कर्णालीका महिला

हेर्दा सामान्य लाग्ने हजारौं वर्ष पहिलादेखि चलाउँदै आएको कुटो (नुग्रे या कोरेसो) जस्तै कुप्री पर्दै आफ्नो र परिवारको पेटको आगो निभाउन रातदिन खटिन्छन् ।
कृष्णप्रसाद पौडेल, सुजाता तामाङ

तम्मोमा अन्न पिन्ने पानीघट्ट हुनान्, यी घट्टमा गेडा झाड्न मिल्ल्याउने चडा (चरा) बनाया छन् ।’ जुम्ला तातोपानीका धन गौतमको यो प्रश्नले गाउँका पानीघट्ट नदेख्ने नेपालीलाई गिज्याए जस्तो लाग्दो हो । तर त्यस्तो हैन । घट्टमा हुने यो चराको मुख्य काम पिस्न राख्ने अन्नको दाना ठिक्क खसाल्ने हो, यो आफै चल्ने हुन्छ । यो चरो नभएको घट्टमा एक जनाले कुरेर बेलाबेला लौरो चलाउनुपर्छ । यो काम गर्नमात्र एकजना छुट्टै श्रमिक चाहिन्छ । यो पिन्ने काम र चराको काम गर्ने हिजोआज अधिकांश महिला छन् । 

खेतबारी, दाउरा–घाँस, गाईवस्तु, बालबच्चा र पाका मानिसको स्याहारमा कर्णालीजस्तै अविरल बगिरहेका छन्, त्यहाँका महिला । उनीहरू हेर्दासामान्य लाग्ने हजारौं वर्ष पहिलादेखि चलाउँदै आएको कुटो (नुग्रे या कोरेसो) जस्तै कुप्री पर्दै आफ्नो र परिवारको पेटको आगो निभाउन रातदिन खटिन्छन् । यस्तो कुटोजस्तो देखिने औंलाहरू भएको काठबाट बनेको खेतीपातीको औजारलाई स्थानीय भाषामा नुग्रे (तीन औंला भएकोलाई) र कोरेसो (पाँच औंला भएकालाई) भनिन्छ । यिनले यही कुटो चलाएर सिंगो कनार्लीका मानिसको रोग र भोक मेटाउने जिम्मेवारी बोकेका छन्  । तर यो कुरा बुझ्न हामी कसैलाई फुर्सद छैन ।


कर्णालीका महिलाले खेतीपाती गर्न, खासगरी झार जिलाउन र पिरोल (सल्लाको पात) सोहोर्न चलाउने यस्तो कुटो बिरुवा स्याहार्ने सबैभन्दा आदिम, दिगो र सरल प्रविधि हो । यो बच्चा स्याहार्ने आमाले आफ्नो पेटको बच्चाको भविष्य जोगाउन गरेको मानवीय बुद्धिमत्ताको उत्कृष्ट आविष्कार हो । यसको कर्णालीका महिलासँग मात्र हैन, यहाँको माटो, पर्यावरण र प्रकृतिसँग घनिष्ट साइनो छ । यसले बढीमा १.५ इन्चमात्र माटो चलाएर धरतीको छाला कसरी मानव सृष्टि थाप्न पर्याप्त छ भन्ने बताउँछ ।


यो खेतबारीमै पाइने सबैभन्दा बलियो बुट्यान घंगारु जसलाई स्थानीय भाषामा (रुइत) भन्ने काठबाट बनाइन्छ । आफ्नो ‌औंला हेरेर आफ्नै सजिलाका लागि आविष्कार गरिएको यस्तो दिगो, सस्तो र सरल प्रविधिसमेत अहिले पुरुष पौरखको विकास ढाँचामा कैदी भएको छ । फलामबाट बनाइएको यो कुटो अहिले सुर्खेत बजारमा ३ सय रुपैयाँमा किन्न पाइन्छ । आफ्नै खेतबारीको घंगारु स्याहार गरेर दिगो कुटो बनाउनुको साटो फलामको कुटो बनाएर नाफा कमाउने सपना देख्ने र देखाउने विकासेबारे कर्णालीका महिला के सोच्दा हुन्, अन्दाज गर्न धेरै कठिन छैन । यी र यस्तै जैविक खेतीका अचुक र दिगो प्रविधि चलाएर कर्णालीबासी जीवनलाई सरल बनाउँछन् ।यसको नजिकैको अर्को उदाहरण भने अचम्म लाग्दो छ । उनीहरू घरैमा पकाउने तेलको जोहो गर्न काठको बाकस (स्थानीय भाषामा जसलाई दुनो भनिन्छ) मा तेल आउने ओखर, तोरी र अन्य उपजको धुलो हातले माडेर तेल निकाल्छन् । धेरैले सुन्दा नपत्याउने यो कुरा एउटा डोरीको त्यान्द्रोमा घाँस–दाउरा गरेर गाड (खोला) वारपार गर्ने तुइनभन्दा कम कष्टकर छैन ।


