३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्छ

प्रज्ञा पनेरु

मेरी आमा सानामा पढाइमा निकै तेज हुनुहुन्थ्यो रे । उहाँलाई विद्यालय जान निकै मन पर्थ्यो रे । गाउँमा कक्षा ८ सम्म मात्र पढाइ हुन्थ्यो रे । यसभन्दा माथि पढ्न निकै टाढा जानुपर्थ्यो । मेरी हजुरआमा आमा सानै छँदा बित्नुभएकाले हजुरबुबालाई छोरी टाढा पढाउन असजिलो लाग्यो । बाटोघाटोमा केही होला भन्ने डरले छोरीलाई घरमै राख्नुभयो रे ।

आमाले जति रोइकराइ गरे पनि मान्नुभएन रे । अनि १७ वर्षको उमेरमा उहाँको बिहे भयो । बिहेपछि पनि पढ्ने मन गर्नुभयो, तर बुबाले ‘मैले पढेको छँदै छ, तैँले किन पढ्नुपर्‍यो’ भन्नुभएछ । यसरी बुबाले पनि वास्ता नगरेपछि आमाले ढिपी छोड्नुभयो । मलाई याद छ, आमाले धेरै नपढे पनि म र भाइहरूलाई सानोमा होमवर्क गर्न सहयोग गर्नुहुन्थ्यो । हाम्रा नेपाली, अंग्रेजी किताब हामीसँगै पढ्नुहुन्थ्यो ।


बुबा जागिरका सिलसिलामा बाहिर हुँदा हाम्रो विद्यालय, बिजुली र टेलिफोनका शुल्कदेखि जग्गा किन्ने र घर बनाउन सहयोग गर्नेसम्मको काम आफैँ गर्नुहुन्थ्यो । पढ्नुपर्छ भन्ने कुरामा सधैं चनाखो हुनुहुन्थ्यो । त्यसैले आफ्ना छोराछोरीलाई कहिल्यै घरको काम लाउनुभएन । अरूका छोरीले भान्सामा सघाउँथे, तर मैले कहिल्यै भान्छामा जानुपरेन । छोरीको हातमा किताब देख्दा आमा सधैं खुसी हुनुभयो । अहिले सम्झिँदा हाम्रा आमाहरूले पढ्न पाएका भए कहाँ पुग्नुहुन्थ्यो होला ? पढाइजस्तै आमाका अरू थुप्रै रहर त्यसै हराए । खोइ, कसले लेखाजोखा गर्दिने ?


मेरो नजिककै नाता पर्ने दिदी हुनुहुन्छ । उहाँ भिनाजुझैं सरकारी जागिरे पनि हुनुहुन्छ । जीवन सहज रूपमा चल्दै गर्दा दिदी दुर्घटनामा पर्नुभयो । र, दिदीको गोडा काट्नुपर्‍यो । त्यसपछि भिनाजु अर्को विवाह गर्न तम्सनुभयो । दिदीले जति सम्झाए पनि भिनाजुले ढिपी छोड्नुभएन । र, आफ्नै बहिनीसँग भिनाजुको विवाह गर्दिनुभयो । दिदी अझै जागिरे नै हुनुहुन्छ, गोडा नक्कली राख्नुभएको छ । दैनिक जीवन सहजै चलाइरहनुभएको छ । पढेको र आत्मनिर्भर महिलाको भोगाइ त यस्तो छ, झन् आर्थिक रूपमा परनिर्भर आम माहिलाको स्थिति कस्तो होला ?


