पुरुष भाष्य प्रेरित महिला मुक्ति

लीला लुइटेल

समयले अहिले धेरै महिलालाई शिक्षा प्राप्त गर्ने र स्वावलम्बी हुने अवसर दिएको छ । अहिलेका महिलाहरू परम्परागत रूढी र महिला विरोधी एकलकाँटे व्यवहार विरुद्ध प्रश्न उठाउन सक्षम पनि भएका छन् । फलस्वरूप हाम्रा कतिपय परम्परागत प्रचलन धराशायी हुँदै गएका छन् ।

तर, हामीले महिला विरोधी क्रियाकलाप भन्दै उठाउने गरेका कतिपय आवाज महिलाका समस्यालाई केन्द्रबिन्दु बनाएर नभई पुरुष निर्मित भाष्यबाट प्रेरित देखिन्छन् । दैनिक व्यावहारिक जीवनका अनेक समस्यालाई सूक्ष्म रूपमा नहेरी पुरुष निर्मित भाष्यलाई नै उदाहरण बनाइएका सन्दर्भ समाजमा प्रशस्तै छन् । तीमध्ये केहीको चर्चा यस आलेखमा गरिन्छ ।


पहिलो कुरा, तीजको विरोध महिलाले स्वतःस्फूर्त रूपमा गरेको नभएर पुरुष निर्मित भाष्य हो । हुनेखानेले तीजको दरमा लुगा र गहनाको प्रदर्शन गरे र यसबाट नहुनेलाई हीनताबोध हुनगयो भनेर आलोचनाको आवाज उराल्न थालेको बौद्धिक वर्गले केही समय अघिदेखि नै हो । तर यो आवाज महिलाको नभई पुरुष निर्मित भाष्यका रूपमा आएको स्पष्टै देखिन्छ । यसको उदाहरणका रूपमा अहिले बिहे हुनुपूर्व कन्यापक्षमा गरिने हल्दी–मेहन्दीलाई लिन सकिन्छ । हाम्रो समाजमा हल्दी–मेहन्दीजस्ता प्रचलन भित्रिएको धेरै भएको छैन, अनि यस प्रचलनको मूल स्रोत पनि हाम्रो सनातनी वैदिक परम्परा नभएर विशुद्ध हिन्दी चलचित्र एवं सिरियल नै हुन् । स्रोत जे भए पनि अहिले यो चलन भाइरल हुँदै गएको छ ।


हल्दी–मेहन्दीमा प्रयोग हुने पहिरन, आभूषण एवं शृङ्गार विशिष्ट हुनुपर्ने भूतले हाम्रो मानसिकतामा आक्रमण गरिसकेको छ । यस्ता आभूषणजन्य वस्तुहरू अन्य बेलामा प्रयोग गर्नसक्ने स्थिति पनि सामान्यतया देखिँदैन । हुनेवाला बेहुलीको त कुरै नगरौँ, परिवारका सदस्य लगायत निम्तालुलाई समेत रङ्ग र पहिरनको प्रकार तोकेर उपस्थित हुनका लागि सगर्व आदेश दिने अहिलेका शिक्षित चेलीहरूको मानसिकता बुझिनसक्नु छ । आफ्नो विवाहलाई विशिष्ट र स्मरणयोग्य बनाउने चाहना सबैमा हुन्छ, तर हल्दी–मेहन्दीका नाममा भित्रिएको यो विकृतपूर्ण दासतालाई आत्मसात् गरेर आफन्त र साथीभाइलाई समेत बोझदिँदा कस्तो तुष्टि मिल्ला ? हल्दी–मेहन्दीमा उपस्थित हुनका लागि पटकैपिच्छे लुगा र गहनाको जोरजाम गर्न नसक्नेलाई हीनताबोध होला कि नहोला ?


