कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महाव्याधिका सांस्कृतिक विषाणु

अमेरिका लगायतका देशहरूमा एसियाली र चिनियाँ मूलका जस्ता देखिनेहरूलाई दुर्व्यवहार गर्ने अनेकन घटनाहरू भइरहेका छन्, जुन मुख्य रूपमा सांस्कृतिक पूर्वाग्रहका परिणाम हुन् ।
जनार्दन थापा

केही दिनअघि ‘नेपालविज्ञ’ मानिने भारतीय विद्वान सुकदेव मुनीले आफ्नो ट्विटर ह्यान्डलमार्फत एउटा मत राखे, ‘पश्चिमा संस्कृतिको हात मिलाउने अभिवादन परम्पराको तुलनामा पूर्वीय संस्कृतिको नमस्कारको सांस्कृतिक उच्चता बाहिर ल्याउनु कोभिड–१९ महाव्याधिको सकारात्मक पक्ष हो ।’ उनले अझ अघि बढेर ‘जङ्गली र अजब खाद्य परम्पराभन्दा शाकाहारी खाद्य परम्परा उँचो भएको’ भन्नसमेत भ्याएका छन् । 

महाव्याधिका सांस्कृतिक विषाणु

दोस्रो उदाहरण आफूलाई चिकित्साशास्त्रको विद्यार्थी र संस्कृतिप्रति रुचि राख्ने व्यक्ति बताउने एक नेपालीले ट्विटर ह्यान्डलबाट विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै ‘अहिलेसम्म शाकाहारी भोजन गर्ने कोही पनि कोभिड–१९ को सङ्क्रमित नभएको’ जानकारी प्रेषित गरिन् । सांस्कृतिक पूर्वाग्रहका यी दुई प्रतिनिधि विचारहरू मात्र हुन् । यस्ता भनाइ र बुझाइहरू सामाजिक सञ्जालहरूमा छताछुल्ल छन् । सार्वजनिक र अनौपचारिक बहसहरूमा पनि यस्ता खाले विचार प्रशस्त आइरहेका छन् । भलै यस्ता सबै कथन र धारणा कसैलाई हानि गर्ने वा होच्याउने सोचेर लेखिएका वा भनिएका होइनन् होलान् । तर यथार्थमा यस्ता विचार हामीभित्र चेतन र अवचेतन तहमा रहेका सांस्कृतिक पूर्वाग्रहसँग बलियो रूपमा सम्बन्धित हुन्छन् । प्रकोप विस्फोटनको यो अत्यन्त संवेदनशील अवस्थामा यस्ता विचार र सूचनाको सम्प्रेषणले भ्रम, घृणा र विभेद बढाई समस्या झन् बढाउन योगदान गरिरहेका छन् ।


भ्रम र घृणाको जननी पूर्वाग्रह

सामान्यतया भ्रमहरू ज्ञान र सूचनाको अभावका कारण जन्मन्छन् भन्ने मान्यता पाइन्छ । तर यो बुझाइ सतही देखिन्छ । धेरै खाले भ्रमहरू पूर्वाग्रहहरूका बाह्य उत्पादन हुन् भन्न सकिन्छ । माथिका दुई उदाहरणहरू पनि यसलाई पुष्टि गर्न काफी छन् । संस्कृतिसँग सम्बन्धित भ्रमहरूमा पूर्वाग्रहहरू झन् महत्त्वपूर्ण हुन्छन् । विगतमा पश्चिमा सिद्धान्तकारहरूले संस्कृतिहरूबीच तुलना गर्दै आफूहरूको संस्कृति सभ्यताको स्तरमा पुगिसकेको र आफू इतरका पूर्वीय लगायतका बाँकी संस्कृतिहरू जङ्गली अवस्था वा त्यसबाट एक खुड्किलो उक्लेर बर्बर अवस्थासम्म आइपुगेका छन् भन्ने डार्बिनवादी निष्कर्ष निकालेका थिए । तर यस लगत्तै अमेरिकी मानवशास्त्री फ्रान्ज बोआसले ‘सांस्कृतिक सापेक्षतावाद’को विचार अगाडि ल्याए, जसमा उनले असान्दर्भिक तुलनामा आधारित त्यस्ता निष्कर्षहरूको कडा आलोचना गर्दै त्यसलाई ‘एथ्नोसेन्ट्रिजम’ अर्थात् सांस्कृतिक पूर्वाग्रह भने ।


