कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सामाजिक सञ्‍जाल र शङ्‍का 

कृष्णबाबु श्रेष्ठ

सभ्यताको विकासक्रमसँगै मानव समाजले आफ्ना पुराना र गलत मान्यतालाई भत्काउँदै नयाँ मान्यता स्थापित गर्दै अघि बढ्न सिकेको छ । समाज अहिले जहाँ, जसरी, जुन अवस्थामा छ, सभ्यताको उच्चतम उपलब्धिका साथ छ । वास्तवमा मानिसलाई प्राप्त यस्ता उपलब्धिहरूका मुख्य आधार उनीहरूको शंका र आलोचना गर्ने द्वन्द्वात्मक गुण हुन् ।

सामाजिक सञ्‍जाल र शङ्‍का 

समाज विकासको लागि आलोचनात्मक दृष्टिकोण आवश्यक र अपरिहार्य हुन्छ । मानिसको सामाजिकता (भेला हुने, गफ गर्ने, कुरा काट्ने संस्कृति) यस्ता दृष्टिकोण अभिव्यक्त हुने मुख्य अवसर हो । गफिनु, कुरा काट्नुलाई अंग्रेजीमा ‘गस्सिपिङ’ भनिन्छ र सामाजिकतासँग अलग गरेर हेर्न नमिल्ने कुरा काट्ने प्रवृत्तिलाई समाजले नकारात्मक रूपमा बुझ्दै र स्वीकार्दै आएको छ । तर धेरै अनुसन्धानपश्चात वैज्ञानिकहरूले तथ्य र कारणसहित मान्छेको यस्तो चरित्रलाई सकारात्मक रूपमा अङ्गीकार गर्नुपर्ने सुझाएका छन् ।


रबिन दन्बार अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्रका प्राध्यापक हुन् । सन् २००४ मा ‘रिभ्यु अफ जनरल साइकोलोजी’ जर्नलमा प्रकाशित उनको अनुसन्धानले भन्छ— ‘कुरा काट्ने प्रवृत्ति (गस्सिपिङ) ले मान्छेलाई ठूलो दायरामा सूचना फैलाउन सहयोग गर्छ ।’ साउथ फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक जेनिफर बोस्सोनको सन् २००६ मा प्रकाशित अर्को अध्ययनमा ‘अर्काको नकारात्मक बानी र कामको टिप्पणीले सकारात्मक काम गर्नुपर्ने सन्देश फैलाइरहेको हुन्छ’ भन्ने जिकिर गरिएको छ । फुर्सदको समयको ठूलो हिस्सा मान्छेले समाजमा अरुसँग बिताउँछ । जब अरुसँग समय बिताउनुछ, उसलाई अन्तरक्रिया गर्नैपर्छ । यस्तो अन्तरक्रियाका लागि मान्छेले अनेकौं मञ्चहरूको उपयोग गर्दै आएको छ । गाउँका चियापसल लोग्नेमान्छेका अखडाको रूपमा परिचित छ । सहरीकरण बढेसँगै प्रचलित गफ गर्ने थलोको रूपमा परिचित पँधेराहरू हराउँदै गए । महिलाहरू पँधेरामा भेला भई मनमौजी गफ गर्ने पुरानो चलन हो ।


कफी घरहरूले युरोपमा विद्रोहका केन्द्रका रूपमा काम गरेका थिए । सेरा जिलानीद्वारा ‘द इकोनोमिस्ट’मा प्रस्तुत लेखलाई आधार मान्दा ग्रिस (१८२१), सर्बिया (१८३५) र बुल्गेरिया (१८७८) को अट्टोमन साम्राज्य विरुद्धको स्वतन्त्रता आन्दोलनमा कफी घरहरूको ठूलो भूमिका थियो । कफी घर नै यस्ता अखडा थिए, जहाँ पढेलेखेका, जान्ने–सुन्नेहरू भेला हुन्थे, अखबार पढ्थे, चर्चा–परिचर्चा गर्थे भने अन्य सर्वसाधारण तिनका कुरा सुन्न त्यहाँ जान्थे । कफी घरहरूमार्फत विद्रोहका स्वरहरू फैलन थालेपछि सम्राटहरूले त्यहाँ जासुस पठाउने र बन्द गराउनेसम्मको प्रयास गरे ।

