दुई शब्दसित डराएको देश

दुर्गा कार्की

अघिल्लो शनिबार कान्तिपुर कन्क्लेभमा ‘नेपालको मी टू किन अघि बढ्न सकेन ?’ भन्ने सत्रमा छलफल भइरहँदा हलिउडका ‘फिल्म मोगल’ भनेर चिनिने हार्वी वाइन्स्टिन विरुद्धको बलात्कार मुद्दाको अभियोजनतर्फको दुई हप्ताभन्दा लामो सुनुवाइ भर्खरै सकिएको थियो ।

६ जना महिलाले वाइन्स्टिनले फिल्ममा भूमिका र जागिरको पासो थापेर आफूमाथि गरेको यौन दुर्व्यवहारदेखि बलात्कारसम्मका निकै विस्तृत र ‘भावनात्मक’ बयान दिइरहँदा जुरीसहित पूरै अदालत स्तब्ध भएको थियो । त्योभन्दा बढी स्तब्ध भएकी थिइन्, अभिनेत्री जेसिका म्यान, जब वाइन्स्टिनका वकिलले ‘आफ्नो स्वार्थको लागि वाइन्स्टिनलाई प्रयोग गरेको’ भनेर उल्टै उनलाई आरोप लगाएका थिए ।


सन् २०१७ मा ‘न्युयोर्क टाइम्स’ र ‘न्युयोर्कर’ ले हलिउड फिल्म निर्माता वाइन्स्टिनलाई यौन हिंसाको आरोप लगाएका महिलाको विस्तृत भनाइसहित समाचार सार्वजनिक गरेसँगै सिङ्गो अमेरिका तरङ्गित भयो । त्यसको केही दिनमा वाइन्स्टिनलाई आरोप लगाउने मध्येकी एक अभिनेत्री अलिसा मिलानोले ट्विटरमा लेखिन्, ‘यदि यौनहिंसा वा दुर्व्यवहारमा परेका सबै महिलाले सामाजिक सञ्जालमा मी टू अर्थात् ‘म पनि’ लेख्ने हो भने हामीले मानिसलाई यो समस्या कति ठूलो छ भन्ने कुराको छनक दिन सक्थ्यौँ होला ।’


मिलानोको यो ट्विट रातारात विभिन्न भाषा र स्वरूपमा ८५ देशमा पुग्यो । धेरै महिलाले यौनहिंसा र दुर्व्यवहारका दर्दनाक कथाहरू मी टू ह्यासट्यागको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत पोखे । इजिप्ट, मेक्सिको, फ्रान्स, स्पेन, इटाली, दक्षिण अफ्रिका, चीन, जापान आदि देशमा मी टूको आआफ्नै किसिमको प्रभाव पर्‍यो । नेपालमा भने यो अभियान सन् २०१८ मा छिमेकी देश भारतमा आएको मी टूको आँधीले उडाएको धुलोजसरी आयो । त्यसपछि बेलाबेला चल्ने सिरसिरे बतासजस्तो भएको छ । यसो किन भइरहेको छ, नेपाली समाजको मी टूप्रतिको मौनता र प्रतिकार केको प्रतीक हो र यसलाई कसरी बग्ने बाटो दिन सकिन्छ भन्नेबारे यहाँनेर केही खोतल्न खोजिएको छ । यो लेख कान्तिपुर कन्क्लेभमा भएको मी टू बारेको छलफललाई निरन्तरता दिने र यसमा थप आवाजहरूको खोजी गर्ने प्रयास हो ।


रश्मिला प्रजापतिले प्रदेश नम्बर ३ का पूर्वमन्त्री र काठमाडौँ महानगरपालिकाका भूतपूर्व मेयर केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएसँगै सुरु भएको नेपालको मी टू त्रिभुवन विश्वविद्यालय, ललितपुर माध्यमिक विद्यालय हुँदै नेपाली रङ्गमञ्चमा पुगेर अहिले विश्रामको स्थितिमा छ । यस बीचमा नाम नकिटेरै धेरै नेपाली महिलाले आफूले भोगेको यौन दुर्व्यवहार र हिंसाको सिलसिलालाई नेपाली समाजका अगाडि छरपष्ट राखिदिने हिम्मत गरे । यी महिलाको भोगाइप्रति नेपाली समाजले ‘सेलेक्टिभ सहानुभूति’ देखायो । यस पछाडिको कारण थियो, नाम नकिटेरै लेखमा दिइएको पीडकको हुलिया ।