कुनै पनि संस्कृति वा त्यसका अवयवहरू जस्तै– खानपान, रहन–सहन, अभिवादन परम्पराहरूलाई त्यही संस्कृतिको ऐतिहासिकता र विशिष्टतामा बुझ्नुपर्छ भन्नु नै सांस्कृतिक सापेक्षतावादको सार हो । संस्कृतिहरूलाई दाँज्नु अवैज्ञानिक मात्र होइन, अमानवीय पनि हो, किनभने यसले उँच—नीचको भावना, असमझदारी, घृणा र द्वन्द्व बढाउन ठूलो योगदान गर्छ । इतिहासमा भएका धेरै नरसंहारहरू र युद्धहरू पनि यसका साक्षी छन् । अहिलेको महाव्याधिको सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका घटनाहरूको फेहरिस्त हेर्दा घृणाको खेती निकै बढेको देखिन्छ । अमेरिका लगायतका देशहरूमा एसियाली र चिनियाँ मूलका जस्ता देखिनेहरूलाई दुर्व्यवहार गर्ने अनेकन घटनाहरू भइरहेका छन्, जुन मुख्य रूपमा सांस्कृतिक पूर्वाग्रहका परिणाम हुन् । अप्रिय र अपजसे काम भए पनि हामीकहाँ पनि यस्तो परिस्थिति उत्पन्न हुन नदिन हाम्रा सांस्कृतिक पूर्वाग्रहहरूलाई चिर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।


खाद्य संस्कृति र ‘घिन’

कोभिड–१९ को सङ्क्रमण प्रारम्भदेखि नै यसलाई चीनका मान्छेहरूको खानपान संस्कृतिसँग जोडेर हेरिएको छ । यो महामारीको उत्पत्तिका लागि चीनका मानिसहरूका खानपान अर्थात् विशेषगरी जङ्गली र ‘अस्वाभाविक’ जीवजन्तुहरू खानु जिम्मेवार छ भन्ने तर्क अहिले पनि बलियो छ । अझ उनीहरूलाई जथाभावी गरेको र खाएकोमा प्रकृतिले सजाय दिएको भन्नेसमेत धारणाहरू आएका छन् । यस्ता भाष्य (न्यारेटिभ) निर्माण गर्न सञ्चार माध्यम विशेषगरी सामाजिक सञ्जालको ठूलो भूमिका छ । निश्चय पनि हाम्रा खानपान र बानी–व्यवहारहरूले खास प्रकारका रोगहरू लाग्ने जोखिमलाई कम वा बढी गराउँछन् । तर यस सन्दर्भमा अरुका खानपानहरूप्रतिको नकारात्मक धारणाको स्रोत भनेको त्यही सांस्कृतिक पूर्वाग्रह नै हो । वास्तवमा अरूले खाने वस्तुप्रतिको हाम्रो ‘घिन’ प्राकृतिक नभएर सांस्कृतिक हो, अर्थात् सिकिएको हो । यसलाई बुझाउन मानवशास्त्री मेरी डग्लसले एउटा अत्यन्त सरल उदाहरण सुझाएकी छन् । जस्तो कि हाम्रो मुखमा रहेको र्‍याल मुखभित्र रहँदा वा त्यसलाई निल्दा हामीलाई कुनै घिन लाग्दैन । तर आफ्नै र्‍याल कुनै भाँडा (जस्तै चम्चा) मा बाहिर निकालेर हामीलाई फेरि निल्न भनियो भने हामी त्यसो गर्न सक्दैनौं वा घिन मान्छौं, भलै मुखभित्र रहेको र्‍याल र चम्चामा रहेको र्‍याल तात्त्विक रूपमा फरक छैनन् । यसबारे ‘आफैले थुकेको आफैले चाट्ने’ भन्ने उक्तिमा रहेको अन्तरनिहित विम्बले नै धेरै कुरा बोलेको छ ।


हाम्रा संस्कृतिहरूमा जीवजन्तु खाद्यस्रोतहरू मात्र नभएर धार्मिक परम्परा र संस्कारहरूसँग अभिन्न रूपमा जोडिएका छन् । फरक—फरक समूहले फरक—फरक जीवजन्तु र तिनका मासुलाई देवी–देवताका प्रसादका रूपमा समेत ग्रहण गर्छन् । फलस्वरूप केही मात्रामा एक—अर्काका खाद्य संस्कृति र बानी–व्यवहारहरूप्रति हामीभित्र पनि भेदभावपूर्ण सोचाइ र व्यवहार देखिन्छ । सोझो अर्थमा हाम्रा खानपान ‘असल’ वा सामान्य र अरूको ‘कमसल’ वा ‘असामान्य’ भन्ने सोचाइमा मूल रूपमा त्यही सिकाइएको घिनको मनोविज्ञानले काम गरिरहेको हुन्छ । अर्कोतर्फ विशेष खानपान संस्कृति वा हाम्रा खास बानीहरूले गर्दा अहिलेसम्म हामीलाई यो महाव्याधिले छुन नसकेको हो भन्ने धारणा पनि निकै प्रबल देखिएको छ । हाम्रो खानपानमा लसुन, बेसार आदि औषधीय गुणयुक्त मसला संलग्न भएकोले यो रोगको सङ्क्रमण नभएको हो भन्ने मतहरू निरन्तर सम्प्रेषण भइरहेका छन् ।