कथित बौद्धिक एवं चेतनशील पुरुषहरूले पनि आफ्ना छोरीचेलीहरूले जारी गरेका आदेशानुसारका पहिरनमा ठाँटिएर कथित यस्ता प्रचलनलाई रमाइ–रमाइ बढावा दिइरहेका छन् । यसबारे उठेका प्रश्नमा ‘खै, हामीलाई त केही थाहा छैन, आइमाईहरूको रहर हो’ भनेर उम्किन खोज्ने त्यस्ता पुरुष मित्रहरू मैले धेरै भेटेकी छु । यसबाट तीजमा चेलीका क्रियाकलापप्रति अनेक व्यङ्ग्य गर्ने बौद्धिक वर्ग एवं बौद्धिक चेत कता जाँदैछ भन्ने स्पष्ट देखिन्छ । यदि तीजको विरोध पुरुष भाष्य थिएन भने अहिले महिलाहरू आफैले आफ्नालागि यस्ता नयाँ–नयाँ खाडल खन्ने थिएनौँ सायद ।


हाम्रो समाजमा क्यान्सरका रूपमा रहेको दाइजो एवं तिलक प्रथाबाट उत्पन्न त्रासदी कसैबाट पनि छिपेको छैन । भ्रूणमै छोरीको हत्या गर्ने प्रचलनको मूल जरोमा यही दाइजो एवं तिलक प्रथालाई लिन सकिन्छ । सम्बद्ध क्षेत्रका प्रशासक एवं नेताहरूले यो कुरा नबुझेका पक्कै होइनन् । यति हुँदाहुँदै पनि यसको उन्मूलन गर्नेतर्फ कसैको ध्यान गएको पाइँदैन । ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ जस्ता आकर्षक नारा अघि सारेर ठूलै काम गरेको भनी क्षणिक लोकप्रियतामै उनीहरू रमाइरहेका छन् । दाइजो तथा तिलक ‘सम्बन्धित परिवारले अमूर्त प्रकारले पनि लिनदिन सक्ने हुनाले यसको नियन्त्रण गर्न अप्ठेरो हुने’ धारणा राखेर उनीहरू यसबाट पन्छिन खोज्छन् । किनकि केही समययता विवाहका अवसरमा गोडा धुँदा प्रयोग हुने चाँदीका करुवा तथा खड्कुलो उनीहरूले नदेखेका होइनन्, अनि प्रतिस्पर्धात्मक रूपमा आफूले पनि नदिएका होइनन् ।


व्यावहारिक जीवनमा सायदै प्रयोग हुने यस्ता वस्तुको प्रदर्शनी विवाह मण्डपमा देखिनु सामान्य भइसकेको छ । सम्बन्धित परिवारले अमूर्त प्रकारले पनि लिनदिन सक्ने दाइजो तथा तिलकको प्रथालाई नियन्त्रण गर्न अप्ठेरो हुने धारणा व्यक्त गर्ने सरोकारवालाहरूले फिल्डमै गएर सम्बन्धित व्यक्तिलाई कानुनको दायरामा ल्याउने हिम्मत गर्न सक्छन् ? आफ्ना छोरीचेलीहरूका बिहेमा यस्ता वस्तु बहिष्कार गर्ने हिम्मत देखाउन सक्छन् ? सरकारी ढुकुटीमा रजाइँ गर्न पाएर ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ नारा दिनेहरूले म आफ्नो छोराको बिहेमा दाइजो लिन्नँ, छोरीको बिहे पनि दाइजोबिनै हुन्छ भनेर सार्वजनिक रूपमा घोषणा गर्न सक्छन् ? यदि महिला मुक्तिकै लागि दाइजो एवं तिलक प्रथाको विरोध गरिएको भए दाइजोका नाममा यस्ता हास्यास्पद वस्तुको लेनदेन हुँदैनथ्यो ।


शिक्षित महिलाको सङ्ख्या दिनानुदिन बढ्दैछ । सञ्चारगृहहरूको पनि बढोत्तरी हुँदै गइरहेको छ । फलस्वरूप अहिले दिनहुँजसो दाइजो प्रथाको विरोधसहित महिला मुक्ति सम्बन्धी लेख पनि प्रशस्तै प्रकाशित भइरहेका छन् । यस्ता लेख लेख्ने तथा यस्ता लेखको प्रशंसा गरेर नथाक्ने चेतनशील महिलाहरूले पनि महिला विरोधी यस्ता क्रियाकलापमा रमाइ–रमाइ भाग लिइरहेको देख्दा हाम्रो महिला मुक्तिको अभियान केवल पुरुष निर्मित भाष्यभन्दा अरू केही होइन भन्ने टड्कारै देखिन्छ ।