हरेकपटक जबजब कुनै सञ्चार माध्यममा मी टूबारे खबर आउँछ, देश डराउँछ, थर्थराउँछ । जसका बारेमा खबर आउँछ, ती र तिनका आफन्तजन बाहेक मी टूदेखि काँप्नेहरू सामान्यतः दुईथरी हुन्छन् । एक, निकै ठूलो संख्यामा पुरुषहरू, जसले विगतमा मी टूको घेराभित्र पर्ने काम गरेका छन् । यिनीहरू पनि दुईखाले छन्, एकखाले जो महिलालाई ‘माल’ ठान्छन् र त्यसको उपभोग गर्न पाउनु पुरुष हुनुको नैसर्गिक अधिकार ठान्छन् । अर्काखाले, जो तुलनात्मक रूपमा थोरै होलान्, तर उनीहरूले समयक्रममा भोगाइ, बुझाइ र सिकाइबाट त्यसलाई गलत ठानेर आफूलाई सुधारेका छन् ।


दोस्रो, ती व्यक्तिहरू जो आफू ओभानै छन्, तर जुनसुकै बेला पनि मी टूमा तानिन सक्ने प्रशस्त वा केही मानिसहरूसित नजिकको व्यक्तिगत वा व्यावसायिक सम्बन्ध राख्छन् । यिनीहरूलाई साथीको नाम न्युज हेडलाइन बन्लाभन्दा पनि बनिहाल्यो भने आफूले कसरी प्रतिक्रिया जनाउने भन्ने विलखबन्दीको स्थिति सम्झेरै डर लाग्छ ।


नेपालको साँघुरो सार्वजनिक वृत्त यिनै व्यक्तिहरू मिलेर बनेको छ, जहाँ अधिकांश पुरुषको वर्चस्व छ । साँघुरो वृत्त भएका कारण यी धेरै मानिस एकअर्काका राम्रादेखि थुप्रै नराम्रा व्यवहारसित विस्तृतमा परिचित छन् । तर उनीहरू विरुद्ध बोल्नेबारे चाहिँ चिताउँदैनन् । किनकि धेरैलाई लाग्छ, यो एक लहरो हो, जसले एकदिन उनीहरू आफैँलाई पनि तान्छ । जसले विगतमा जानी–नजानी सानोतिनो गल्ती गरेका छन्, तर अहिले छोडिसकेका छन्, उनीहरू पनि बोल्न डराउँछन् । किनकि बाहिर चोखो देखिन ढोङ रचेको भनेर पीडितले आफ्नै नाम काड्लान् कि भन्ने डरले बेलाबेला उनीहरूलाई पनि गाँज्छ ।


नेपालमा मी टूका घटनाहरूले पाउनुपर्ने जति चर्चा नपाउनु, पीडकहरूमाथि कुनै खास कारबाही नहुनु र मी टूका सम्बन्धमा बहस र संवाद अघि बढ्न नसक्नुको मुख्य कारण नै सार्वजनिक वृत्तको ठूलो हिस्सा ओगटेका व्यक्तिहरू आफैँ मी टूदेखि डराउनु हो । समाजबाट साथ पाउनुको सट्टा आफ्नै गल्ती देखाउन खोजिनु र पीडकहरू उस्तै इज्जतसाथ खुलेआम घुम्न पाउनुले घटना सार्वजनिक गरेर बाहिर आएका पीडितहरू त थप बोल्नसकेका छैनन् नै, बाहिर नआएका पीडितहरूको पनि हौसला मरेको छ । संरक्षण (पेट्रोनेजको अर्थमा) को संस्कृति गहिरो भएको हाम्रोजस्तो समाजमा महिलाका नाममा संविधान वा ऐनमा जेजति अधिकार सुनिश्चित भए पनि अन्ततोगत्वा उनीहरूले पाउने भनेको ‘दिइएको’ अधिकारमात्र हो । चुवानमा टिकट, राजनीतिक नियुक्ति, फिल्ममा भूमिका वा गीत–सङ्गीत, संस्थामा जागिर वा प्रमोसन, शैक्षिक संस्थानमा छात्रवृत्तिदेखि अवसरसम्म शक्तिको उपभोग गरिरहेका पुरुषहरूले महिलालाई मनलागे जतिमात्र ‘दिने’ गरेको तथ्य नौलो होइन ।


