कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई शब्दसित डराएको देश

दुर्गा कार्की

अघिल्लो शनिबार कान्तिपुर कन्क्लेभमा ‘नेपालको मी टू किन अघि बढ्न सकेन ?’ भन्ने सत्रमा छलफल भइरहँदा हलिउडका ‘फिल्म मोगल’ भनेर चिनिने हार्वी वाइन्स्टिन विरुद्धको बलात्कार मुद्दाको अभियोजनतर्फको दुई हप्ताभन्दा लामो सुनुवाइ भर्खरै सकिएको थियो ।

दुई शब्दसित डराएको देश

६ जना महिलाले वाइन्स्टिनले फिल्ममा भूमिका र जागिरको पासो थापेर आफूमाथि गरेको यौन दुर्व्यवहारदेखि बलात्कारसम्मका निकै विस्तृत र ‘भावनात्मक’ बयान दिइरहँदा जुरीसहित पूरै अदालत स्तब्ध भएको थियो । त्योभन्दा बढी स्तब्ध भएकी थिइन्, अभिनेत्री जेसिका म्यान, जब वाइन्स्टिनका वकिलले ‘आफ्नो स्वार्थको लागि वाइन्स्टिनलाई प्रयोग गरेको’ भनेर उल्टै उनलाई आरोप लगाएका थिए ।

सन् २०१७ मा ‘न्युयोर्क टाइम्स’ र ‘न्युयोर्कर’ ले हलिउड फिल्म निर्माता वाइन्स्टिनलाई यौन हिंसाको आरोप लगाएका महिलाको विस्तृत भनाइसहित समाचार सार्वजनिक गरेसँगै सिङ्गो अमेरिका तरङ्गित भयो । त्यसको केही दिनमा वाइन्स्टिनलाई आरोप लगाउने मध्येकी एक अभिनेत्री अलिसा मिलानोले ट्विटरमा लेखिन्, ‘यदि यौनहिंसा वा दुर्व्यवहारमा परेका सबै महिलाले सामाजिक सञ्जालमा मी टू अर्थात् ‘म पनि’ लेख्ने हो भने हामीले मानिसलाई यो समस्या कति ठूलो छ भन्ने कुराको छनक दिन सक्थ्यौँ होला ।’


मिलानोको यो ट्विट रातारात विभिन्न भाषा र स्वरूपमा ८५ देशमा पुग्यो । धेरै महिलाले यौनहिंसा र दुर्व्यवहारका दर्दनाक कथाहरू मी टू ह्यासट्यागको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत पोखे । इजिप्ट, मेक्सिको, फ्रान्स, स्पेन, इटाली, दक्षिण अफ्रिका, चीन, जापान आदि देशमा मी टूको आआफ्नै किसिमको प्रभाव पर्‍यो । नेपालमा भने यो अभियान सन् २०१८ मा छिमेकी देश भारतमा आएको मी टूको आँधीले उडाएको धुलोजसरी आयो । त्यसपछि बेलाबेला चल्ने सिरसिरे बतासजस्तो भएको छ । यसो किन भइरहेको छ, नेपाली समाजको मी टूप्रतिको मौनता र प्रतिकार केको प्रतीक हो र यसलाई कसरी बग्ने बाटो दिन सकिन्छ भन्नेबारे यहाँनेर केही खोतल्न खोजिएको छ । यो लेख कान्तिपुर कन्क्लेभमा भएको मी टू बारेको छलफललाई निरन्तरता दिने र यसमा थप आवाजहरूको खोजी गर्ने प्रयास हो ।


रश्मिला प्रजापतिले प्रदेश नम्बर ३ का पूर्वमन्त्री र काठमाडौँ महानगरपालिकाका भूतपूर्व मेयर केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएसँगै सुरु भएको नेपालको मी टू त्रिभुवन विश्वविद्यालय, ललितपुर माध्यमिक विद्यालय हुँदै नेपाली रङ्गमञ्चमा पुगेर अहिले विश्रामको स्थितिमा छ । यस बीचमा नाम नकिटेरै धेरै नेपाली महिलाले आफूले भोगेको यौन दुर्व्यवहार र हिंसाको सिलसिलालाई नेपाली समाजका अगाडि छरपष्ट राखिदिने हिम्मत गरे । यी महिलाको भोगाइप्रति नेपाली समाजले ‘सेलेक्टिभ सहानुभूति’ देखायो । यस पछाडिको कारण थियो, नाम नकिटेरै लेखमा दिइएको पीडकको हुलिया ।