अर्कातर्फ महिला मुक्तिबारे लेख्ने तथा प्रगतिवादी कहलिएका पुरुष मित्रहरू महिलाको उन्नति हुन नसक्नुको मुख्य कारकका रूपमा शृङ्गार र सुनका गहना नै रहेको दर्शन छाँटेर थाक्दैनन् । यस्ता पुरुषहरू पनि ससुरालीबाट दाइजोमा पाएका गरगहनामा झिलिक्क परेर हिँड्न पाउँदा गौरवको अनुभव गर्छन् । एकछिनलाई मानिदिऔँ, लौ भैगो, गहना त लगाएर हिँड्न मिल्छ ! वरपक्षले कन्यापक्षबाट दक्षिणामा असर्फी अपेक्षा गर्नु अति हास्यास्पद, विद्रूप एवं लज्जाजनक स्थिति हो भनी बुझ्न हामीलाई अझै कति समय लाग्छ ? यस्तो प्रवृत्तिमा रमाउनेहरूमा आफूलाई शिक्षित, बौद्धिक एवं चेतनशील भनाउन रुचि राख्ने एवं तथाकथित जनवादी एवं प्रगतिवादी राजनीति गर्ने क्रान्तिकारीहरू नै धेरै देखिन्छन् । अझ परम्परागत प्रचलनको सम्मान गरेको हवाला दिने मित्रहरूले ससुरा बाको हाड घोटेर निर्मित सुनका गहना टल्काउँदै महिलाको अधोगतिको कारकका रूपमा रहेको सुनको विरोधमा भाषण गर्नुजस्तो विडम्बना यस धरतीमा अर्को के हुनसक्छ ? यदि महिला मुक्तिकै लागि सुनको विरोध गरिएको भए प्रगतिशील नेताहरू सुनका गहनामा ठाँटिँदैन थिए होलान् ।


उपर्युक्त सन्दर्भहरू महिला मुक्तिका लागि नभएर प्रगतिशील देखिने लहडमा पुरुष निर्मित भाष्य हुन् । अझै पनि महिलालाई र विशेषगरी बुहारीलाई मानवका रूपमा गणना नगर्ने घरपरिवारको सङ्ख्या अगणनीय छ । अर्कातर्फ बुहारीलाई सुनको फुल पार्ने कुखुरीका रूपमा हेर्ने प्रेतले पनि हाम्रो मानसिकतामा डेरा जमाइरहेको छ । यसभन्दा पनि विद्रूप स्थिति राजनीतिक क्षेत्रमा व्याप्त छ । अहिले भनिएका महिला समानताका नाराहरू पनि देखावटीका लागिमात्र भएको तथ्य कसैबाट छिपेको छैन । संविधानले निर्दिष्ट गरेको महिला समानताका सन्दर्भहरूलाई समेत पुरुष सत्ताले ललकार्दै नग्न नृत्य देखाइरहेको यथार्थ पनि सर्वविदितै छ । चुनावी घोषणापत्रमा उल्लेख गरिएका महिला हकहित सम्बन्धी नाराको त कुरा गरिसाध्य छैन भने अरू अमूर्त सन्दर्भका स्थितिहरू सम्हालिनसक्नु बग्रेल्ती छन् ।


युगौँदेखि महिलालाई अन्धकारमा राखी आफू ठालु पल्टेर मानवीय दृष्टिले कलङ्कित देखिने अनेक प्रकारका सुविधालाई पुरुषले अनेक कुतर्क गरी सजिलै छोड्न चाहिरहेको छैन । यसका लागि महिला नै अग्रसर हुनुपर्ने देखिन्छ । यसका लागि अहिलेका शिक्षित एवं चेतनशील छोरीहरूको सशक्त अभियानको खाँचो छ । परम्परागत प्रचलनलाई त्याग्दै जानुपर्ने अवस्थामा अहिले आधुनिक एवं सभ्य देखिने होड गर्दै हामीले कतिपय महिला विरोधी, मानवता विरोधी विकृतिहरू आत्मसात गर्दैछौँ, अनि महिलालाई पुर्ने नयाँ–नयाँ खाडल सिर्जना गरिरहेका छौँ ।


