ब्लग : तर पनि दियोचाहिँ जल्छ !

गंगा बीसी

काठमाडौँ — राजधानीका सडकबीच भाग र पेटीमा फूलेका फूल राम्ररी खुल्न नसकेजस्तो छन् । ती फूलअघि उभिएर न कसैले सेल्फी लिएको छ, न नजिकबाट नियाल्न पाएको छ । बिल्कुल शान्त छन् फूलहरु । सुनसान छ सडक । 

चैत मासको हुरी चल्छ बेलाबेला, कहिलेकाहिँ हुरीसहित पानी पर्छ। तर, मान्छेको घरघर र मनमनमा निरन्तर हुरी चलिरहेको छ। कोभिड–१९ संक्रमणको त्रासमा मनको हुरी जोडजोडले चल्दैछ।


एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक सामान बोकेका गाडीमात्र सडकमा देखिन्छन्। सरकराले कोरोना रोकथामका लागि एक साता मुलुक ‘लकडाउन’ गरेको छ। मुलुक यसरी लकडाउन भएको पहिलोपटक हो। नेपालमा चलेको माओवादी १० वर्षे युद्धको अवधिमा पनि यसरी देश ‘लक्ड’ भएको थिएन।


त्यसो त हाल विश्व नै ठप्प छ। छिमेकी देश भारत तीन साताका लागि लकडाउन गरिएको छ। महामारी फैलिएको चीनको हुवेई प्रान्त अझै खुलेको छैन। संक्रमण कम भएपछि एक सातापछि कोरोना फैलिएको इपिसेन्टर वुहान आंशिक रुपमा खोल्ने तयारी छ।


मुलुक लकडाउन गरेर सरकार कोरोनाविरुद्ध युद्धस्तरमै उत्रिएको छ। भाइरस रोक्ने सबभन्दा उत्तम उपाय नै लकडाउन भएकाले सरकारले यो कदम चाल्यो। राजधानीमा बस्नेहरु दशैंबाहेक पहिलोपटक यति ठूलो संख्यामा गाउँ फर्के, भूकम्पलाई छोड्ने हो भने। तुलनात्मक रुपमा आइसोलेसनका लागि गाउँ सजिला छन्। त्यही भएर स्कुल बिदापछि मानिसहरु नानीहरु लिएर गाउँ फर्के।


सहरमा पनि मानिसहरु घरभित्रै छन्। सहर वा गाउँ जहाँ बसे पनि ‘लक्ड’ हुनु उत्तम उपाय हो। यसको अर्थ हो, शारीरिक दूरि कायम राख्ने।


भाइरसको कुनै देश, सीमा र भूगोल नुहुने रहेछ। त्यसैले यो विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेजस्तै दूरि कम गरेर यसलाई रोक्ने हो।

चीनको हुबेई करिब तीन महिना लकडाउनपछि बल्ल खोल्ने तयारी हुँदैछ। हाम्रो एक साताका लागि लकडाउन छ, यो कम्तिमा थप एक वा दुई साता लम्बिन सक्ने संभावना छ। भाइरसको महामारी सहनुभन्दा लकडाउन गरेर यसलाई नियन्त्रण गर्नु उचित हो।


विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाका मुलुकमा कोभिड–१९ विरुद्ध लड्न आक्रामक कदम चाल्न आग्रह गरिसकेको छ। त्यहीअनुसार भारत र नेपालले मुलुकलाई लकडाउन गरी रोकथामका लागि कदम चालेका छन्।


चीनको वुहान सहरमा मात्र ५० हजार कोरोना संक्रमणमा परेकामध्ये ४३ हजार दुई सय उपचारपछि निको भएका छन्। चीनको सिन्ह्वा समाचार संस्थाले वुहानमा यो नियन्त्रणका लागि मानिसहरुले त्याग गरेको र दृढतापूर्वक लागेको उल्लेख गर्दै हाल उज्यालो बिहानीको संकेत देखिन थालेको जनाएको छ। वुहानबाट अप्रिल ८ पछि मानिस बाहिर जान पाउने छन्। वुहान खुलेको दिन सायद ठूलो उत्सव हुने छ। किनकी त्यो कोरोना भाइरस जितेको दिन पनि हुनेछ।


