कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिड आक्रमण रोक्ने उपाय

शशी बस्नेत

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरूपहरूमध्ये एक हो । यस्तो अपराधमा महिला वा पुरुष जोकोही पीडित हुनसक्छ । महिला विरुद्धका अन्य हिंसाभन्दा एसिड हिंसाको प्रकृति फरक देखिन्छ । यसमा आक्रमणकारीको मुख्य उद्देश्य महिलालाई कुरूप पार्ने हो । महिलामाथि हुने एसिड आक्रमण परम्परागत पितृसत्तात्मक सोचको उपज हो । यस सोचका कारण महिलालाई व्यक्ति होइन, सामग्रीमा रूपमा लिइन्छ । 


नेपालमा भएका घटनाहरूको अध्ययन गर्दा किशोरी तथा युवतीहरूप्रति लक्षित गरी एसिड आक्रमण गर्ने गरेको पाइन्छ । यो समस्याबाट विशेषगरी विद्यालय तथा विश्वविद्यालयमा पढ्ने किशोरी बढी आतंकित छन् । भारत र बंगलादेशले विशेषतः कानुन तथा नियमहरू बनाएर यो समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।


नेपालको सन्दर्भमा एसिडजन्य पदार्थको बिक्री–वितरणलाई नियन्त्रण तथा नियमन गर्न राज्यले त्यति पहल गरेको छैन । यसले बालिका र महिलाहरूको मानवअधिकार उपभोगमा पनि गम्भीर क्षति पर्‍याएको छ ।


२०७२ सालअघि एसिड आक्रमणको स्पष्ट कानुनी व्यवस्था थिएन । एसिड आक्रमणलाई अपराधीकरण गर्न मुलुकी ऐन २०२० को कुटपिटको महलको दफा १४ क. थपिएको थियो । जस अनुसार तेजाब वा यस्तै प्रकारका अन्य पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराएमा वा अनुहार वा शरीरको कुनै अंग कुरूप पारेमा कसुरको प्रकृति हेरी सजाय दिइनेछ । कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना, त्यस्तै शरीरको अन्य अंग कुरूप पारेमा वा जीउमा पीडा गराएमा ३ देखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । र, जरिवाना बापतको सम्पूर्ण रकम पीडितलाई दिइने उल्लेख छ ।

घरेलु हिंसा ऐन, २०६६ को दफा २(ग) मा ‘शारीरिक यातना’ भन्नाले कुटपिट गर्ने, गैरकानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्‍याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरूप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनुपर्छ’ भन्ने परिभाषा थपिएको छ ।


२०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार कसैले पनि तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ छर्किई अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ ।


कसैले यस्तो कसुर गरे कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ देखि ८ वर्षसम्म कैद र १ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने व्यवस्था पनि गरेको छ ।


आजभोलि नेपालमा जोसुकैले सहजै एसिड खरिद–बिक्री, ओसारपसार गर्न सक्छन् । बिक्री–वितरणमा अनुगमन गर्ने राज्यको कुनै नीति–नियम छैन । एसिडको सहज प्राप्तिले दुरुपयोग पनि सहज बनाएको छ । यसको उत्पादन मानव सुविधा र आवश्यकता परिपूर्तिका लागि भएको हो । तर दुरुपयोग गर्दा मानव शरीरलाई हानि गरेको छ । एसिडको बिक्री–वितरणमा नियन्त्रण र अनुगमनको आवश्यकता टड्कारो छ । खासगरी हाइड्रोक्लोरिक एसिड, सल्फ्युरिक एसिड तथा नाइट्रिक एसिडको बिक्री–वितरण सरकारबाट अधिकार प्राप्त पसलबाट हुन जरुरी छ । यी एसिड बिक्री गर्दा खरिदकर्ताको परिचय, उमेर खुल्ने रेकर्ड राख्ने व्यवस्था गरिएमा पनि दुरुपयोग हुनबाट जोगिन सकिन्छ ।


