२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मास्क-फोर्स त आयो, टास्क-फोर्स खै ?

लेनिन बञ्जाडे

काठमाडौँ — प्रधानमन्त्रीज्यू, नमस्कार ! तपाईं अस्वस्थ हुनुहुन्छ । यस्तो बेला लेखिरहन मन थिएन । मलाई थाहा छ, तपाईंको ट्विटर र फेसबुक चलाइदिने सहयोगीले यो लेखनी तपाईंसम्म पुर्‍याइदिँदैनन् पनि । तैपनि नागरिकको हैसियतले यति लेख्ने आँट आएको छ ।

मास्क-फोर्स त आयो, टास्क-फोर्स खै ?

कोरोनाभाइरस रोग (कोभिड-१९) विरुद्ध सारा विश्व घुँडा धसेर लडिरहेको छ । सरकार पनि कोभिड-१९ विरुद्ध लड्न आफूसक्दो गरिरहेको छ । कोष नै बनाएर पैसा उठाइरहेको छ । करोड-करोड सहयोग गर्नेहरू अघि सरिरहेकै छन् । दैवी प्रकोप उद्धार कोषको अर्बौं रकममा धमिरा लागिरहेका बेला थुप्रिएको यो नयाँ पैसाले कीटनाशकको काम गरोस् र सबै धमिरा मारोस् !


सरकारले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति पनि बनाएको छ । सर्सरती नाम पढ्दा यो समितिमा भएका ५ जना सचिवबाहेक सबै मन्त्रिपरिषद्कै सदस्य रहेछन् । गोकुल बाँस्कोटा पनि छन् कि भनेर सुरुमा उत्सुक थिएँ, नाम नदेखेपछि निराश भएँ । त्यसैले, मलाई यो समितिबाट खासै ठूलो आशा छैन ।


प्रधानमन्त्रीज्यू ! तपाईंले गठन गर्नुभएको उच्चस्तरीय समितिमा एकजना पनि विशेषज्ञ छैनन् । उनीहरू मूलत: राजनीतिक व्यक्ति हुन् । वा, भनौं- कोटा पुर्‍याउनैपर्ने बाध्यतामा तपाईं फेरि थिचिनुभयो । यो समितिका धेरैजसो सदस्यमा प्राविधिक विषयप्रतिको ज्ञान शून्यबराबर छ । ‘पाहुना’लाई खाना खुवाइसकेपछि स्वयं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही दिनअघि पीपीईबारे बोलेको कुरा तपाईंले सुन्नुभएकै होला । अनि भर्खरै चीनबाट ल्याइएका सुरक्षा र उपचार सामग्री खरिदको अनियमितताबारे उठेका सवाल पनि थाहा पाउनुभएकै होला ।


भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्नुभएको थियो । अब त झन् सजिलो भएको छ, मास्क लगाएका छन् सबैले, कसैको अनुहार हेर्नै पर्दैन । तर, मास्कले मुखमात्रै छोप्छ प्रधानमन्त्रीज्यू, नियत छोप्दैन !


बरु यो जञ्जालबाट पर रही सरकारभन्दा एक कदम अगाडि सरेर निजी क्षेत्रले आफूसक्दो काम गरिरहेको छ । हामीले मरीमेटेर राज्यलाई कर तिर्नुको ठूलो स्वार्थ भनेको यस्तै विपदमा राज्य हरेक नागरिकको ओत बनोस् भनेर हो । अहिले स्वयं सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू सरकारलाई भन्दा पहिले निजी क्षेत्रलाई गुहारिरहेका छन् । यस्ता खबर देख्न पाए त तपाईंलाई पक्कै पनि चसक्क हुँदो हो । तर, तपाईं यस्ता खबर देख्नुहुन्न । वा भनौं... तपाईंलाई देखाइँदैन ।


सरकारको कामप्रति यति धेरै अविश्वास हुनु हुन्थेन । सायद खराबी ममा पनि छ । हामीमा पनि छ । त्यसैले स्थिति भयावह हुनुभन्दा अगाडि नै सरकार तातोस् । खराब कर्मचारीतन्त्रको छायाँ पनि नपर्ने गरी प्रधानमन्त्रीमातहत विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय टास्क-फोर्स बनाओस् । त्यसका लागि मेरा केही प्रस्ताव छन्–


१) विषयगत चिकित्सक-

कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने चिकित्सकीय पूर्वाधार तयारीमा काम गर्न सक्छन् । आवश्यकताका आधारमा श्वासप्रश्वाससम्बन्धी उपकरणको व्यवस्थापनसँगै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरणको प्राथमिकता निर्धारण गर्न सक्छन् । देशभर खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको केन्द्रीय संयोजन गर्न सक्छन् ।


२) सुरक्षाकर्मी–

लकडाउन समयको सम्पूर्ण रेखदेख र सुरक्षा प्रबन्धको संयोजन गर्छन्, जुन अहिले भइरहेकै छ । यसमा तीनै सुरक्षा निकाय– सेना, प्रहरी र सशस्त्र प्रहरी पर्छन् । सेनासँग विपद व्यवस्थापनको अनुभव, उपकरण, हेलिकप्टर छन् ।


