कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संकटापन्‍न ब्वाँसो

कमल मादेन

राजन अमिन, हेमसागर बराल र अन्यको नेपालको स्तनधारी वन्यजन्तुको अवस्थाबारे लेख ‘जर्नल अफ थ्रेटेन्ड ट्याक्सा’ भोलुम–१० अंक ३ (सन् २०१८) संस्करणमा छापिएको छ । त्यस अनुसार नेपालमा पाइएका २ सय १२ स्तनधारी वन्यजन्तु प्रजातिमध्ये ४९ प्रजातिको अवस्था खतरामा छ ।

संकटापन्‍न ब्वाँसो

तिनीहरू अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को वर्गीकरण अनुसार लोपोन्मुख, संकटापन्न र अति संकटापन्न अवस्थामा क्रमशः १४, २६ र ९ प्रजाति छन् । आईयुसीएनको वर्गीकरणमा अति संकटापन्नपछि लोप हुने खुड्किलो आउँछ । यस अनुसार नेपालमा रहेका अति संकटापन्न ९ प्रजाति लोप हुने खतारमा छन् । ‘पिग्मी हग’ अर्थात् बामपुड्के बँदेल नेपालमा केही दशक अघिबाट लोप भयो ।


आईयुसीएनले सन् २०१६ मा प्रकाशित गरेको जानकारी अनुसार थाइलासिन (अर्थात तास्मानियन टाइगर) विश्वमबाट लोप भएको छ । उक्त जनावर अष्ट्रेलियाको दक्षिण तास्मानिया टापुको जंगलमा मात्र पाइन्थ्यो ।


‘कन्जरभेसन साइन्स एन्ड प्राक्टिस’ जर्नलमा नरेश कुसी, क्लाउडियो सिल्लेरो–जुबिरी र अन्यद्वारा लेखिएको उच्च हिमाली भेगमा भइरहेको संकटापन्न वन्यजन्तु तथा मानव द्वन्द्वबारे लेख डिसेम्बर २०१९ संस्करणमा छापिएको छ । ‘पर्सपेक्टिभ अफ ट्राडिसनल हिमालयन कम्युनिटिज अन फोस्टरिङ को–इक्जिस्टेन्स विथ हिमालयन वल्फ एन्ड स्नो लियोपार्ड’मा हिमालयन वल्फ र हिउँ चितुवाप्रति स्थानीयको बुझाइ अवगत गराइएको छ । अघिल्लो वन्यजन्तु अति संकटापन्न र दोस्रो संकटापन्न सूचीमा सूचीकृत छ । यी २ जनावरले कहिलेकाहीं घरपालुवा चौपायालाई आहारा बनाउँछन् । स्थानीयले २ मध्ये हिमालयन वल्फलाई चाहिँ भेटेसम्म मार्ने गर्दारहेछन् । हिमालयन वल्फ वन्यजन्तु अध्ययन, अनुसन्धान तथा संरक्षण क्षेत्रमा उपेक्षामा छ । यस लेखमा यसैबारे चर्चा गरिंदैछ ।


ब्वाँसो

प्राणी विज्ञानमा २ ‘ल्याटिनाइज्ड’ शब्दले प्रजाति र यस्ता ३ शब्दले उप–प्रजाति जनाउँछ । कार्ल लिन्नियसले सन् १७५८ मा कुकुरजस्तो तर खैरो रंगको ‘ग्रे वल्फ’लाई क्यानिज लुपस नामकरण गरे । ‘ग्रे वल्फ’ सम्बन्धी अनुसन्धानात्मक लेखहरूमा पृथ्वीको उत्तरी गोलार्द्धका कतिपय देशमा क्यानिज लुपस पाइने उल्लेख छ । तर नाम लेखिँदा प्रजाति नभई उप–प्रजाति लेखिएको हुन्छ । जस्तो— क्यानिज लुपस पालिप्स, क्यानिज लुपस चान्को । आईयुसीएनले २०१८ मा प्रकाशित गरेको जानकारी अनुसार उत्तर अमेरिका, युरोप र एसियामा क्यानिज लुपसका क्रमशः ५, २ र ३ वटा उप–प्रजाति पाइन्छन् ।