कुनै पनि महिला, बालिका तथा अन्य व्यक्तिमाथि हुने हिंसालाई अन्त्य गर्नु राज्यको प्रमुख दायित्व हो । सर्वोच्च अदालतबाट २०७४ साउन २५ गते एसिडको उत्पादन, ओसारपसार, बिक्री तथा वितरण सम्बन्धमा नियमनकारी प्रबन्धन साथै एसिड आक्रमणबाट बच्ने उपाय र यसको असर, प्राथमिक चिकित्सा, औषधोपचार केन्द्र समेतका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि राज्यले विशेष व्यवस्था गर्नु भनी परमादेश जारी भैसकेको छ । तैपनि हालसम्म सरकारले एसिड बिक्री–वितरणमा नियमन गरेको छैन । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै सरकारले एसिडको बिक्री–वितरणमा अनुगमन तथा उचित नियन्त्रण गरेमा सम्भावित अपराधलाई रोक्न सक्छ । पीडकलार्ई कडा सजाय दिने आफ्नो ठाउँमा छ । सँंगसँंगै घटना हुने वातावरण सिर्जना हुन नदिनु पनि राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संकटमा चिनियाँ नेतृत्व

लक्ष्मी लम्साल

वर्तमान चिनियाँ संकटको घडीमा सबैभन्दा अग्रपंक्तिमा देखिएका तीन पात्र हुन्— राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ परराष्ट्र प्रवक्ता । यी तीन पात्रहरू निरन्तर बैठक गर्ने, अत्यावश्यक निर्देशन दिने र भएका सूचना विश्वमाझ फैलाउने क्रममा व्यस्त छन् ।

चिनियाँ राष्ट्रपति पद यहाँको राजनीतिक मियो हो र उनकै वरिपरि सारा संयन्त्र घुमिरहेको हुन्छ भने दोस्रो तहमा प्रधानमन्त्री । दुवै नेताहरू कोरोना भाइरसको विपत्तिमा हौसला थप्ने, समन्वय गर्ने, मातहतका निकायहरू चुस्त–दुरुस्त राख्ने, उपलब्धिहरू अद्यावधिक गर्ने, अभिभावकीय भरोसा दिने र परराष्ट्र मन्त्रालयका प्रवक्ताहरू विश्व समुदायमा जारी संकटबारे सूचनाहरू आदान–प्रदान गर्ने काममा लागिपरेका छन् । बाँकी निकायको आआफ्ना जिम्मेवारी त छँदैछन् ।

मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे विच्याट वा अन्य इन्टरनेट कन्फ्रेन्समार्फत विश्व समुदायलाई सूचित गर्नु चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वय ह्वा छुनयिङ र कङ श्वाङको जिम्मेवारीभित्र पर्छ । वुहानमा भेटिएको नयाँ खाले कोरोना भाइरसबारे निष्ठापूर्वक प्रतिरोधको प्रस्ताव तयार पारेको जानकारी परराष्ट्र प्रवक्ता कङ श्वाङले जनवरी २० मा दिएका थिए । प्रथम प्रहरमै विश्व स्वास्थ्य संगठनलाई नयाँ खाले कोरोना भाइरसको जीन शृंखलाबारे पनि जानकारी गराए । चीनले २१ मा विश्व स्वास्थ्य संगठनसँग र विशेषज्ञहरूसँग मिलेर नयाँ कोरोनाबारे जिम्मेवारीपूर्वक कदम चाल्ने घोषणा गर्‍यो र अन्य मुलुकलाई यस बारेमा जानकारी गरायो ।