मुलुकका टाठाबाठा भने कर्णालीबासीको जिन्दगीलाई स्थानीय विशेषतामा आधारित भएर उन्नत बनाउने सोच राख्दैनन् । सुर्खेतको बाटो हुँदै सिंहदरबारको सपना बाँडेर कर्णालीबासीको गरिबी र अभावको विम्ब प्रस्तुत गरी उनीहरूकै स्वाभिमानको खिल्ली उडाउँछन् । सिंगो राज्य र शासकहरू दाताले दिएको भन्दै ‘उडुवा’ चामलसमेत जहाज र हेलीमा (चिलगाडी) उडाउँछन् । र त्यही चामल खान बाध्य बनाउँदै झाडापखाला र पोषण अभावको दुश्चक्र बढाउँछन् । यिनले दाताका दानको दुरुपयोग गर्दै कर्णाली समाजमा परनिर्भरता र असुरक्षाको त्रास फैलाउँदै मगन्तेको बिल्ला भिराएका छन् । स्थानीय खेतीपाती तहस–नहस बनाएर यहाँका मानिसलाई घरबार चलाउन अब मौसमी हैन, स्थायी परदेशी बनाउँदैछन् । अधिकांश घरका पुरुष काम र आम्दानीको खोजीमा मौसमी बसाइँ–सराइ गर्छन । पहिले–पहिले खेती लगाएर भारतमा काम गर्न जाने र खेती भित्र्याउन घर फर्किने दाजुभाइ हिजोआज कमाइ कम हुने तर दिनदिनै घरायसी खर्च बढेसँगै लामो समय उतै बिताउन थालेका छन् । यसले गर्दा पुरुषले सघाउने कामहरू पनि यिनै महिलाहरूले नै सम्हाल्नुपर्ने भएको छ ।


यहाँका मानिसहरू गाईवस्तुसँगै एउटै घरमा बस्छन् । यी घरहरू भुइँ तलामा गाईवस्तु राख्ने र माथिको तलामा मानिस बस्नेगरी बनाइएका छन् । भान्सा र मझेरीमात्र भएका यी घरहरूमा चिसो छल्न सबैजना अगेना वरिपरि सुत्छन्, कतिपयसँग ओढ्ने र ओछ्याउने कपडा पर्याप्त हुँदैन । अझ महिनावारी र सुत्केरी भएका दिदीबहिनीहरू यिनै गाईवस्तुको गोठमै सुत्छन् । किनकि यी महिलाले यस्तो बेलामा घर र भान्सा छुनु हुँदैन ! यो थाहा पाए देउता त अझ धेरै रिसाउँछन् ! सर्प र असुरक्षाको त्रास सहँदै (छाउपडी), पुरुष दासताको बोझ बोक्दै (देउकी) बालबच्चाको स्याहार गर्छन्, यहाँका महिला । भरखर यौवनको खुटकिला टेक्दै गरेका ग्रेटा र मलालाले संसारलाई जोगाउन विश्वभरिका नेतालाई औंला ठड्याउँदै सचेतनाको शंखनाद गर्दा कर्णालीका नानीहरू भाइबहिना बोकेर घरबारी कुर्न/गर्न बाध्य छन् । यिनले काला अक्षर चिन्नसमेत राम्ररी पाउँदैनन् ।


कर्णालीका महिला बिहान सखारै उठ्छन् र राति अबेलासम्म घोटिइरहन्छन् । घामपानी केही भन्न पाउँदैनन्, सबै भ्याउँछन् । विकासेका ‘विचरा’ यी जिउँदा महिला तिनका भेला–मेला भर्न र जागिर जोगाइदिन समेत सधैं तम्सिन्छन् । यहाँका अधिकांश दलित बस्तीमा अझै पनि चर्पी छैनन् । चर्पी बनाउन खटिएका सरकारी तथा गैरसरकारी हाकिम र कारिन्दा जिल्ला सदरमुकाम वरपर धेरै भेटिन्छन् । ‘खान त नई मिल्न्या केई कि बनाउने हुन चर्पी ?’ भन्ने एउटा दलित महिलाको व्यंग्य सिधा छ । यस्तो सिधा कुरा ती हाकिमहरूले पनि सुनेका छन्, तर नसुनेझैं बुझपचाउँछन् । किनकि यस्ता कुरामा जति बुझ्पचाउन सक्यो, त्यत्ति नै बढी शुभलाभ छ । पोहोर साल नै सबैका घरमा चर्पी बनाइसकेको घोषणा गरेको सरकार यस्तो चर्पी जान गाउँलेहरू के खान्छन् भन्नेमा चिन्तित छैन । उल्टै चर्पी बनाउने र दातालाई प्रगति बुझाउनेमा नै उसको सबैभन्दा ठूलो जित छ ।