यसरी बिहे नामका परम्परागत रूढीयुक्त प्रचलनहरू त्याग्नका लागि सक्रिय भूमिका खेल्नसक्ने चेतनशील एवं शिक्षित युवतीहरूले आधुनिक हुने नाममा आफूलाई नयाँ खाडलतिर जाक्दै अर्को विद्रूप स्थितिको सिर्जना गरिएको बारे अत्यन्त गम्भीर हुन जरुरी भइसकेको छ । यसबाट हाम्रो महिला मुक्तिको चेतना कुँजो एवं पुरुष भाष्य भएको सहजै अनुमान लगाउन सकिन्छ । यस्ता खाडलहरू पुर्दै सभ्य एवं समतामूलक समाजको सिर्जना गर्ने जिम्मेवारी समयले अब नयाँ पुस्ताको जिम्मामा छोडिदिएको छ । प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२१

प्रतिक्रिया
पठाउनुहोस्

दुई शब्दसित डराएको देश

दुर्गा कार्की

अघिल्लो शनिबार कान्तिपुर कन्क्लेभमा ‘नेपालको मी टू किन अघि बढ्न सकेन ?’ भन्ने सत्रमा छलफल भइरहँदा हलिउडका ‘फिल्म मोगल’ भनेर चिनिने हार्वी वाइन्स्टिन विरुद्धको बलात्कार मुद्दाको अभियोजनतर्फको दुई हप्ताभन्दा लामो सुनुवाइ भर्खरै सकिएको थियो ।

६ जना महिलाले वाइन्स्टिनले फिल्ममा भूमिका र जागिरको पासो थापेर आफूमाथि गरेको यौन दुर्व्यवहारदेखि बलात्कारसम्मका निकै विस्तृत र ‘भावनात्मक’ बयान दिइरहँदा जुरीसहित पूरै अदालत स्तब्ध भएको थियो । त्योभन्दा बढी स्तब्ध भएकी थिइन्, अभिनेत्री जेसिका म्यान, जब वाइन्स्टिनका वकिलले ‘आफ्नो स्वार्थको लागि वाइन्स्टिनलाई प्रयोग गरेको’ भनेर उल्टै उनलाई आरोप लगाएका थिए ।

सन् २०१७ मा ‘न्युयोर्क टाइम्स’ र ‘न्युयोर्कर’ ले हलिउड फिल्म निर्माता वाइन्स्टिनलाई यौन हिंसाको आरोप लगाएका महिलाको विस्तृत भनाइसहित समाचार सार्वजनिक गरेसँगै सिङ्गो अमेरिका तरङ्गित भयो । त्यसको केही दिनमा वाइन्स्टिनलाई आरोप लगाउने मध्येकी एक अभिनेत्री अलिसा मिलानोले ट्विटरमा लेखिन्, ‘यदि यौनहिंसा वा दुर्व्यवहारमा परेका सबै महिलाले सामाजिक सञ्जालमा मी टू अर्थात् ‘म पनि’ लेख्ने हो भने हामीले मानिसलाई यो समस्या कति ठूलो छ भन्ने कुराको छनक दिन सक्थ्यौँ होला ।’