शान्तराज ज्ञवाली, हेमसागर बराल र अन्यद्वारा लिखित ‘द स्टेटस अफ नेपाल्स म्यामल्स ः द नेसनल रेड लिष्ट सिरिज’ (२०११) मा नेपालमा पाइने ‘ग्रे वल्फ’को वैज्ञानिक नाम ‘क्यानिज लुपस लुपस’ लेखिएको छ । पुस्तकमा नेपालमा यसको संख्या ३०–५० वटामात्र छन् भन्ने अनुमान छ । क्यानिज लुपस लुपस ग्रे वल्फ १९८५ मा प्रस्तावित गरेको एक उप–प्रजाति थियो । हिजोआज यसलाई ग्रे वल्फको एक उप–प्रजातिको पर्यायवाची मानिन्छ । मधु क्षत्री, यादवेन्द्रदेव भि. झाला र अन्यद्वारा लिखित ‘एन्सियन्ट हिमालयन वल्फ’मा नेपालमा पाइने ब्वाँसोको वैज्ञानिक नाम क्यानिज लुपस चान्को लेखिएको छ । लेख जुकिज जर्नलको अंक ५ सय ८२ संस्करणमा सन् २०१६ मा छापिएको हो । क्यानिज लुपस चान्कोलाई मंगोलियन वल्फ, चाइनिज वल्फ, तिब्बतीयन वल्फ र कोरियन वल्फ पनि भनिन्छ । यो कोरिया, उत्तर र मध्य चीन, मंगोलिया, भारत (हिमाचलदेखि कस्मीरसम्म) र रसियाको केही भूभागमा पनि पाइन्छ ।


जेराल्डिन वेरहान नेपालको उच्च हिमालय तथा मध्य एसियामा पाइने ग्रे वल्फ अध्ययन, अनुसन्धान गर्दैछिन् । उनको नेपालको उच्च हिमालय क्षेत्रमा पाइने ग्रे वल्फबारे ३/४ वटा अनुसन्धानात्मक लेख प्रकाशित भइसकेको छ । उनले पोल्यान्डमा २८–३० मे, २०१९ सम्पन्न क्यानिड स्पेसियलिष्ट ग्रुपको कार्यशालामा नेपालको उच्च हिमालय क्षेत्रमा पाइने ब्वाँसोको अंग्रेजी तथा वैज्ञानिक नाम क्रमशः हिमालयन वल्फ र क्यानिज लुपस हिमालयेन्सिस प्रस्ताव गरेकी थिइन् । वेरहाननको बुझाइमा हिमालयन वल्फको वंशाणु इन्डियन ग्रे वल्फ र तिब्बतीयन ग्रे वल्फको भन्दा केही फरक छ । भारतको समथर भूभाग लगायत दक्षिण–पश्चिम एसियामा पाइने ब्वाँसोको अंग्रेजी र वैज्ञानिक नाम इन्डियन ग्रे वल्फ र क्यानिज लुपस पालिप्स हो ।