यी महिला जसरी हुन्छ, चारपाउ गर्दै औषधिजन्य र पोषणजन्य अन्नपात उब्जाउँछन् । तैपनि चिनो, कागुनो मार्से, मार्सी (चालम), गुराँस, चोतोजस्ता पोषिला खानेकुराको भाग खोसिएको हेर्न बाध्य छन्, उनीहरू । अहिले नेताज्यूहरूको मार्सी ज्युनारसँगै यसको काठमाडौंको बजार ह्वात्तै बढेको जो छ !


कुटो चलाएर जीविका चलाउने कर्णालीका महिलालाई अहिले मानव, माटो र पृथ्वीको स्वास्थ्य संकट थोपरिएको छ । यो भूगोलले नखाएको विषको मूल्य चुकाउँदैछ । पानीका मुहान सुकेका छन् । खडेरी र वर्षा बढेको छ । यी सबैको प्रभावले खाद्य तथा पोषण अभाव, जलवायु संकट र नसर्ने दीर्घरोगको बिगबिगी बढेको छ । यसले समग्र मानव सभ्यता भूकम्पले जस्तै हल्लाएको छ । यो अब ढल्न ढल्पलाएको छ ।


यी सबैको लेखाजोखा समेत यी महिलाहरूले राखेका छन् । अहिले अलि जब्बर भएका छन् । धेरै नै जुर्मुराएका छन् । तीन–चार दशक पहिला हामीजस्ता परदेशी देखेर सात्तो जाने डरले आफ्नो झुप्रो छिर्ने महिला अहिले बाटामा उभिएर ठट्टिँदै कहाँ हिँड्नुभयो, ‘सर/म्याम’ भनेर गिज्याउन सक्ने भएका छन् । सबैतिर यस्तो आँट भने अझै बढेको छैन । विचरो कुटो बोकेर यहाँका मानिसको जिन्दगी चलाइदिने महिलाको विवेकपूर्ण ज्ञान, आँट र धैर्य बुझ्न ठूलै छाती चाहिन्छ । त्यसैले सके सपारौं, नसके नबिगारौं भन्ने कुरा मनन गर्ने हो कि ?


साथै यहाँ उठाइएका सन्दर्भलाई एक पक्षबाट मात्र अवश्य हेरिनु हुँदैन । कर्णालीमा उल्लिखित विभेदमात्र छैन, समाज र प्रकृतिमा सौन्दर्य र विविधताको विशाल भण्डार छ । यहाँबाट सिक्न सकिने थरीथरीका (दुबै महिला र पुरुष) जिउँदा र असल मानवीय अभ्यासहरू छन् । कर्णालीमा विभेदको पर्खाल नलगाएका महिलामात्र हैन, सँगसँगै जीवन धान्न रातोदिन खटिने जिउँदा पुरुषहरू पनि छन् । सबैका सिक्नलायक फरक विशेषताका संस्कृति र सामाजिक मान्यताहरू छन् । प्रकाशित : चैत्र ८, २०७६ ०९:५३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोराेना प्रकोप: जोखिममा ६० वर्षमाथिका

भीडभाडमा नजाने, एकअर्कामा १ देखि २ मिटर दूरी राख्ने
अनावश्यक भेटघाट नगर्ने
अतुल मिश्र

काठमाडौँ — चीनको वुहानबाट सुरु भएर तीन महिनामै विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) संक्रमणको उच्च जोखिममा सबैभन्दा बढी ६० वर्ष उमेर समूह भन्दा माथिका छन् ।




विशेषज्ञहरूले यो संक्रमणबाट जोगिन सबै उमेर समूहका व्यक्तिलाई विशेष सावधानी अपनाउन आवश्यक हुने बताइइहँदा ६० वर्षभन्दा माथिका र जुनसुकै उमेरका दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएकालाई थप सावधानी आवश्यक हुने जनाएका छन् । ‘हामीसँग भएका प्रमाणबाट ६० वर्षभन्दा माथिका व्यक्ति सबैभन्दा उच्च जोखिम रहेको बुझ्न सकिन्छ ।

युवा पुस्तासँगै बालबालिकाको समेत मृत्यु भएको छ,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा भनेका थिए ।
डब्लूएचओ इमर्जेन्सी डिजिज एन्ड जुनोसिसका प्रमुख डा. मारिया बेन केरखोवले समेत हालसम्म विश्वका विभिन्न मुलुकबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दै यो भाइरसले बढी मात्रामा बूढापाकाको मृत्यु गराउने देखिएको औंल्याउँछिन् ।