हरेकपटक जबजब कुनै सञ्चार माध्यममा मी टूबारे खबर आउँछ, देश डराउँछ, थर्थराउँछ । जसका बारेमा खबर आउँछ, ती र तिनका आफन्तजन बाहेक मी टूदेखि काँप्नेहरू सामान्यतः दुईथरी हुन्छन् । एक, निकै ठूलो संख्यामा पुरुषहरू, जसले विगतमा मी टूको घेराभित्र पर्ने काम गरेका छन् । यिनीहरू पनि दुईखाले छन्, एकखाले जो महिलालाई ‘माल’ ठान्छन् र त्यसको उपभोग गर्न पाउनु पुरुष हुनुको नैसर्गिक अधिकार ठान्छन् । अर्काखाले, जो तुलनात्मक रूपमा थोरै होलान्, तर उनीहरूले समयक्रममा भोगाइ, बुझाइ र सिकाइबाट त्यसलाई गलत ठानेर आफूलाई सुधारेका छन् ।


दोस्रो, ती व्यक्तिहरू जो आफू ओभानै छन्, तर जुनसुकै बेला पनि मी टूमा तानिन सक्ने प्रशस्त वा केही मानिसहरूसित नजिकको व्यक्तिगत वा व्यावसायिक सम्बन्ध राख्छन् । यिनीहरूलाई साथीको नाम न्युज हेडलाइन बन्लाभन्दा पनि बनिहाल्यो भने आफूले कसरी प्रतिक्रिया जनाउने भन्ने विलखबन्दीको स्थिति सम्झेरै डर लाग्छ ।


नेपालको साँघुरो सार्वजनिक वृत्त यिनै व्यक्तिहरू मिलेर बनेको छ, जहाँ अधिकांश पुरुषको वर्चस्व छ । साँघुरो वृत्त भएका कारण यी धेरै मानिस एकअर्काका राम्रादेखि थुप्रै नराम्रा व्यवहारसित विस्तृतमा परिचित छन् । तर उनीहरू विरुद्ध बोल्नेबारे चाहिँ चिताउँदैनन् । किनकि धेरैलाई लाग्छ, यो एक लहरो हो, जसले एकदिन उनीहरू आफैँलाई पनि तान्छ । जसले विगतमा जानी–नजानी सानोतिनो गल्ती गरेका छन्, तर अहिले छोडिसकेका छन्, उनीहरू पनि बोल्न डराउँछन् । किनकि बाहिर चोखो देखिन ढोङ रचेको भनेर पीडितले आफ्नै नाम काड्लान् कि भन्ने डरले बेलाबेला उनीहरूलाई पनि गाँज्छ ।


नेपालमा मी टूका घटनाहरूले पाउनुपर्ने जति चर्चा नपाउनु, पीडकहरूमाथि कुनै खास कारबाही नहुनु र मी टूका सम्बन्धमा बहस र संवाद अघि बढ्न नसक्नुको मुख्य कारण नै सार्वजनिक वृत्तको ठूलो हिस्सा ओगटेका व्यक्तिहरू आफैँ मी टूदेखि डराउनु हो । समाजबाट साथ पाउनुको सट्टा आफ्नै गल्ती देखाउन खोजिनु र पीडकहरू उस्तै इज्जतसाथ खुलेआम घुम्न पाउनुले घटना सार्वजनिक गरेर बाहिर आएका पीडितहरू त थप बोल्नसकेका छैनन् नै, बाहिर नआएका पीडितहरूको पनि हौसला मरेको छ । संरक्षण (पेट्रोनेजको अर्थमा) को संस्कृति गहिरो भएको हाम्रोजस्तो समाजमा महिलाका नाममा संविधान वा ऐनमा जेजति अधिकार सुनिश्चित भए पनि अन्ततोगत्वा उनीहरूले पाउने भनेको ‘दिइएको’ अधिकारमात्र हो । चुवानमा टिकट, राजनीतिक नियुक्ति, फिल्ममा भूमिका वा गीत–सङ्गीत, संस्थामा जागिर वा प्रमोसन, शैक्षिक संस्थानमा छात्रवृत्तिदेखि अवसरसम्म शक्तिको उपभोग गरिरहेका पुरुषहरूले महिलालाई मनलागे जतिमात्र ‘दिने’ गरेको तथ्य नौलो होइन ।