यस्ता चिया र कफी गफहरूमा देश र समाजभित्रका अनेकन ताता विषयबारे छलफल हुन्छन् । र तिनले समयक्रममा विचारको स्रोत, विद्रोहको मुस्लो वा आन्दोलनको मूलधार बन्ने ल्याकत राख्छन् । मान्छेका यस्ता भेलामा कतिपय नकारात्मक कुरा हुनु अस्वाभाविक होइन । त्यसैको आधारमा यस्तो भेला र गफको अवसरलाई हाम्रो समाजले नकारात्मक विम्बको रूपमा मात्रै प्रयोग गर्दै आए र त्यो मानसिकता अद्यापि निमिट्यान्न भएको छैन ।


हिजोका चौतारी, पँधेरा, चिया वा कफी घरहरूको जमघटले अहिलेको युगमा डिजिटल ‘सामाजिक सञ्जाल’को रूप ग्रहण गरेको छ । त्यसैले आजको सामाजिक सञ्जाल मान्छेले युगौँदेखि अभ्यास गर्दै आएको विविध मञ्चको फरक रूपमात्र हो । यहाँ टिकाटिप्पणी र नकारात्मक कुरा हुनु अन्यथा होइन । मान्छेमा निहित चरित्र भएका कारण यस्तो कार्यलाई हाउगुजीको रूपमा लिन उपयुक्त हुँदैन । यद्यपि सामाजिक सञ्जालको दायरा हिजोको तुलनामा कैयौं गुणा फराकिलो छ । सञ्जालका थुप्रै आयाम छन्, त्यसमध्ये यसले प्रदान गरेको अभिव्यक्तिको अवसरचाहिँं सबैभन्दा महत्त्वपूर्ण हो । यो लेख सामाजिक सञ्जालको वैचारिक योगदानको पक्षलाई खोतल्ने झिनो प्रयासमात्र हो ।


अभिव्यक्ति विचारको निकास हुने माध्यम हो, जुन मानिसका लागि अपरिहार्य छ । सञ्जालमार्फत मानिसका लागि खुल्ला अभिव्यक्तिको अवसर प्राप्त भइरहेको छ, जुन सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । आज विश्वका करोडौं मानिसले एकसाथ आफ्नो अभिव्यक्ति, मनमा लागेका कुरा बिना अंकुश र बिना सङ्कोच राखिरहेका छन् । जस्तो— कुनै समय, कुनै तप्काबाट कुनै विषयको उठान हुन्छ, त्यसको प्रतिक्रियास्वरुप हरेक सचेत नागरिकको मस्तिष्कमा त्यसबारे सोच, धारणा वा प्रतिक्रिया उत्पन्न हुन्छन् र ती प्रतिक्रिया यहाँ अभिव्यक्त हुन्छन् । ती प्रतिक्रियाले थप प्रतिक्रियाको पनि माग गर्छन् । यस प्रकार सञ्जालमार्फत नै विचारको वा अवधारणाको एउटा प्रस्ट र आवश्यक धार निर्माण हुने अवसर प्राप्त भइरहेको छ । आज विश्वका धुरन्धर बौद्धिकहरूको ताजा अभिव्यक्ति क्षणभरमा आफ्नो खातामा पढ्न सकिन्छ । ताता विचार वा निर्णय र समाचारहरू निमेषमै संसारका हरेक मान्छेको खल्तीमा पुग्छन् ।


सञ्जालले विचारको पहुँचलाई सबै तह र तप्कामा पुर्‍याइदिएको छ । हरेक देशमा पढेलेखेको, जाने–बुझेको, चिन्तन गर्न सक्ने, हरेक विषय र घटनामाथि आलोचनात्मक दृष्टिकोण राख्न सक्ने जागरुक नागरिकको समूहले यो अवसरलाई सिर्जनात्मक उपयोग गरिरहेका छन् । समाज र राज्यका परिवर्तन र सुधारका प्रक्रियासँग सबैभन्दा बढी सरोकार राख्ने यो समूहको सिर्जनात्मक क्रियाकलाप राज्यको सम्पत्ति हो । साथै संस्थापनमा बसेकाहरूको कामका लागि ठूलो पृष्ठपोषक पनि हो । दिन–प्रतिदिन आफै परिपक्व र विस्तार हुँदै गएको यस्तो विशाल मञ्चको महत्त्वलाई बुझ्ने दृष्टिकोण अत्यन्त सकारात्मक र सिर्जनात्मक हुनैपर्छ ।