मिलानोको यो ट्विट रातारात विभिन्न भाषा र स्वरूपमा ८५ देशमा पुग्यो । धेरै महिलाले यौनहिंसा र दुर्व्यवहारका दर्दनाक कथाहरू मी टू ह्यासट्यागको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत पोखे । इजिप्ट, मेक्सिको, फ्रान्स, स्पेन, इटाली, दक्षिण अफ्रिका, चीन, जापान आदि देशमा मी टूको आआफ्नै किसिमको प्रभाव पर्‍यो । नेपालमा भने यो अभियान सन् २०१८ मा छिमेकी देश भारतमा आएको मी टूको आँधीले उडाएको धुलोजसरी आयो । त्यसपछि बेलाबेला चल्ने सिरसिरे बतासजस्तो भएको छ । यसो किन भइरहेको छ, नेपाली समाजको मी टूप्रतिको मौनता र प्रतिकार केको प्रतीक हो र यसलाई कसरी बग्ने बाटो दिन सकिन्छ भन्नेबारे यहाँनेर केही खोतल्न खोजिएको छ । यो लेख कान्तिपुर कन्क्लेभमा भएको मी टू बारेको छलफललाई निरन्तरता दिने र यसमा थप आवाजहरूको खोजी गर्ने प्रयास हो ।

रश्मिला प्रजापतिले प्रदेश नम्बर ३ का पूर्वमन्त्री र काठमाडौँ महानगरपालिकाका भूतपूर्व मेयर केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएसँगै सुरु भएको नेपालको मी टू त्रिभुवन विश्वविद्यालय, ललितपुर माध्यमिक विद्यालय हुँदै नेपाली रङ्गमञ्चमा पुगेर अहिले विश्रामको स्थितिमा छ । यस बीचमा नाम नकिटेरै धेरै नेपाली महिलाले आफूले भोगेको यौन दुर्व्यवहार र हिंसाको सिलसिलालाई नेपाली समाजका अगाडि छरपष्ट राखिदिने हिम्मत गरे । यी महिलाको भोगाइप्रति नेपाली समाजले ‘सेलेक्टिभ सहानुभूति’ देखायो । यस पछाडिको कारण थियो, नाम नकिटेरै लेखमा दिइएको पीडकको हुलिया ।

हरेकपटक जबजब कुनै सञ्चार माध्यममा मी टूबारे खबर आउँछ, देश डराउँछ, थर्थराउँछ । जसका बारेमा खबर आउँछ, ती र तिनका आफन्तजन बाहेक मी टूदेखि काँप्नेहरू सामान्यतः दुईथरी हुन्छन् । एक, निकै ठूलो संख्यामा पुरुषहरू, जसले विगतमा मी टूको घेराभित्र पर्ने काम गरेका छन् । यिनीहरू पनि दुईखाले छन्, एकखाले जो महिलालाई ‘माल’ ठान्छन् र त्यसको उपभोग गर्न पाउनु पुरुष हुनुको नैसर्गिक अधिकार ठान्छन् । अर्काखाले, जो तुलनात्मक रूपमा थोरै होलान्, तर उनीहरूले समयक्रममा भोगाइ, बुझाइ र सिकाइबाट त्यसलाई गलत ठानेर आफूलाई सुधारेका छन् ।

दोस्रो, ती व्यक्तिहरू जो आफू ओभानै छन्, तर जुनसुकै बेला पनि मी टूमा तानिन सक्ने प्रशस्त वा केही मानिसहरूसित नजिकको व्यक्तिगत वा व्यावसायिक सम्बन्ध राख्छन् । यिनीहरूलाई साथीको नाम न्युज हेडलाइन बन्लाभन्दा पनि बनिहाल्यो भने आफूले कसरी प्रतिक्रिया जनाउने भन्ने विलखबन्दीको स्थिति सम्झेरै डर लाग्छ ।

नेपालको साँघुरो सार्वजनिक वृत्त यिनै व्यक्तिहरू मिलेर बनेको छ, जहाँ अधिकांश पुरुषको वर्चस्व छ । साँघुरो वृत्त भएका कारण यी धेरै मानिस एकअर्काका राम्रादेखि थुप्रै नराम्रा व्यवहारसित विस्तृतमा परिचित छन् । तर उनीहरू विरुद्ध बोल्नेबारे चाहिँ चिताउँदैनन् । किनकि धेरैलाई लाग्छ, यो एक लहरो हो, जसले एकदिन उनीहरू आफैँलाई पनि तान्छ । जसले विगतमा जानी–नजानी सानोतिनो गल्ती गरेका छन्, तर अहिले छोडिसकेका छन्, उनीहरू पनि बोल्न डराउँछन् । किनकि बाहिर चोखो देखिन ढोङ रचेको भनेर पीडितले आफ्नै नाम काड्लान् कि भन्ने डरले बेलाबेला उनीहरूलाई पनि गाँज्छ ।

