कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालमा नपाइएको बामपुड्के बँदेल 

कमल मादेन

इन्द्रराज उपाध्यायको विज्ञान पुस्तक ‘कन्सेप्चुयल साइन्स एन्ड इन्भारोमेन्ट’ ललितपुरको एक माध्यमिक विद्यालयमा पढाइ हुन्छ । पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत यस पुस्तकमा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रभित्र ‘पिग्मी हग’ पाइन्छ भन्ने उल्लेख छ । तर, उपाध्यायले उल्लेख गरेझैं कोशी टप्पु वन्यजन्तु आरक्षणमा ‘पिग्मी हग’ पाइँदैन ।

नेपालमा नपाइएको बामपुड्के बँदेल 

विश्व प्रकृति संरक्षण संघको आधिकारिक दस्तावेज अनुसार यो वन्यजन्तु भारतमा मात्र पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले ‘पिग्मी हग’ नेपालको संरक्षित वन्यजन्तु भनेको छ, तर कसरी ? यो ऐनका कारण वन कर्मचारी र वन्यजन्तु संरक्षणकर्मीहरू दुविधामा थिए । झन् पुस्तकले अन्योल बनाएको छ । यहाँ ‘पिग्मी हग’बारे संक्षिप्त चर्चा गरिएको छ ।


हड्सनको अनुसन्धान

‘पिग्मी हग’ संसारकै सबैभन्दा सानो सुंगुरको प्रजाति हो । ब्रायन हड्सनले नयाँ वन्यजन्तु पत्ता लगाएका हुन् । यो वन्यजन्तुबारे सन् १८४७ मा ‘जर्नल अफ एसियाटिक सोसाइटी अफ बंगाल’ भोलम १६ मा हड्सनले लेखेका छन् । यो प्रजाति साल अर्थात सखुवाको रुख प्रशस्त मात्रामा पाइने जंगलमा बस्छ, यसलाई ‘पिग्मी हग अफ द साल फरेष्ट’ भनिन्छ भनेर हड्सनले लेखेका छन् । हड्सनले यो वन्यजन्तुको सग्लो नमुना सिक्किमको तराईमा फेला पारेका थिए । पूर्वी नेपालमा पिग्मी हग’लाई सानो बँदेल र सिक्किममा छोटा सुवर भनिन्छ । यसको आकार जंगलको खरायोसँग मिल्दो हुन्छ । उचाइ लगभग ८ देखि १० इन्च अग्लो र तौल लगभग ७ देखि १० पाउन्डसम्मको हुन्छ भनेर हड्सनले उल्लेख गरेका छन् । यसको झुन्ड ५ देखि २० वटासम्मको रहन्छ । यो जंगलमा हत्तपत्त देखिँदैन ।


‘साइन्स डाइरेक्ट’ जर्नलमा ‘पिग्मी हग’ सम्बन्धी सन् २००७ मा विश्लेषणात्मक लेख प्रकाशित छ । लेख अनुसार यो वन्यजन्तु सुंगरको सस् जातिसँग मिल्दैन भन्दै यसको वैज्ञानिक नाम ‘पोर्कुला साल्भानिया’ भनिएको छ । यो वैज्ञानिक नाम हड्सनले जुराएका थिए । सन् २००७ यता ‘पिग्मी हग’को वैज्ञानिक नाम पुस्तक, लेख तथा विद्युतीय सञ्जालमा ‘पोर्कुला साल्भानिया’ नै लेखिँदै आएको छ । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजका दिनसम्म पनि विभागको विद्युतीय सञ्जाल र संशोधित ऐनमा ‘पिग्मी हग’को वैज्ञानिक नाम ‘सस् साल्भानियस’ लेखिएको छ । विभागका प्रतिनिधि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वन्यजन्तु सम्बन्धी सेमिनारमा सरिक हुन्छन् र नयाँ तथ्य र तथ्यांक थाहा पाउँछन् । तर, उनीहरूले विभागकै प्रकाशन के कस्तो भइरहेछ भन्नेबारे चासो दिएको पाइएन ।