यस्तोमा आफ्नो अगाडिको करियर, भविष्य, अनि आफ्नो र परिवारको ‘इज्जत’ जोखिममा पारेर सार्वजनिक रूपमा बाहिर आउनु हाम्रोजस्तो पीडितलाई नै दोषी देख्ने सामाजिक संरचनामा सजिलो कुरा कदापि होइन । पछिल्लो समयमा महिलाहरूमा नाम नतोकेरै हिंसाको आफ्नो कथामात्र भन्ने परिपाटी यसकै सूचक हो । अन्य मानिसहरू पीडकको पक्षमा उभिने, सार्वजनिक रूपमै उसको प्रतिरक्षा गर्ने र उसलाई सामाजिक बहिष्कार गर्न नचाहने प्रवृत्तिका पछाडि पनि धेरै हदसम्म पेट्रोनेजको संस्कृतिले काम गरेको छ । पीडकबाट आफूले पाइरहेको सुविधा वा विगतमा पीडकले आफूमाथि लगाएको ‘गुन’ वा पीडकमाथिको ‘नुनको सोझो’ गर्नुपर्ने हुँदा नेपाली समाज पीडित सत्य बोलिरहेकी छन् र पीडकले गल्ती गरेकै हो भन्ने जान्दा–जान्दै पनि पीडकको साथ दिन बाध्य छ । जबसम्म हामीले यो यथार्थलाई आत्मसात् गर्न सक्दैनौँ, पीडकको पक्षमा उभिनेहरूमाथि एकोहोरो दोषमात्र लगाउनुले समस्या समाधानमा सहयोग गर्दैन ।


त्यसैले पनि मी टूलाई बृहत् बहसको एउटा पाटोको रूपमा हेर्न असाध्यै जरुरी छ । मी टूलाई नेपाली समाजले जुन तरिकाले लियो (वा लिएन), त्यसले प्रस्ट पार्छ, हाम्रो समाज अझै पनि यौनहिंसा र दुर्व्यवहारका घटनालाई अपराधको रूपमा हेर्न तयार छैन । तर मी टूका पीडितहरूले आफ्ना कथा–व्यथामार्फत चिच्याई–चिच्याई भनिरहेको नै हामीमाथि भएको हिंसाको सामान्यीकरण अब मान्य छैन भन्ने हो । हाम्रा मुद्दालाई गम्भीरतापूर्वक लेऊ भन्ने हो । हामीमाथि भएको यौनजन्य हिंसा शारीरिक पीडामा मात्र सीमित छैन, यसले हाम्रो आत्मसम्मान, आत्मविश्वास र सम्पूर्ण जीवनमा पुर्‍याएको क्षति शारीरिक चोटभन्दा कैयौँ गुणा बेसी छ भन्ने हो ।


मी टूका व्यक्तिगत घटनालाई हामीले समाजका अन्य बृहत् समस्याबारे छलफल गर्ने औजारका रूपमा लिनुपर्थ्यो । तर, एक त नेपाली समाजले यी व्यक्तिगत घटनाहरूलाई उति महत्त्व दिनै उचित ठानेन र जुन तप्काले महत्त्व दियो, त्यसले पनि व्यक्तिगत घटनाभन्दा अगाडि गएर मी टूले देखाइदिएका अरू समस्याहरूबारे छलफललाई अगाडि बढाउन जरुरी देखेन । नेपालमा मी टूले खासै प्रभाव पार्न सकेन भन्ने कुरा धेरै हदसम्म साँचो हो । तर मलाई लाग्छ, यो बुझाइ वा हेराइ मी टूका सन्दर्भमा हामी घटनाप्रेरित बेसी भएर विकसित भएको हो । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छन्, मी टूको सफलता यसले कतिजना शक्तिशाली मान्छेलाई सडकमा ल्यायो भन्नेमा होइन, यसले यौन हिंसामुक्त समाज निर्माण गर्न कस्तो भूमिका खेल्यो भन्नेमा नापिन्छ ।