३) विपद् व्यवस्थापन विज्ञ–

कोरोना संक्रमण फैलिने क्रम बढ्दै जाँदा देखिन सक्ने जोखिम मूल्यांकन गरी अत्यावश्यक सेवाका लागि संयोजन गर्न सक्छन् । विभिन्न निजी हेलिकप्टर र विमान कम्पनीहरूसँग सहकार्य गरी आवश्यकताका आधारमा तत्काल खटाउन सक्छन् ।


४) उद्यमी/व्यवसायी–

देशभित्रै उपचार र सुरक्षा सामग्री निर्माणका लागि तत्काल निर्णय लिन सक्छन् र छिटोभन्टा छिटो उत्पादन गर्न सक्छन् । चाहिएको खण्डमा अन्य उद्यमी/व्यवसायीलाई परिचालन पनि गर्न सक्छन् ।


५) सञ्चारकर्मी र सामाजिक अभियन्ता–

टास्क-फोर्सका तर्फबाट जारी गरिने सूचनाका लागि यसले केन्द्रिकृत संरचना बनाउँछ । सामाजिक अभियन्ता परिचालन गर्ने र सामाजिक सञ्जाल प्रयोगकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गरी सूचना प्रसार गर्नेछ । र, साथै अहिले समुदायसँग जोडिएर महिला, बालबालिका, अपांगता भएका नागरिकको क्षेत्रमा काम गरिरहेका अभियन्तासँग पनि नजिक रहेर काम गर्नेछ ।


६) अस्पताल र एम्बुलेन्स–

निजी अस्पतालको संगठन र एम्बुलेन्स सेवा दिने संस्था अहिले सबैभन्दा बढी संवेदनशील र भर परिएका पक्ष हुन् । यी संस्थाहरूको प्रतिनिधित्व हुँदा आपतकालीन सेवामा समस्या आउनेछैन । देशभरिका स्वास्थ्य संस्थामा सहज पहुँच र उपचारका लागि उनीहरूले काम गर्न सक्छन् ।


७) मनोचिकित्सक–

अहिलेको विषम परिस्थितिमा सामाजिक जीवन कायम राख्न मनोचिकित्सकको ठूलो भूमिका हुन्छ । टास्क-फोर्सका यी सदस्यले मनोचिकित्सकहरूको समूह निर्माण गर्नेछन् र सबैखाले सञ्चारका माध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जाल)बाट आमनागरिकलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा परामर्श दिनेछन् ।


८) सामाजिक सञ्जाल र हटलाइन–

टास्क-फोर्ससँगै सामाजिक सञ्जाल र हटलाइन सञ्चालनका लागि छुट्टै टोली निर्माण गर्न सकिन्छ । कुनै पनि क्षेत्रका नागरिकले सामाजिक सञ्जाल अकाउन्ट वा निश्चित हटलाइन नम्बरमा सम्पर्क गर्नेबित्तिकै यसले टास्क-फोर्सलाई अवगत गराउँछ । यो चौबीसै घण्टा सञ्चालन भइरहनेछ ।


९) दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक–

बाहिरी जनजीवन ठप्प रहेकाबेला सञ्चारको सबैभन्दा ठूलो भर दूरसञ्चार र इन्टरनेट सेवाप्रदायकको छ । बढीभन्दा बढी नागरिकलाई सञ्चार सेवा दिन यिनीहरूको भूमिका उल्लेख्य छ । त्यसमाथि उनीहरूसँग हरेकजसो नेपालीको डेटाबेस छ । त्यसैले, यी सेवाप्रदायक पनि टास्क-फोर्समा रहँदा जनचेतनासँगै तत्काल स्वास्थ्य सेवाका लागि समस्या पर्नेछैन ।


प्रधानमन्त्रीज्यू ! कानुनका कतिपय व्यवस्था मलाई थाहा छैन । मैले प्रस्ताव गरेको यो संरचनाका लागि कानुन कति सजिलो छ/छैन, म बुझ्दिनँ । तर, संकटको बेला कार्यकारी प्रधानमन्त्रीले कतिपय विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयन गराउन सक्छन् । सेक्युरिटी प्रिन्ट मेसिन, पीपीई खरिदजस्ता काममा कानुन लत्याउँदै आँखा चिम्लेर काम गर्न सक्ने सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि जस्तासुकै बाधा-व्यवधान पनि हटाउन सक्नुपर्छ । सरकारको बचाउका लागि सामाजिक सञ्जालभरि टास्क-फोर्स सक्रिय बनाएजस्तै नागरिक बचाउन पनि बलियो टास्क-फोर्स गठन गर्नुस् । र, यसलाई कर्मचारीतन्त्रको जञ्जालमा छिर्न नदिनुस् ।


बाटो नबिराउनुस् प्रधानमन्त्रीज्यू, बाटो देखाउनुस् ! मजस्ता सयौं युवा राष्ट्रको सेवा गर्न तयार छौं ।

प्रकाशित : चैत्र १८, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?