नयाँ खाले कोरोना भाइरसबाट वुहानमा २२४ र जापान तथा कोरियामा १–१ तथा थाइल्यान्डमा २ जना प्रभावित भेटिएको समाचार सार्वजनिक भएसँगै जनवरी २० मा चिनियाँ राष्ट्रपति सीले एउटा बैठक बोलाएर यस अवस्थालाई उच्च महत्त्व दिनुपर्ने, भ्याएसम्म प्रतिरोध गर्नुपर्ने, विकसित घटनाक्रम अद्यावधिक गर्नुपर्ने र विश्व सहयोग मजबुत पार्नुपर्ने जस्ता निर्देशन दिए । जनवरी २१ मा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अढानोम घेब्रेयेससले जेनेभामा आपत्कालीन बैठक बोलाएर विश्व स्वास्थ्यमा ध्यानाकर्षक गर्दै समस्या देखापरेको भन्दै सचेत गराए । जनवरी २३ मा वुहानले विमानस्थल, रेलस्टेसन लगायत सबै खालका सार्वजनिक यातायात अस्थायी रूपमा बन्द गर्‍यो । सरुवा रोगको विश्लेषणपछि फैलावट रोक्न भन्दै स्थानीयलाई वुहान नछोड्न अनुरोध गरियो । चीनको मध्यभागमै अवस्थित वुहान सहर सबैभन्दा ठूलो यातायात सञ्जाल हो, जुन ठप्प पार्नु निर्मम छनोट थियो ।

जनवरी २४ चीनको परम्परागत पात्रो अनुसार नववर्षको पूर्वसन्ध्या अर्थात् १ अर्ब ४० करोड चिनियाँको पुनःमिलनको पर्व थियो । वसन्त चाडको ढुवानी अवधि जनवरी १० देखि नै सुरु भएको घोषणा गरिएको थियो । तर त्यतिन्जेलसम्म चीनका २९ प्रान्तमा फैलिएर संक्रमितको ग्राफ हजार आसपास पुग्न लागेपछि चिनियाँ सर्वसाधारणका लागि भिडियो, टेलिफोन वा इन्टरनेटका अनेक तरिकामार्फत वसन्त चाड मनाउनुको विकल्प भएन । यहाँ राज्यको अनुरोधसँगै सर्वसाधारणको एकताको भावना छचल्किएको देख्न सकिन्छ ।

कोरोना आतंक फैलिन थालेदेखि चिनियाँ राष्ट्रपतिको सक्रियता अझै तीव्र भएको छ । यसै पनि उनी परिश्रमी नेता मानिन्छन् । त्यसमाथि यस्तो संकटको घडीमा उनका अनेकन अभिभावकीय जिम्मेवारीहरू थपिए । मातहतका बैठक डाक्नु, अन्तर्राष्ट्रिय जगतमा टेलिफोन वा भेटमार्फत समन्वय गर्नु, चीनमा आएका पाहुनासँग सत्य–तथ्य केलाउनु, सकेसम्मका क्षेत्रमा स्थलगत भ्रमण गरेर संक्रमण नियन्त्रणका लागि जनतालाई जागरुक गराउनु उनको हालको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ । जनवरी २६ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्युरो, स्थायी परिषदको अध्यक्षता गरेका राष्ट्रपति सीले महामारी रोकथाम र नियन्त्रण युद्धलाई पराजित गर्नुपर्ने अठोट दिलाए । सोही दिन प्रधानमन्त्री एवं कोरोना भाइरस प्रतिरोध केन्द्रीय कार्यदलका नेता ली खछ्याङले पनि मृत्युदर घटाउने र पारदर्शिता अपनाउने कुरामा यथोचित निर्देशन दिए । लीले युरोपेली संघका अध्यक्ष उर्सुला भोनडर लेएनलाई टेलिफोन गरेर युरोपेली मुलुकबाट चिकित्सा सामग्री खरिद गर्ने बारेमा परामर्श गरे । फेब्रुअरी २ मा फेरि लीले आफू मातहत बैठक बसालेर केही प्रान्तमा महामारीको प्रतिरोध, बजार आपूर्तिको निर्देशन दिए । ४ तारिख फेरि अर्को बैठक बोलाएर लीले चिकित्सक तथा चिकित्सा सामग्री वुहान पठाउनेबारे निर्देशन दिए ।