‘हामीसँग थुप्रै मुलकुबाट प्राप्त पर्याप्त तथ्यांकअनुसार, ६० देखि ८० वर्ष उमेर समूहका पाका मानिसमा मृत्युको जोखिम उच्च छ,’ डा.मारिया भन्छिन्, ‘यस्तै मधुमेह, मुटु र रक्तनलीका रोगी, दीर्घकालीन श्वासप्रश्वासका रोगी, दीर्घ र जटिल प्रकृतिका रोगीलगायत आधारभूत स्वास्थ्य अवस्था जटिल भएकाहरूमा समेत यो संक्रमणबाट हुने मृत्युको जोखिम उच्च छ ।’ चीनमा कोभिड–१९ को ५० हजारभन्दा बढी प्रयोगशाला प्रमाणित केसमा देखिएअनुसार यो संक्रमणले प्रभावित ८० वर्षमाथिकामा करिब १५ प्रतिशत मृत्यु देखिएको छ ।

यस्तै, ७० देखि ७९ वर्ष सम्ममा ८ प्रतिशत, ६० देखि ६९ वर्षसम्ममा ३.६ प्रतिशत, ५० देखि ५९ वर्षसम्म १.३ प्रतिशत, ४० देखि ४९ वर्षसम्म ०.४ प्रतिशत, १० देखि ३९ वर्षसम्म ०.२ प्रतिशत मृत्युको तथ्यांक देखिएको छ । विज्ञहरूका अनुसार, यो तथ्यांकमा अझ नयाँ तथ्यांक थपिँदा मृत्यु दरमा केही फेरबदल देखिए पनि यसले कुन उमेर समूह सबैभन्दा बढी प्रभावित भइरहेको छ भन्ने स्पष्ट इंगित गरेको छ ।

भारतमा गत शुक्रबारसम्म कोभिड–१९ ले भएका ४ वटा मृत्युमा समेत सबै ६० वर्षमाथिकै छन् । नेपालसँग मिल्दोजुल्दो सांस्कृतिक, सामाजिक, भौगोलिकलगायत परिवेश भएकाले भारतमा यो संक्रमणले देखिएको मृत्युदरको तथ्यांक नेपालका लागि बढी महत्त्वपूर्ण हुन्छ । भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिड–१९ संक्रमण भएर मर्नेहरू विदेशयात्रा गरेर फर्किएका ७६, ७२, ६८ र ६४ वर्षका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलार्ई घरभित्रै रहन अपिल गरेका छन् ।

इटालीमा यतिबेला देखिएको अत्यन्त उच्च मृत्यु दरका बारेको प्रश्नमा डब्लूएचओ, हेल्थ इमर्जेन्सीका कार्यकारी निर्देशक डा. माइकल रायनले यस्तो हुनुमा त्यहाँ जेष्ठ नागरिकको संख्या धेरै बढी हुनुलार्ई औंल्याएका छन् । अझ यो भाइरसले कुपोषण, कम आय, बढी जनघनत्व, स्वास्थ्य सुविधाको कमी, स्वच्छताको अभावलगायत जनस्वास्थ्य स्थिति राम्रो नभएका मुलुकमा झन् बढी खतरनाक रूपले देखिन सक्ने सम्भावनासमेत छ । यसैले होला डब्लूएचओ महानिर्देशक डा.टेड्रसले नेपाललगायत कम आय भएका, अविकसित राष्ट्रहरूमा यो भाइरसले मच्चाउन सक्ने विपद्बारे समेत इंगित गरेका छन् । ‘यो गम्भीर रोगको भाइरस जसरी–जसरी कम आय भएका मुलुकमा जान्छ, हामी त्यस्ता प्रभावको बारेमा गहिरो रूपमा चिन्तित हुन्छौं जो उच्च एचआईभी/एड्स प्रसारसँगै कुपोषित बच्चा भएको जनसंख्यामा हुन्छ,’ डा. टेड्रसले चिन्ता व्यक्त गरेका छन् ।

