१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोनाको मानव यात्रा

जीवजन्तुमा हुने आनुवंशिक परिवर्तन, चाहे सूक्ष्म जीव होस् या विशाल, नितान्त प्राकृतिक नियममै पर्छन् । विषाणुमा आएको यो परिवर्तन घातक र चुनौतीपूर्ण बन्नुको कारण हो, मानवबाट मानवमा सर्नु ।
डी.बी. कट्‌टेल

विषाणु आतंकका कारण २१ औं शताब्दीको सुरुवाती दशकहरू मानव स्वास्थ्यका लागि निकै चुनौतीपूर्ण बने । सन् २००२ को ‘सार्स’, २००९–२०१० मा फैलिएको ‘स्वाइन फ्लु’, २०१२ को ‘मर्स’, २०१३ मा ‘इबोला’, र अहिले विश्व समुदायलाई चपेटिरहेको कोरोना विषाणु (कोभिड–१९) २० वर्ष यताका भयानक महामारी हुन् । 

कोरोनाको मानव यात्रा

अप्रत्यासित निस्किएका यी रोगहरूले मानव स्वास्थ्यलाई असर त पुर्‍याएको छ नै, सँगसँगै आधुनिक विज्ञानलाई समेत चुनौती दिएका छन् । उपयुक्त उपचार पद्धतिको विकास नहुनु थप चुनौती हो । यद्यपि मानवमै कतिपय विषाणुसँग लड्न सक्ने क्षमताको पनि विकास हुँदै आएको तथ्य अनुसन्धानले देखाउँदै आएका छन् । तर जीवाणु र विषाणुहरूले अप्रत्यासित रूपमा आफ्नो स्वरूप परिवर्तन गरिदिन्छन् । अनि यस विरुद्ध लड्न सक्ने क्षमता नहुनाले बेला–बेलामा यी रोगले महामारीकै रूप लिन्छन् ।


अहिले कोरोना भाइसरको मूल स्रोतका विषयमा धेरै भ्रम देखिएको छ । त्यसैले कोरोना विषाणु कहाँबाट आयो भन्ने प्रसंग यो लेखमा उठाउन खोजिएको छ । मानिस, जनावर र पन्छी बीचको अन्तरक्रिया अनादिकालदेखि नै चल्दै आएको हो । जीव विकासक्रमको इतिहासलाई हेर्दा अहिलेका धेरै घरपालुवा पशुपन्छी कुनै समयमा जङ्गली थिए । मानवको जङ्गली जीवजन्तुसँग नजिक हुने सिलसिला अझै टुटेको छैन । मानिसले आफ्नो विकासक्रममा धेरै ठूला आरोह र अवरोह पार गरेको छ । ६ हजार वर्ष पहिलेको तुलनामा मानिसले आफ्नो आकार–प्रकार, बुद्धि–विवेक र क्षमतामा धेरै परिवर्तन गरेको छ । र यो सिलसिला अनन्त कालसम्म चलिनै रहनेछ । चार्ल्स डार्बिनको सिद्धान्तबाट हामीले जीवजन्तुको विकास क्रमबारे सजिलै बुझ्न सक्छौं । दर–पिढीमा पैत्रिक गुण वितरण र नश्लमा हुने आनुवंशिक उत्परिवर्तनलाई ग्रेगर मेण्डलले पनि राम्रैसँग व्याख्या गरेका छन् । मानव हुन् या पशुपन्छी वा सूक्ष्म जीव नै किन नहुन्, यी सबैमा विषाणु–गुणसूत्र वितरण र आनुवंशिक उत्परिवर्तनको नियम लागू हुन्छ । सबैको एउटै उद्देश्य धर्तीमा आफ्नो उपस्थिति कायम गराइराख्नु हो । आनुवंशिक उत्परिवर्तनबाट अस्तित्व बनाएको नयाँ विषाणु कोरोना हो । यो विषाणु प्राकृतिक स्रोत, माध्यम अनि मानव बीचको अन्तरक्रियाबाट जन्मिएको हो । विषाणुहरू कुनै निश्चित प्राकृतिक स्रोतमा अनादिकालदेखि नै यो धरतीमा छन् । तर प्राकृतिक उद्गमबाट जनावरमा सर्नु वा हामी मानवसम्म आइपुग्नुमा हाम्रै क्रियाकलाप जिम्मेवार छ ।