नेपालमा मी टूका घटनाहरूले पाउनुपर्ने जति चर्चा नपाउनु, पीडकहरूमाथि कुनै खास कारबाही नहुनु र मी टूका सम्बन्धमा बहस र संवाद अघि बढ्न नसक्नुको मुख्य कारण नै सार्वजनिक वृत्तको ठूलो हिस्सा ओगटेका व्यक्तिहरू आफैँ मी टूदेखि डराउनु हो । समाजबाट साथ पाउनुको सट्टा आफ्नै गल्ती देखाउन खोजिनु र पीडकहरू उस्तै इज्जतसाथ खुलेआम घुम्न पाउनुले घटना सार्वजनिक गरेर बाहिर आएका पीडितहरू त थप बोल्नसकेका छैनन् नै, बाहिर नआएका पीडितहरूको पनि हौसला मरेको छ । संरक्षण (पेट्रोनेजको अर्थमा) को संस्कृति गहिरो भएको हाम्रोजस्तो समाजमा महिलाका नाममा संविधान वा ऐनमा जेजति अधिकार सुनिश्चित भए पनि अन्ततोगत्वा उनीहरूले पाउने भनेको ‘दिइएको’ अधिकारमात्र हो । चुवानमा टिकट, राजनीतिक नियुक्ति, फिल्ममा भूमिका वा गीत–सङ्गीत, संस्थामा जागिर वा प्रमोसन, शैक्षिक संस्थानमा छात्रवृत्तिदेखि अवसरसम्म शक्तिको उपभोग गरिरहेका पुरुषहरूले महिलालाई मनलागे जतिमात्र ‘दिने’ गरेको तथ्य नौलो होइन ।

यस्तोमा आफ्नो अगाडिको करियर, भविष्य, अनि आफ्नो र परिवारको ‘इज्जत’ जोखिममा पारेर सार्वजनिक रूपमा बाहिर आउनु हाम्रोजस्तो पीडितलाई नै दोषी देख्ने सामाजिक संरचनामा सजिलो कुरा कदापि होइन । पछिल्लो समयमा महिलाहरूमा नाम नतोकेरै हिंसाको आफ्नो कथामात्र भन्ने परिपाटी यसकै सूचक हो । अन्य मानिसहरू पीडकको पक्षमा उभिने, सार्वजनिक रूपमै उसको प्रतिरक्षा गर्ने र उसलाई सामाजिक बहिष्कार गर्न नचाहने प्रवृत्तिका पछाडि पनि धेरै हदसम्म पेट्रोनेजको संस्कृतिले काम गरेको छ । पीडकबाट आफूले पाइरहेको सुविधा वा विगतमा पीडकले आफूमाथि लगाएको ‘गुन’ वा पीडकमाथिको ‘नुनको सोझो’ गर्नुपर्ने हुँदा नेपाली समाज पीडित सत्य बोलिरहेकी छन् र पीडकले गल्ती गरेकै हो भन्ने जान्दा–जान्दै पनि पीडकको साथ दिन बाध्य छ । जबसम्म हामीले यो यथार्थलाई आत्मसात् गर्न सक्दैनौँ, पीडकको पक्षमा उभिनेहरूमाथि एकोहोरो दोषमात्र लगाउनुले समस्या समाधानमा सहयोग गर्दैन ।

