कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

परदेशीको डायरी : रफ्तारको जिन्दगीमा ब्रेक लाग्दा‍...

महेशकुमार खाती

कोपनहेगन — सधैं हतारहतार कुदिरहने मान्छेको दैनिकीमा टक्क ब्रेक लागेको छ। न कहिल्यै बन्द हड्ताल हन्थ्यो, न कहिल्यै बिजुली जान्थ्यो । न त रोकिन्थ्यो कसैको काम । तर, यसपालि यहाँका कसैले मात्रै होइन विश्वले नै नसोचेको भयो । मान्छेको दैनिकीमा टक्क ब्रेक लाग्यो एक्कासी ।

परदेशीको डायरी : रफ्तारको जिन्दगीमा ब्रेक लाग्दा‍...

बिहान बेलुकाको छाक पनि घरमा नखाने बरु रेस्टुरेन्ट जानेहरु अहिले पिँजडाको सुँगा भएका छन् ।

संसारकै सबैभन्दा धेरै खुसी मानिस बस्ने देशको सूचीमा दोस्रो नम्बरमा आउने ठाउँमा आज खुसी पनि हराएको छ । हो, यही डेनमार्कको कोपनहेगनमा म करिब ५ वर्षदेखि छु । र, संसारले भोगिरहेको कोरोना भाइरसको कहरको एक भुक्तभोगी एवं साक्षी भइरहेको छु ।

यहाँ २ सातादेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द छन् । बाहिर निस्कन पनि त्रासको ठूलो पर्खाल ठडिएको छ । के रैथाने, के आप्रवासी दुवैको अवस्था समान भएको छ । हिजो आप्रबासीहरुसँग त्यसै दुरी कायम गर्ने रैथाने वर्गलाई अहिले आप्रबासीले समेत त्यस्तै व्यवहार गर्नुपरेको छ, सपिङमा देखिए, भेटिए । आफ्नैसँग त दुरी राख्नुपर्ने बाध्यता ती रैथाने र हामी आप्रबासी सबैलाई भइगएको छ।

यो लेख्न बसिरहँदा बेचैन र अशान्त मन जो छ । जिन्दगी आफ्नै गतिमा चलिरहेको थियो । एकनासको दैनिकीले लय पक्रेको थियो । बिहान उठ्यो २ वर्ष पुगेकी छोरीसँग केही खेल्यो । ब्रेकफास्ट गरेपछि छोरीलाई डे-केयर पुर्‍यायो अनि काममा गयो । दिउँसो मीराजी (श्रीमती) ले छोरी घर लिने अनि खुवाउने र खेलाउने अनि राति आफू आएर खाना खायो रेस्ट गर्‍यो । यसो भनौं दोडधुपमै चलिरको थियो जिन्दगी । आफ्नो देशमा जस्तो परदेशमा सुख र खुसी भन्ने त हुने कुरै भएन । विकइन्डमा साथीभाइसँग भेट्ने यसो घुम्न जाने यसैगरी चलिरहन्छ । यस्तै किसिमको दैनिकी म लगायत धेरै परदेशीको हुन्छ ।

मार्च १६ तारिखबाट दैनिकीमा पूर्णबिराम लागेको छ अर्थात डेनमार्क लकडाउन छ । यो १३ अप्रिलसम्म हुनेछ । त्यसपछि के हुने हो ? थाहा छैन ।

डेनमार्क राजतन्त्रात्मक मुलुक हो । तर यहाँ बसका यी झन्डै ५ वर्षमा त्यसको आभास कहिल्यै गर्न पाइएको होइन । राजा को हो, रानी को हो ? युवराज को हो ? केही थाहा नहुने । किनभने हाम्रो राष्ट्रपतिको समाचार आइरहेजस्तो यहाँ समाचार आएन । राजपरिवारका सदस्य नै हाम्रा राष्ट्र प्रमुखजस्तो सार्वजनिक भइरहने वा सार्वजनिक कार्यक्रममा गइरहने हुँदो रहेनछ ।

