१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जति वायु प्रदूषण उति मुटुरोगको जोखिम

सरकारले तोकेको मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी हुनु हुँदैन । तर, काठमाडौंको वायुमा पीएम २.५ को मात्रा निर्धारित मापदण्डको दुई गुणाभन्दा बढी अर्थात् ८० माइक्रोग्राम प्रति घन मिटरभन्दा बढी छ ।
डा युवराज लिम्बू

काठमाडौँ — अव्यवस्थित शहरीकरण, बढ्दो सवारी साधनहरूको वृद्धि र उद्योग, कलकारखानाहरूको निर्माण वायु प्रदूषणका स्रोत हुन् । फोहरजन्य वस्तुहरूको उचित व्यवस्थापन नहुनु, कृषि प्रयोजन साथै खुला ठाउँमा फोहरमैला जलाउँदा निस्कने धुँवा आदि मानव सृजित वायु प्रदूषणका स्रोतहरू हुन् ।

जति वायु प्रदूषण उति मुटुरोगको जोखिम

साथै, प्राकृतिकरूपमा हुने धुलोका कणहरू बोकेको हुरीबतास, ज्वालामुखी विस्फोटन र वनजङ्गलमा हुने आगलागी पनि वायु प्रदूषणका स्रोत हुन् । आज विश्वमा वायु प्रदूषणको असर बढ्दो छ ।


विश्वस्वास्थ्य संगठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष करिब ७० लाखभन्दा बढी मानिसको मृत्यु वायु प्रदूषणको कारणले हुने गर्छ । तीमध्ये दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रमा मात्रै आधिभन्दा बढी अर्थात् ४० लाखभन्दा बढीको मृत्यु हुने गर्छ । समग्रमा, वायु प्रदूषणका कारण हुने मानव मृत्युदर सम्पूर्ण मानव मृत्यु दरको १२ प्रतिशतभन्दा बढी छ ।


वायु प्रदूषणबाट हुने मृत्युमध्ये लगभग ६० प्रतिशत भने मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारणले हुन्छ । मुटु तथा रक्तनलीसम्बन्धी रोग आफैंमा सबैभन्दा बढी मानव मृत्युको कारण बनेको छ । यसबाट मात्र प्रति वर्ष सम्पूर्ण मानव मृत्युको झन्डै एक तिहाई अर्थात् लगभग ३२ प्रतिशत मानिसको मृत्यु हुने गर्छ ।


प्रति वर्ष संसारभर लाखौं मानिसको मृत्यु वायु प्रदूषणको कारण हुने मुटु रोगले हुने गर्छ । करिब ८० प्रतिशत वायु प्रदूषणबाट हुने मुटु तथा रक्तनलीसम्बन्धी रोगमा कोरोनरी मुटुरोग र पक्षघात हुने गर्छ । केही घण्टा वा दिनको छोटो समयको वायु प्रदूषणको असरले पनि मुटुमा नकारात्मक प्रभाव पार्न सक्छ । दीर्घकालीन वायु प्रदूषणको कारण रक्तचापमा वृद्धि हुनसक्छ र उच्च रक्तचापको जोखिम बढ्छ । वायु प्रदूषणको कारण मुटु प्रत्यारोपण गरेका बिरामीहरूमा मृत्यु दर बढ्ने कुरा अध्ययनहरूले पुष्टी गरका छन् ।


विशेष गरेर वायुमा हुने आँखाले देख्‍न नसकिने सुक्ष्म कण जसलाई ‘पार्टिक्युलेट म्याटर’ (पीएम २.५) भनिन्छ । त्यसको आकार अर्थात् एरोडाइनामिक डायमिटर २.५ माइक्रोमिटरभन्दा कम हुन्छ, जुन मुटु तथा रक्तनली सम्बन्धी रोगका लागि हानिकारक हुन्छ । सवारीसाधनबाट हुने प्रदूषण, उद्योग, कलकारखानाबाट हुने प्रदूषण, खुलारूपमा फोहरमैला जलाउने प्रक्रिया, जंगलमा हुने आगलागी साथै पावर प्लान्टहरूबाट हुने उत्सर्जन आदि पीएम २.५ का मुख्य स्रोत हुन् ।


