कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्कुल बन्द भयो, अब के गर्ने ? 

खेल, चित्रकला तथा विविध क्रियाकलापले बालबालिकामा भएको तनाव, त्रास र मनो–सामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सहयोग पुग्छ ।
मिनाक्षी दाहाल

कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसको संक्रमण देखिएको छ । संसारभर सबैलाई  यसले आतंकित र सशंकित बनाएको छ । विद्यालय, कलेजहरू बन्द गरिएका छन् । सर्वसाधारणको हिंडडुल, दैनिकी र दिनचर्या समेत प्रभावित भएको छ ।

स्कुल बन्द भयो, अब के गर्ने ? 

समाचार तथा सामाजिक सञ्जालहरूमा आउने विभिन्न सूचनाले सबैलाई मनमा भय र त्रासको अनुभूति भइरहेको छ । बिना गहिरो अध्ययन, अनुसन्धान प्रेसित खबरहरूले त अझ वास्तविक सूचनालाई नै ओझेलमा पारेको महसुस हुन्छ । कति पत्याउने, कति नपत्याउने यस्ता समाचारहरूबाट हामी प्रभावित भएका छौं । परिवारका सबै सदस्य भयभीत र तनावग्रस्त रहेका बेला बालबालिकाको अवस्था अझ गम्भीर र असामान्य हुने गर्छ ।


सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्छ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमीत र संवेदनशील भएर उनीहरूसँग कार्य गर्नुपर्ने हुन्छ । यस्तो समयमा बालबालिकामा मानसिक तनाव तथा डर उत्पन्न हुन्छ । अभिभावक तथा अन्य वयस्कले गरेका कुराले उनीहरू अझ धेरै त्रसित भएका हुन सक्छन् ।


अब वार्षिक परीक्षा सकिएर विद्यालयहरू बन्द भएका छन् । तर अभिभावकहरूको भने काममा नियमित जानुपर्ने अवस्थामा बालबालिकालाई कसरी सुरक्षित राख्‍ने ? अझ भनौं कहाँ राख्‍ने भन्ने तनावले सबैलाई चिन्तित बनाएको छ । यस्तो त्रास र तनावका असरलाई तुरून्तै सम्बोधन गर्न सकिएन भने बालबालिकामा यसको प्रभाव लामो समयसम्म रहीरहन्छ । तसर्थ यस्तो विषम परिस्थितिमा बालबालिकालाई विशेष सहयोगको आवश्यकता पर्छ ।


अब कोरोना भाइसरबारे बुझौं । विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो भाइरस स्वासप्रश्वाससम्बन्धी रोग ल्याउने थुप्रै भाइरसका प्रजातिमध्येको एक हो जसले मान्छे र जनावरलाई बिरामी बनाउँछ । अहिलेको महामारीको कारक भाइरस चाहिं कोभिड १९ हो । चीनको वुहानमा यो संक्रमण देखिनुभन्दा पहिले यस भाइरसबारे केही तथ्य थाहा भएको थिएन ।


कोभिड १९ भाइरसको सामान्य लक्षणहरूमा ज्वरो आउने, थकाइ लाग्ने, सुख्खा खोकी लाग्ने, सिंगान बगिरहने, नाक बन्द हुने, घाँटी दुख्ने र झाडापखाला समेत लाग्ने हुन्छ । अहिलेसम्मको लक्षणहरू हेर्दा यसको असर सामान्य, मध्यमदेखि उच्चस्तरको ज्यान नै जानेसम्म रहेको छ । अझ महत्वपूर्ण पक्ष चाहिं के हो भने यस भाइरसको संक्रमण भएका सबै मानिसमा यसको माथि उल्लेख गरिएका लक्षणहरू नदेखिन पनि सक्छ ।


विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) को हालसम्मको तथ्याङ्कअनुसार यस भाइरसको संक्रमण भएका ८० प्रतिशत मानिस निको भएका छन् र यसबाट मृत्यु भएका मानिसबारे अध्ययन गर्दा उमेर ढल्किएका, अन्य रोगबाट ग्रसित र कमजोरलाई यसको असर धेरै भएको पाइएको छ ।