झन्डै १०२ वर्षअघि अर्थात् सन् १९१८ मा महामारीको रूपमा देखापरेको ‘स्पेनिस फ्लु’का कारण दसौं लाख मानिसको मृत्यु भयो । मर्नेहरूमा २०–४० उमेर समूहका युवा धेरै थिए । अमेरिका लगायत धेरै युरोपेली राष्ट्र यसबाट प्रभावित बने । स्वाइन फ्लुको प्रकारमध्येकै मानिएको यो रोगको विषाणुले आफ्नो आनुवंशिक संरचनामा कहाँ परिवर्तन गर्‍यो र कसरी महामारीको रूपमा लियो अझै पनि अज्ञात छ । स्वाइन फ्लुको अर्को महामारी २००९ मा दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोबाट सुरु भएको थियो । यो विषाणु, सुँगुर, चरा र मानव बीचको अन्तरक्रियाबाट पुनर्संयोजन भई नयाँ आनुवंशिक स्वरुपमा मानवमाझ फैलिएको थियो । यसपछिको अर्को महामारी इबोला विषाणुका रूपमा २०१३ डिसेम्बरबाट अफ्रिकी राष्ट्र गुइनियाबाट फैलिएको थियो । यसलाई पनि पशुजन्य रोगकै रूपमा मानियो । यद्यपि यसको प्राकृतिक मूलस्रोत के हो भन्ने तथ्य अझै पनि स्पष्ट छैन । इबोला एक अफ्रिकी बच्चाबाट फैलिएको विश्वास गरिन्छ । केही वैज्ञानिकहरूले यस्तो मानव प्रकोपलाई जङ्गली जनावर गोरिल्ला र चिम्पाञ्जीमा भएको प्रकोपसँग गाँसेर हेरे । केही वैज्ञानिक चमेरोलाई यसको कारण मान्छन्, किनकि यो चमेरोमा इबोला विषाणुसँग मिल्ने केही आनुवंशिक सङ्केतहरू छन् । पुच्छर नभएको एक प्रकारको चमेरो पनि यो विषाणुको प्राकृतिक स्रोत हुनसक्छ भन्ने केही वैज्ञानिकको मान्यता छ ।


२००२ मा दक्षिण चीनमा देखापरेको ‘सार्स’, २०१२ मा मध्यपूर्वमा देखापरेको ‘मर्स’ र गत वर्षको डिसेम्बरको अन्तिम हप्ताबाट चीनको वुहानमा देखापरेको कोभिड– १९ विषाणुको प्राकृतिक स्रोत चमेरो नै हो भन्ने आम वैज्ञानिकहरूको एकमत छ । जुन विषाणु प्राकृतिक स्रोत ‘चमेरो’, माध्यम र मानव बीचको अन्तरक्रियाबाट आनुवंशिक संरचना परिवर्तन गर्दै नयाँ स्वरुपमा जन्मिएको हो । अस्ट्रेलिया र पूर्वी एसियामा देखापरेको विषाणुहरू जस्तै– ‘हेन्ड्रा’ र ‘निपा’को प्राकृतिक स्रोत पनि चमेरो नै हो भन्नेमा धेरै वैज्ञानिक सहमत छन् । चिनियाँ वैज्ञानिक वेन्दोङ लीको २००५ मा ‘साइन्स’ जर्नलमा प्रकाशित अनुसन्धानले भन्छ, चमेरोमा यस्ता अन्य विषाणुहरू पनि हुन सक्छन्, जुन अझैसम्म देखापरेको छैन । उनले कोरोना सँगसँगै अन्य विषाणु (हेनिपा), जसले आफ्नो आनुवंशिक संरचना परिवर्तन गर्दैछ र यसले प्रकोपको सम्भावना निम्त्याउँछ भनेर त्यो बेला औंल्याएका थिए । धेरै वैज्ञानिक चमेरामा रहेको ‘सार्स’ सम्बन्धित कोरोना विषाणुले मानवलाई संक्रमण गर्नसक्ने क्षमता राख्छ भन्नेमा सहमत छन् । चीनको ग्वाङतोङ प्रान्तमा २००२ मा ‘सार्स’ देखा नपरुन्जेल कोरोना विषाणुलाई रोगजन्य मानिएको थिएन । २०१८ मा ‘नेचर’ जर्नलमा प्रकाशित अर्का चिनियाँ वैज्ञानिक चिए छुईको अनुसन्धानमा, यसअघि कोरोना विषाणुले हल्का संक्रमण गर्थ्यो वा मानव प्रतिरक्षा प्रणाली त्योसँग लड्न सफल थियो भन्ने कुरा उल्लेख छ ।


