संकटमा चिनियाँ नेतृत्व

लक्ष्मी लम्साल

वर्तमान चिनियाँ संकटको घडीमा सबैभन्दा अग्रपंक्तिमा देखिएका तीन पात्र हुन्— राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ परराष्ट्र प्रवक्ता । यी तीन पात्रहरू निरन्तर बैठक गर्ने, अत्यावश्यक निर्देशन दिने र भएका सूचना विश्वमाझ फैलाउने क्रममा व्यस्त छन् ।

चिनियाँ राष्ट्रपति पद यहाँको राजनीतिक मियो हो र उनकै वरिपरि सारा संयन्त्र घुमिरहेको हुन्छ भने दोस्रो तहमा प्रधानमन्त्री । दुवै नेताहरू कोरोना भाइरसको विपत्तिमा हौसला थप्ने, समन्वय गर्ने, मातहतका निकायहरू चुस्त–दुरुस्त राख्ने, उपलब्धिहरू अद्यावधिक गर्ने, अभिभावकीय भरोसा दिने र परराष्ट्र मन्त्रालयका प्रवक्ताहरू विश्व समुदायमा जारी संकटबारे सूचनाहरू आदान–प्रदान गर्ने काममा लागिपरेका छन् । बाँकी निकायको आआफ्ना जिम्मेवारी त छँदैछन् ।


मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे विच्याट वा अन्य इन्टरनेट कन्फ्रेन्समार्फत विश्व समुदायलाई सूचित गर्नु चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वय ह्वा छुनयिङ र कङ श्वाङको जिम्मेवारीभित्र पर्छ । वुहानमा भेटिएको नयाँ खाले कोरोना भाइरसबारे निष्ठापूर्वक प्रतिरोधको प्रस्ताव तयार पारेको जानकारी परराष्ट्र प्रवक्ता कङ श्वाङले जनवरी २० मा दिएका थिए । प्रथम प्रहरमै विश्व स्वास्थ्य संगठनलाई नयाँ खाले कोरोना भाइरसको जीन शृंखलाबारे पनि जानकारी गराए । चीनले २१ मा विश्व स्वास्थ्य संगठनसँग र विशेषज्ञहरूसँग मिलेर नयाँ कोरोनाबारे जिम्मेवारीपूर्वक कदम चाल्ने घोषणा गर्‍यो र अन्य मुलुकलाई यस बारेमा जानकारी गरायो ।


नयाँ खाले कोरोना भाइरसबाट वुहानमा २२४ र जापान तथा कोरियामा १–१ तथा थाइल्यान्डमा २ जना प्रभावित भेटिएको समाचार सार्वजनिक भएसँगै जनवरी २० मा चिनियाँ राष्ट्रपति सीले एउटा बैठक बोलाएर यस अवस्थालाई उच्च महत्त्व दिनुपर्ने, भ्याएसम्म प्रतिरोध गर्नुपर्ने, विकसित घटनाक्रम अद्यावधिक गर्नुपर्ने र विश्व सहयोग मजबुत पार्नुपर्ने जस्ता निर्देशन दिए । जनवरी २१ मा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अढानोम घेब्रेयेससले जेनेभामा आपत्कालीन बैठक बोलाएर विश्व स्वास्थ्यमा ध्यानाकर्षक गर्दै समस्या देखापरेको भन्दै सचेत गराए । जनवरी २३ मा वुहानले विमानस्थल, रेलस्टेसन लगायत सबै खालका सार्वजनिक यातायात अस्थायी रूपमा बन्द गर्‍यो । सरुवा रोगको विश्लेषणपछि फैलावट रोक्न भन्दै स्थानीयलाई वुहान नछोड्न अनुरोध गरियो । चीनको मध्यभागमै अवस्थित वुहान सहर सबैभन्दा ठूलो यातायात सञ्जाल हो, जुन ठप्प पार्नु निर्मम छनोट थियो ।


