औँला होउन्जेल त च्याप्ने होला नि चुरोट !
काठमाडौँ — एकजना शल्यचिकित्सक साथीले भन्नुभयो, ‘आजको अप्रेसन कस्तो नमज्जाको छ, साह्रै दुःखलाग्दो ।’
मैले भनेँ, ‘किन र ? रोग त नमज्जा नै हुन्छ नि ।’
साथीले भन्नुभयो, ‘हातको औंला काट्नु छ ।’
‘दुर्घटना भएको हो ?’
‘होइन, बर्जर्स डिजिज हो । औंला पुरै सुकेर कालै भइसकेको छ । एम्पुटेट (काट्ने) विना सम्भव छैन ।’
‘अनि हातको औंला किन नि ? खुट्टामा हुने होइन र ?’
‘त्यही त दुःखलाग्दो भनेको । खुट्टा त दुवै काटिइसकेको छ नि ।’
‘हे भगवान !’
‘त्यही त । पहिलो खुट्टाको औंला सुकेर कालो हुँदैखेरि सम्झाएको– चुरोट नखानुस् भनेर,
मानेकै होइन ।’
‘चुरोटले नि हैरानै गर्यो । चुरोटले नै क्यान्सर हुने, चुरोटले नै दम हुने, मुटुको रोग, अरु के–के हो के–के ? हामी फिजिसियनकहाँ मात्र चुरोट सम्बन्धी धेरै समस्या आउँछ भनेको त तपाइँहरूकहाँ पनि त्यत्तिकै आउँदो रहेछ ।’
‘क्यान्सरको समस्या त धेरै आउँछ । तर यो बर्जर्स डिजिज पनि आइरहेछ ।’
बर्जर्स डिजिज भनेको खुट्टा, हातका मझौला र साना रक्तनलीहरू साँघुरिएर रक्तसञ्चार कम हुँदै जाने रोग हो । रक्तसञ्चार न्यून हुँदै जाँदा खुट्टा झम्झमाउने, औंलाहरू दुख्ने, चिसो हुने, छोएको थाहा हुन छाड्छ । रक्तनली ज्यादै साँघुरिएपछि रक्तसञ्चार बन्दै हुन्छ र सो रक्तनलीबाट रक्त प्रवाह हुने भाग मर्छ । तसर्थ मरेको भाग शरीरबाट छुट्याउनैपर्ने हुन्छ ।
यो रोगको प्रमुख कारण भनेकै चुरोट सेवन हो । जति पनि यस्तो रोगले सताएकाहरू आउँछन्, चुरोट सेवन गरेकै हुन्छन् । चुरोट सेवन र यो रोगको सम्बन्ध धेरै तथ्यले प्रमाणित गरिसकेको छ । र यो रोग अधिकांश पुरुषलाई हुन्छ ।
‘अनि खुट्टै काट्नुपर्दा पनि कसरी चुरोट छोड्न नसक्या त ?’
‘त्यही त । राम्ररी सम्झाएँ, विस्तारमा बुझाएँ, अर्को खुट्टामा पनि असर पर्ला भनी तर्साएँ, फेरि अप्रेसन गर्नुपर्ला भनी धम्क्याएँ । तर अहँ भएन ।
चुरोट छाडेन ।’
‘छाडेन है ?’
‘एउटा खुट्टा काटेको केही वर्षमा अर्को खुट्टाको समस्या लिएर आइपुग्यो । चुरोट खाँदै नखानु, यो औषधि लिंँदै गर्नु भनेर केही समय हेरियो ।’
‘अनि ?’
‘धेरै गाह्रो भयो डा.सा’ब, भन्दै आइपुग्यो । चुरोटको बारेमा सोध्यो– चुप लागेर बस्छ । परिवारका सदस्यले त्यहीं कराए– ‘कहाँ छोड्नु,
लुकीलुकी खाइरहेछ ।’
‘अनि सम्झाउनु भएन त फेरि ?’
‘भन्न त कति भन्नु । माने पो । दोस्रो खुट्टा नि काट्नैपर्यो । मरिसकेको भाग, काटेन भने माथिल्लो भागमा पनि इन्फेक्सन हुने डर ।’
‘हो नि, त्यो त एम्पुटेट त गर्नैपर्यो ।’
‘अब त चुरोट छोड्ला, समस्या नपर्ला भनेको, अस्ति फेरि हातको औंलामा समस्या लिएर आइपुग्यो । त्यो पनि त्यस्तै अवस्थामा ।’
‘हैट ! यो बानी भनेको पनि अत्ति नै के ।’
‘अनि तर्साउनु भएन ? यो अर्को अप्रेसन– के रे ? सिम्पाथेटेक्टोमी गर्नुपर्ने हुनसक्छ । त्यो अप्रेसन गर्दा यौन उत्तेजना नै नहुन सक्छ । यौन सम्पर्क नै गर्न नमिल्न सक्ने हुनसक्छ भनेर ।’
‘हे,’ त्यो पनि भनिसकेँं । चुरोटको लतमा, केही दिमागमा छिरेको जस्तो देखिंँदैन ।’
‘अब अहिलेको अप्रेसनपछि नि ?’
‘खोइ थाहा छैन । अर्को हातको चोरऔंला र माझीऔंला दुइटा होउन्जेल चुरोट च्याप्ने
होला नि ।’
‘त्यसो नभन्नुस् । जसरी भए नि छोडाउनुस् ।’
‘हुन्छ कोसिस गर्छु । ल, म गएँ । अप्रेसनको तयारी भइसक्यो होला ।’
‘गुड लक ।’
सोच्दै बसेँं, ‘सर्जनलाई मात्र कहाँ सजिलो छ र ?’
आफ्नो बानी त कमसेकम सुधार्नुपर्यो नि रोगबाट बच्न ।
यहाँहरूले नि बुझ्नुभयो होला नि ?
चुरोट नखानेलाई बधाई । छोड्नेलाई धेरै बधाई । अरुलाई खान नदिनेलाई झन् धेरै बधाई ।
युवा उमेरकालाई सुरुवात नै गर्न रोक्ने जमातप्रति हृदयदेखि नै आभार ।
चिया पसल, रेस्टुरेन्ट, पसल जहाँकहीं पनि ‘नो स्मोकिङ’ क्षेत्र घोषणा गर्न हार्दिक अनुरोध ।