अहिले विश्वभरिमा कोभिड–१९ को सबैमध्ये बढी ८० प्रतिशतभन्दा माथिका केस पश्चिमी प्रशान्त र युरोप गरी दुई क्षेत्रबाट छन् । डब्लूएचओको सल्लाहअनुसार हाल प्रत्येक शंकास्पद केशसलार्ई आइसोलेट (अन्य व्यक्तिभन्दा अलग राख्ने) गरेर परीक्षणसँगै उपचार गर्नुपर्छ । यस्तै हरेक केसको सम्पर्कहरूलार्ई पहिचान गरेर निगरानीमा राख्नुपर्छ । यही प्रक्रियाबाट समुदायमा व्यापक रूपमा हुन सक्ने संक्रमणको प्रसारण रोक्ने आशा गर्न सकिन्छ । ‘धेरै मुलुकमा फाट्टफुट्ट वा झुन्ड (क्लस्टर) मा यस्तो केस देखिएको छ, यस्ता राष्ट्र अझै संक्रमणको कडी तोड्ने यो प्रक्रिया अपनाउने स्थितिमा छन्,’ डा. टेड्रस भन्छन् । कोभिड–१९ का लागि परम्परागत औषधिसम्बन्धी धेरै क्लिनिकल परीक्षण भइरहेको छ । डा.मारियाका अनुसार यस्ता करिब दुई सयवटा परीक्षण जारी छन् ।

हालसम्म ‘कोभिड–१९’ रोगसँग जुध्न डब्लूएचओले संक्रमणको कडी तोड्ने (ब्रेक द चेन अफ ट्रान्समिसन) रणनीति अपनाएको छ । यसअन्तर्गत छिटो केस पत्ता लगाएर बिरामीलार्ई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छ ।
हावामा भाइरस कति समयसम्म रहन सक्छ भन्नेबारे विश्वभरमा विभिन्न अध्ययन भइरहेको डा.मारिया बताउँछिन् । यसैले मुख, नाकबाट निस्किने पानीका स–साना कणहरूको सम्पर्कमा आउनबाट बाँच्नुपर्छ ।

यसैगरी, न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार, कोभिड–१९ फैलाउने भाइरस पानीको सूक्ष्म कणमा टाँस्सिएर हावाको कणमा घण्टौं बाँच्न सक्छ भने कुनै सतहमा केही दिनसम्म बाँच्न सक्छ । अध्ययनअनुसार यो भाइरसबाट हावाका माध्यमले र प्रदूषित सतह छोएर संक्रमित हुन सकिन्छ । यस्तो भाइरस हावाको सतहमा समेत न्यून मात्रामा केही समयका लागि बसेको हुन सक्ने बताइएको छ ।

अध्ययनमा के पनि देखिएको छ भने पानीका स–साना कणका रूपमा हावामा फैलिएको यो भाइरस कसैले खोकेको, हाच्छिउँ गरेको तीन घण्टासम्म हावामा रहिरहन सक्छ । यस्तै, यो भाइरस तामामा ४ घण्टासम्म, कार्डबोर्डमा २४ घण्टासम्म एवं प्लास्टिक र स्टोनलेस स्टिलमा २ देखि ३ दिनसम्म जीवित रहन सक्छ ।

जर्नल अफ हस्पिटल इन्फेक्सनमा प्रकाशित अर्को एक अध्ययनअनुसार, कोभिड–१९ भाइरस ९ दिनसम्म पनि बाँच्न सक्छ । तर दुवै अध्ययनबाट के देखिएको छ भने, यो भाइरस ६२ देखि ७१ प्रतिशत इथाइनल, ०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइटको सहयोगले एक मिनेटमा निष्क्रिय हुन सक्छ । तर यो भाइरस बाँच्ने समयलार्ई सूर्यको प्रकाश, ताप, चिसो आदिले कति प्रभावित गर्छ भन्नेबारे अझै विस्तृत अध्ययन भइरहेको छ ।
यो भाइरस पानीको स–साना कणको माध्यमले सर्छ ।

यो पानीको स–साना कण संक्रमित, बिरामी व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा नाकमुखबाट निस्किन्छ । यस्ता कण विभिन्न सतहमा टाँस्सिएर पछि कसैले छुँदा वा सम्पर्कमा आउँदासमेत अन्य व्यक्तिमा संक्रमण हुन सक्छ । ‘जति खेर यो पानीको कण संक्रमित व्यक्तिको शरीरबाट बाहिर निस्किन्छ, एउटा खास दूरीसम्म फैलिन्छ । त्यसपछि त्यो तलतिर झर्छ,’ डा.मारिया भन्छिन्, ‘यसैले हामी कुनै व्यक्तिभन्दा एक वा दुई मिटर टाढा बस्न भनिरहेका छौं ।’

