कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक डाक्टरकी आमाका मनका कुरा

विजया श्रेष्ठ केसी

काठमाडौँ — अस्ति बिहीबार म हेटौंडाबाट सार्वजनिक यातायातमा सााझ ९ बजेतिर बल्खु आइपुगें । भर्खरै इमर्जेन्सीको ड्युटी सकेको मेरो छोरा मलाई लिन आएको थियो ।

एक डाक्टरकी आमाका मनका कुरा

‘किन यसरी आउजाउ गर्नु पर्‍यो ? हजुर नगए वाग्मती प्रदेश सदन चल्दैन ?’ ऊ रिसाएको उसको आवाजले भनिरहेको थियो ।


म अचम्मित भएँ । कहिल्यै केही नभन्ने छोरो किन रिसाएको होलाजस्तो लाग्यो । ‘म त एकदमै स्वस्थ्य छु, के हुन्छ र ?’ भन्ने मेरो विश्वास र घमण्डमा ठूलो प्रश्न आउँदा म साँच्चै झसङ्ग भएँ । यसको गाम्भीर्य मलाईभन्दा मेरो डाक्टर छोरालाई बढी थाहा हुन्छ भन्ने बोध भयो ।


हामी अहिले घरमा ‘सेल्फ क्वारेन्टाइन’मा सुरक्षित छौं भन्दा हुन्छ । तर, मेरो छोरा चाहेर पनि घर बस्न सक्दैन । राष्ट्र र समाजलाई बिपद् परेका बेला प्रशस्त सतर्क भएर उसले आˆनो कर्तव्य पालना गर्दैछ । राष्ट्रलाई अहिले स्वास्थकर्मीको बढी जरुरत छ भन्ने कुरा उसले राम्ररी बुझेको छ । यस अर्थमा गर्व लाग्छ । तर, आमाको मन आजभोलि आˆनोभन्दा उसैको बढी चिन्ता लाग्छ ।


अहिले हामी महामारीको चपेटामा छौं, प्राकृतिक बिपत्तिमा छौं । कहाँ कतिबेला के हुने हो थाहा छैन । शक्तिसम्पन्न, सुबिधासम्पन्न राष्ट्रहरु त त्राहीत्राहीमा छन् भने हाम्रोजस्तो निरीह देशमा यो विपत्ति आइपरे के हुने हो ? अन्दाज लगाउने अवस्था छैन ।


हामी त जसोतसो क्वारेन्टाइनमा बस्न सक्छौं तर मेरो छोरा बस्न पाउँदैन । हप्ताको दुई दिन रातिको ड्युटी पर्छ । कुनै कुनै दिन थकित शरीर र मलिन मुहार लिई घर आउँछ । इमर्जेन्सी वार्डमा कहिले त यसो झप्का पनि लिन पाउँदैन होला । आँखा लठ्ठ परेको हुन्छ । कति बेला सुतौं जस्तै गर्छ । ‘बिचरा डाक्टर’ भन्न मन लाग्छ । अँंलागोमा बेरेर काखमा राखौंजस्तो लाग्छ तर केही भन्दिनँ, केही गर्दिनँ ।


कोरोना आतंक बढ्दो छ । हवाइयातायात शून्य प्रायः भए पनि सीमावर्ती क्षेत्रमा सयौंको आउनेजाने चलिरहेको थियो । सबै नाकाहरु जोखिममा छन् । सरकारले मेरो छोराजस्तै डाक्टर, स्वास्थ्यकर्मीहरुलाई नाकामा पनि खटाएको छ । तर, ती हतियारबिना युद्धमा गएका सिपाहीजस्ता छन् । राम्रो साधनस्रोत त के कुरा भीड व्यवस्थापन गर्न पनि तिनीहरु र सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको छ ।


‘आमाको काख घरको बासजस्तो सुरक्षित ठाउँ कहीं हुँदैन’ भनी घर फर्केका ती नेपालीको के हालत हुने हो ईश्वरलाई मात्र थाहा होला ।


हाम्रोजस्तो मुलुकमा कोरोना भाइरस फैलिएमा अकल्पनीय क्षति हुनसक्छ भनी विज्ञहरू अनुमान गर्दैछन् भन्ने सुनिन्छ । दक्षिण एसिया क्षेत्रलाई विश्व स्वास्थ्य संगठनले सबभन्दा संवेदनशील क्षेत्र भनेको छ । सम्झँदा अत्यास लाग्छ । यो अवस्थामा डाक्टर छोरालाई ‘तिम्रो ड्युटी नगर, हामीजस्तै सेल्फ क्वारेन्टाइनमा बस’ भन्न सकिन्नँ ।


घरमा हुँदा हामीलाई बढी खतरा छ भनी हाम्रो कोठामा पस्दैन । हामीलाई बढी सुरक्षित राख्न खोज्छ तर मेरो मनले जवान डाक्टर छोरा बढी रिस्कमा छ भन्ने कुरा राम्ररी बुझेको छ । सायद सबै आमाको हालत मेरोजस्तै हो भन्ने पनि थाहा छ ।

मृत्यु जीवनको सबैभन्दा ठूलो त्रास हो । हामी कतिपयका परिवार बाहिर छन्, छोराछोरी साथमा छैनन् । को कता छन्, कसरी बाँचेका छन्, भोली के हुने हो केही भन्न सकिन्न ।


प्रकृति हामीसँग रिसाएजस्तो छ । प्रकृतिलाई शान्त राख्न, कोरोनालाई भगाउन सरकारले गरेको लकडाउन, ‘आफूलाई बन्द गर, कोरोनालाई छिर्न नदेऊ’ को नीतिलाई अपनाउँदै सुन्दर भविष्यको आशा गरौं । आआफ्नो कर्तव्य पूरा गरौं र समयलाई सकारात्मक सोच र सृजनात्मक ढंगले बिताऔं ।


यस्तो परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी मानवमात्रको रक्षाका लागि कुनै प्रोत्सहान, स्रोतसाधन र सुविधाबिना पनि दिनरात खटिरहने डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति सलाम र नमन भन्न मन लाग्छ ।


(लेखक वाग्मती प्रदेश सभा सदस्य हुन् ।)

प्रकाशित : चैत्र १३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?