नेपालमा मी टूले उल्लेखनीय सफलता हासिल गर्न सकेन भन्ने हाम्रो बुझाइको निर्माण पछाडिका मुख्य कारण हुन्, हामीले मी टूलाई शक्तिशाली पीडकहरू सार्वजनिक गर्ने प्रक्रियाको रूपमा मात्र हेर्नु र नाम लिइएका व्यक्तिलाई कुनै खास सजाय नहुनु । यो साँचो पनि हो । तर जेजति घटना बाहिर आएका छन्, तिनले के भन्छन् भने नेपालमा हरेक क्षेत्रमा यौनहिंसा र दुर्व्यवहार हिजो पनि छ्यापछ्याप्ती थियो र आज पनि छ । त्यसमा पनि दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायका महिला यस्ता हिंसाको सिकार बढ्ता हुने गरेका छन् । पढेलेखेका र ‘माथिल्लो’ जात तथा समुदायका महिलालाई यसबारे मुख फोर्न संरक्षणको संस्कृतिले जति रोकेको छ, यी समुदायका महिलालाई आर्थिक परनिर्भरता, संरचनागत शक्तिविहीनता, राज्यका निकायहरूसँगको पहुँच र विश्वासको अभाव आदिले झन् धेरै मुख थुनेको छ ।


यसको मतलब यो होइन, उनीहरूलाई चिच्याउन मन छैन । दुनियाँले सुन्नेगरी आफ्नो मनभित्र जमेर बसेको बह पोख्न मन छैन । न्यायको भोक छैन वा आफ्नो आघात आत्मसम्मानलाई फेरि ब्युँताउन मन छैन । बोल्ने हिम्मत जुटाउने दुई–चार महिला बाहेक लाखौँ त्यस्ता महिलासम्म मी टूको समानुभूति कसरी पुर्‍याउने ? कसरी यसलाई यौन हिंसामुक्त समाज निर्माण गर्नेतर्फ सामाजिक अभियानको रूप दिने ? अबको मी टू बहस त्यतातिर मोडिन आवश्यक छ ।

मी टू ह्यासट्याग लोकप्रिय भएदेखि यो धेरै देशमा धेरैथरी स्वरूप र आकारमा पुग्यो । दक्षिण अफ्रिकाजस्ता देशमा यसले त्यहाँका महिलाहरूलाई त्यहाँ व्याप्त रहेको फेमिसाइड (महिला भएकै कारण गरिने महिलाको हत्या) तथा बलात्कार आदिका विरुद्ध आवाज उठाउन प्रेरित गर्‍यो । जापानका महिलाहरूले मी टूलाई यौनजन्य हिंसाबाट पीडित महिलाहरूले समानुभूतिका माध्यमबाट एकअर्कालाई नयाँ जीवन खोज्न सहयोग गर्ने काममा वीटू (हामी पनि) का रूपमा उपयोग गरे ।