उनका अनुसार, बिरामी नभएका वा बिरामीको स्याहारमा नरहेका स्वस्थ व्यक्तिले मेडिकल मास्क नलगाए हुन्छ । तर स्वस्थ्य संरचनामा स्वास्थ्यकर्मीहरूले मुखबाट निस्किने पानीका स–साना कणबाट जोगाउन उपायोग गर्नुपर्छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रले हाल विश्वभरमा नै हरेक मुलुकले हरेक शंकास्पद केसलाई परीक्षण गर्नुपर्ने औंल्याउँछन् । यदि परीक्षण परिणाम पोजेटिभ देखियो भने तुरुन्त आइसोलेट गरेर उपचार प्रक्रिया सुरु गर्नुपर्छ र त्यस्ता संक्रमित व्यक्तिमा लक्षण विकसित हुनभन्दा दुई दिनअघिदेखि नै निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्नुपर्छ ।

यस्ता निकट सम्पर्कमा आएकाहरूको समेत प्रयोगशाला परीक्षण गर्नुपर्ने डा. टेड्रस औंल्याउँछन् । डब्लूएचओले सबै प्रमाणित केस (जसमा हल्का मामिलासमेत) लार्ई स्वास्थ्य संरचनामा अन्यभन्दा छुट्टै राखेर अन्य व्यक्तिलाई सर्न नदिने गरी पर्याप्त उपचार गर्नुपर्ने सल्लाह दिएको छ । बिरामी र स्याहार कर्ता दुवैले एउटै कोठामा हुँदा मेडिकल मास्क लगाउनुपर्छ । डब्लूएचओका अनुसार, बिरामीले छुट्टै कोठामा सुत्नुको साथै छुट्टै शौचालय उपयोग गर्नुपर्छ ।

बिरामीलाई स्याहार गर्ने व्यक्ति पूर्ण स्वस्थ र कुनै पनि प्रकारको स्वास्थ्य समस्या नभएको हुनुपर्छ ।कोभिड–१९ ले संक्रमित व्यक्तिले बिरामी अनुभव गर्न छोडेपछि पनि अर्को व्यक्तिलाई संक्रमित गर्न सक्छ । यसैले संक्रमण अरूमा नसर्ने सावधानी रोगको लक्षण निको भएको दुई सातापछि सम्मसमेत गर्नुपर्ने डा. टेड्रस औंल्याउँछन् ।
सामाजिक दूरी उपयोगी

सामाजिक दूरी कायम राख्नु संक्रमणलाई नियन्त्रण र यसबाट बचाउने गैरऔषधीय विधि हो । यस्तो विधि शरीरमा भाइरस बोक्ने र स्वस्थ व्यक्तिबीच दूरी कायम गरेर रोगको प्रसार, फैलावट, मृत्युदरलाई रोक्ने अत्यन्त सरल उपाय हो ।
सामाजिक दूरीले भाइरस संक्रमणलाई कम गर्न र स्वास्थ्य प्रणालीलाई समेत यसको संक्रमणसँग जुध्न सघाउने डब्लूएचओका महानिर्देशक डा.टेड्रस बताउँछन् । डब्लूएचओकै डा.मारियाले समेत सामाजिक दूरी कायम राख्दा अन्य व्यक्ति भन्दा पृथक राखेर मुख्य रूपमा बिरामी व्यक्तिसँग हिमचिम हुन दिन नहुने बताउँछिन् ।

भीडभाडमा नजाने, अनावश्यक भेटघाट नगर्ने, सकेसम्म घरबाहिर निस्किँदा अर्का व्यक्तिसँग १ देखि २ मिटरको दूरी कायम राख्ने, घरमा समेत बिरामी व्यक्तिसँग दूरी कायम राख्दै सुरक्षाको उपाय अपनाउनुपर्छ ।‘हामीले हरेक राष्ट्र र हरेक व्यक्तिलाई भनिरहेका छौं यो संक्रमणलाई रोक्न सबैथोक उपाय अपनाउनुस्,’ डा.टेड्रसका अनुसार अन्य उपायसँगै व्यक्तिगत स्वच्छताका प्रयासले समेत यो भाइरसको प्रसारलाई रोक्न सघाउँछ ।

यसअन्तर्गत, साबुनपानीले हात सफा गरेर आफू संक्रमित हुन सक्ने जोखिम कम गर्नुपर्छ । यो प्रयासले समुदायका अन्य व्यक्ति र विश्वमै संक्रमण फैलिने सम्भावनालार्ई कम गर्न सघाउँछ । डा. मारियाका अनुसार तपाईं आफूमा देखिन सक्ने संक्रमणको सम्भावना कम गरेर कमजोर, असुरक्षित, बूढापाका जनसंख्यामा यो संक्रमण पुग्ने सम्भावनामा कमी ल्याउन सक्नुहुन्छ ।