जनवरी २४ चीनको परम्परागत पात्रो अनुसार नववर्षको पूर्वसन्ध्या अर्थात् १ अर्ब ४० करोड चिनियाँको पुनःमिलनको पर्व थियो । वसन्त चाडको ढुवानी अवधि जनवरी १० देखि नै सुरु भएको घोषणा गरिएको थियो । तर त्यतिन्जेलसम्म चीनका २९ प्रान्तमा फैलिएर संक्रमितको ग्राफ हजार आसपास पुग्न लागेपछि चिनियाँ सर्वसाधारणका लागि भिडियो, टेलिफोन वा इन्टरनेटका अनेक तरिकामार्फत वसन्त चाड मनाउनुको विकल्प भएन । यहाँ राज्यको अनुरोधसँगै सर्वसाधारणको एकताको भावना छचल्किएको देख्न सकिन्छ ।


कोरोना आतंक फैलिन थालेदेखि चिनियाँ राष्ट्रपतिको सक्रियता अझै तीव्र भएको छ । यसै पनि उनी परिश्रमी नेता मानिन्छन् । त्यसमाथि यस्तो संकटको घडीमा उनका अनेकन अभिभावकीय जिम्मेवारीहरू थपिए । मातहतका बैठक डाक्नु, अन्तर्राष्ट्रिय जगतमा टेलिफोन वा भेटमार्फत समन्वय गर्नु, चीनमा आएका पाहुनासँग सत्य–तथ्य केलाउनु, सकेसम्मका क्षेत्रमा स्थलगत भ्रमण गरेर संक्रमण नियन्त्रणका लागि जनतालाई जागरुक गराउनु उनको हालको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ । जनवरी २६ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्युरो, स्थायी परिषदको अध्यक्षता गरेका राष्ट्रपति सीले महामारी रोकथाम र नियन्त्रण युद्धलाई पराजित गर्नुपर्ने अठोट दिलाए । सोही दिन प्रधानमन्त्री एवं कोरोना भाइरस प्रतिरोध केन्द्रीय कार्यदलका नेता ली खछ्याङले पनि मृत्युदर घटाउने र पारदर्शिता अपनाउने कुरामा यथोचित निर्देशन दिए । लीले युरोपेली संघका अध्यक्ष उर्सुला भोनडर लेएनलाई टेलिफोन गरेर युरोपेली मुलुकबाट चिकित्सा सामग्री खरिद गर्ने बारेमा परामर्श गरे । फेब्रुअरी २ मा फेरि लीले आफू मातहत बैठक बसालेर केही प्रान्तमा महामारीको प्रतिरोध, बजार आपूर्तिको निर्देशन दिए । ४ तारिख फेरि अर्को बैठक बोलाएर लीले चिकित्सक तथा चिकित्सा सामग्री वुहान पठाउनेबारे निर्देशन दिए ।


जनवरी २८ तारिख विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस बेइजिङमा उत्रिएपछि सी र परराष्ट्रमन्त्री वाङ यीले भेटे अनि महामारी रोकथाममा चीनको दृढता प्रस्तुत गरे । फेब्रुअरी ७ मा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महामारीको प्रतिरोध सम्बन्धी वार्ता गरे । फेब्रुअरी ५ मा सीले पार्टी केन्द्रीय समितिको राष्ट्रिय चौतर्फी कानुनी शासन परिषदको तेस्रो बैठक बोलाएर शारीरिक स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्ने औंल्याए । फेब्रुअरी १० मा पेइचिङस्थित तिथान अस्पतालमा पुगेर बिरामीहरूको औषधोपचार अवस्थाको अवलोकन गरेर भिडियोमार्फत वुहानका बिरामीहरूसँग साक्षात्कार गरे । अहिले पनि घरआवास क्षेत्रमा पुगेर रेखदेख गर्ने काममा सी नै खटिएको देखिन्छ ।