जनवरी २८ तारिख विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस बेइजिङमा उत्रिएपछि सी र परराष्ट्रमन्त्री वाङ यीले भेटे अनि महामारी रोकथाममा चीनको दृढता प्रस्तुत गरे । फेब्रुअरी ७ मा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महामारीको प्रतिरोध सम्बन्धी वार्ता गरे । फेब्रुअरी ५ मा सीले पार्टी केन्द्रीय समितिको राष्ट्रिय चौतर्फी कानुनी शासन परिषदको तेस्रो बैठक बोलाएर शारीरिक स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्ने औंल्याए । फेब्रुअरी १० मा पेइचिङस्थित तिथान अस्पतालमा पुगेर बिरामीहरूको औषधोपचार अवस्थाको अवलोकन गरेर भिडियोमार्फत वुहानका बिरामीहरूसँग साक्षात्कार गरे । अहिले पनि घरआवास क्षेत्रमा पुगेर रेखदेख गर्ने काममा सी नै खटिएको देखिन्छ ।

भाइरसको फैलावट हुन नदिन चीनका हरेक निकाय तत्काल सक्रिय भएको देख्दा जोकोहीलाई अचम्म लाग्छ । कुनै त्यस्ता निर्णय छैनन्, जुन अनुमानका भरमा एकछिन लागू गर्ने र तुरुन्तै तोड्ने गरियोस् । यसबाट नेतृत्वमा दूरदृष्टियुक्त ‘भिजन’ भएको झल्किन्छ । एक समय फेक न्युजका कारण निकै अफवाह फैलिए । सम्बन्धित निकायले तत्काल लोगो भएको वा आधिकारिक सूचना पठाउने एप वा निकाय बाहेक अन्यमा भर नपर्न सुझाए । चिनियाँ अर्थतन्त्र सम्बन्धी निकायले वर्तमान उतार–चढाव अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन अर्थतन्त्रमा असर नपर्ने भनेर चीनका लगानीकर्ता र आफ्नो वैदेशिक लगानी तथा विश्व अर्थतन्त्रमा देखिएको आशंका निवारणको प्रयास गरे ।
चीनमा एकपछि अर्को संयन्त्रले परिपक्व ढंगले काम गरेको देखेपछि चिनियाँ नेतृत्वको क्षमतामाथि जोकोहीमा जिज्ञासा जाग्छ । ३ प्रमुख पात्रले १ अर्ब ४० करोड जनसंख्या भएको आपत्कालीन घडीलाई संयमित ढंगले काबुमा लिइरहेका छन् र आफूहरू मातहतका निकायलाई जिम्मेवारीपूर्वक खटाएका छन् । जो विपत्तिका बेलामा ब्युँझिँदैनन्, उनीहरूलाई मिनेटभरमै कारबाही गरेर तत्कालै अर्कोलाई जिम्मेवारी दिने ल्याकत राख्छन्, उनीहरू । र दुःखको घडीमा हिलो छ्याप्न खोज्ने अन्तर्राष्ट्रिय समुदायको सामना पनि एकसाथ गरिरहेका छन् । सहयोग गर्न खोज्ने विश्वसँग हातेमालो पनि गर्न भ्याएका छन्, अनि चीनमा रहेका विदेशी वा विश्वका जनताको स्वास्थ्यप्रति उत्तिकै संवेदनशीलता देखाएका छन् । यी सारा संकटको घडीमा नेतृत्वको कार्यक्षमताले चिनियाँमात्रै होइन, विश्वलाई नै यतिखेर चकित बनाएको हुनुपर्छ ।

स्मरणीय छ, नेपाली नेताहरू पनि सी विचारधारा अध्ययन गरिरहेका छन्, चिनियाँ नेताबाट प्रशिक्षण लिइरहेका छन् । छिमेकी मुलुक चीनबाट हाम्रा नेताहरूले धेरै कुरा सिकिसकेको पनि भन्छन् । संकटको बेला चिनियाँ नेतृत्व कसरी अडिग भएर निर्णय गर्छ भन्नेचाहिँ कहिले सिक्ने होलान् ?

लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, बेइजिङमा कार्यरत छन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×