त्यसैले पनि मी टूलाई बृहत् बहसको एउटा पाटोको रूपमा हेर्न असाध्यै जरुरी छ । मी टूलाई नेपाली समाजले जुन तरिकाले लियो (वा लिएन), त्यसले प्रस्ट पार्छ, हाम्रो समाज अझै पनि यौनहिंसा र दुर्व्यवहारका घटनालाई अपराधको रूपमा हेर्न तयार छैन । तर मी टूका पीडितहरूले आफ्ना कथा–व्यथामार्फत चिच्याई–चिच्याई भनिरहेको नै हामीमाथि भएको हिंसाको सामान्यीकरण अब मान्य छैन भन्ने हो । हाम्रा मुद्दालाई गम्भीरतापूर्वक लेऊ भन्ने हो । हामीमाथि भएको यौनजन्य हिंसा शारीरिक पीडामा मात्र सीमित छैन, यसले हाम्रो आत्मसम्मान, आत्मविश्वास र सम्पूर्ण जीवनमा पुर्‍याएको क्षति शारीरिक चोटभन्दा कैयौँ गुणा बेसी छ भन्ने हो ।

मी टूका व्यक्तिगत घटनालाई हामीले समाजका अन्य बृहत् समस्याबारे छलफल गर्ने औजारका रूपमा लिनुपर्थ्यो । तर, एक त नेपाली समाजले यी व्यक्तिगत घटनाहरूलाई उति महत्त्व दिनै उचित ठानेन र जुन तप्काले महत्त्व दियो, त्यसले पनि व्यक्तिगत घटनाभन्दा अगाडि गएर मी टूले देखाइदिएका अरू समस्याहरूबारे छलफललाई अगाडि बढाउन जरुरी देखेन । नेपालमा मी टूले खासै प्रभाव पार्न सकेन भन्ने कुरा धेरै हदसम्म साँचो हो । तर मलाई लाग्छ, यो बुझाइ वा हेराइ मी टूका सन्दर्भमा हामी घटनाप्रेरित बेसी भएर विकसित भएको हो । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छन्, मी टूको सफलता यसले कतिजना शक्तिशाली मान्छेलाई सडकमा ल्यायो भन्नेमा होइन, यसले यौन हिंसामुक्त समाज निर्माण गर्न कस्तो भूमिका खेल्यो भन्नेमा नापिन्छ ।

नेपालमा मी टूले उल्लेखनीय सफलता हासिल गर्न सकेन भन्ने हाम्रो बुझाइको निर्माण पछाडिका मुख्य कारण हुन्, हामीले मी टूलाई शक्तिशाली पीडकहरू सार्वजनिक गर्ने प्रक्रियाको रूपमा मात्र हेर्नु र नाम लिइएका व्यक्तिलाई कुनै खास सजाय नहुनु । यो साँचो पनि हो । तर जेजति घटना बाहिर आएका छन्, तिनले के भन्छन् भने नेपालमा हरेक क्षेत्रमा यौनहिंसा र दुर्व्यवहार हिजो पनि छ्यापछ्याप्ती थियो र आज पनि छ । त्यसमा पनि दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायका महिला यस्ता हिंसाको सिकार बढ्ता हुने गरेका छन् । पढेलेखेका र ‘माथिल्लो’ जात तथा समुदायका महिलालाई यसबारे मुख फोर्न संरक्षणको संस्कृतिले जति रोकेको छ, यी समुदायका महिलालाई आर्थिक परनिर्भरता, संरचनागत शक्तिविहीनता, राज्यका निकायहरूसँगको पहुँच र विश्वासको अभाव आदिले झन् धेरै मुख थुनेको छ ।

यसको मतलब यो होइन, उनीहरूलाई चिच्याउन मन छैन । दुनियाँले सुन्नेगरी आफ्नो मनभित्र जमेर बसेको बह पोख्न मन छैन । न्यायको भोक छैन वा आफ्नो आघात आत्मसम्मानलाई फेरि ब्युँताउन मन छैन । बोल्ने हिम्मत जुटाउने दुई–चार महिला बाहेक लाखौँ त्यस्ता महिलासम्म मी टूको समानुभूति कसरी पुर्‍याउने ? कसरी यसलाई यौन हिंसामुक्त समाज निर्माण गर्नेतर्फ सामाजिक अभियानको रूप दिने ? अबको मी टू बहस त्यतातिर मोडिन आवश्यक छ ।
मी टू ह्यासट्याग लोकप्रिय भएदेखि यो धेरै देशमा धेरैथरी स्वरूप र आकारमा पुग्यो । दक्षिण अफ्रिकाजस्ता देशमा यसले त्यहाँका महिलाहरूलाई त्यहाँ व्याप्त रहेको फेमिसाइड (महिला भएकै कारण गरिने महिलाको हत्या) तथा बलात्कार आदिका विरुद्ध आवाज उठाउन प्रेरित गर्‍यो । जापानका महिलाहरूले मी टूलाई यौनजन्य हिंसाबाट पीडित महिलाहरूले समानुभूतिका माध्यमबाट एकअर्कालाई नयाँ जीवन खोज्न सहयोग गर्ने काममा वीटू (हामी पनि) का रूपमा उपयोग गरे ।