वुहानमा मात्रै २१ हजारभन्दा बढी स्वास्थ्यकर्मी अरु क्षेत्रबाट आएर दिनरात खटेका थिए। हाल उनीहरु हातमा चीनको झण्डा लिएर हजारौं व्यक्तिको ज्यान बचाएर सन्तुष्टिका साथ फर्किरहेका छन्। वुहानमा वसन्त ऋतु लागिसको छ, चेरी ढकमक्क फूल्न थालेको छ। हजारौं बिरामीको उपचार गरेर फर्कदै गरेका स्वास्थ्यकर्मीहरु त्यहाँको पूर्वी ताल र फुलेका चेरीसँग तस्बिर लिइरहेका देखिन्छन्। त्यो अवस्मिरणीय तस्बीर हुनेछ, किनकी उनीहरु महामारीसँग लडेका ‘स्वास्थ्य सिपाही’ हुन्।


अबको तीन सातामा भारत र नेपालमा कोरोना संक्रमणको एउटा तस्बीर देखिने मानिएको छ। तीन साता हामीले धैर्य र सजगता अपनाउनै पर्नेछ। संक्रमणको सीमा कति हो, अनुमान गर्न गाह्रो छ। एउटा अनुमानचाहिँ गर्न सकिन्छ, यो संक्रमण एक दिन अन्त्य हुनेछ। कोरोना संक्रमण रोकथाम सरकारको ठूलो अग्निपरीक्षा हो। यो सम्पूर्ण नेपालीको पनि अग्निपरीक्षा हो। यो अग्निपरीक्षा पास गर्ने एक मात्र उपाय हो– रोकथामका लागि सरकारको आक्रामक काम। जनताको सावधानी, त्याग र धैर्य।


अहिले त्यस्तै अवस्था हो। सावधानीका साथ मन बलियो बनाउने। अनि आशाका लियो बाल्ने। धर्तीमा बेलाबेला हावाहुरी चल्छ, महामारी पनि आउँछ तर एक दिन जान्छ। स्वर्गीय गायक अमर गुरुङको गीत यतिबेला सान्दर्भिक हुन्छ। उनको गीतले भन्छ, मन सल्काउनु भनेको हरियाली समेत जलाउनु हो।


जब जब मन यो सल्कन थाल्छ

हरियाली पनि जल्छ।


आँधी हुरी त चल्छ नै चल्छ,

तर पनि दियोचाहिँ जल्छ। प्रकाशित : चैत्र १३, २०७६ १५:५३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतबाट आएका ७ जना क्‍वारेन्टाइनमा

वीरेन्द्र केसी

(अर्घाखाँची) — भारतबाट अर्घाखाँची आउँदै गरेका ७ जनालाई जिल्ला प्रशासनले क्‍वारेन्टाइनमा राखेको छ । 



सीमा नाका कृष्णनगरबाट कपिलवस्तु प्रशासनले पथ्थरकोटसम्म ल्याइदियो। त्यसपछि अर्घाखाँची प्रशासनले बिहीबार एम्बुलेन्सबाट सन्धिखर्क ल्याएर युवा वर्ष रविचित्र मावि हटारीको क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए।

उनीहरु रोजगारीका लागि भारत गएका थिए। मंगलबार भारतको लुधियानाबाट आएका हुन्। गड्डाचौकी नाका भएर आएका अर्घाखाँचीका २९ वर्षीय एकजना हालसम्म सम्पर्कमा नआएकाले खोजी भइरहेको उनले बताए।
यसैबीच, भारतबाट आएका २५ जनालाई गुल्मीको तम्घासस्थित महेन्द्र माविको क्‍वारेन्टाइनमा राखिएहरुको स्वास्थ्य सामान्य भएपछि स्थानीय तहको जिम्मेवारीमा गाउँ पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए।

प्रकाशित : चैत्र १३, २०७६ १५:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×