यस्तोमा आफ्नो अगाडिको करियर, भविष्य, अनि आफ्नो र परिवारको ‘इज्जत’ जोखिममा पारेर सार्वजनिक रूपमा बाहिर आउनु हाम्रोजस्तो पीडितलाई नै दोषी देख्ने सामाजिक संरचनामा सजिलो कुरा कदापि होइन । पछिल्लो समयमा महिलाहरूमा नाम नतोकेरै हिंसाको आफ्नो कथामात्र भन्ने परिपाटी यसकै सूचक हो । अन्य मानिसहरू पीडकको पक्षमा उभिने, सार्वजनिक रूपमै उसको प्रतिरक्षा गर्ने र उसलाई सामाजिक बहिष्कार गर्न नचाहने प्रवृत्तिका पछाडि पनि धेरै हदसम्म पेट्रोनेजको संस्कृतिले काम गरेको छ । पीडकबाट आफूले पाइरहेको सुविधा वा विगतमा पीडकले आफूमाथि लगाएको ‘गुन’ वा पीडकमाथिको ‘नुनको सोझो’ गर्नुपर्ने हुँदा नेपाली समाज पीडित सत्य बोलिरहेकी छन् र पीडकले गल्ती गरेकै हो भन्ने जान्दा–जान्दै पनि पीडकको साथ दिन बाध्य छ । जबसम्म हामीले यो यथार्थलाई आत्मसात् गर्न सक्दैनौँ, पीडकको पक्षमा उभिनेहरूमाथि एकोहोरो दोषमात्र लगाउनुले समस्या समाधानमा सहयोग गर्दैन ।


त्यसैले पनि मी टूलाई बृहत् बहसको एउटा पाटोको रूपमा हेर्न असाध्यै जरुरी छ । मी टूलाई नेपाली समाजले जुन तरिकाले लियो (वा लिएन), त्यसले प्रस्ट पार्छ, हाम्रो समाज अझै पनि यौनहिंसा र दुर्व्यवहारका घटनालाई अपराधको रूपमा हेर्न तयार छैन । तर मी टूका पीडितहरूले आफ्ना कथा–व्यथामार्फत चिच्याई–चिच्याई भनिरहेको नै हामीमाथि भएको हिंसाको सामान्यीकरण अब मान्य छैन भन्ने हो । हाम्रा मुद्दालाई गम्भीरतापूर्वक लेऊ भन्ने हो । हामीमाथि भएको यौनजन्य हिंसा शारीरिक पीडामा मात्र सीमित छैन, यसले हाम्रो आत्मसम्मान, आत्मविश्वास र सम्पूर्ण जीवनमा पुर्‍याएको क्षति शारीरिक चोटभन्दा कैयौँ गुणा बेसी छ भन्ने हो ।


मी टूका व्यक्तिगत घटनालाई हामीले समाजका अन्य बृहत् समस्याबारे छलफल गर्ने औजारका रूपमा लिनुपर्थ्यो । तर, एक त नेपाली समाजले यी व्यक्तिगत घटनाहरूलाई उति महत्त्व दिनै उचित ठानेन र जुन तप्काले महत्त्व दियो, त्यसले पनि व्यक्तिगत घटनाभन्दा अगाडि गएर मी टूले देखाइदिएका अरू समस्याहरूबारे छलफललाई अगाडि बढाउन जरुरी देखेन । नेपालमा मी टूले खासै प्रभाव पार्न सकेन भन्ने कुरा धेरै हदसम्म साँचो हो । तर मलाई लाग्छ, यो बुझाइ वा हेराइ मी टूका सन्दर्भमा हामी घटनाप्रेरित बेसी भएर विकसित भएको हो । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छन्, मी टूको सफलता यसले कतिजना शक्तिशाली मान्छेलाई सडकमा ल्यायो भन्नेमा होइन, यसले यौन हिंसामुक्त समाज निर्माण गर्न कस्तो भूमिका खेल्यो भन्नेमा नापिन्छ ।

नेपालमा मी टूले उल्लेखनीय सफलता हासिल गर्न सकेन भन्ने हाम्रो बुझाइको निर्माण पछाडिका मुख्य कारण हुन्, हामीले मी टूलाई शक्तिशाली पीडकहरू सार्वजनिक गर्ने प्रक्रियाको रूपमा मात्र हेर्नु र नाम लिइएका व्यक्तिलाई कुनै खास सजाय नहुनु । यो साँचो पनि हो । तर जेजति घटना बाहिर आएका छन्, तिनले के भन्छन् भने नेपालमा हरेक क्षेत्रमा यौनहिंसा र दुर्व्यवहार हिजो पनि छ्यापछ्याप्ती थियो र आज पनि छ । त्यसमा पनि दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायका महिला यस्ता हिंसाको सिकार बढ्ता हुने गरेका छन् । पढेलेखेका र ‘माथिल्लो’ जात तथा समुदायका महिलालाई यसबारे मुख फोर्न संरक्षणको संस्कृतिले जति रोकेको छ, यी समुदायका महिलालाई आर्थिक परनिर्भरता, संरचनागत शक्तिविहीनता, राज्यका निकायहरूसँगको पहुँच र विश्वासको अभाव आदिले झन् धेरै मुख थुनेको छ ।