भाइरसको फैलावट हुन नदिन चीनका हरेक निकाय तत्काल सक्रिय भएको देख्दा जोकोहीलाई अचम्म लाग्छ । कुनै त्यस्ता निर्णय छैनन्, जुन अनुमानका भरमा एकछिन लागू गर्ने र तुरुन्तै तोड्ने गरियोस् । यसबाट नेतृत्वमा दूरदृष्टियुक्त ‘भिजन’ भएको झल्किन्छ । एक समय फेक न्युजका कारण निकै अफवाह फैलिए । सम्बन्धित निकायले तत्काल लोगो भएको वा आधिकारिक सूचना पठाउने एप वा निकाय बाहेक अन्यमा भर नपर्न सुझाए । चिनियाँ अर्थतन्त्र सम्बन्धी निकायले वर्तमान उतार–चढाव अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन अर्थतन्त्रमा असर नपर्ने भनेर चीनका लगानीकर्ता र आफ्नो वैदेशिक लगानी तथा विश्व अर्थतन्त्रमा देखिएको आशंका निवारणको प्रयास गरे ।

चीनमा एकपछि अर्को संयन्त्रले परिपक्व ढंगले काम गरेको देखेपछि चिनियाँ नेतृत्वको क्षमतामाथि जोकोहीमा जिज्ञासा जाग्छ । ३ प्रमुख पात्रले १ अर्ब ४० करोड जनसंख्या भएको आपत्कालीन घडीलाई संयमित ढंगले काबुमा लिइरहेका छन् र आफूहरू मातहतका निकायलाई जिम्मेवारीपूर्वक खटाएका छन् । जो विपत्तिका बेलामा ब्युँझिँदैनन्, उनीहरूलाई मिनेटभरमै कारबाही गरेर तत्कालै अर्कोलाई जिम्मेवारी दिने ल्याकत राख्छन्, उनीहरू । र दुःखको घडीमा हिलो छ्याप्न खोज्ने अन्तर्राष्ट्रिय समुदायको सामना पनि एकसाथ गरिरहेका छन् । सहयोग गर्न खोज्ने विश्वसँग हातेमालो पनि गर्न भ्याएका छन्, अनि चीनमा रहेका विदेशी वा विश्वका जनताको स्वास्थ्यप्रति उत्तिकै संवेदनशीलता देखाएका छन् । यी सारा संकटको घडीमा नेतृत्वको कार्यक्षमताले चिनियाँमात्रै होइन, विश्वलाई नै यतिखेर चकित बनाएको हुनुपर्छ ।


स्मरणीय छ, नेपाली नेताहरू पनि सी विचारधारा अध्ययन गरिरहेका छन्, चिनियाँ नेताबाट प्रशिक्षण लिइरहेका छन् । छिमेकी मुलुक चीनबाट हाम्रा नेताहरूले धेरै कुरा सिकिसकेको पनि भन्छन् । संकटको बेला चिनियाँ नेतृत्व कसरी अडिग भएर निर्णय गर्छ भन्नेचाहिँ कहिले सिक्ने होलान् ?


लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, बेइजिङमा कार्यरत छन् । प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जो कोरोनाविरुद्ध खटिरहेछन्

भाइरस प्रकोपविरुद्ध निरन्तर खटिरहेका स्वास्थ्यकर्मीका मुखमा मास्कका डाम देखिन्छन् । मास्कको डोरीले तन्‍किएर उनीहरूका काना राताराता भएका छन् ।
अनुहारबाट पसिनाका थोपा तप्पतप्प चुहिरहेका छन् । कोरोनाविरुद्धको युद्धमैदानमा उत्रिएका स्वास्थ्यकर्मीका आफन्तका आँखामा आँसुको भेलले प्रस्ट्याउँछ, जिम्मेवारी सहज छैन । 
लक्ष्मी लम्साल

बेइजिङ — चीनको हुबेई प्रान्तको राजधानी वुहानका सडकमा केही मानिस ‘मुलुकलाई संकटले घेर्न लाग्यो’ भन्दै राष्ट्रगान गाउन थाले । कोरोना भाइरस संक्रमितलाई बचाउन स्वास्थ्यकर्मी कडा मिहिनेत गरिरहेका थिए तर असफलताले निराश । ८० वर्षीय चिनियाँ श्वासप्रश्वास विशेषज्ञ चोङ नानसानका आँखा यी दृश्यले जलमग्न हुन थाले ।