नेपालको हकमा त वर्तमान परिवेशमा सञ्जालको महत्त्व झन् टड्कारो महसुस हुन्छ । दलहरूमा आन्तरिक लोकतन्त्र क्षीण देखिन्छ, खास विधिले काम भइरहेको छैन, नियमित बैठक हुँदैन र गम्भीर राष्ट्रिय महत्त्वका विषयहरूमा नेताहरूबीच छलफल विरलै भएको देखिन्छ । यदाकदा भइहाले पनि निष्कर्ष निस्कने ढङ्गले छलफल हुने वातावरण छैन । संसदमा जनप्रतिनिधिहरूले समेत मातृ दलका इमानदार र ‘ह्विप’ अनुसार चल्ने रबरछाप कार्यकर्ताको भन्दा फरक छवि देखाउनसकेका छैनन् । यस्तो अवस्थामा नागरिकहरू भने सञ्जालमा महत्त्वपूर्ण विषयमा निर्भीक रूपमा प्रश्न उठाइरहेका छन् र घनिभूत छलफल गरिरहेका देखिन्छन् । यस्तो प्रतीत हुन्छ, वर्तमानमा राष्ट्रिय महत्त्वका विषयहरूमा विशेष बहस हुने थलो सामाजिक सञ्जालमात्र हो ।


आज दिन–प्रतिदिन धेरैभन्दा धेरै मान्छे सञ्जालमा आबद्ध हुँदै गैरहेका छन्, जसले पारदर्शी समाज निर्माणमा टेवा पुगेको छ । पारदर्शी समाजमा मानिसहरूको गलत काम आफै नियन्त्रित हुन्छन् । आज समाजमा हुने ससाना अनियमित क्रियाकलाप पनि लुकाउन सकिने अवस्था छैन । क्षणभरमा त्यो सतहमा छताछुल्ल हुन्छ, जसले गर्दा मानिसहरू आफै सतर्क र सजग हुँदै गइरहेका छन् । जिम्मेवारीमा बसेकालाई अहिले आफ्ना कदम र भूमिकाबारे छिनछिनमा प्रतिक्रिया प्राप्त हुने र कमजोरी महसुस भए सच्याएर अघि बढ्ने अवसर मिलेको छ । सरकारका केही एजेन्डा बाहिर आउँछन्, संगतिपूर्ण नभएको अवस्थामा त्यसको व्यापक विरोध हुन्छ । सरकार पछि हट्न बाध्य हुन्छ र समयमै कम क्षतिसहित उसलाई सच्चिने अवसर मिलेको छ । यसरी सामाजिक सञ्जालले समाज र राज्यको प्रतिरक्षा प्रणालीको रूपमा काम गरेको छ ।


सामाजिक सञ्जालमा आम नागरिकको सक्रियता बढ्नु लोकतान्त्रिक सरकारलाई फाइदाजनक कुरा हो । आलोचनात्मक चेतसहितको सक्रिय जनताको निगरानीमा आफ्नो कामलाई सतर्कतासाथ अघि बढाउन पाउनुलाई सरकारले महत्त्वपूर्ण र सकारात्मक अवसरको रूपमा बुझ्नुपर्छ । तर केही फाटफुट खराब परिणामको हवाला दिँंदै मूलतः अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको सामाजिक सञ्जाललाई कथित स्वस्थ र अनुशासित बनाउने नाममा सरकारबाट साँघुरो वा कुण्ठित बनाउने प्रयास भयो भने दुर्भाग्य ठहरिनेछ । मनोवैज्ञानिक र समाज वैज्ञानिकहरूका अनुसार मान्छेको कुरा काट्ने वा टिकाटिप्पणी गर्ने (गस्सिपिङ) बानीले अरुलाई हानि पुर्‍याउने मात्रा भनेको ३/४ प्रतिशतमात्र हो । तसर्थ ठूलो हल्लाखल्ला भइरहे पनि सामाजिक सञ्जालको नकारात्मकभन्दा सकारात्मक योगदान कैयौं गुणा बढी छ भन्न धक मान्नु पर्दैन । नियमनको नाममा अभिव्यक्ति र आलोचनाको अवसरलाई खुम्च्याउनु भनेको समाजलाई नियन्त्रित र अपारदर्शी बनाउन खोज्नु हो । यस्तो प्रयासले समाजलाई तुलनात्मक रूपमा मौनतातर्फ धकेल्न सक्छ । मौनता स्वस्थ समाजको परिचायक होइन ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?