१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यती जेबी

विमल निभा

वर्तमान सूचना एवं सञ्चारमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीका बिछट्टै कृपापात्र थिए । त्यसकारण उनी प्रधानमन्त्री कमरेड ओलीका पकेट बुक संस्करण नै कहलाउँथे । वास्तवमा कमरेड बाँस्कोटाका सारा हावभाव, बोलीवचन र कामकाजले यसको दह्रो पुष्टि पनि गर्थ्यो । हो, उनी ससानो टाइपका कमरेड ओली नै थिए । यसको अर्थ प्रधानमन्त्री कमरेड ओलीलाई कुनै ठूलो साइजको कमरेड गोकुलप्रसाद भन्न खोजिएको चाहिँ होइन नि !

सम्भवतः प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको कोटको पकेटमा ठ्याक्कै अटाउने भएकोले कमरेड गोकुलप्रसाद बाँस्कोटालाई उनको पकेट बुक संस्करण भनिएको हो । यही साँचो हुनुपर्छ । त्यसउसले गाँठी कुरो प्रधानमन्त्री कमरेड ओलीको अन्तरंग पकेट हो । त्यसभित्रको एकथान जिनिस गोकुलप्रसाद होइन । जे भए पनि मलाईचाहिँ प्रधानमन्त्री कमरेड ओलीको सरकारी पकेटको सन्दर्भमा हठात् ‘यती’को स्मरण हुने गर्छ । मेरो तात्पर्य कुनै हिमालमा बसोबास गर्ने हिममानव यती नभएर एक समयको खासा चर्चित ‘यति पकेट बुक’ हो । त्यसबखत राजधानी, काठमाडौंबाट प्रकाशित ‘यति पब्लिकेसन’का पकेट बुकहरू बडो चाखपूर्वक पढ्ने गरिन्थ्यो । खास गरेर जासुसी उपन्यासहरू ।


जस्तै : इन्टरनेसनल हत्यारा, डेढ फुटको गोली, ब्ल्याकमेलर प्रेमिका, खुनी नेकलेस, कारमा लास, डिटेक्टिभ युवती, अप्रेसन ब्लेंककेट, खतरनाक सुलसुले, ज्यानमारा महारानी, चौंसठ करोडको बंगला, रिवल्भरको कसम, पाइला–पाइलामा हत्या इत्यादि । झन्डै यस्तै–यस्तै टाइटलका सानो चिटिक्क परेको र चित्ताकर्षक कलेवरका पकेट बुकहरू । यसलाई राष्ट्रिय भाषाकरण गरिएर ‘यती जेबी’ पनि भनियो । यस्ता बहुतै लोकप्रिय ‘यती जेबी’का पुस्तकहरू बजारमा ल्याउने व्यक्ति थिए, डाक्टर हेमाङ्ग दीक्षित, ‘यती जेबी’का प्रमुख हर्ताकर्ता डाक्टर दीक्षित आफैं पनि एक कुशल जासुसी उपन्यासकार थिए । सायद ‘यती जेबी’बाट नै प्रकाशित एक जासुसी नोबेल थियो– होटल याङ्कीमा हत्या । यसको रचनाकार मेरा प्रिय मित्र प्रेम कैदी अथवा विजयकुमार चालिसेमध्ये कुनै एक थिए । (अहिले भुलेछु) । जे भए पनि उक्त जासुसी उपन्यासको रोमाञ्च, रहस्य र कौतुहलता गजबको थियो ।


‘यती पब्लिकेसन’बाट पकेट बुक मात्र नभएर ‘यती डाइजेस्ट’ पत्रिका पनि प्रकाशित हुने गर्थ्यो । (अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अंग्रेसी भाषाको पत्रिका ‘रिडर्स डाइजेस्ट’को पारामा) । यती पकेट बुक र यती डाइजेस्ट । यस प्रकार दोहोरो सफलताको भर्‍याङ छिटछिटो चढिरहेको थियो, यती पब्लिकेसन । एक किसिमले त्यो ‘यती’को जमाना थियो । यद्यपि अहिले पनि ‘यती’को जमाना गइसकेको भन्न मिल्दैन । अँ, यसको नवीन परिप्रेक्ष्य भने फेरिएर पुरै राजनीतिक भएको छ । तर किन हो कुन्नि, निष्कर्षचाहिँ अचम्मैसित आर्थिक निस्कने गरेको छ ! कुनै रहस्यमयी जासुसी आख्यानको लोमहर्षक क्लाइमेक्स जस्तो । (अद्भुत !) यही हो, बहुचर्चित व्यावसायिक फर्म ‘यति होल्डिङ्स प्रा.लि. र यसको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान कमरेड ओली सरकासँगको खुफिया लेनदेनको सम्पूर्ण यतीमयता । हँ, कतै यसैको लेटेस्ट सूचकांकको रूपमा ‘सत्तरी करोडको कमिसन काण्ड’ सतहमा आएको त होइन ?


हाल सत्तरी करोडका पकेट बुके कमरेड गोकुलप्रसाद बाँस्कोटाको असामयिक पटाक्षेप भइसकेको भए तापनि रंगमञ्चमा एकसेएक ‘यती डाइजेस्ट’हरू सशरीर मौजुदै छन् । यिनीहरूका जबर्जस्त डाइजेसन पावरको के बखान गर्ने ? अलिकति पाचन प्रणाली मन्द भएर कमरेड महासचिवले जरुर आठाना फिर्ता गर्नुपर्‍यो । तथापि महासचिव विष्णुप्रसाद पौडेलदेखि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसम्मका सकल कमरेड ‘यती डाइजेस्ट’हरूका साविक बमोजिमको यतीपनमा कुनै अन्तर आएको छैन । यति नै । यतीको कुरा यति नै भए पनि केही थपथाप ।


१. डेढ सप्ताह अघिसम्मका सूचना एवं सञ्चारमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीका बालकोटस्थित घरबाट एक्कासी बाहिरिएका छन् ।

२. यहीबीच प्रधानमन्त्री कमरेड ओली आफ्नो तेह्रथुमको जन्मघरमा धुमधामले जन्मदिन मनाएर राजधानी, काठमाडौं फर्किएका छन् ।

३. तेह्रथुमको जन्मघरबाट फर्किएपछि प्रधानमन्त्री कमरेड ओलीले भूतपूर्व सूचना एवं सञ्चारमन्त्री बाँस्कोटालाई निर्दोष घोषित गरेका छन् ।

४. के प्रधानमन्त्री कमरेड ओली आफ्नो धर्मपुत्र सरहका कमरेड गोकुलप्रसादलाई तेह्रथुमको खाली घरमा बसाउने मनस्थितिमा त छैनन् ?


प्रकाशित : फाल्गुन १७, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?