चिकित्सक नै रहेका उनका विद्यार्थी वुहानमा कोरोनाका कारण खतरनाक अवस्था देखिँदै छ भनिरहेका थिए । उनीहरूमा हतास मनस्थिति प्रस्टै देखिन्थ्यो । सडकमै उत्रिएर जनताले राष्ट्रगान गाउन थालेपछि विशेषज्ञ चोङले चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग भने, ‘जनतामा ठूलो हौसला बाँकी रहेको देखें र मन भावविह्वल भयो ।’

उमेरले पाका विशेषज्ञ चोङ कोरोना भाइरसका कारण जनजीवन आक्रान्त भएको देखेर पटकपटक रोइसकेका छन् । गत डिसेम्बरको सुरुवातमै भाइरसको महामारीबारे संकेत गर्ने चिकित्सक ली वेनलियाङको मृत्युमा पनि उनी भक्कानिएका थिए । हाल चिनियाँ सञ्चारमाध्यममा कोरोना भाइरसको संक्रमणले मानवजीवनमा पार्ने असर र जोगिने उपायबारे निरन्तर सुझाव पस्किरहेका चोङप्रति धेरैको आशा र भरोसा अडिएको छ । फेब्रुअरी महिनाभर कोरोनाको संक्रमण उच्चबिन्दुमा पुग्ने र तत्पश्चात क्रमशः घट्दै गएर अप्रिलसम्ममा मत्थर हुन सक्ने उनको विश्‍लेषण छ ।

उनी भन्छन्, ‘कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा गम्भीर असर गर्छ ।’ सम्बन्धित विषयका ज्ञाता भएकाले उनका भनाइमा विश्वास राख्ने धेरै छन् । उनले चिनियाँलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कोरोना भाइरससँग सम्बन्धित अनेकन प्रश्नको उत्तर दिइरहेका छन् । उनको सुझाव र जबाफले विचलित जनमानसलाई केही हदसम्म भए पनि राहत दिइरहेको छ । लगभग दुई महिनाको अवधिमा श्वासप्रश्वास विशेषज्ञ चोङ मात्रै कैयौं पटक भावुक भएका छैनन्, प्रकोप नियन्त्रणमा हिम्मतको आँसु दिएर बिदाइ गर्ने अन्य चिकित्सकका आफन्त पनि उत्तिकै भावुक छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित वुहान सहरमा खटिएका चिकित्सक र नर्सका आफन्तका बिदाइका फोटा अहिले जताततै देख्न सकिन्छ । भाइरस नियन्त्रण र रोकथामका साथै संक्रमितका उपचारका खट्‍न यतिबेला चीनका कैयौं प्रान्तबाट हजारौं स्वास्थ्यकर्मी वुहान पुगेका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर भिड्‍नुपर्ने भएकाले स्वयं उनीहरूकै जीवनको ग्यारेन्टी छैन । महामारीविरुद्धको लडाइँमा सहभागी हुन जाँदै गर्दा आफन्तले अँगालो हालेर आँसु चुहाइरहेका दृश्य देख्दा जोकोही भावुक हुन्छ ।

कैयौं वैज्ञानिक भाइरस निदानका उपाय पत्ता लगाउन अनवरत खटिरहे पनि त्यसले सार्थकता पाउन नसकिरहेका बेला स्वास्थ्यकर्मी नै बिरामीका अन्तिम भरोसा हुन् । चीनले महामारीविरुद्ध कैयौं स्वास्थ्यकर्मीलाई अग्रपंक्तिमा उभ्याएको छ । पेसागत धर्म निर्वाह गर्ने विषयमा चिनियाँ नागरिकलाई सायदै कसैले छेक्न सक्छ । किनकि भावनात्मक एकता भएर मुलुकभित्रको समस्यासँग जुध्नु उनीहरूको एउटा मौलिक विशेषता हो भन्दा पनि हुन्छ । यहाँ प्रगतिशील समूह वा प्रजातान्त्रिक समूह, फलानो पार्टी वा गुट भन्ने देखिँदैन। न दुर्गम र सुगमको भेदभाव नै छ।

