१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल देश र मान्छे

यो देशमा कस्ता मान्छे चिनिन्छन्, कस्ता मान्छे चिनिँदैनन् भन्नुको खास अर्थ हुन्छ । यो देशका केही चिनिएका र केही नचिनिएका मानिसहरुबारे लेखिनु एक उत्तेजक विषय हुनसक्छ ।
अभि सुवेदी

देश र मान्छेको सम्बन्ध संकट परेको बेला तीव्र हुन्छ । देश चलाउने सरकार र जनताको सम्बन्ध यस्तै बेला कहिल्यै नभएको पाराले परिभाषित हुन्छ । त्यस्तो बेला एउटा साझा समस्याको परिभाषा गरिन्छ । अनि त्यसको निदानका उपायहरू खोजिन्छ । सरकार, राजनीति गर्ने र शक्ति हत्याएर बस्नेहरूका त्यस्तै बेला परीक्षा हुन्छ ।

नेपाल देश र मान्छे

अहिले कोरोना भाइरसको प्रकोप परेका बेला नेपालमा सरकारको के पाठ हुन्छ भन्ने विषयमा चिन्तन हुन थालेका छन् । यो प्रकोपले विश्व आक्रान्त भएको बेला नेपाल योसँग जुध्ने कार्यक्रमहरू घोषणा गरिरहेको छ । तर पनि यो अति भयानक र चुनौतीपूर्ण हो भन्ने कुराको बोध अहिले त्यति व्याप्त हुन सकेको अवस्था हो कि होइन भन्ने कुरा अब हाम्रै व्यवहारले देखाउनेछ । यस्तो बेला सफा आचरण, पारदर्शी नीति भएका क्रियाशील सरकार र दलहरूको अपेक्षा गरिन्छ । यस्तो बेला सर्वसाधारण जनता र सरकार चलाउने र शक्ति खेलाई बस्नेहरूको बीचमा कत्तिको समझदारी बन्छ, त्यसैबाट सबै कुरा बनिने र बिग्रिने हुन् । नेपालका मेडिकल डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू धेरै कुशल छन् भन्ने कुरामा शंका छैन । तर पनि अस्पताल कहाँ र कसले खोल्ने, दूरदराजमा खोल्ने कि नखोल्ने जस्ता कुरादेखि लिएर यसमा लगानी गरिने धन र खेलमा राजनीति कसरी जोडिँदै आएको छ भन्ने कुराले यो क्षेत्र आक्रान्त हुँदै आएको हो ।


बीसौं र यो एक्काइसौं शताब्दीमा निस्केका रेकर्डहरूले देखाएका छन्, मानिसले हताहत गरेका एक चौथाइ जतिमात्र नरनारी प्राकृतिक प्रकोपमा मरेका छन् । अंग्रेजी उपनिवेश उत्तरको छोटो समयमा बीसौं शताब्दीका चालीस र साठीका दशकहरूमा भारत, पाकिस्तान र बंगलादेशहरू बनिए । यी राज्य बनिने क्रममा मानिसबाट नै हताहत भएका लाखौंलाखको अनुपातमा प्रकृतिबाट मारिएका मानिसको संख्या अत्यन्त थोरै छ । बरु प्रकृतिको प्रकोप बढेको बेला मानिसले सर्वसाधारण जीवन भोग्नेहरूलाई झन् कठिन परिस्थिति बनाइदिएका उदाहरण छन् । नेपालकै उदाहरण लिएर हेरे हुन्छ । गएका बीस–पच्चीस वर्षमा नेपालले गृहयुद्ध झेल्यो । महाभूकम्पको विनाश भोग्यो । तर पनि मानिसबाट मानिसको हताहत भएको संख्या नै बढी छ । अनि इतिहासको पद्धति हो, मानिसले मानिसको हताहत गरेको विषय पछिबाट छलफल हुन्छ । त्यसको निदान गर्ने अनि त्यसबाट पीडितले न्याय पाउने साथै विस्थापितहरूको व्यवस्था गर्नुपर्ने कुरा चक्रवातजस्तो गरेर अगाडि आउँछन् । दक्षिण अफ्रिकाको सत्यनिरुपण र मेलमिलाप कार्यक्रमको अनुकरण गर्ने नेपाल ठूलै अलमलमा परेको छ । भूकम्पले ढालेका थलोहरू र क्षति लगभग निश्चित हुन्छन् । त्यसबाट हताहत भएकाहरू सम्झना, वर्णन अनि चित्रमा भेटिन्छन् । तिनले भोगेका विपद् कसैले लुकाउन सक्दैनन् । अर्कोतिर युद्धमा हताहत हुनेहरू सम्झनामा हुन्छन्, तर ती विलयन भएकाहरूका थातथलो भेटिँदैनन् । अझ सरकारमा को छन् भन्ने कुरा मुख्य कारक हुन्छ । खोज गर्ने र समाधान खोज्ने विषयमा सरकार असहयोगी भयो भने त त्यो विषय झन् जटिल हुन्छ ।


