चिन्तनको पक्षमा लेख्ता लियोन ट्राटस्कीको प्रशंसा गरे । मलाई युवाकालदेखि उनको यही सिर्जनशील धार, उनका साहित्यिक चिन्तनका राजनीतिक अर्थले प्रभावित गरिआए । उनको दलको कुनै प्रभाव नपरेको, कसैका कुनै राजनीतिक योजनाहरूले नतानेको मलाई बीपीको प्रभाव परेको कुराको आफ्नै सन्दर्भ छ । बीपीका प्रायः कृति र जीवनकथा, डायरी अनि छरिएका रचना पढिआएको भए पनि उनका विषयमा मैले पहिलो गम्भीर रचना भने पञ्चायतको युटोपियालाई र बीपीको अदालतको बयानले विनिर्माण गरेको विषयमाथि लेखें । प्रत्यूष वन्त भाइको मार्टिन चौतारीको जर्नल ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ को पहिलो अङ्क (२०५३) मा त्यो लेख प्रकाशित भयो । त्यसपछि उनका विषयमा मैले देश र विदेशमा अनेकौं सेमिनार दिएँ लेखहरू प्रकाशित गरेँ । बीपीको जीवन र विचार डायरी, संस्मरण र उनको अदालतको बयान अनि पुरुषोत्तम बस्‍नेतले दिएका प्रत्यक्ष वर्णनहरूका आधारमा ‘सान्दाजुको महाभारत’ (२०७२) नाटक लेखेँ । यो नाटक विमल सुवेदीको निर्देशनमा काठमाडौंमा मञ्चन भएको थियो, जसमा बीपीको भूमिका सञ्जीव उप्रेतीले खेलेका थिए ।

मैले नेपालमा बीपी कोइरालाको अध्ययनका बलिया आधारहरू भेटेको छैन । साहित्यमा केही छन् । राजनीतिमा खासै छैनन् । रटाइ मात्रै छन् । एउटा उदाहरण दिन्छौं । तिनको दलका वरिष्ठ मानिसहरूले तिनलाई राजासँग सम्झौता गर्ने शाश्वत सिद्धान्त भएका नेताका रूपमा हेर्दा तिनले प्रयोग गरेको राजनीतिमा नीति, योजना र सिद्धान्तको मौलिक र कालिक प्रयोगलाई लगभग पूरै उपेक्षा गरेको बुझेको छु । अहिले लकडाउन भएको बेलाभन्दा केही महिनापहिले बीपी कोइराला स्मृति ट्रस्टका महानुभावहरूले घरमै आएर विश्वेश्वरप्रसाद कोइरालाले अङ्ग्रेजीमा लेखेको डायरीको पाण्डुलिपि दिँदै भने, ‘यो डायरी भाषा सम्पादन र विस्तृत परिचयसहित तयार गरिदिनुपर्यो ।’ चुनौती थियो, तर मैले त्यो डायरीमाथि काम गर्न स्वीकार गरें । बीपीले सन् १९५१ देखि १९५४ बाहेक १९५६ सम्मको अंग्रेजीमा लेखेको डायरीमाथि यो लकडाउनमा बसेका बेला बीपी यो समयमा मसँग जोडिन आइपुगेको भावनाले तरङ्गित छु ।

अहिले लकडाउनमा छु । लेख्‍ने र पढ्न नपाएका अनेकौं पाठहरू पढ्ने काम गरिरहेको छु । लकडाउन भन्ने अंग्रेजी शब्दले अनुवाद पर्खेन । यो सोझै प्रयोगमा आयो । मानौं कि, लकडाउन एउटा मानिसका आचरणको पर्याय हो । मानौं लकडाउन भन्नु मानिस हो । दर्शन हो, कविता हो अनि संगीत हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (यसले पनि अनुवाद पर्खेन) दक्षिण कोरिया पसेको खबर सुन्यौं । छिट्टै युरोपको इटालीमा पसेर वितण्डा मच्चाएको सुन्यौं र देख्यौं । दिनदिनै महामारीको खबर गर्यो कि मिलानो सहरको डुओमो भन्ने आर्किटेक्चरको मैले अनेकौं पटक गएर हेरेको अनि यसले धेरै प्रभाव परेर कविता (‘काठमाडौं ओडिसी’) मा पनि प्रयोग गरेको विम्ब देखिन्थ्यो । त्यस्तै भेनिस सहर देखियो । तुरुन्तै पछि प्यारिस र लन्डन देखिए । यसको थोरै समयमा दक्षिण एसियामा यो महामारीसँग जुध्ने मानसिकता अनि सरकारी नेताहरूका एकाध भाषण आउन थाले । भारत र नेपालमा यसको प्रवेश हुने आशंकामा फटाफट ठूलो तयारी सुरु भयो । निष्क्रिय सरकारी संयन्त्रहरू एकाएक सबै उठेको आभास हुन थाल्यो । तर सरकारी योजनाको समीक्षा पनि हुन थाल्यो । सरिता तिवारीले लेखिन्, ‘यो राज्यले अपनाएको लगभग पद्धतिशून्य अर्थनीति र स्वास्थ्यनीतिका परिणाम हुन् हामीसँग कोभिड–१९ सँग लड्ने अहिलेसम्म त्यस्तो ठोस र विश्वसनीय तयारी छैन’ (कान्तिपुर, १८ चैत २०७६) । सरिताले भ्रष्ट संस्कृतिमाथि पनि केही अर्थपूर्ण वाक्य लेखेकी छन् । यस्तो भाइरससँग जुध्‍ने बेला पनि यसैमाथि भ्रष्टाचार हुँदै छन् र ती भाइरल हुँदै छन् ।