चाहने हो भने नेपालमा पनि यसलाई आफ्नै रूप र बृहत् पहिचान दिन सकिन्छ । केही पीडकले उन्मुक्ति पाए भन्दैमा मी टू सेलाउनुपर्छ वा पीडित तथा यो मुद्दाको लागि आवाज उठाउनेहरू हतोत्साही हुनुपर्छ भन्ने छैन । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छिन्, मी टू कुनै पल होइन, यो त अभियान हो । मी टूलाई क्षणमात्रको रूपमा नलिने बित्तिकै मी टूका सम्बन्धमा रोकिएको कुराकानी अगाडि बढ्छ । हरेक साना–ठूला मी टूका आरोप वा कथाहरूको अन्तिम उद्देश्य यी कथाहरू फेरि नदोहोरिउन् भन्ने नै हो । मी टू ह्यासट्याग सुरु गर्ने अमेरिकी अभिनेत्री अलिसा मिलानोले आफ्नी छोरीको लागि बनाएको भिडियोमा भनेकी छन्, आफ्नो जीवनकालमा तिमीले कहिल्यै मी टू भन्नु नपरोस् । वास्तवमा हरेक मी टू सर्भाइभर वा मी टूका पक्षमा आवाज उठाइरहेका व्यक्तिहरूको अन्तिम इच्छा यौन हिंसारहित समाजको निर्माण हो । वा कमसेकम पनि त्यस्तो समाजको निर्माणमा बहस र प्रयासको थालनी हो । यसको लागि पहिलो पूर्वसर्त भनेको अहिले मी टूका सन्दर्भमा भइरहेको कुराकानी अत्यन्तै अपर्याप्त छ भनेर आत्मसात् गर्नु हो ।


मी टू आफैँमा समाधान होइन, तर यो यौन हिंसामुक्त समाज निर्माणको एउटा निकै बलियो अस्त्रचाहिँ हो । हामीले यसलाई यौन हिंसाका सम्बन्धमा समाजलाई संवेदनशील बनाउन थप छलफल र कुराकानी गर्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ । हाम्रा परिवार तथा शैक्षिक संस्थाहरूमा यौन, सहमति र आनन्दजस्ता विषयमा खुला र सहज छलफलको सुरुवात गर्ने अवसरका रूपमा यसलाई लिइनुपर्छ । आफ्ना प्रिय मान्छेहरू पनि कतै हिंसाको सिकार पो भएका थिए कि भनेर खोतल्न, उनीहरूलाई सुन्न र विश्वास गर्न समयले जुराइदिएको अवसरको रूपमा यसलाई उपयोग गरिनुपर्छ ।


सामाजिक प्रतिष्ठा र शक्तिको नकावभित्रबाट आफूभन्दा कमजोरलाई शोषण गर्न पल्किएका मानिसहरूको गुन र नुनको सोझो गर्दागर्दै कतै आफ्ना नानीहरूको आँखामा सोझो हेरेर बात गर्न नसक्ने त भइरहेका छैनौं भनेर आफैँलाई सोध्नुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, जबसम्म नेपाली समाज यी संवाद सुरु गर्न तयार हुँदैन, यौनहिंसा र दुर्व्यवहार कति गम्भीर अपराध हो भनेर बुझाउन दुराचारीहरूलाई सबैका अगाडि औँलो ठड्याउन कुनै पनि हालतमा छोड्नु हुँदैन । प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२०

प्रतिक्रिया
पठाउनुहोस्

लोप नहोस् खरमुजुर

कृष्णप्रसाद भुसाल

चराहरूको विश्वयापी अध्ययन, अनुसन्धान र संरक्षणमा काम गर्ने छाता संस्था बर्डलाइफ इन्टरनेसनलले हालै सार्वजनिक गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा हरेक आठ प्रजातिका चरामध्ये एक प्रजाति संकटमा रहेको जनायो । यसो हुनुको मुख्य कारण बासस्थान नाश मानिएको छ । नेपालमा पनि बासस्थान विनाश नै चराहरूको लागि मुख्य खतरा हो ।

राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेका चराका १६८ प्रजातिमध्ये करिब ८६ प्रतिशत चराहरू बासस्थान विनाशले नै संकटापन्न अवस्थामा पुगेका हुन् । हालसम्म नेपालबाट आठ प्रजातिका चराहरू लोप भैसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चराहरू यहाँ पाइन्छन् ।