यो नेपाल देशका मान्छेले कस्ता जितहरू जिते अनि कस्ता हारहरू भोगे, कस्ता विपद्का सामना गरे अनि कस्ता आशाहरू साकार गरे जस्ता कुराको लेखाजोखा गर्ने खासै केही आधार छैनन् । त्यसो त यो अरु देश र समाजको पनि अनुभव हो । तर हामीले नेपाल देशकै अनुभवबारे सोच्नु र कर्मशील हुनुछ । एउटा कुरा भनिहाल्नुपर्छ । देशले भोगेका अनुभव भन्नाले व्यक्तिहरूका अनुभवलाई बुझ्नुपर्छ । यो देशमा कस्ता मान्छे चिनिन्छन्, कस्ता मान्छे चिनिँदैनन् भन्नुको खास अर्थ हुन्छ । यो देशका केही चिनिएका र केही नचिनिएका मानिसहरूबारे लेखिनु एक उत्तेजक विषय हुनसक्छ । म जस्तो एक साहित्यिक मानिसलाई अमूक व्यक्ति अनेकौं किसिमले चाखलाग्दो हुनसक्छ । उसमाथि टाँगिएको आकाश कस्तो छ, ऊ धरतीको कस्तो कुनामा बस्छ, ऊ आफ्नो र अरुको जिजीविषा कसरी जुटाउँछ, ऊ कसरी बनिएका घरमा बस्छ, अनि उसले साना हुरीले जस्तो गरेर आफ्ना सपना खेद्दै कसरी समय गुजारिरहेछ, ऊ कस्ता विचार गर्छ, पृथ्वीलाई कसरी वरण गर्छ, अनि घाम, जून र ताराहरूले उसको जीवनमा कसरी खेल खल्छन् र ऊ आफ्ना कुरा अरुमाथि कसरी लागू गर्न चाहन्छ, ती एक साहित्यकारका निम्ति चाखका विषय हुन् ।


तर जब यो देशका ती मान्छेहरूमाथि अहिलेका युवाहरूले चाख राख्छन्, तिनले तिनै मानिसहरूका अरु पक्षहरूलाई वर्तमानको सन्दर्भमा बुझ्न र प्रयोग गर्न खोजेको बुझिन्छ । ती इतिहासका पाइतालाका डोबहरू यहाँसम्म कसरी आइपुगेका छन्, हेर्न चाहन्छन् । जस्तो कि ती उन्नाइसौं शताब्दीमा जर्मनमा जन्म लिएर विचार फैलाएका कार्ल मार्क्सले एक्काइसौं शताव्दीका यी दुर्दान्त वर्षहरूसम्म आफ्ना चेलाचपेटाहरूका शिरमाथि कसरी आशिर्वादका औंलाहरू चलाइरहेका छन्, हेर्न चाहन्छन् । सादा जिन्दगी बाँचेका, अंग्रेजी परिधान बहिष्कार गर्दै आफैंले बुनेको खादीको कपडाले बेरिएर अरबी समुद्रको दान्डीसम्म लाखौं सहयात्रीसहित २३९ माइलको पैदल यात्रा गरेर ब्रिटिसराज थर्काउने महात्मा गान्धीका चेलाहरूले अहिले कस्ता अवतार फेरेका छन्, हेर्न चाहन्छन् । नेपाली समाजमा अनेकौं व्यक्तित्व र तिनका कर्मबारे लेख्न सहज देखिए पनि यो विषय जटिल छ । तिनका विचारले कस्ता परिवर्तन ल्याएका छन् वा त्यसलाई बाधा गरेका छन्, तिनबारे जान्ने चाहनाले म जिन्दगीमा अभिप्रेरित भइआएको छु ।