अहिले अमेरिकाको कोरोना महामारीको निकट भविताको प्रक्षेपण भयानक छ । अमेरिकी सरकारको, खास गरी राष्ट्रपति ट्रम्पको पनि आलोचना भइआएको छ । उनले चीनको आलोचना गरेर अनि अमेरिकाको बडप्पन देखाएर सबभन्दा महत्त्वपूर्ण समय नष्ट गरे । अमेरिकामा एक लाखदेखि अढाई लाख वा अझ बढी मानिस मर्ने सम्भावनाको प्रक्षेपण गर्दै छन् विज्ञहरू । यो भयावह कुरा हो । ११ सेप्टेम्बर २००१ को आतंककारी हमला नजिकै आकाशमा देखेका न्युयोर्कवासीले अहिले सूक्ष्म जैविकको कर्तुत भोग्ने नियति बेहोर्नुपरेको अवस्था देखियो । यसैको मौका छोपी पुँजीवादी सञ्जालका शक्तिहरू पृथ्वीलाई विनाश गर्न रोक्ने वातावरण कानुन पल्टाएर अमेरिकामा कोइलाखानीहरू खोल्ने तरखरमा छन् ।

बहसको अर्को पाटो छ । त्यो अनिश्चित छ तर चिन्ताजनक छ । यो महामारीका सन्दर्भमा मानिसहरू निराधार बन्दै छन् । अहिलेको प्रक्षेपण सिद्धान्तको होइन, विचारधाराको होइन, रोकथाम उपचार र सहयोगको हो । तर यसै बेला नागरिकको निजी स्वतन्त्रताभित्र पसेर तिनलाई कोरोना भाइरस लागे–नलागेको थाहा पाउने राज्यको दायित्वको भाषिका व्यापक प्रचार हुन थालेको छ । मूल विषय अब मानिसका गुणका विषयमा डरलाग्दा दर्शन निस्किन लागेका छन् । मानिस शासित हुनुपर्छ । राज्यको संयन्त्र बलियो हुनुपर्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भन्दै छन्— माथिको सरकारी अधिकारी वा शासकबाट निःसृत अधिकार मात्र व्यक्तिले पाउने हो । आजै मात्र देखें र पढें, हंगेरीका भिक्टर ओर्बानले खुलेआम अब शक्ति मेरो हातमा आउनु मात्र कोरोनासँग लड्ने एउटा उपाय हो भनेर घोषणा गरे । युरोपेली संघले त्यसको आलोचना गर्दै भन्यो— मित्र सीमित समय, सीमित घेराभित्र मात्र बसेर काम गर । त्यसो त यो बेला सरकारहरू कहीँ असल काम गर्छन् भने, कहीँ आफ्‍ना कर्महरू लुकाउन नीतिहरू बनाउँछन् । तर कुराको गाँठो त्यहीँ छ । अहिलेको अवस्थामा, ग्रीक ट्र्याजेडीमा भनेजस्तै, मानिसले त्रासद कर्मको नियति भोग्नु एक मात्र उपाय छ । ट्र्याजेडी दर्शनको सार हो— त्यस्तै नियति भोगेको मान्छे हुँ र म भोग्छु; म मान्छे हुँ, त्यसैले जित्छु । मान्छेले त्रासद अवस्था भोगेर भए पनि जित्छ । त्रासदीपछि उज्यालो आउँछ भन्‍ने विश्वास नै यसको सामर्थ्य हो ।