घरायसी प्रयोजनमा प्रयोग गरिने मट्टीतेल, दाउरा वा कोइला र धुमपान आदि पनि पीएम २.५ का स्रोत हुन् । हावाको बहन स्थिर वा कम हुादा, हावासँगै बहेर जान नपाउने भएकोले कुनै निश्चित ठाउँको वायुमा पीएम २.५ को मात्रा बढ्न सक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक सरदर १० माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम र २४ घण्टाको सरदर २५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम हुनुपर्छ । सन् २०१२ मा नेपाल सरकारले तोकेको मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी हुनु हुँदैन । एक अध्ययनअनुसार काठमाडौंको वायुमा पीएम २.५ को मात्रा निर्धारित मापदण्डको दुई गुणाभन्दा बढी अर्थात् ८० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी छ ।


स्वासप्रश्वासबाट ‘पार्टिक्युलेट म्याटर’ सिधै फोक्सोमा पुग्छ र यो फोक्सोमा प्रवेश गरेपछि त्यहाँ हुने सुजन (इनफ्लामेसन) को कारण अक्सिडेटिभ स्ट्रेसमा वृद्धि हुन्छ । यसरी वायु प्रदूषणको कारण उत्पन्न सुजन र अक्सिडेटिभ स्ट्रेसको कारण स्वस्थ मुटु तथा रक्तनालीहरूमा नकारात्मक असर पर्छ । रक्तनालीहरूमा रगत जम्ने प्रक्रिया सक्रिय हुन थाल्छ जसको कारण रक्तनाली बन्द हुन सक्छ । फलस्वरूप मुटुको रक्तनली बन्द भइ हृदयघातको जोखिम बढ्न सक्छ । मस्तिष्कको रक्तनली बन्द भयो भने मस्तिष्कघात हुन सक्छ ।


वायु प्रदूषणको कारण रक्तनलीहरू खुम्चिने र फैलिने प्रक्रियामा पनि असर पर्ने हुनाले रक्तचापमा पनि वृद्धि हुन सक्छ र उच्च रक्तचापको जोखिम बढ्छ । वायु प्रदूषणकै कारण मुटुको चाल पनि अनियमित हुन सक्छ ।


मुटु तथा रक्तनलीलाई स्वस्थ राख्‍न वायु प्रदूषणबाट जोगिन अति आवश्यक छ । आवासीय घर, कोठा वा कार्यालयको प्रदूषण र बाहृय वातावरणीय वायु प्रदूषण दुवै स्वास्थ्यको लागि हानिकारक हुन्छ ।


धुम्रपान नगर्ने, कोठामा उपयुक्त भेन्टिलेसनको व्यवस्था गर्ने, दाउरा, मट्टीतेल र मैनबत्तीको प्रयोग नगर्ने, सरसफाईमा ध्यान दिने र कोठाभित्र सरसामानहरू ठिकठिक ठाउामा राख्ने गर्नाले घर, कोठा र कार्यालयभित्र हुने वायु प्रदूषण कम गर्न सकिन्छ । जुत्ता, चप्पलहरू कोठा बाहिर राख्ने, सक्दोरूपमा धुलो जम्ने कार्पेटको प्रयोग नगर्ने, अत्तर र एअर फ्रेस्नरहरू कम प्रयोग गर्ने, घर सफा गर्ने रासायनिक प्रयोग गर्दा ध्यान दिने, कोठाहरूभित्र ढुसी वृद्धि हुन नदिन सुक्खा राख्ने र विकीरण पैदा गर्ने उपकरणहरू सकभर प्रयोग नगर्नु वेश हुन्छ ।


नियमित व्यायाम वा हि‍ंडडुल गर्दा बढी वातावरणीय प्रदूषण हुने ठाउँहरू, जस्तैः बढी सवारी साधनहरू गुड्ने, उद्योग, कलकारखानाको नजिक नजानु बुद्धिमानी हुन्छ । सम्भव भए पैदल हिंड्ने र साइकलको प्रयोग वा सार्वजनिक सवारी साधनको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । फेस मास्कको प्रयोगले पनि केही हदसम्म वायु प्रदूषणबाट बच्‍न मद्दत गर्छ । स्वस्थ्य र सन्तुलित खानपिनले शरीरमा प्रतिरोधात्मक शक्ति बढ्छ र वायु प्रदूषणबाट स्वास्थ्यमा हुने हानिकारक असरबाट बच्न सहयोग गर्छ ।

प्रकाशित : चैत्र ३, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?