बासस्थानमा पनि सबैभन्दा बढी अतिक्रमण, खण्डीकरण, संकुचन र विनाश घाँसेमैदानको भइरहेको छ । फलत घाँसेमैदानमा मात्र पाइने विश्वमै दुर्लभ १३ र राष्ट्रिय रूपमा संकटापन्न २५ प्रजातिका चराहरूले संकट झेलिरहेका छन् । यिनै मध्येको एक हो, विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको खरमुजुर जसको आगामी दस वर्षभित्रै लोप हुने सम्भावना ५० प्रतिशत छ । हाल नेपालको तराई, उत्तरी भारत र दक्षिण–पर््वूी एसियाको कम्बोडियाका घाँसेमैदानमा मात्र पाइने खरमुजुर विश्वमा १ हजारभन्दा कम र नेपालमा ६५ देखि १ सयको हाराहारीमा मात्र रहेको अनुमान छ । नेपालमा संरक्षित क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घाँसेमैदानमा मात्र पाइने खरमुजुर बर्दिया राष्ट्रिय निकुञ्जमा देखिन छाडेको पनि धेरै भइसकेको छ । ऐतिहासिक कालमा पूर्वदेखि पश्चिम तराईभर फैलिएको यो लोपोन्मुख प्रजाति हाल आएर एकआपसमा छरिएर रहेका संरक्षित क्षेत्रभित्र मात्र सीमित भएको छ । घाँसेमैदान पर्यावरणको सूचक रूपमा हेरिने खरमुजुरको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरूको ह्रासलाई जनाउँछ ।

सन् २०१२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले स्याटेलाइट ट्यागिङ गरेर खरमुजुरको विस्तृत अध्ययन गरेको थियो । चराको भौगोलिक अवस्थिति र विचरणको जानकारी स्याटेलाइटमार्फत प्राप्त गरिन्थ्यो । ट्याग गरिएका खरमुजुरको अध्ययन गर्दा यी चराहरू करिब ८० किमि दूरीमा रहेका कम जनघनत्व र धेरै खेतीपाती नगरिएको क्षेत्रमा स्थानान्तरण हुने गरेको देखायो । धेरैजसो चराहरूले यस्ता स्थानमा वर्षको ६ महिनाभन्दा बढी समय बिताउने गरेको पाइएको थियो । तर यी चराहरूको आफ्नै एउटा मनपर्ने स्थान हुन्छ, तसर्थ टाढा कतै संरक्षित क्षेत्र बाहिर गए पनि प्रजनन समयको सुरुवात चैतसम्ममा हरेक वर्ष एउटै ठाउँमा फर्किएर आफ्नो विशिष्ट नाच ‘कला’ देखाउने गरेको पत्ता लाग्यो । यिनीहरूको प्रजनन अवधि चैतदेखि असारसम्म रहन्छ । यसै अनुसन्धानबाट खरमुजुर प्रजनन अवधि इतरका समयमा खासगरी पानी परेपछि संरक्षित क्षेत्रभित्रको घाँसहरू अग्लो–अग्लो हुने हुँदा संरक्षित क्षेत्र छाडेर जाँदारहेछन् भन्ने अनुमान लगाइयो । अध्ययनले के देखायो भने खरमुजुरको संरक्षण गर्न घाँसेमैदानको उचित व्यवस्थापन अत्यन्तै जरुरी छ । यसका साथै संरक्षित क्षेत्रबाहिर पनि निस्की मानव बस्तीतिर पनि स्थानान्तरण हुँने हुँदा मध्यवर्ती र समुदायसँग संरक्षणमा सहकार्य जरुरी छ ।

नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये एक खरमुजुर जोगाउन नेपाल सरकारले खरमुजुर संरक्षण कार्ययोजना (२०१६–२०२०) पनि लागू गरेको छ, जसको मुख्य उद्देश्य यसको अनुकूलित घाँसेमैदान व्यवस्थापन गर्ने छ । तर विडम्बना, तराईका संरक्षित क्षेत्र बाहिरका घाँसेमैदान हराइसकेका छन् भने संरक्षित क्षेत्रभित्रका घाँसेमैदान पनि तीव्र गतिमा नासिँदैछन् । उदाहरणको लागि सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफलको २० प्रतिशत घाँसेमैदान रहेकोमा हाल आएर ९.६१ प्रतिशत अर्थात् ८ हजार ९ सय ५५ हेक्टरमा सीमित बनेको छ । यसको प्रत्यक्ष प्रभाव गैंडा, लघुना, मृग, जरायोजस्ता शाकाहारी जनावरमा मात्र परेको छैन, तिनलाई आहार बनाउने बाघ, चितुवाजस्ता मांसाहारी जनावरमा पनि परेको छ । घाँसेमैदान माइकेनिया, पार्थेनियम, वनमारा जस्ता मिचाहा प्रजातिको चपेटामा पनि परेको छ । घाँसेमैदान, सिमसार र जंगल एकआपसमा अन्तरसम्बन्धित पर्यावरणीय प्रणाली भएको हुँदा यी तिनैको मिश्रित बासस्थान वन्यजन्तुका लागि अति उपयुक्त हुन्छ ।