माथि उल्लिखित क्यानिड स्पेसियलिष्ट ग्रुपको कार्यशालामा बेलायत, अष्ट्रेलिया, भारत, अमेरिका, तान्जानिया, फिनल्यान्ड, स्लोभेनिया लगायत आर्ययुसिनका विज्ञहरू उपस्थित थिए । उक्त कार्यशालाले नेपालको ब्वाँसोको अंग्रेजी नाम हिमालयन वल्फ मान्दा फरक नपर्ने जनाउ दियो । तर वैज्ञानिक नाममा भने अहिलेलाई क्यानिज लुपस हिमालयेन्सिसको साटो क्यानिज लुपस चान्को नै मान्नुपर्ने निष्कर्ष निकाल्यो । बेलायतका प्राणीविज्ञ जेई ग्रेले सन् १८६३ मा चीनबाट ल्याइएको जंगली कुकुरको नमुना जुन युरोपियन ग्रे वल्फजस्तै देखिने तर अलि फरक भएकाले त्यसलाई क्यानिज लुपस चान्को नामकरण गरेका थिए । चीनमा त्यसलाई चान्को र तिब्बतमा चान्गु भनिन्छ । क्यानिड स्पेसियलिष्ट ग्रुपले हिमालयन वल्फ एक छुट्टै उप–प्रजाति क्यानिज लुपस हिमालयेन्सिस ठहर गर्न थप केही जानकारी समेटिनुपर्ने धारणा अघि सारेको थियो । यसको अर्थ भोलिका दिनमा आणुवंशिक अध्ययन, अनुसन्धानबाट थप फरक तथ्य प्राप्त भए, नेपालको उच्च हिमाली भेगमा पाइने ग्रे वल्फ विश्वकै निम्ति एक नयाँ उप–प्रजाति सावित हुनसक्छ । त्यसपछि यसलाई वेरहानले प्रस्ताव गरे बमोजिम क्यानिज लुपस हिमालयेन्सिस भन्न मिल्छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसूची–१ मा क्यानिज लुपसलाई संरक्षित वन्यजन्तु मानिएको छ । ब्राइन हड्सनले नेपालमा पाइएको ग्रे वल्फलाई सन् १८४७ मा क्यानिज ल्यानिगर उल्लेख गरेका थिए ।


कुकुरको पूर्वज

पृथ्वी उत्पत्तिदेखि अहिलेसम्मको अवधिलाई जम्मा ५ कल्पमा विभाजन गरिएको छ । त्यसमध्ये पछिल्लो कल्प नवजैविक कल्प हो । यसको पनि पछिल्लो करिब १०/११ हजार वर्षको अवधिलाई होलोसिन भनिन्छ । होलोसिनको सुरुको अवस्थामा पृथ्वीको पछिल्लो हिमयुग समाप्त भयो । त्यसपछि भू–सतहको तापमान बढ्न थाल्यो । मानिस घुमन्ते जीवन त्यागी खेतीपाती र पशुपालनतर्फ उन्मुख हुनथाले । त्यसबेला मानिसले थाहा पाए कि ग्रे वल्फ मानव चहल–पहल हुने ठाउँ नजिक बस्न रुचाउँछ । ती जनावरले मानिसले छाडेका खानेकुरा तथा मानव बिस्टा खाने गर्थ्यो । यसले साना तथा मझौला जनावर मारेर खान्छ ।


मानिसले ग्रे वल्फ चलाख भएका कारण त्यसको चतुराइ उपयोग गर्नसके फलदायी हुने ठानी त्यसलाई पाल्न सुरु गरे । ऊ बेला ग्रे वल्फलाई मूलतः सिकार गर्न सहयोगी र घरको पहरेदारी गर्न पाल्न सुरु गरिएको थियो । त्यसयता घरमा पालिएका ग्रे वल्फका सन्तानको बासस्थान, रहन–सहन आदि जंगलमै बसेको ग्रे वल्फको भन्दा पृथक भयो । कालान्तरमा जंगलको ग्रे वल्फ र घरमा पालिएकाहरू फरक स्वरूपमा प्रकट हुँदै गए । वन्यजन्तु वैज्ञानिकहरूले घरमा पालिएका कुकुरलाई तिनै जंगली ग्रे वल्फका एक उप–प्रजाति मानेर यसको वैज्ञानिक नाम क्यानिज लुपस फेमिलिअरिज दिएका छन् । ग्रेगर लार्सन र डोरिअन क्यु. फुलर लिखित ‘द इभोलुसन अफ एनिमल डोमेस्टिकेसन’ (२०१४) अनुसार मानिसले सबैभन्दा पहिले ग्रे वल्फलाई करिब ११ हजार वर्ष पहिलेबाट चीन तथा पश्चिम युरोपमा पाल्न सुरु गरेका थिए । त्यसपछि बिरालो, सुंगुर, परेवा, कुखुरा पाल्न थालिएको हो ।


