१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्लग : तर पनि दियोचाहिँ जल्छ !

गंगा बीसी

काठमाडौँ — राजधानीका सडकबीच भाग र पेटीमा फूलेका फूल राम्ररी खुल्न नसकेजस्तो छन् । ती फूलअघि उभिएर न कसैले सेल्फी लिएको छ, न नजिकबाट नियाल्न पाएको छ । बिल्कुल शान्त छन् फूलहरु । सुनसान छ सडक । 

ब्लग : तर पनि दियोचाहिँ जल्छ !

चैत मासको हुरी चल्छ बेलाबेला, कहिलेकाहिँ हुरीसहित पानी पर्छ । तर, मान्छेको घरघर र मनमनमा निरन्तर हुरी चलिरहेको छ । कोभिड–१९ संक्रमणको त्रासमा मनको हुरी जोडजोडले चल्दैछ ।

एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक सामान बोकेका गाडीमात्र सडकमा देखिन्छन् । सरकराले कोरोना रोकथामका लागि एक साता मुलुक ‘लकडाउन’ गरेको छ । मुलुक यसरी लकडाउन भएको पहिलोपटक हो । नेपालमा चलेको माओवादी १० वर्षे युद्धको अवधिमा पनि यसरी देश ‘लक्ड’ भएको थिएन ।

त्यसो त हाल विश्व नै ठप्प छ । छिमेकी देश भारत तीन साताका लागि लकडाउन गरिएको छ । महामारी फैलिएको चीनको हुवेई प्रान्त अझै खुलेको छैन । संक्रमण कम भएपछि एक सातापछि कोरोना फैलिएको इपिसेन्टर वुहान आंशिक रुपमा खोल्ने तयारी छ ।

मुलुक लकडाउन गरेर सरकार कोरोनाविरुद्ध युद्धस्तरमै उत्रिएको छ । भाइरस रोक्ने सबभन्दा उत्तम उपाय नै लकडाउन भएकाले सरकारले यो कदम चाल्यो । राजधानीमा बस्नेहरु दशैंबाहेक पहिलोपटक यति ठूलो संख्यामा गाउँ फर्के, भूकम्पलाई छोड्ने हो भने । तुलनात्मक रुपमा आइसोलेसनका लागि गाउँ सजिला छन् । त्यही भएर स्कुल बिदापछि मानिसहरु नानीहरु लिएर गाउँ फर्के ।

सहरमा पनि मानिसहरु घरभित्रै छन् । सहर वा गाउँ जहाँ बसे पनि ‘लक्ड’ हुनु उत्तम उपाय हो । यसको अर्थ हो, शारीरिक दूरि कायम राख्ने ।

भाइरसको कुनै देश, सीमा र भूगोल नुहुने रहेछ । त्यसैले यो विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेजस्तै दूरि कम गरेर यसलाई रोक्ने हो ।

चीनको हुबेई करिब तीन महिना लकडाउनपछि बल्ल खोल्ने तयारी हुँदैछ । हाम्रो एक साताका लागि लकडाउन छ, यो कम्तिमा थप एक वा दुई साता लम्बिन सक्ने संभावना छ । भाइरसको महामारी सहनुभन्दा लकडाउन गरेर यसलाई नियन्त्रण गर्नु उचित हो ।

विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाका मुलुकमा कोभिड–१९ विरुद्ध लड्न आक्रामक कदम चाल्न आग्रह गरिसकेको छ । त्यहीअनुसार भारत र नेपालले मुलुकलाई लकडाउन गरी रोकथामका लागि कदम चालेका छन् ।

चीनको वुहान सहरमा मात्र ५० हजार कोरोना संक्रमणमा परेकामध्ये ४३ हजार दुई सय उपचारपछि निको भएका छन् । चीनको सिन्ह्वा समाचार संस्थाले वुहानमा यो नियन्त्रणका लागि मानिसहरुले त्याग गरेको र दृढतापूर्वक लागेको उल्लेख गर्दै हाल उज्यालो बिहानीको संकेत देखिन थालेको जनाएको छ । वुहानबाट अप्रिल ८ पछि मानिस बाहिर जान पाउने छन् । वुहान खुलेको दिन सायद ठूलो उत्सव हुने छ । किनकी त्यो कोरोना भाइरस जितेको दिन पनि हुनेछ ।

वुहानमा मात्रै २१ हजारभन्दा बढी स्वास्थ्यकर्मी अरु क्षेत्रबाट आएर दिनरात खटेका थिए । हाल उनीहरु हातमा चीनको झण्डा लिएर हजारौं व्यक्तिको ज्यान बचाएर सन्तुष्टिका साथ फर्किरहेका छन् । वुहानमा वसन्त ऋतु लागिसको छ, चेरी ढकमक्क फूल्न थालेको छ । हजारौं बिरामीको उपचार गरेर फर्कदै गरेका स्वास्थ्यकर्मीहरु त्यहाँको पूर्वी ताल र फुलेका चेरीसँग तस्बिर लिइरहेका देखिन्छन् । त्यो अवस्मिरणीय तस्बीर हुनेछ, किनकी उनीहरु महामारीसँग लडेका ‘स्वास्थ्य सिपाही’ हुन् ।

अबको तीन सातामा भारत र नेपालमा कोरोना संक्रमणको एउटा तस्बीर देखिने मानिएको छ । तीन साता हामीले धैर्य र सजगता अपनाउनै पर्नेछ । संक्रमणको सीमा कति हो, अनुमान गर्न गाह्रो छ । एउटा अनुमानचाहिँ गर्न सकिन्छ, यो संक्रमण एक दिन अन्त्य हुनेछ । कोरोना संक्रमण रोकथाम सरकारको ठूलो अग्निपरीक्षा हो । यो सम्पूर्ण नेपालीको पनि अग्निपरीक्षा हो । यो अग्निपरीक्षा पास गर्ने एक मात्र उपाय हो– रोकथामका लागि सरकारको आक्रामक काम । जनताको सावधानी, त्याग र धैर्य ।

अहिले त्यस्तै अवस्था हो । सावधानीका साथ मन बलियो बनाउने । अनि आशाका लियो बाल्ने । धर्तीमा बेलाबेला हावाहुरी चल्छ, महामारी पनि आउँछ तर एक दिन जान्छ । स्वर्गीय गायक अमर गुरुङको गीत यतिबेला सान्दर्भिक हुन्छ । उनको गीतले भन्छ, मन सल्काउनु भनेको हरियाली समेत जलाउनु हो ।


जब जब मन यो सल्कन थाल्छ

हरियाली पनि जल्छ ।


आँधी हुरी त चल्छ नै चल्छ,

तर पनि दियोचाहिँ जल्छ ।

प्रकाशित : चैत्र १३, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?