डेनमार्ककी महारानीको समाचारै यहाँ आएको झन्डै ५ वर्षमा सुन्न पाइयो । त्यो अवसर कोरोनाले जुरायो । महारानी मार्गरेटले १७ मार्चमा देशबासीलाई सम्बोधन गरिन् । सबै एकजुट भएर कोरोनाविरुद्ध लड्न उनको अपिल थियो । यहाँका युवराज फ्रेडरिक केही वर्षअघि नेपाल भ्रमणमा गएका थिए, तसर्थ उनको नाम नेपालीका लागि नौलो रहेन ।

महारानीको सम्बोधन अघि प्रधानमन्त्री मेट्टे फ्रेर्डिक्सनले लकडाउन घोषणा गरेकी थिइन् । घोषणा हुँदा साथ पसल १/२ दिन मानिसको भीडले भरिए । एसियाली मूलका खाद्यान्न जोहो गर्न लागे । डेनिसहरुले ट्वाइलेट पेपर तथा डिसइन्फेक्सनलगायत सामान भण्डारण गरे । अझै खाद्यान्न पसलमा खानाका सामान कम भएको छैन, सजिलै पाइन्छ ।

प्रधानमन्त्रीले हप्तैपिच्छेजस्तो पत्रकार सम्मेलन गरिरहेकी छन् । सरकारले नयाँ योजना पनि ल्याइरहेको छ । ३० मार्च सोमबार साँझ पनि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मेट्टेले अनुशासनपूर्वक र कडाइका साथ नियमहरु पालना गर्न नागरिकलाई फेरि अनुरोध गरेकी छन् ।

परदेशमा भएका मजस्ता नागरिकको मन यतिबेला भतभती पोलिरहेको छ। आफू रहेको देशमा कतिबेला के हुने हो भन्ने त डर छँदैछ, उता नेपालमा रहेका ममीबाबा, आफन्त, नातागाता, जापानमा भएको भाइ र विश्वमा छरिएका आफ्ना तथा नेपालीमा के हुने हो चिन्ता पनि उत्तिकै छ । यस्तो बेलामा मनभरी अत्यासमात्र छुट्दो रहेछ । यस्तो विषम परिस्थितिमा दोहोरो चिन्तामा तड्पिरहेका छौं प्रवासी नेपालीहरु ।

झन्डै ६० लाखमात्र जनसंख्या भएको यो सानो देशमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्पेन र इटालीबाट आएका मानिसबाट भाइरस सरेको बताइन्छ बुधबार दिउँसो १२ बजेसम्म २८६० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ९० जनाको ज्यान गएको छ । हालसम्म २४१७५ व्यक्तिमा जाँच गरिएको बताइएको छ ।

एक नेपालीलाई पनि कोरोनाको संक्रमण सरेको हल्ला छ तर आधिकारिक तथा स्वतन्त्र रुपमा पुष्टि हुन अहिलेसम्म सकेको छैन । डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले डेनमार्क र नोर्डिक क्षेत्रका देशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताए । अहिलेसम्म नेपालीमा संक्रमण सरेको जानकारी नभएको उनको भनाइ छ । नोर्डिक क्षेत्रमा डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्ड देश पर्छन् ।

दैनिक रुपमा उल्लेख्य मात्रमा कोरोनाको परीक्षण हुन नसकेको भनेर विश्व स्वास्थ्य संगठनले र अन्य निकायले डेनमार्क सरकारको आलोचना गरेपछी झन्डै १५ सयबाट बढाएर अबबाट दैनिक ५ हजारसम्मको जाँच गरिने बताइएको छ ।


सकसमा नयाँ विद्यार्थी

डेनमार्कमा यतिबेला सबै चीज ठप्प छ । कामकाज सबै बन्द छ । अति आवश्यक केही काम भने चलिरहेका छन् । खाद्यान्न र औषधि पसलमात्र खुला छन् । अरु पसल तथा बजार पूरै बन्द छ । यातायातका साधनहरु भने पातलै भए पनि नियमित रुपमा चलेका छन् । लकडाउनको मारमा आम मानिस परेका छन् । डेनमार्कमा करिब ५ हजारको संख्यामा नेपाली छन् । यो संख्या विद्यार्थी, विद्यार्थीपछि स्थायी बसोबास, ग्रीन कार्ड(अहिले बन्द) तथा अन्य देशबाट आएका नेपाली गरि जम्मा हुन् ।