यस्तै नमीठो अनुभव मेरो चिनजानकी अर्की दिदीको पनि छ । उहाँका श्रीमान् अर्की केटीसँग नजिक रहेछन् । यसको प्रभाव छोराछोरीमा पर्‍यो । जेठी छोरीले त पढाइ नै छोड्नुपर्‍यो । दिदी समाजले के भन्ला भन्ने लाजले बोल्न सक्नुभएन । उहाँले एक्लै रोएर दिनहरू काट्नुभयो । अहिले भिनाजुको सम्बन्ध त्यो केटीसँग छैन । भिनाजुले बिहे गर्न होइन, रमाइलो मात्र गर्ने सोचेर केटी राखेको भन्नुभयो रे । दिदीलाई कहिल्यै छोड्दिनँ भनेर माफी पनि माग्नुभएछ । दिदीले माफी दिनुभयो । म सोच्छु, भिनाजुको ठाउँमा दिदीले त्यस्तो रमाइलो गर्नुभएको भए के भिनाजुले माफी दिनुहुन्थ्यो ? दिदीले एक कार्यक्रममा उहाँका दाइ पर्नेसँंग फोटो खिचाउँदा भिनाजुले ‘त्यस्तो टाँसिएर किन फोटो खिचेको’ भनेर सोध्नुभएको थियो रे ।


एक जना बहिनीकी छोरी छ । उनलाई छोरा चाहिएको छ, छोरा भैदिए हुन्थ्यो भन्ने छ । दुईचोटि गर्भ रहे पनि छोरी भएको थाहा पाएर उनले गर्भपात गराइन् । झट्ट सुन्दा किन छोरी मान्छे भएर पनि उनले त्यस्तो गरिन् भन्ने प्रश्न उठ्यो । रिस पनि उठ्यो । तर शान्त हुँदै सोचेँ, महिला उत्पीडन यति धेरै भएको समाजमा उनलाई पनि ‘छोरा छैन’ भनी सोध्ने आफन्तको सामना गर्न गाह्रो हुँदो हो । र त उनले आफ्नो स्वास्थ्यको ख्याल नराखी गर्भपात गराइन् । अझ आफ्ना नजन्मिएका छोरीहरूलाई गर्भमै हत्या गरिन् । यसो गर्दा आमाको मन कति रुँदो हो ? आखिर किन आमाहरू बिनाछोरा समाजमा शिर ठड्याएर बाँच्न सक्दैनन् ? कति छोरीले आफू जन्मिन पाएकामै धन्य हुनुपरेको छ । बाँच्न सकेकामा छोरीहरूले भाग्यलाई धन्यवाद दिइरहनुपर्ने हो ?


यी कुनै कथा होइनन्, यथार्थ हुन् । शिक्षाको विस्तारसंँगै महिलाको जीवनमा प्रगति देखिए पनि पारिवारिक, सामाजिक र राजनीतिक रूपमा ती अझै पिछडिएका छन् । के काठमाडौं उपत्यकाका सवारी साधन र सडक अनि के गाउँघरका उखु बारी, यहाँ महिला उत्पीडन पाइला पाइलामा छ । वर्षेनि रीतिरिवाजका नाममा छाउगोठमा दिदीबहिनीहरूले ज्यान गुमाउँछन्, तराईमा दाइजोको निहुँमा आगोमा पोलिन्छन् र प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा एसिड खन्याइन्छन् । हाम्रो समाजले नारी सार्वभौमको सम्मान गरेको छैन । यहाँ महिलाहरूको व्यक्तिगत स्पेस छैन । महिलाहरू पुरुषको व्यक्तिगत सम्पत्ति बनेका छन् । महिला मानौं सामाजिक–पारिवारिक इज्जत बोक्ने ह्यांगर हुन् ।


छोरीमान्छेलाई सानैदेखि हरेक निर्णयमा हस्तक्षेप गर्ने चलन छ । के लगाउने, कुन स्कुल पढ्ने, कुन विषय पढ्ने, कति बेला घर आउने, कहाँ जाने, कहाँ नजाने — निर्णय परिवारले नै गरिदिन्छ । उमेरसँगै कोसँंग बिहे गर्ने, बिहेपछि कसले भनेको मान्ने, कहिले बच्चा जन्माउने, के जन्माउने, के काम गर्ने आदि नितान्त व्यक्तिगत निर्णय पनि अरूले नै गरिदिने कुचलन छ । दिनदिनै समाज विकसित भइरहेको छ भनिन्छ, तर महिलाले आफ्नो निर्णय आफैँले गर्न सकेका छैनन् । यही कारण महिलामा आत्मविश्वासको विकास हुन पाएको छैन ।

प्रकाशित : फाल्गुन २६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?