सबैले आधारभूत रूपमा हात स्वच्छताको उपाय अपनाउनुपर्छ । यसअन्तर्गत श्वासप्रश्वाससम्बन्धी स्वच्छता, हातमा नभएर कुहिनोमा हाच्छिउँ गर्नु वा खोक्नु राम्रो हो । यस्तै, टिस्युपेपरमा थुक, खकार फ्याँकेपछि त्यसलार्ई सुरक्षित रूपमा डस्टबिनमा मिल्काउनुको साथै हातलाई समेत सफा गर्नुपर्छ । घरभित्र, कार्यालय वा बारम्बार छुनुपर्ने सार्वजनिक सतह, वस्तुहरूलाई नियमित रूपले संक्रमणमुक्त गर्ने रसायन आदिले सफा गर्दै रहनुपर्छ । यस्तै अस्वस्थ भएबाहिर नगई घरमै अन्य व्यक्तिसँग घुलमिल नभई बस्नुपर्छ ।
भारतसहित दक्षिण–पूर्वी एसियामा फैलिँदै

दक्षिण–पूर्वी एसिया विश्वको कुल जनसंख्याको एक चौथाइ व्यक्ति बसोबास गर्ने ठाउँ हो । कोभिड–१९ को विस्तार भारतलगायत दक्षिण–पूर्वी एसियामा तीव्र गतिले हुन थालेपछि नेपालमा समेत यसको जोखिममा झन् बढी वृद्घि भएको हो ।

डब्लूएचओ दक्षिण–पूर्व एसिया निर्देशक डा. पुनम खेत्रपाल सिंहले यस क्षेत्रमा संक्रमणको स्थिति हाल तीव्र गतिले विकसित भइरहेकोले भाइरसलाई रोक्नका लागि तुरुन्त सबै प्रकारको तयारी आवश्यक रहेको औंल्याएकी छन् ।
दक्षिण–पूर्वी एसियाका ११ मध्ये भारत, नेपाल, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान, इन्डोनेसिया, थाइल्याण्ड गरी ८ राष्ट्रमा प्रयोगशाला प्रमाणित केस देखिसकिएको र यसको संख्या बढ्ने क्रममा छ ।

छिमेकी मुलुक भारतमा प्रयोगशाला प्रमाणित संक्रमण २ सय नाघ्नुका साथै ४ जनाको मृत्यु समेत भइसकेको छ । शुक्रबारसम्म यस क्षेत्रमा कुल ९ सय १७ वटा केस देखिएको डब्लूएचओले जनाएको छ ।भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल, उत्तरप्रदेशलगायत राजधानी दिल्ली, मुम्बई, हरियाणा, उत्तराखण्डलगायत २० राज्यमा यो संक्रमण देखिएको छ ।
मास्क लगाउने कि नलगाउने ?

विशेषज्ञहरूका अनुसार, हाल कोभिड–१९ को जोखिमअन्तर्गत सबैलाई मास्क लगाउनुपर्ने आवश्यकता छैन । मास्क त्यतिखेर नै लगाउनुपर्छ जब तपाईं कोभिड–१९ संक्रमणको लक्षण जस्तै ज्वरो, खोकी, सास फेर्न समस्या आदि अनुभव गर्नुहुन्छ । यति मात्र नभई कोभिड–१९ प्रभावित व्यक्ति वा बिरामीको हेरचाह गर्ने व्यक्ति भए पनि मास्क लगाउनु आवश्यक हुन्छ । अझ कोभिड–१९ को शंकास्पद वा वास्तविक बिरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मीले मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ ।

तर मास्क लगाउँदा समेत यसलार्ई कसरी, कति समय लगाउने आदिबारे जानकारी हुनुपर्छ । हाल एकपटक उपयोग गरेर फ्याँक्नु पर्ने (डिस्पोजेबल) मास्कसमेत थुप्रै दिनसम्म लगाउने व्यक्तिसमेत भेटिन्छन् । तर एकपटक प्रयोग गर्ने मास्क निश्चित समयपछि लगाउनु हुँदैन । मास्कलाई लगाउँदा यसको भित्री भागमा हातले छुनु हुँदैन ।
मास्क लगाउँदा समेत हामीले विचार पुर्‍याउनुपर्छ । मास्क भिजेपछि वा अधिकतम ६ घण्टा लगाएपछि अर्को परिवर्तन गर्नुपर्छ । मास्क नाक, मुख, चिउँडो छोपिने गरी मास्कको दुवैतिर कुनै खाली ठाउँ नहुने गरी लगाउनुपर्छ ।


‘हरेक वडामाहेल्थ डेस्क चाहिन्छ’


डा. सन्दुक रुइत
जनस्वास्थ्यमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) विश्वव्यापी अभिभावक हो । डब्लूएचओले कोभिड–१९ लाई विश्वव्यापी महामारी भनेको दुई साताभन्दा बढी भइसकेको छ । अझै हामीले संक्रमित पत्ता लगाउनतर्फ ध्यान दिएका छैनौं ।