यो भाइरसको सबैभन्दा खतरनाक पक्ष यसलाई जो कोहीले पनि सार्न सक्छ वा जो कोहीबाट पनि यो भाइरस सर्न सक्छ । त्यस्ता व्यक्ति जसले रोगको लक्षण देखाउँदैन वा देखिन्न तिनीहरू पनि एकअर्कालाई भाइरस सार्ने माध्यम बन्न सक्छन् । लक्षण नदेखिएका मानिसबाट सर्नुलाई अहिलेसम्म संक्रमण बढाउन प्रमुख कारक भएको र यसलाई रोक्न कठीन हुनुको एउटा कारण मानिएको छ ।


अहिले यस संक्रमणको महामारीमा बालबालिकालाई कसरी सुरक्षित गर्ने ठूलो चूनौती बनेको छ । आत्तिएर, डराएरभन्दा पनि विवेकपूर्ण तरीकाले सुरक्षित रहने उपायहरू अवलम्बन गर्नुपर्छ । विद्यालय बन्द भएको बेला बालबालिकालाई कहाँ राख्ने, के गराउने भन्ने अन्योलको अवस्थामा सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको आफू र परिवार सुरक्षित रहनुका साथै आफ्ना वरिपरिको वातावरणलाई पनि सुरक्षित गराउनु, रोग सार्ने वा सर्ने अवस्था आउन नदिनु नै हो । यसका लािग सर्वप्रथम त हामीले स्वस्थ बानीको विकास र अनुशरण गर्नुपर्छ ।


कोरोना भाइरस, कोभिड १९ को संक्रमणबाट जोगिन सबैभन्दा पहिले सरसफाइमा नै ध्यान दिनु पर्छ । सरल र सफा जीवन पद्धति अपनाउनु पर्छ । बालबालिकालाई सफासुग्घर राख्नु पर्छ । यो संक्रमण खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने हावाबाट प्रत्यक्ष सर्छ । तर हावामा भएका विषाणुहरू (भाइरस) अन्य स्थानमा पनि रहन सक्छन् । जस्तो— हातमा वा हातले छोइने वस्तुहरू (टेबलको सतह, फाइल वा किताब) । तसर्थ हावामा भएका विषाणु हात वा अन्य वस्तुमा रहन सक्ने भएकाले हात हरक्षण सफा राख्नु पर्छ ।


हात मिलाउँदा वा अरूले प्रयोग गरेका अन्य सामग्री (टेवल, फाइल वा किताब) हातले छुादा पनि हातमार्फत सर्ने भएकोले जुनसुकै समाग्री चलाएपछि हात सफा राख्ने बानी गर्नुपर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाबाट नै सर्ने हुनाले निश्चित दूरी कायम राख्नु पर्छ ।


तसर्थ यस समयमा बालबालिकालाई नियमितरूपमा साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुने बानी लगाउनुपर्छ । यदि खोकी लागेमा वा हाच्छ्युँ आएमा नाक र मुख छोपेर खोक्ने र हाच्छ्युँ गर्न सिकाउनु पर्छ । साथमा रूमाल नभएको अवस्थामा कुहिनाले नाकमुख छोपेर खोक्ने र हाच्छ्युँ गर्न भन्नु पर्छ । हात लगाउनु हुँदैन र हातले मुख, नाक छुनेजस्तो कार्य गर्नु हुँदैन भनी सिकाउनु पर्छ । खोक्ने र हाच्छ्युँ गर्नेहरूबाट टाढा रहनु नै उत्तम विकल्प हो ।


बालबालिका स्वभावले नै कुनै न कुनै क्रियाकलापमा अल्झिरहन मन पराउँछन् । उनीहरूलाई यस समयमा डर देखाउने, अनावश्यक रोकटोक गर्ने र घरभित्र नै बन्दी बनाउने गर्नुभन्दा विभिन्न क्रियाकलापमा व्यस्त गराउनुपर्छ । खेल, चित्रकला तथा विविध क्रियाकलापले बालबालिकामा भएको तनाव, त्रास र मनो–सामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सहयोग पुग्छ ।