अवस्था नाजुक

नरेश कुसी, क्लाउडियो सिल्लेरो–जुबिरी र अन्यद्वारा लिखित ‘पर्सपेक्टिभ अफ ट्राडिसनल हिमालयन कम्युनिटिज अन फोस्टरिङ को–इक्जिस्टेन्स विथ हिमालयन वल्फ एन्ड स्नो लियोपार्ड’ अनुसार हुम्ला, डोल्पा र ताप्लेजुङमा हिमालयन वल्फ र हिउँ चितुवाबाट याक, जंगली गधा, घोडा, बाख्रा, भेडा, गाई, गोरु मारिँंदो रहेछ । हिउँ चितुवाले हिमालयन वल्फबाट भन्दा बढी घरपालुवा चौपाया आहारा बनाउँदो रहेछ । उल्लिखित लेख पढ्दै जाँदा हुम्ली र डोल्पालीले हिउँ चितुवा मार्नुहुन्न भन्ने जानकारी राखेको तर हिमालयन वल्फ मार्दा खासै फरक नपर्ने बुझाइ रहेको छ । उनीहरूले ४/५ तरिकाबाट हिमालयन वल्फ मार्दा रहेछन् । आक्कल–झुक्कल हिउँ चितुवा पनि मार्दा रहेछन् ।


अहिले हिउँ चितुवा संरक्षणप्रति सचेतना फैलाउने काममा राज्य र गैरसरकारी संस्था दुवैबाट उल्लेख्य काम भइरहेको छ । तर हिमालयन वल्फप्रति बेवास्ता छ । हिमालयन वल्फबारे अध्ययन, अनुसन्धान नै कम भएको छ । नेपालमा हिमालयन वल्फबारे २०१६ बाट मात्र अध्ययन, अनुसन्धानात्मक लेखहरू प्रकाशन हुनथालेको छ । वाइल्ड लाइफ फोटोग्राफर टासी घले अहिलेसम्म हिमालयन वल्फको ४/५ वटाको १ झुन्ड मुस्ताङमा १ पटकमात्र देखेको बताउँछन् । मधु क्षत्री र अन्यद्वारा लिखित ‘एन्सियन्ट हिमालय वल्फ’ (२०१६) लेखिए अनुसार उपल्लो मुस्ताङमा करिब ५ हजार मिटर उचाइमा हिमालयन वल्फ मे २०१४ मा केही पटक देखिएको थियो ।


पंक्तिकार २००९ अगष्टमा रुकुम र डोल्पा सीमा जोडिएको सुनदह नजिक (समुद्री सतहबाट ४५ सय मिटर भू–सतह उचाइमा) २ रात भेडीगोठमा बास बसेको थियो । भेडी गोठमा डरलाग्दा कुकुर पालिएका थिए । गोठाला भन्थे, ‘यत्रो कुकुर नपाले ब्वाँसोले भेडा सखाप पार्छ ।’ ब्वाँसो वर्षमा एकाध पटक आहार खोज्दै त्यता पुग्दोरहेछ । एकाध भेडी गोठालाले मरेको जनावरको सिनुमा विष लगाएर ब्वाँसो मार्ने गरेको किस्सा पनि सुनाए । ब्वाँसोले मानिसलाई दुःख दिए पनि त्यो प्रकृतिको अनुपम सम्पदा हो । अझ नेपालको हिमालयन वल्फ विश्वकै निम्ति एक नयाँ ग्रे वल्फको उप–प्रजाति हुनसक्ने सम्भावना छ । संघीय, प्रदेश र स्थानीय सरकारले राष्ट्रिय स्तरमै हिमालयन वल्फ जोगाउने एकीकृत कार्यक्रम तर्जुमा गर्नुपर्छ । यसप्रति यथोचित रूपमा संरक्षणमा ध्यान नपुर्‍याउने हो भने यसको हालत पनि निकट भविष्यमै बामपुड्के बँदेलको जस्तो हुनेछ ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?