छिमेकी मुलुक भारतमा चार जनाको मृत्यु र बाहिरी मुलुकबाट आएको संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने प्रक्रिया जारी छ । अझ अहिले त भारतमा यो संक्रमण तेस्रो अवस्थामा पुगिसकेकोमा त्यहाँ सबै अत्यन्त चिन्तित छन् । यसबाट हामी अछुतो रहने सम्भावना शून्यप्रायः छ ।

चीनबाट सुरु भएको निमोनिया गराउने यो संक्रमण १ सय ६८ मुलुकका २ लाख ४७ हजारभन्दा बढीमा पुष्टि भइसकेको छ भने करिब १० हजार जनाको मृत्यु भइसकेको छ । यसैले केस खोज्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यसले मुलुकमा संक्रमणको वास्तविक स्थिति झल्काउँछ । जति बढी र विविध ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्‍यो, त्यति नै संक्रमण समाजमा छ वा छैन भन्न सकिने अवस्था हुन्छ ।

पूर्वतयारीअन्तर्गत मुलुकलाई सटडाउन गरौं । यसले कोभिड–१९ बारे जागरुक बनाउँछ । हरेक प्रदेश राजधानीमा रोग पहिचान र निगरानी सुविधा हुनुपर्छ । परीक्षण गर्ने किटको व्यवस्था हुनुपर्छ । केन्द्र र प्रदेशमा परीक्षण गर्न तालिमसमेत दिनुपर्छ । अझै पनि समयको उपयोग गरौं । नत्र पछि पछुताउनुबाहेक केही गर्न सकिन्नँ । अति सामान्य र सबैले सहजै गर्न सक्ने सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम राख्नु, साबुनपानीले हात धुनु, श्वासप्रश्वासको स्वच्छता अपनाउनु धेरै महत्त्वपूर्ण कुरा हो ।

यो संक्रमणको कडी तोडेर नै यो रोगलाई जित्न सकिन्छ । संक्रमणको दुष्कर्ममा फस्न नदिनु नै महामारीलाई रोक्नु हो । यसलाई डब्लूएचओले महामारी र स्वास्थ्य प्रकोप भनेकाले अहिले सरकारले समेत ‘सबै कुरा ठीक छ’ भन्नु भएन ।
केन्द्रबाट आधारभूत स्तरसम्म जाने नेपालको जनस्वास्थ्य प्रणाली बलियो छैन । यो संरचनाले महामारीलाई धान्छ ? यो नेटवर्क कमजोर भयो भने भविष्यमा यस्तो प्रकोप आउँदा गम्भीर समस्या हुन सक्छ । स्वास्थ्यकर्मीहरूको सुरक्षा, चिकित्सकीय स्याहारसमेत सरकारले प्रदान गर्नुपर्छ ।

हरेक राजनीतिक दल सम्मलित शक्तिशाली ‘टास्क फोर्स’ सरकारले निर्माण गर्नुपर्छ । यस्तो टास्क फोर्समा सरकारले सरकारी र निजी क्षेत्रको क्षमतावान् विज्ञहरू राख्नुपर्छ । यो टास्क फोर्सलाई समय–समयमा कम्तीका दिनहुँ जानकारी (भर्चुअल रूपमा भए पनि) दिनुपर्छ । टास्क फोर्सले दिने सन्देशमा एकरुपता हुनुपर्छ । अब स्थानीय सरकारले वडास्तरसम्मको जिम्मेवारी लिनुपर्छ । हरेक वडामा हेल्थ डेस्क हुनुपर्छ । यस्तो तयारी गर्दा प्रकोप नियन्त्रण गर्ने क्षमता आउँछ । हाल मुलुकमा जनस्वास्थ्यको क्षेत्रमा देखिएको कमीकमजोरीले गर्दा यस्तो प्रकोप फैलिन सक्ने डर छ ।

जुनसुकै आपत्विपत्, प्राकृतिक प्रकोप हुँदा सबैभन्दा बढी जटिल अवस्था र समस्या भोग्ने सिमान्तकृत समुदाय नै हो । उनीहरूलाई महामारीबाट बचाउनुपर्छ । आइसोलेसन, उपचार, आईसीयू व्यवस्थापन मुख्य कुरा हो । यो स्थितिमा सशस्त्र प्रहरी, प्रहरी, सेनालाई देशप्रेम देखाउनेसमेत राम्रो अवसर हो । अनुशासनमा बाँधिएको यो समूहले कोरोनाविरुद्घको लडाइँमा थप सहयोग गर्न सक्छन् ।
(कुराकानीमा आधारित)

प्रकाशित : चैत्र ८, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×