चाहने हो भने नेपालमा पनि यसलाई आफ्नै रूप र बृहत् पहिचान दिन सकिन्छ । केही पीडकले उन्मुक्ति पाए भन्दैमा मी टू सेलाउनुपर्छ वा पीडित तथा यो मुद्दाको लागि आवाज उठाउनेहरू हतोत्साही हुनुपर्छ भन्ने छैन । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छिन्, मी टू कुनै पल होइन, यो त अभियान हो । मी टूलाई क्षणमात्रको रूपमा नलिने बित्तिकै मी टूका सम्बन्धमा रोकिएको कुराकानी अगाडि बढ्छ । हरेक साना–ठूला मी टूका आरोप वा कथाहरूको अन्तिम उद्देश्य यी कथाहरू फेरि नदोहोरिउन् भन्ने नै हो । मी टू ह्यासट्याग सुरु गर्ने अमेरिकी अभिनेत्री अलिसा मिलानोले आफ्नी छोरीको लागि बनाएको भिडियोमा भनेकी छन्, आफ्नो जीवनकालमा तिमीले कहिल्यै मी टू भन्नु नपरोस् । वास्तवमा हरेक मी टू सर्भाइभर वा मी टूका पक्षमा आवाज उठाइरहेका व्यक्तिहरूको अन्तिम इच्छा यौन हिंसारहित समाजको निर्माण हो । वा कमसेकम पनि त्यस्तो समाजको निर्माणमा बहस र प्रयासको थालनी हो । यसको लागि पहिलो पूर्वसर्त भनेको अहिले मी टूका सन्दर्भमा भइरहेको कुराकानी अत्यन्तै अपर्याप्त छ भनेर आत्मसात् गर्नु हो ।

मी टू आफैँमा समाधान होइन, तर यो यौन हिंसामुक्त समाज निर्माणको एउटा निकै बलियो अस्त्रचाहिँ हो । हामीले यसलाई यौन हिंसाका सम्बन्धमा समाजलाई संवेदनशील बनाउन थप छलफल र कुराकानी गर्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ । हाम्रा परिवार तथा शैक्षिक संस्थाहरूमा यौन, सहमति र आनन्दजस्ता विषयमा खुला र सहज छलफलको सुरुवात गर्ने अवसरका रूपमा यसलाई लिइनुपर्छ । आफ्ना प्रिय मान्छेहरू पनि कतै हिंसाको सिकार पो भएका थिए कि भनेर खोतल्न, उनीहरूलाई सुन्न र विश्वास गर्न समयले जुराइदिएको अवसरको रूपमा यसलाई उपयोग गरिनुपर्छ ।

सामाजिक प्रतिष्ठा र शक्तिको नकावभित्रबाट आफूभन्दा कमजोरलाई शोषण गर्न पल्किएका मानिसहरूको गुन र नुनको सोझो गर्दागर्दै कतै आफ्ना नानीहरूको आँखामा सोझो हेरेर बात गर्न नसक्ने त भइरहेका छैनौं भनेर आफैँलाई सोध्नुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, जबसम्म नेपाली समाज यी संवाद सुरु गर्न तयार हुँदैन, यौनहिंसा र दुर्व्यवहार कति गम्भीर अपराध हो भनेर बुझाउन दुराचारीहरूलाई सबैका अगाडि औँलो ठड्याउन कुनै पनि हालतमा छोड्नु हुँदैन ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×