नेपालको समाज परिवर्तन गर्ने कर्म गर्नेमा लेखक, राजनीतिकर्मी, कलाकार, संगीतकार, राजनीतिज्ञ, वास्तुविद र ‘एलिट’ भन्ने शब्दले चिनिने वर्ग र मानिसहरूको एउटा कलेवर छ । एउटा मौन, कहिलेकाहीं उत्ताल, सहनशील र दृष्टि बनाउँदै–भत्काउँदै बसेको वर्ग छ, जो हिजो पनि थियो र आज पनि छ । मैले यस्ता व्यक्तिहरूलाई कसरी भेटेँ, कहिले भेटेँ, अनि ती कस्ता थिए भन्ने कुरा लेख्ने मेरो सधैं चाहना रहिआएको छ । मैले आफू विद्यार्थी अवस्थादेखि यस्ता मानिसहरूले समाजमा खेलेको भूमिकाबारे चाख र जानकारी राखिआएका निकै दशक भइसकेछन् । पञ्चायतकालमा नै नेपालका एलिट को हुन् भन्ने विषयमा बहस भएका थिए । मेरा गुरु स्व. कमलप्रकाश मल्लले यो विषयमा बहस चलाएका थिए । ‘बसुधा’ भन्ने अंग्रेजी पत्रिकामा उनले यस विषयका बहस उठाएपछि केही चर्चा भएका थिए । त्यसमा उनका समकालीन स्व. हर्क गुरुङले अनि केही समयपछि स्व. डी.पी. भण्डारीले भाग लिएका थिए । पञ्चायतकालको एकतन्त्री शासन पद्धतिभित्र स्वतन्त्र रूपले नेपाली मानिसका चरित्रबारे थोरै भए पनि बहस भएको कुरा चाखलाग्दो थियो । त्यही बेला नेपाली पात्रहरूभन्दा भिन्न बाहिरी पात्रहरू नेपालमा नै भेटेका मेरा अनुभवहरू छन् । खासगरी नेपालमा सन् साठी र सत्तरीका सुरुका वर्षहरूमा नेपालमा घुम्न आएका हिप्पीहरूले गर्दा पात्रहरू फरक–फरक हुनेरहेछन्, अनि तिनका वैश्विक सपना र भ्रमहरूको पनि महत्त्व हुनेरहेछ भन्ने मलाई बोध भएको हो ।


नेपालमा अर्कोथरी मानिसहरू भनेका सिर्जनशील व्यक्ति हुन् । म एक साहित्यकार र नाट्यकर्मी भएको हुनाले यी मानिसहरूको समाजमा प्रभाव बलियो भइआएको छ भन्ने कुरामा मलाई विश्वास छ । लेखक, संगीतकार र कलाकार मानिसहरूले नेपालमा एकतन्त्रीय र सामन्ती शासन पद्धतिभित्र पनि स्वतन्त्र चिन्तनको निम्ति काम गरेको लामो परम्परा छ भन्ने मेरो धारणा छ । अक्टोबर २०१९ मा टोरन्टो विश्वविद्यालयको निमन्त्रणामा मैले यही विषयमाथि लामो पत्र प्रस्तुत गरेको थिएँ । यताको भेगका विज्ञ प्राध्यापकहरूले मसँग जमेर छलफल गरेका थिए । उनीहरूले सोधेका थिए, मेरो विचारमा नेपाली समाजका महत्त्वपूर्ण मानिसमा राजनीति गर्ने मानिसहरू किन धेरै पर्छन् ? के नेपाली समाज धेरै परम्परागत संस्कृतिमुखी हो ? मैले यसमा सिर्जना गर्नेहरूका ऐतिहासिक स्वतन्त्रतामुखी पाठको चर्चा गरेँ  । मैले भनेँ, नेपाली समाज एउटा सामन्ती युगबाट राम्ररी निस्किन नसकेको अवस्थामा छ । नेपाल देश बुझ्न यहाँका जातजाति, हैकम चलाउने वर्ग, वर्गीय र लैङ्गिक विभेद गर्नेहरू, अनि सीमान्त मानिसहरू, राजनीति गर्ने, सिर्जना गर्ने सबैको अवस्थाबारे अध्ययन गर्नुपर्छ । यो विषयमा धेरै अध्ययन भएका छन्, जुन कुरामा उनीहरूमध्ये कति जनालाई राम्ररी जानकारी भएको कुरा उनका किताब र लेखहरूले देखाउँछन् ।


मैले आफ्नो अध्ययनका विषय, स्मृति र कामलाई आधार राखेर भन्ने केही कुराहरू छन् । तर ती कुरा म आफूले युगको संघार र बलेंसीमा भेटेका मानिसहरूका कथासँग जोडेर राख्नु उपयुक्त ठान्छु । म आगामी लेखहरूमा त्यस्ता व्यक्तिहरूलाई लिन लागेको छु । तिनका वरिपरि घुम्ने समय र तिनका साना–ठूला कर्महरूबारे लेख्नेछु । एउटा मान्छेदेखि अर्को मान्छेसम्म बनिएको इन्द्रेनी हो, समय । नेपाली समय मानिसहरूका जीवनको कथा हो । अमूक मानिसका कति सन्तान र नातागोता थिए भन्ने विषय नभई तिनको वरिपरि कस्तो राजनीति, कस्तो संगीत, कस्ता कविता र उपन्यास, कस्ता चित्रका रङहरू थिए र तिनका यात्रा कस्ता थिए भन्ने विषयमा लेख्ने विचार छ । यस्तै कथालाई महाकवि देवकोटाले इतिहासमा टाँगिएका इन्द्रेणी भनेका थिए ।

प्रकाशित : चैत्र ८, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?