जङ्गली विषाणु कसरी मानव समुदायसम्म आइपुग्छ त ? यसलाई बुझ्न विगतका केही तथ्य र घटनाक्रम हेरौं । ‘सार्स’को प्रकोपको बेला चीनको युनान प्रान्तमा संक्रमणका कुनै बिरामी भेटिएका थिएनन् । प्रकोप सुरु हुनुअघि कोरोना विषाणु पहिले जनावरको संसर्गमा रहेको थियो भन्ने तथ्यलाई पुष्टि गर्ने विभिन्न आधार छन् । विषाणुलाई जनावरको कारोबार गर्ने व्यापारीसम्म पुर्‍याउने काम बिरालोले गर्‍यो । त्यो संक्रमित बिरालो चीनको ग्वाङतोङ बजारमा पुग्यो । मानवमा फैलनु अघि विषाणुमा थप उत्परिवर्तन भयो र घातक बन्यो । वैज्ञानिक छुई र उनको समूहले गरेको अनुसन्धानले भन्छ, मानवसँग सरोकार रहेको त्यो कोरोना विषाणुको प्राकृतिक स्रोत चमेरो नै हो । र मानवमा आइपुग्न बिरालो माध्यम बन्यो । बिरालोमा पाइएको ‘सार्स’ कोरोना विषाणु चमेरोबाट सरेको थियो । यस्ता धेरै प्रमाण चीनका विभिन्न प्रान्त लगायत, युरोप, अफ्रिका र दक्षिण एसियाली राष्ट्रमा पनि पाइएका छन् । ‘सार्स’ सम्बन्धित कोरोना विषाणु ठूलो भौगोलिक क्षेत्रमा छरिएको छ र चमेरोमा यो निकै पहिलेदेखि थियो भन्ने प्रस्ट छ ।


२०१२ मा देखापरेको ‘मर्स’ कोरोना विषाणुलाई चमेरोबाट मानवसम्म आइपुग्नुमा वैज्ञानिकहरूले संक्रमित ऊँटलाई जिम्मेवार ठहर्‍याएका छन् । मध्यपूर्वी राष्ट्र, अफ्रिका र दक्षिण एसियाली राष्ट्रमा पाइने ऊँट धेरै अघिदेखि ‘मर्स’ कोरोना विषाणुका लागि चाहिने पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भन्ने मान्यता वैज्ञानिकमा छ । यसको अर्थ ऊँटमा धेरै समय अघिदेखि यो विषाणु विद्यमान थियो भन्ने नै हो । ३० वर्षअघि, अर्थात् सन् १९८३ मा एम.ए. मुल्लर र उनको समूहले गरेको अध्ययनले पनि यो तथ्यलाई पुष्टि गर्छ । चिए छुईले सन् २०१८ मा गरेको अध्ययनले भन्छ, त्यो बेला महामारीको रूपमा रहेको ‘मर्स’ कोरोना विषाणुको प्रभाव पनि आक्रामक र कम आक्रामक गरी २ तरिकाले देखिएको थियो । मध्यपूर्वी राष्ट्र जस्तै– संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमान, जोर्डन अनि एसियाली मुलुक दक्षिण कोरिया र थाइल्यान्डका मानव समुदायमा यो महामारीको रूपमा देखापर्‍यो । तर अफ्रिकी राष्ट्र, नाइजेरिया, बुर्किना फासो, इथियोपिया लगायत राष्ट्रमा विषाणुले मानवमा संक्रमण गरेन । यद्यपि यी दुवै विषाणुको पूर्वज एकै भए पनि भौगोलिक रूपमा मानव संक्रमणमा भने विविधता देखियो ।