अहिले नयाँ आउने विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ । अध्ययनका लागि फेब्रअरी इन्टेकका लागि झन्डै १०० जना नेपाली विद्यार्थी डेनमार्कका विभिन्न युनिभर्सिटी तथा कलेजमा आएको बताइन्छ । आउँदा बित्तिकै यस्तो समस्यामा उनीहरु फँसेका छन् । बाहिरी वातावरण जान्न बु्झ्न नपाउँदै कोठाभित्र गुम्सनु परेको छ । लाखौं रुपैयाँ खर्च गरेर पढ्न र कमाउन आएका उनीहरुको सपनामा कोरोना भयानक आँधी बनेर आएको छ । सीमित खर्च लिएर आउने विद्यार्थीहरुलाई दैनिक खाना बस्न समस्या पर्ने देखिन्छ । त्यसैले केही दिनअघि एनआरएन डेनमार्कले यहाँका सबै संघसंस्था समेटी सहयोग गर्न टास्कफोर्स बनाएको छ । एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले समस्यामा परेका ५० जना विद्यार्थीलाई केही हप्तालाई पुग्ने रासन वितरण गरेको जानकारी दिए । ‘भर्खरै नेपालबाट आएका विद्यार्थीहरुलाई अलि समस्या देखियो अनि पहिलो चरणमा केही हप्तालाई पुग्ने खाद्यान्न प्रदान गरेका हौं,’ उनले भने ।

विद्यार्थीहरु नेपाली परिवारसँगै बस्ने हुनाले समस्या सबैलाई थाहा भएकाले तत्काललाई बस्न भने समस्या नहुने बताइन्छ । सरोकार राख्ने नेपाली संघसंस्थाका व्यक्तिहरुले पनि नेपाली समुदायलाई लकडाउन पूर्ण रुपमा लागु गराउन सामाजिक सञ्जाल तथा फोनबाट अनुरोध गरेका छन् ।

डेनिस सरकारले आम मानिसलाई सहयोग पुर्‍याउन भनेर आर्थिक प्याकेज घोषणा गरेको छ । निजी कम्पनीका कामदारलाई सरकारले ७५ प्रतिशत र रोजगारदाता कम्पनीले २५ प्रतिशत तलब दिनुपर्ने नीति लिएको छ । आर्थिक भारका कारण निजी कम्पनीलाई तत्काल कामदार निस्कासन नगर्न सरकारले निर्देशन दिएको सत्तारुढ दल सोसियल डेमोक्र्याटका स्थानीय नेता तथा नेपाली समुदायका अभियन्ता हरि न्यौपाने बताउँछन् । ‘राज्यले कोरोनाविरुद्ध जुध्न आर्थिक प्याकेज घोषणा गरेको छ, कामदार ननिकाल्न निजी कम्पनीलाई निर्देशन दिएको छ,’ उनले भने ।

यहाँका नेपालीहरु धेरै सेवा क्षेत्रमा काम गर्छन् । होटल, रेस्टुरेन्ट तथा सफाइमा काम गर्छन् । ती क्षेत्रहरु बन्द हुँदा धेरैको कामकाज ठप्प छ । अब यो कोरोना भाइरसको प्रकोप घटे पनि सेवा क्षेत्रमा भने लामो समयसम्म असर पुर्‍याउने निश्चित छ । जसको प्रत्यक्ष असर यस क्षेत्रमा काम गर्नेको जीवनमा सिधै पर्ने छ ।

यसरी अहिलेको यो जटिल लकडाउनको परिस्थितिबाट उम्कने कहिले होला ? भन्ने मनमा कुरा खेल्दाखेल्दै भोलिका दिन अर्थात भविष्य पनि चम्किलो नदेखिँदा मनमा केही चिसो अनायासै पस्ने गरेको छ, म र म जस्ता परदेशीमा । जससँग जोडिएको छ मेरो देश नेपाल पनि, किनकी रेमिट्यान्सको योगदानले नै देशको आर्थिक जीवन चलायमान छ नि त !

प्रकाशित : चैत्र २१, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?