हामीसँग सांस्कृतिक सादृश्यता राख्ने छिमेकी राष्ट्र भारतमा गाईको गहुँतले कोरोना सङ्क्रमण निको पार्छ भन्ने धारणासमेत जोडतोडका रूपमा प्रचार गरिएको छ । निश्चय पनि यी हाम्रा भोजनका नियमित अङ्ग वा सांस्कृतिक महत्त्वका पदार्थहरूका रूपमा रहेका छन् र स्वास्थ्यका लागि उपयोगी पनि होलान् । तर त्यसैलाई टेकेर कोभिड–१९ जस्ता नवीन संक्रमणबाट यिनले बचाउँछन् भन्ने तहको निष्कर्षमा पुग्नु तथ्यको अतिरञ्जना हो । आफ्ना संस्कृतिप्रति हाम्रो भावनात्मक लगाव हुन्छ, तर कहिलेकाहीं त्यसमा आधारित विश्वास र अवधारणाहरू रोगको सन्दर्भमा खतरनाक पनि हुन् सक्छन् । वास्तवमा आफ्ना संस्कृतिप्रति लगाव र मोह हुनुमा कुनै समस्या छैन । यस सन्दर्भमा मानवशास्त्रले सांस्कृतिक विविधता जैविक विविधता जत्तिकै महत्त्वपूर्ण हुन्छ भने मान्यता राख्छ । तर संस्कृतिलाई नै पूर्वाग्रह र भ्रमको स्रोत बनाइयो भने विशेषगरी स्वास्थ्यको सवालमा त्यसले निकै जोखिमपूर्ण अवस्था सिर्जना गर्छ । अझ यस्ता अवधारणा र भ्रम त्यतिबेला झन् खतरनाक हुन्छन्, जब यसले रोकथाम र उपचारमा लापरबाहीलाई प्रेरित गर्छन् । यो स्तरको ठूलो सङ्क्रमणप्रतिको हाम्रो सुस्त प्रतिक्रिया र ‘देखा जाएगा’ को मनोविज्ञान बलियो हुनुमा यस्ता सोचाइ र बुझाइहरू पनि जिम्मेवार छैनन् भन्न सकिन्न ।


भ्रम र घृणा विषाणुहरूका जनस्वास्थ्य जोखिमहरू

सङ्क्रामक रोगहरू र विशेषगरी यस्ता ठूला महामारीको बेला पूर्वाग्रह सिञ्चित भ्रम र घृणाको खेतीले धेरै नकारात्मक असरहरू पार्ने गर्छ । यसले अप्रत्यक्ष रूपमा सङ्गठित प्रयासहरूलाई कमजोर बनाउने मात्र नभई प्रत्यक्ष रूपमा नै महामारीको व्यवस्थापन प्रक्रियालाई जटिल बनाउने गर्छ । नेपालमा कतिपय रोगहरूसँग सम्बन्धित भ्रम र घृणा (स्टिगमा) ले त्यस रोगको निदान, रोकथाम र उपचार प्रक्रियालाई निकै जटिल बनाएको तथ्य जगजाहेर छ । उदाहरणका लागि कुष्ठरोग, टिबी, एचआईभी आदि स्वास्थ्य समस्याहरूसँग सम्बन्धित भ्रम र घृणाहरूले गर्दा बिरामीहरूले रोग लुकाउने र समयमा उपचार नखोज्नाले ठूलो जटिलता सिर्जना गरेको छ । मानसिक रोगहरूको निदान र उपचारमा पनि यसले निकै ठूलो चुनौती खडा गरेको छ । कोभिड– १९ को सङ्क्रमणको सन्दर्भमा यस्तो खतरा झन् बढी छ । यस सङ्क्रमणलाई जुन रूपमा हाम्रो समाजमा चित्रित गरिएको छ र अवधारणाहरू निर्माण गरिएको छ, यसले सङ्क्रमण भएको लुकाउने र नस्वीकार्ने प्रवृत्तिलाई बल पुर्‍याउँछ ।


यस्तो अवस्थामा सङ्क्रमणले भयावह रूप लिन सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । सङ्क्रमणको शङ्कामा ‘आइसोलेसन’मा (छुट्टै–भिन्न) राखिएका व्यक्ति भागेको घटनाले पनि यस तथ्यलाई थप बल पुर्‍याउँछ । वास्तवमा यस्ता घटनाहरूलाई व्यवस्थापकीय कमजोरीसँग मात्र जोडेर बुझ्नु ठूलो गल्ती हुनसक्छ । डराउने, लुकाउने र छिछि–दुरदुर गर्ने प्रवृत्ति देखिए यसले सम्भावित सङ्क्रमण व्यवस्थापनमा निकै ठूलो चुनौती थप्न सक्छ । जैविक विषाणु कोभिड– १९ ले ल्याउने सङ्कटमा भ्रम र घृणाका विषाणुहरूले परिस्थितिलाई अझ जटिल बनाउने निश्चित छ । तसर्थ यो महाव्याधि सम्बन्धी भ्रम र घृणाहरूको सङ्क्रमणलाई पनि बेलैमा कम गर्दै जानसके यसले साघारमा आएको सम्भावित महासङ्क्रमणसँग लड्न धेरै ठूलो सहयोग गर्न सक्छ भन्ने कुरामा कुनै शङ्का नराखे हुन्छ ।


-थापा पृथ्वीनारायण क्याम्पस, पोखरामा (चिकित्सकीय) मानवशास्त्र अध्यापन गर्छन् ।

प्रकाशित : चैत्र ८, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?