अहिले फैलिएको कोभिड–१९ का सन्दर्भमा, चिनियाँ वैज्ञानिक स्याओलु थाङ र उनको समूहको नयाँ कोरोना विषाणु सम्बन्धी अनुसन्धान पत्र भर्खरै (२०२०) मा ‘माइक्रोबायोलोजी’ जर्नलमा प्रकाशित छ । उनीहरूको अनुसन्धान विवरणले भन्छ— ‘कोभिड–१९ विषाणु खतरनाक बन्नुको कारण आनुवंशिक संरचनामा यसका विभिन्न जात र उपभेदको पुनर्संयोजनका अतिरिक्त, उत्परिवर्तन र प्राकृतिक छनोट नै हो ।’ अहिले यो विषाणुको प्रभाव पनि ‘मार्स’ कोरोना विषाणुको जसरी नै आक्रामक र कम आक्रामक गरी २ रूपमै पर्‍यो । सुरुवाती चरणमा आक्रामक प्रकारको विषाणु वुहानमा देखापर्‍यो र क्रमशः फैलिँदै गयो । तर दोस्रो प्रकारको विषाणु जसलाई विकासक्रमको आधारमा पुरानै मानिएको छ, उसको आवृत्ति क्रमशः जनवरीको सुरुआतबाटै घट्न थाल्यो । र यसको असर थोरै देखियो । यद्यपि यी दुवै प्रकारका (आक्रामक र कम आक्रामक) विषाणुको पूर्वज भने एकै हो, जुन चमेरोमा संग्रहित छ । यसलाई वैज्ञानिकहरूले आनुवंशिक अनुक्रमहरूको तुलनाबाट पनि पुष्टि गरिसकेका छन् । कोभिड–१९ विषाणु वुहानको स्थानीय समुद्री खाद्यपदार्थ, जङ्गली जनावर र जीवित कुखुराको बिक्री–वितरण गर्ने बजारबाट फैलिएको विश्वास गरिन्छ । तर मानवमा कसरी सर्‍यो अर्थात् यसका लागि बीचको मध्यम के हो भन्ने अझै प्रस्ट भइसकेको छैन ।


गएको २ दशक यताबाट ‘सार्स’ सम्बन्धित कोरोना विषाणुले विश्वमा ठूलो आर्थिक क्षतिमात्र पुर्‍याएको छैन, मानव बुद्धि र विवेकलाई समेत ठूलो चुनौती दिएको छ । जीवजन्तुमा हुने आनुवंशिक परिवर्तन, चाहे सूक्ष्म जीव होस् या विशाल, नितान्त प्राकृतिक नियममै पर्छन् । विषाणुमा आएको यो परिवर्तन घातक र चुनौतीपूर्ण बन्नुको कारण हो, मानवबाट मानवमा सर्नु । र विषाणुलाई प्राकृतिक स्रोतबाट मानवमा सार्ने माध्यम हामी नजिकैका जीवजन्तु हुन् । र सधैं हाम्रै वारिपरि रहने तिनै जीवजन्तुहरू आफै पनि यस्ता विषाणुबाट संक्रमित हुने गरेका छन् ।


-कट्टेल बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सहप्राध्यापक हुन् ।

प्रकाशित : चैत्र ८, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?