भाइरस प्रकोपविरुद्ध निरन्तर खटिरहेका स्वास्थ्यकर्मीका मुखमा मास्कका डाम देखिन्छन् । मास्कको डोरीले तन्किएर उनीहरुका काना राताराता भएका छन्। अनुहारबाट पसिनाका थोपा तप्पतप्प चुहिरहेका छन् । कोरोनाविरुद्धको युद्धमैदानमा उत्रिएका स्वास्थ्यकर्मीका आफन्तका आँखामा आँसुको भेलले प्रस्ट्याउँछ, जिम्मेवारी सहज छैन । कोरोना भूमिलाई कर्मभूमि बनाउन वुहान हिँडेका स्वास्थ्यकर्मीका दायित्व बिरामीको जीवन बचाउनु हो तर उनीहरूको आफ्नै जीवन पो रहन्छ कि रहँदैन, थाहा छैन । त्यसैले, वुहानमा स्वास्थ्य सेवा प्रदान गर्न हिँडेका आफन्तलाई बिदाइ गर्नेले ‘अलबिदा’ को संकेत गरिरहेका छन् ।

भाइरस संक्रमित क्षेत्रमा खटिँदा स्वास्थ्यकर्मीले धेरै कुराको माया मारेका छन् । महिला नर्स र चिकित्सकले आफ्ना कपाल मुड्याएका छन् । भाइरसबाट जोगिन उनीहरूले टाउको वरिपरिका रौं काटेर सुरक्षा टोपी पहिरिएका हुन् । चिकित्सकले सुरक्षा पोसाक लगाउनैपर्छ । सबैले लगाउने पोसाक उस्तै हुने भएकाले एकले अर्कालाई चिन्न सक्ने अवस्था छैन । उनीहरूले एकअर्कालाई चिन्न सुरक्षा पोसाकबाहिर मार्करले नाम लेखेका छन् । अनि साथै लेखेका छन्, ‘च्या यौ अर्थात् होस्टे हैंसे ।’

उनीहरूले डाइपर लगाएर शौचालय जाने समय बचाइरहेका छन् । आँखा, कान, नाक, मुख सबै बन्द गरेर सेवामा खटिनु पर्दा पोसाक लगाउन र उतार्ने त्यति प्रचूर समय पनि उनीहरूलाई उपलब्ध छैन ।

भाइरस संक्रमण क्षेत्रमा खटिने स्वास्थ्यकर्मी यी र यस्तै टिठलाग्दा तस्बिर इन्टरनेटमा देखिन्छन् । कतिपय स्वास्थ्यकर्मी त कुर्सीमै निदाइरहेका हुन्छन्। कडा मिहिनेत र अबिराम कामका कारण मेडिकल टिम थकानले लखतरान् देखिन्छन् । उनीहरूले घर गएर विश्राम गर्ने अवसर पाएका छैनन्, जहाँ पाइन्छ त्यहीं टाउको अड्याएर लडिरहेका दृश्यले जोकोहीको दारूण हृदय पनि पग्लिन्छ ।

अहिलेसम्म कोरोनाविरुद्धको युद्धमा अग्रपंक्तिमा रहने सैन्यशक्ति भनेकै स्वास्थ्यकर्मी हुन् । उनीहरूसँग गोलाबारूद होइन, विवेक र मानवीय संवेदना प्रस्टै देखिन्छ । वुहान वुछाङ अस्पतालका निर्देशक लिउ चमिङसहित हालसम्म सात जना स्वास्थ्यकर्मीले बिरामीलाई बचाउन खोज्दाखोज्दै आफ्नो जीवन गुमाइसकेका छन् । १७ सयभन्दा बढी स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन् । यी स्वास्थ्यकर्मीलाई ‘सुपर हिरो’ नभनेर कसलाई भन्ने ? जसरी सिनेमा खेल्ने पात्रले दुःख कष्टमा सहायता गर्छ र दर्शकबाट सुपर हिरोको उपमा पाउँछ । यथार्थमा आफ्नो जीवनको प्रवाह नगरी अरूको जीवन बचाउने कर्ममा खटिएका चिकित्सकजस्तो ‘सुपर हिरो’ संसारमा अरू को हुन सक्छ ?

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×