बीपी कोइराला, महात्मा गान्धी, कार्ल माक्र्सजस्ता मानवमुखी राजनीतिक दर्शन भएका मानिसहरूले परिकल्पना गरेको मानिसको मुक्ति कुनै घटना वा महामारी वा आर्थिक मन्दीले परिवर्तन हुनु हुँदैन । मानिस शाश्वत छ । बीपीका डायरी र लेखहरूबाट थाहा हुन्छ, ती नेपालमा यस्तो समयमा युग परिवर्तन गर्नु छ भनेर कस्सिएका थिए, जुन बेला यहाँ वैश्विक चेतनाले छोएको थिएन । जहाँ मट्टीतेलको सट्टा दियालो बाल्नु मात्र विकल्प थियो । जहाँ मानिस मध्ययुगको सामन्ती शासनभित्र जीवन चलाउन बाध्य थिए । जहाँ साहूहरूले विपन्नहरूको खुलेआम शोषण गरिरहेका थिए, अहिले पनि गर्दै छन् । अहिलेको नेपाल बीपीले देखेको नेपालभन्दा कति फरक छ ? प्रश्न गर्छौं । नेपाल, जहाँ विकासे गफले केही बदलेन । जहाँ धनको छताछुल्ल प्रयोग देखिन्छ, तर त्यसको अत्यन्त थोरै भाग सरकारको नियन्त्रणमा छ र त्यो योजनामा प्रयोग हुन्छ । जहाँ राष्ट्रिय महत्त्वका योजनामा बढीमा ३० प्रतिशत मात्र बजेट खर्च हुन्छ । जहाँ मानिस रोग त के, महारोग लागे पनि कि झाँक्रीकोमा कि ठग गुरुहरूकोमा पुग्छन् । जहाँ टाढाका मानिसहरू डाक्टरहरूकोमा पुग्न सक्तैनन्, किनभने ती त्यहाँ छैनन् र त्यहाँ अस्पताल मिथक हुन् । जहाँको दूरदराजका मानिसहरूले उत्तेजक राजनीतिक नाराहरू सुने, चिल्ला रमाइला खेलौना समाते अनि ती पड्काउन जाने । ती सबै आफ्‍नै परिवेशमा फर्किन्जेल आफ्नो र यो देशको समय निकै बितिसकेको थाहा हुन्छ । जहाँका मान्छेलाई देश, दुःखसुख जे झेले पनि, एउटा प्यारो थलो हो, जहाँ हातमुख जोड्न नमिलेपछि बाहिर जानु एक मात्र विकल्प छ । त्यसैले ती सीमाबाहिर निस्के । भारतमा त लाखौंको संख्यामा हिँड्दै र गुड्दै गए । घर भनेको आदिम र अन्तिम थलो, एक शक्तिकेन्द्र जीवनको । विपत् पर्दा त्यही भूमिमा मुक्ति मिल्छ राम्ररी खान नपाए पनि भन्ने विश्वास बोक्ने तिनको पहिचान हो । त्यसैले कोरोनाको महामारी आफूले नबुझे पनि विपत् हो भन्ने बुझेर ती त्यही सानो भूमिमा मुख लुकाउन फर्केका हुन् । त्यसैले ती महाकाली नदीमा हाम फालिरहेका हुन्, कि रुँदै भारततिरै फर्केका हुन् । कार्ल माक्र्सले भनेका छन्— गरिब मजदुरहरूको देश र सीमा हुँदैन । भारतीय विपन्न मानिसहरूको पनि त्यही अवस्था देखिन्छ । ती मुम्बईदेखि तीन महिनाका बच्चा बोकेर बिहार घरसम्म पुग्न हिँडेका भेटिए, भारतभित्र । अरू दक्षिण एसियाली देशहरूको हालत पनि त्यस्तै छ ।

बीपीले देखेका मानिसहरू लगभग तिनै थिए र छन् । तर बीपीले मुक्तिको बाटो व्यक्तिको सम्मान र स्वतन्त्रतालाई अनि साधारण बस्ने खाले व्यवस्थालाई माने । आज कोरोना महामारीसँग लड्दा त्यो विषयलाई भुल्न हुँदैन । भोलिका दिनहरू विश्वमा र नेपालमा निकै फरक हुनेछन् । नयाँ सोच, नयाँ विचारधारा, नयाँ नेतृत्व र मानिसको मुक्तिका नयाँ काल्पनिकीहरूले मात्र अब काम गर्नेछन् । तर राज्य सञ्चालकहरूले हामीमाथि रजाइँ गर्ने निकै प्रविधि हासिल गर्नेछन्, जसबाट बच्‍न व्यक्तिको मुक्तिको चेतना झन् बलियो बनाउनुपर्ने अबका दिनको आवश्यकता हो । लकडाउनमा डायरी पढ्दै जाँदा यिनै कुराले उब्जाएका अभिव्यञ्जनाहरूले द्रवित बनाउँछन् ।

प्रकाशित : चैत्र २२, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?