साना बुट्यान, सिरु, खरको घाँसेमैदानमा लुकेर बस्न र त्यहाँ पाउने किराफट्यांग्रा खान खरमुजुर र अन्य घाँसेचरीहरू रमाउँछन् । खरमुजुरको भाले सानो घाँस र पोथी झाडी भएका ठाउँमा बस्न रुचाउँछन् । छोटो घाँसमा रमाउने खरमुजुरले धेरै अग्लो घाँस मनपराउँदैन । त्यसैले पानी पर्न थालेपछि संरक्षित क्षेत्रभित्रको घाँस बढ्ने हुँदा बाहिरी क्षेत्रमा विचरण गर्न बाध्य हुन्छन् । खरमुजुरको प्रजनन समयसँग मिल्नेगरी वर्षायाम सुरु हुनुअघि घाँस काट्ने र जलाउने प्रचलन छ, जुन खरमुजुरको लागि मुख्य खतरा हो । त्यसैले हामीले यो समयमा घाँस काट्ने, जलाउने र मानिसहरूको अत्यधिक आवत–जावत जस्ता कार्यलाई रोक्नुपर्छ ।

गुजरातमा भइरहेको १३ औं बसाइँ–सराइ गर्ने प्रजातिको महासन्धि (कन्भेन्सन अफ माइग्रेटेड स्पिेसिज) को सम्मेलनबाट खरमुजुरलाई पनि यस सूचीमा समेटिएको छ । छिमेकी मुलुक भारत, श्रीलंका लगायत १ सय २८ मुलुकले उक्त युएनको महासन्धिमा हस्ताक्षर गरेर पक्षमुलुक बने पनि नेपालले भने हस्ताक्षर गरेको छैन । कन्भेन्सन अफ माइग्रेटेड स्पिसेज (सीएमएस) नामको महासन्धिमा नेपालमा पाइने चरा र अन्य वन्यजन्तु गरी ८० प्रजाति समेटिएका छन् ।

तीमध्ये ७४ प्रजातिका चरा, ५ प्रजातिका स्तनधारी (हिउँचितुवा, हात्ती लगायत) र सरिसृपबाट एक प्रजाति (घडियाल गोही) छन् भने अब खरमुजुर थपिँदैछ । नेपाल पनि बसाइँ–सराइ गर्ने चरा र वन्यजन्तुको बाटोमा पर्ने भएकाले नेपालले उक्त महासन्धिमा हस्ताक्षर गरेर अग्रसरता लिन आवश्यक देखिन्छ । यसले बसाइँ–सराइ गर्ने चरा र अन्य वन्यजन्तुको आउ–जाउ सुरक्षित बनाउन अन्तर्राष्ट्रिय साझेदारीलाई मजबुतीकरण गर्नेछ । खरमुजुर नेपाल र भारतको तराई क्षेत्रमा आवत–जावत गर्ने हुँदा भू–दृश्य स्तरमा स्थानीयदेखि अन्तरदेशीय साझेदारीमा संरक्षण अभियान सञ्चालन गर्नुका साथै घाँसेमैदानको सञ्जाल विस्तार गर्नु खरमुजुरको दिगो संरक्षणका लागि प्राथमिक आवश्यकता हो ।

भुसाल नेपाल पन्छी संरक्षण संघमा आबद्ध छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×