सन् १९९३ मा प्रकाशित ‘स्टेट्स सर्भे एन्ड कन्जरभेसन एक्सन प्लान : पिग्स, पेक्कारिज एन्ड हिप्पोज’ शीर्षकको पुस्तक अनुसार भारतमा सन् १९५० र ६० को दशकमा ‘पिग्मी हग’ लोप भएको आशंका गरिएको थियो । यद्यपि कसै–कसैले आसाममा देखेको बताउँथे । प्रमाण कतै फेला परेको थिएन । अन्ततः आसामको कचर जिल्ला अन्तर्गत सुर्मा उपत्यकामा सन् १९६८ मा एउटा पिग्मी हग मृत फेला पर्‍यो । त्यसपछि आसाममा ‘पिग्मी हग’को खोज अनुसन्धान व्यापक भयो । सन् १९७१ मा आसाममा केही ‘पिग्मी हग’ फेला परे । आसाम राज्यले ‘पिग्मी हग’ संरक्षण अभियान अघि बढायो । उक्त अभियान अन्तर्गत सन् १९९५ मा ६ वटा ‘पिग्मी हग’लाई नियन्त्रणमा लिई प्रजनन गराउन थालियो । अहिले भारतमा २५० देखि ३०० वटा ‘पिग्मी हग’ रहेको अनुमान गरिएको छ । भारतले विश्वमै लोप हुनलागेको वन्यजन्तु संरक्षण गर्न ध्यान दियो ।


यो वन्यजन्तुको आकार, रूप र रंग ठ्याक्कै बँदेलजस्तो देखिन्छ । लामो घाँस भएको मौदानमा ‘पिग्मी हग’ बस्न रुचाउँछ । ‘द ओरिजिन अफ हिमालयन स्टडिज : ब्रायन हड्सन इन नेपाल एन्ड दार्जिलिङ १८२०—१८५८’ पुस्तकमा हड्सनले सिक्किमबाट संकलन गरेको ‘पिग्मी हग’को तस्बिर छ ।


नेपालमा फेला परेन

सुनसरीको चारकोसे झाडी नजिकका बुढापाकाले सालको जंगलमा २०२०–२५ सालसम्म अति साना ‘बामपुड्के बँदेल’ पाइन्थ्यो भन्ने बताउँछन् । सन् १९६४, १९७८—७९ र १९८४ मा पिग्मी हग नेपालमा पनि पाइन्छ कि भनेर ‘होर्मेल इन्स्टिच्युट र युनिभर्सिटी अफ इष्ट एन्जिलिया’ को टोलीले व्यापक रूपमा सर्भे गरेको थियो । तर, तीनै पटकको सर्भेमा नेपालमा ‘पिग्मी हग’ फेला पर्न सकेन । यसको अस्तित्व रहेको कुनै संकेत पनि फेला परेन ।


भारतमा वन्यजन्तु संरक्षण सम्बन्धी ऐन सन् १९७३ मा जारी भयो । त्यसबेला भारतमा पिग्मी हग ‘रि—डिस्कोभर’ भइसकेको थियो । त्यसैले भारतमा पिग्मी हग एक संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत भयो । नेपालमा पनि यही साल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन जारी भयो । ऐनको अनुसूची १ मा ‘पिग्मी हग’सहित जम्मा २७ प्रजाति स्तनधारी वन्यजन्तुलाई नेपालको संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत गरिएको छ । भारतमा ‘पिग्मी हग’ संरक्षित वन्यजन्तु थियो । त्यसैले नेपालमा पनि ‘पिग्मी हग’लाई संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत गरियो ।


भारतको सिको गरेर ‘पिग्मी हग’लाई संरक्षित वन्यजन्तुका त बनाइयो, तर यसबारे सरकारले अहिलेसम्म न सर्भे नै गरेको छ, न त यसलाई वन्यजन्तु संरक्षण ऐनबाट हटाएको छ । ऐन पटक–पटक परिमार्जन भइसकेको छ । तर, ‘पिग्मी हग’ नेपालको संरक्षित वन्यजन्तु भनेर कायम नै राखिएको छ । विभागले हिजोका दिनमा ‘पिग्मी हग’ बारेको तथ्यांक सच्याउनुपर्छ ।

प्रकाशित : चैत्र १, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?