मनोविज्ञहरू भन्छन्— अभिभावकहरूमा नै बालबालिकाको मनो–सामाजिक असर हटाउने प्रमुख जिम्मेवारी हुन्छ । तसर्थ यस्तो असामान्य परिस्थितिलाई क्रमशः सामान्यीकरण गर्न अभिभावकले पर्याप्त समय दिनुपर्छ । बालबालिकाले अनौपचारिक रूपमा पनि सिकिरहेका हुन्छन् । आफूलाई लागेका भावना प्रस्तुत गर्ने वातावरणबाट उनीहरूमा सिकाइका साथै सकारात्मक मनो–सामाजिक प्रभाव पर्छ । बालबालिकासँग थुप्रै जिज्ञासा हुन्छन् । उनीहरूको जिज्ञासालाई सुनीदिने र झर्को नमानी त्यसको सही उत्तर दिने गरेमा अभिभावकसँगको सम्बन्धमा प्रगाढता आउनुका साथै उनीहरू यस्ता सबै प्रकारका विषम परिस्थितिप्रति सचेत र सुरक्षित हुनेछन् ।


सुरक्षित रहने भन्दैमा बाहिर निस्कनै नमिल्ने होइन । बालबालिका धेरै प्रकृतिसँग रमाउने हुनाले उनीहरूलाई बाहिर खेल्न, उफ्रन दिनुपर्छ । दिनभरि घरभित्र बन्द गरेर राख्नेभन्दा भीडभाड नहुने स्थानहरूमा लिएर जान सकिन्छ । हामीकहाँ बालबालिकाका लागि खेल्ने त्यस्ता खुला स्थान अति नै कम भए पनि जहाँ, जे जस्तो परिवेश छ सोअनुसार उनीहरूलाई खेल्न, घुम्न र रमाउन दिनुपर्छ ।


बालबालिकालाई आफूबाट अलग राख्ने, लामो समयसम्म टीभी, कम्प्युटर वा फोनजस्ता प्रविधिसँग अलमलिन दिएमा उनीहरूमा सिकाइभन्दा धेरै अन्य समस्या देखिन थाल्नेछन् । जस्तो— चिडचिडाहट बढ्ने, झर्किने, एक्लै बस्न मन पराउने साथै आँखा दुख्ने, घाँटी दुख्ने हुन्छ ।


उनीहरू हरेक समय सिक्न तयार हुन्छन् र सिकिरहेका पनि हुन्छन् । उनीहरूको यो स्वःस्फूर्त सिकाइलाई अनावश्यक दबाब र तनाव नदिइकन आफूसमेत सहभागी भई पढीदिने, उनीहरूसँग खेल्न जाने र घरको काममा पनि उनीहरूलाई सहभागी गराउने गर्नाले बालबालिकाले रमाइलो महसुस गर्नेछन् । यस्तो वातावरण बालबालिकाको समग्र विकास र सिकाइको लागि महत्वपूर्ण हुन्छ ।


अभिभावकहरूले सतर्कता र सजगतासाथ कहाँ, केसँग खेल्न दिने, के के गर्ने र के गर्न नहुने भन्ने कुरा बालबालिकालाई तर्कसहित भनी दिएमा उनीहरूले अनावश्यक झगडा र माग पक्कै पनि गर्ने छैनन् । बालमनोविज्ञहरू भन्छन्— बालबालिकालाई लामो समयसम्म अन्योल र त्रासको वतावरणमा राख्न हुँदैन । जतिसक्दो छिटो उनीहरूको दैनिकीमा सामान्यीकरण गर्दै लैजानु पर्छ । तसर्थ यो अवस्थालाई अवसरको रूपमा अभिभावकहरूले स्वस्थ बानीको विकास गर्न, बालबालिकासँग समय बिताउन, उनीहरूको कुरा सुन्न र बुझ्न सदुपयोग गर्नसकेमा हामी कोरोना विरुद्धको यो लडाईंमा पक्कै पनि विजयी हुनेछौं ।


काठमाडौँ विश्वविद्यालयबाट ‘ओरल ल्यांग्वेज एण्ड अर्ली लिटरेसी’मा विद्यावारिधि गरेकी दाहाल सोही विश्वविद्यालयमा शिक्षा संकायकी भिजिटिङ फ्याकल्टी पनि हुन् ।

प्रकाशित : चैत्र ६, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?