यसको मतलब यो होइन, उनीहरूलाई चिच्याउन मन छैन । दुनियाँले सुन्नेगरी आफ्नो मनभित्र जमेर बसेको बह पोख्न मन छैन । न्यायको भोक छैन वा आफ्नो आघात आत्मसम्मानलाई फेरि ब्युँताउन मन छैन । बोल्ने हिम्मत जुटाउने दुई–चार महिला बाहेक लाखौँ त्यस्ता महिलासम्म मी टूको समानुभूति कसरी पुर्‍याउने ? कसरी यसलाई यौन हिंसामुक्त समाज निर्माण गर्नेतर्फ सामाजिक अभियानको रूप दिने ? अबको मी टू बहस त्यतातिर मोडिन आवश्यक छ ।

मी टू ह्यासट्याग लोकप्रिय भएदेखि यो धेरै देशमा धेरैथरी स्वरूप र आकारमा पुग्यो । दक्षिण अफ्रिकाजस्ता देशमा यसले त्यहाँका महिलाहरूलाई त्यहाँ व्याप्त रहेको फेमिसाइड (महिला भएकै कारण गरिने महिलाको हत्या) तथा बलात्कार आदिका विरुद्ध आवाज उठाउन प्रेरित गर्‍यो । जापानका महिलाहरूले मी टूलाई यौनजन्य हिंसाबाट पीडित महिलाहरूले समानुभूतिका माध्यमबाट एकअर्कालाई नयाँ जीवन खोज्न सहयोग गर्ने काममा वीटू (हामी पनि) का रूपमा उपयोग गरे ।


चाहने हो भने नेपालमा पनि यसलाई आफ्नै रूप र बृहत् पहिचान दिन सकिन्छ । केही पीडकले उन्मुक्ति पाए भन्दैमा मी टू सेलाउनुपर्छ वा पीडित तथा यो मुद्दाको लागि आवाज उठाउनेहरू हतोत्साही हुनुपर्छ भन्ने छैन । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छिन्, मी टू कुनै पल होइन, यो त अभियान हो । मी टूलाई क्षणमात्रको रूपमा नलिने बित्तिकै मी टूका सम्बन्धमा रोकिएको कुराकानी अगाडि बढ्छ । हरेक साना–ठूला मी टूका आरोप वा कथाहरूको अन्तिम उद्देश्य यी कथाहरू फेरि नदोहोरिउन् भन्ने नै हो । मी टू ह्यासट्याग सुरु गर्ने अमेरिकी अभिनेत्री अलिसा मिलानोले आफ्नी छोरीको लागि बनाएको भिडियोमा भनेकी छन्, आफ्नो जीवनकालमा तिमीले कहिल्यै मी टू भन्नु नपरोस् । वास्तवमा हरेक मी टू सर्भाइभर वा मी टूका पक्षमा आवाज उठाइरहेका व्यक्तिहरूको अन्तिम इच्छा यौन हिंसारहित समाजको निर्माण हो । वा कमसेकम पनि त्यस्तो समाजको निर्माणमा बहस र प्रयासको थालनी हो । यसको लागि पहिलो पूर्वसर्त भनेको अहिले मी टूका सन्दर्भमा भइरहेको कुराकानी अत्यन्तै अपर्याप्त छ भनेर आत्मसात् गर्नु हो ।


मी टू आफैँमा समाधान होइन, तर यो यौन हिंसामुक्त समाज निर्माणको एउटा निकै बलियो अस्त्रचाहिँ हो । हामीले यसलाई यौन हिंसाका सम्बन्धमा समाजलाई संवेदनशील बनाउन थप छलफल र कुराकानी गर्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ । हाम्रा परिवार तथा शैक्षिक संस्थाहरूमा यौन, सहमति र आनन्दजस्ता विषयमा खुला र सहज छलफलको सुरुवात गर्ने अवसरका रूपमा यसलाई लिइनुपर्छ । आफ्ना प्रिय मान्छेहरू पनि कतै हिंसाको सिकार पो भएका थिए कि भनेर खोतल्न, उनीहरूलाई सुन्न र विश्वास गर्न समयले जुराइदिएको अवसरको रूपमा यसलाई उपयोग गरिनुपर्छ ।

सामाजिक प्रतिष्ठा र शक्तिको नकावभित्रबाट आफूभन्दा कमजोरलाई शोषण गर्न पल्किएका मानिसहरूको गुन र नुनको सोझो गर्दागर्दै कतै आफ्ना नानीहरूको आँखामा सोझो हेरेर बात गर्न नसक्ने त भइरहेका छैनौं भनेर आफैँलाई सोध्नुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, जबसम्म नेपाली समाज यी संवाद सुरु गर्न तयार हुँदैन, यौनहिंसा र दुर्व्यवहार कति गम्भीर अपराध हो भनेर बुझाउन दुराचारीहरूलाई सबैका अगाडि औँलो ठड्याउन कुनै पनि हालतमा छोड्नु हुँदैन ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?